ओशोको आत्मकथाः  स्वर्णिम बालापन

पहिलो सत्र: जङ्गली बकुल्लो र पानी

अति सुन्दर बिहानी छ । सूर्य सधैँसधैँ नै उदाउँछ र त्यो सधैँ नयाँ नै छ । यो कहिल्यै पुरानो हुँदैन, हुँदै हुँदैन । वैज्ञानिक भन्छन्, यो लाखौँ वर्ष पुरानो हो । तर वैज्ञानिक त गाडिएका मुर्दा निकाल्ने हुन्छन् । त्यसैले म भन्छु, उनीहरु ज्यादै गुरुगम्भीर देखिन्छन् । आज बिहान, फेरि पनि अस्तित्वको चमत्कार भयो । त्यो त हरेक क्षण भइरहेकै छ तर निकै कम मानिस, ज्यादै कम मानिसले त्यसको चाल पाउँछन्, त्यसको साक्षात्कार गर्न पाउँछन् ।

‘साक्षात्कार’ शब्द बहुतै सुन्दर छ । क्षणको साक्षात्कार– जस्तो छ, त्यस्तै ! जस्तो छ, त्यस्तै नै हेर्नु– केही नजोडी, केही नहटाई, सम्पादन बिना नै ! जस्तो छ, ठीक त्यही रुपमा हेर्नु– एउटा ऐनाजस्तै । … ऐनाले छाँटकाँट गर्दैन– नत्र त संसारका कुनै पनि अनुहारलाई त्यसले सन्तुष्ट पार्न सक्थेन, क्लियोपेट्राको अनुहारलाई पनि ! कुनै पनि अनुहार ऐनामा ठीक देखिदैनथ्यो, किनभने उसले तपाईंको अनुहार छाँटकाँट र जोडजाड गर्न थाल्यो भने तपाईंलाई नै नष्ट गरिदिन्थ्यो । तर कुनै पनि ऐनाले छाँटकाँट गर्दैन । सबैभन्दा खराब ऐना पनि सुन्दर हुन्छ किनभने त्यसले कुनै छाँटकाँट गर्दैन । त्यसले केवल प्रतिविम्बित मात्र गर्छ ।

तिम्रो ‘नोआज् आर्क’मा आउनुअघि म सूर्योदयलाई हेरिरहेको थिएँ… आज यो कति सुन्दर देखिएको थियो ! अनि भोलिको चिन्ता कसलाई छ ? भोलि त कहिल्यै आउँदैन । जिससले भनेका छन्, ‘भोलिका बारेमा नसोच… ।’

आज सूर्योदय यति सुन्दर छ कि एक क्षणका लागि मलाई हिमालयको सूर्योदयको अनुपम सौन्दर्यको स्मरण भएर आयो । त्यहाँ जब हिउँले तिमीलाई चारैतिरबाट घेरिरहेको हुन्छ र रुखमा जब हिउँका श्वेत पुष्प फक्रिन्छन् र ती नयाँ दुलहीझैँ सजिन्छन्, त्यो बेला यो संसारका प्रधानमन्त्री, राष्ट्रपति, राजा र रानी आदि तथाकथित महत्त्वपूर्ण मानिसका बारेमा कसले चिन्ता लिन्छ र ? सत्य त के हो भने अब राजारानीको अस्तित्व केवल तासका पत्तीमा नै रहन्छन्, तिनको ठाउँ त्यही हो । र, राष्ट्रपति अनि प्रधानमन्त्री तासका ‘जोकर’ बन्न पुग्छन् । ‘जोकर’भन्दा बढी तिनको मूल्य पनि छैन ।

ती पर्वतीय रुख, हिउँले भरिएको फूलका साथ… र जहिले पनि मैले ती पातबाट हिउँ झरिरहेको देख्छु, मलाई आफ्नो बालापनको एउटा रुखको सम्झना हुन्छ । त्यस्ता रुख भारतमा नै हुन्छन् । त्यो रुखको नाम हो ‘मधुमालती ।’ ‘मधु’ अर्थात गुलियो र मालतीको अर्थ हो, ‘रानी’ । मैले आजसम्म योभन्दा राम्रो र तीव्र सुगन्ध अन्त कतै पाएको छैन । तिमीहरूलाई थाहै छ, मलाई सुगन्धले एलर्जी हुन्छ । त्यसैले मलाई तुरुन्त थाहा हुन्छ । म सुगन्धका प्रति ज्यादै संवेदनशील छु ।

‘मधुमालती’को रुख यति सुन्दर छ कि त्यो तिमी सोच्न पनि सक्तैनौ । परमात्माले त्यसलाई सातौँ दिन बनाएको हुनुपर्छ । संसारका सबै काम र चिन्ताबाट मुक्त भएर, सबै काम सकेर, स्त्री र पुरुषको सिर्जना गरिसकेपछि– आइतबारे छुट्टिको दिन बडो आरामले ‘मधुमालती’लाई उनले बनाएका होलान्… । बनाउने पुरानै बानी, पुरानै बानीबाट त मुक्त हुन ज्यादै गाह्रो हुन्छ ।

मधुमालतीको रुखमा एकसाथ हजारौँ फूल फक्रन्छन् । एक दुई फूल र यहाँ त्यहाँ होइन । त्यो त मधुमालतीको तरिकै होइन, न त मेरो नै हो । मधुमालतीमा रुखैभरि फूल फुल्छ । यसमा एकसाथ हजारौँ फूल फुल्छन् । यति कि एउटा पनि पात देखिँदैन । सारा रुख श्वेत पुष्पले ढाकिन्छ ।

हिउँले ढाकिएको रुखले सधैँ मलाई ‘मधुमालती’को सम्झना दिलाउँछ । निश्चित पनि तिनमा सुगन्ध हुँदैन । र, मेरा लागि त्यो किन राम्रो हो भने हिउँमा सुगन्ध हुँदैन । अफसोस, अब म दोहोर्याएर मधुमालतीका फूलहरूलाई आफ्ना अञ्जुलीमा उठाउन सक्तिनँ । मधुमालतीको सुगन्ध यति तीव्र हुन्छ कि ती कयौँ किलोमिटरसम्म फैलिन्छ । म अतिशयोक्ति गरिरहेको छैन । मधुमालतीको एउटै रुखले पूरै गाउँ, टोललाई मगमगाउन पर्याप्त हुन्छ ।

मलाई हिमाल ज्यादै प्रिय छ । म त्यहीँ मर्न चाहन्थेँ । त्यो मर्नका लागि अत्यन्त सुन्दर ठाउँ हो– बाँच्नका लागि पनि त्यो उत्तिकै सुन्दर ठाउँ हो । तर मर्नका लागि यो अत्यन्त उपयुक्त ठाउँ हो । यहीँ त लाओत्सु मरेका थिए । बुद्ध, जिसस, मोजेज– ती सबै हिमालयको काखमा नै मरेका थिए । कुनै अन्य पर्वत मोजेज, जिसस, लाओत्सु, बुद्ध, बोधिकर्म, मिलारेपा, मारपा, तिलोपा र नरोपाजस्ता हजारौँ मानिसहरूलाई अन्तिम आश्रय दिने दाबी गर्न सक्तैन ।

स्विट्जरल्यान्ड निकै सुन्दर छ तर हिमालयको तुलनामा त्यो केही पनि होइन । स्विट्जरल्यान्डमा आधुनिक सुविधायुक्त ठाउँमा बस्न निकै राम्रो लाग्छ । त्यहाँ सबै किसिमका आराम पाइन्छन् । हिमालयमा बस्नु त्यति सुविधाजनक छैन किनभने त्यहाँ अहिले पनि आधुनिक प्रविधिको अभाव छ, न सडक छ, न रेल छ, न त बिजुली नै छ, हवाई जहाज आदि केही पनि छैनन् । त्यसैले त्यहाँ एक किसिमको सरलता छ । व्यक्ति तुरुन्तै अर्को लोकमा र अर्कै समयमा पुगिसक्छ ।

म त्यहीँ मर्न चाहन्थेँ । र, आजको बिहानी जब म सूर्योदय हेरिरहेको थिएँ, मलाई बडो राहस महसुस भयो कि म यहीँ मरेँ भने पनि ठीक छ । खासगरी आजजस्तो सुन्दर दिनमा । म मर्नका लागि यस्तो दिन चयन गर्नेछु, जब मलाई आफू हिमालयको अंश बनेको महसुस हुन्छ । मृत्यु मेरालागि एउटा अन्त्य या पूर्णविराम होइन । मृत्यु मेरालागि एउटा उत्सव हो ।

मधुमालतीका फूलहरुझैँ हिउँका वृक्षहरुबाट झरेका फूलहरू हेर्दै एउटा हाइकु स्मरण भएर आयो…

जंगली बकुल्ला
चाहँदैनन् बनाउन प्रतिबिम्ब
पानी बिम्ब
ग्रहण गर्न चाहँदैन ।

वाह, कति सुन्दर छ यो ! जंगली बकुल्ला पानीमा आफ्नो प्रतिबिम्ब बनाउन चाहँदैन र पानी पनि त्यसको बिम्ब ग्रहण गर्न चाहँदैन र पनि प्रतिबिम्ब बन्छ । यही यसको सौन्दर्य हो । कोही पनि चाहँदेन र पनि त्यो बन्छ । यसलाई म संवाद, कम्युनियन भन्छु । मलाई कुराकानी, कम्युनिकेसन मनै पर्दैन । मेरा लागि कुराकानी भद्दा कुरा हो । पतिपत्नीमा र मालिक तथा नोकरमा यस्तो भइरहेको देख्न सकिन्छ । मेरा शब्द त ‘संवाद’ हुन् ।

जब बुद्ध हलमा म मेरा मानिसहरूलाई देख्छु… बिजुलीको तीव्रताझैँ एक क्षणमा संवाद हुन्छ । यो कुनै आम समूह होइन । यो कुनै चर्च होइन । यहाँ मानिस औपचारिकताका कारण आएका होइनन् । मानिस बुद्ध हलका लागि आएका होइनन्, उनीहरू मेरो नजिक आएका हुन् । जसै गुरु र शिष्य एकसाथ हुन्छन्, चाहे गुरु एक्लो होस् र एउटै मात्र शिष्य साथमा किन नरहोस्, त्यसले केही फरक पार्दैन– संवाद त हुन्छ नै । अहिले, यो समय, त्यही भइरहेको छ– र, तिमीहरु केवल चार जना छौ । आँखा बन्द गरेर म शायद गन्न सक्तिनँ । यो राम्रो पनि हो किनभने त्यो बेला मानिस हिसाब किताबको संसारमा हुने गर्छ… कर (ट्याक्स)बाट मुक्त पनि । हिसाबका साथ ट्याक्स पनि शुरु हुन्छ । म त बेहिसाबी मानिस हुँ । ममाथि कहिल्यै कुनै कर लागेन ।

म एउटा विश्वविद्यालयमा प्राध्यापक थिएँ । जब उनीहरूले मेरो तलब बढाउन चाहे, मैले अस्वीकार गरेँ । भाइस चान्सलर छक्क परे । उनले सोधे, ‘तिमीले तलब किन बढाउन नचाहेको ?’

मैले भनेँ, ‘जुन तलब मैले पाइरहेको छु, त्यसबाट बढी लिँदा मैले कर तिर्नुपर्छ र मलाई करबाट घृणा छ । बढी तलब लिएर आयकर विभागको झण्झटमा पर्नुभन्दा म पाइरहेको तलब लिन रुचाउँछु ।’ र, मेरो तलब करको सीमाभन्दा कहिल्यै बढी भएन ।

मैले कहिल्यै पनि आयकर तिरेको छैन । सत्य त के भने, मेरो कहिल्यै कुनै आय नै भएन । म संसारलाई सधैँ दिइरहेको हुन्छु, संसारबाट मैले कहिल्यै केही लिइनँ । मैले संसारलाई आफ्नो हृदयबाट दिएको छु, आफ्नो आत्माबाट दिएको छु ।
धन्न, फूलहरूमा कर लाग्दैन । नत्र त तिनले फुल्न नै छाडिदिन्थे । धन्न, हिउँमा कर लाग्दैन, नत्र त ती पनि आकाशबाट खस्न छाड्थे ।

रुसी क्रान्तिपछि रुसका प्रतिभालाई केही भयो । लियो टोल्सटोय, फ्योदोर दोस्तोवस्की, इभान तुर्गनेभ, म्याक्सिम गोर्की, सबै सबै हराएर गए । जबकि रुसमा आज पनि लेखक, कलाकार र उपन्यासकार सबैभन्दा बढी सम्मानित छन् र सबैभन्दा बढी पैसा त तिनैले पाउँछन् । उसो भए के भयो त ? अहिले किन तिनले ब्रदर्स कारामाजोभ, अन्ना करेनिना, पिता र पुत्र, आमा या नोट्स फ्रम अन्डरग्राउन्डजस्ता पुस्तक लेख्न सक्तैनन् ? किन ? म हजार पटक सोध्न चाहन्छु– किन ? उपन्यास लेख्ने रुसी प्रतिभालाई के भयो ?

साहित्यमा रुसको प्रतिस्पर्धा अन्य कुनै देशले सक्ला भन्ने मलाई लाग्दैन । संसारका दस मुख्य उपन्यासको नाम लियो भने तीमध्ये पाँच त रुसी उपन्यास नै हुनेछन् । बाँकी पाँच चाहिँ संसारका अन्य देशका । रुसको यो महान् प्रतिभालाई के भयो ? त्यो मर्यो । किनभने फूलहरूलाई आदेश दिन सकिँदैन । उनीहरूका लागि ‘१० आदेश’ (टेन कमान्डमेन्ट्स) बनाउन सकिँदैन । फूलहरू स्वतः फुल्छन्, तिनलाई फुल्ने आदेश दिन सकिँदैन । हिउँ झर्छन् तर तिनलाई फलानो दिन मात्र झर्नु भनी आदेश दिन सकिँदैन । यो असम्भव छ । अनि, बुद्धहरूका साथ पनि त्यस्तै त हुन्छ । उनीहरू जे चाहन्छन्, त्यही भन्छन् । ठीक त्यही बेला भन्छन्, जब उनीहरू चाहन्छन् । जुन कुरा सारा संसार सुन्न चाहन्छ, त्यो कुरालाई एकै व्यक्ति मात्र भए पनि बताइदिन्छन् । बुद्ध पुरूषलाई भिड चाहिँदैन ।

यहाँ शायद तिमीहरू चार जना मात्र छौ । म ‘शायद’ किन भनिरहेको छु भने मेरो गणित निकै कमजोर छ । त्यसमाथि मेरा आँखा पनि बन्द छन्… त्यहीँमाथि मेरो आँखामा आँशु छन्…तिमीहरू बुझ्न सक्छौ… किन आँशु छन् । तिमीहरू जम्मा चार जना मात्र भएकाले होइन, बरु यो सुन्दर बिहानीका लागि, यो सुन्दर सूर्योदयका लागि ।

परमात्मालाई धन्यवाद छ ! उनले मेरो सधैँ हेरचाह गरे । हुन त ती छैनन्, तर पनि उनले मेरो हेरचाह गर्छन्, मेरो ख्याल राख्छन् । म उनलाई मान्दिनँ तर पनि उनले मेरो हेरचाह गर्छन् । महान् परमात्मा ! अस्तित्वले सबैको हेरचाह गर्छ, सबैलाई सम्हाल्छ । तर तिमी अस्तित्वको तरिकालाई जान्दैनौ, त्यसका बारेमा पहिलेदेखि निश्चित रुपमा केही भन्न सकिँदैन । मैले सधैँ अञ्जान, अनिश्चित अवस्थालाई मन पराएँ ।

मेरा आँशु सूर्योदयका लागि हुन् !

अस्तित्वले मेरो चिन्ता गर्यो ।

मैले केही मागेको थिइनँ ।

न त उसले कुनै उत्तर दियो ।

र, पनि चिन्ता गरियो ।

जंगली बकुल्लो आफ्नो प्रतिबिम्ब बनाउन चाहँदैनथ्यो, पानीले त्यसको बिम्ब ग्रहण गर्न पनि चाहँदैनथ्यो…

म पनि त्यसरी नै बोलिरहेको छु । मलाई अर्को वाक्य के हुनेछ भन्ने पनि थाहा छैन, अथवा अर्को वाक्य हुन्छ या हुँदैन भन्ने पनि थाहा छैन । अनिश्चय, सस्पेन्स बहुतै सुन्दर हुन्छ ।

मलाई फेरि पनि त्यो सानो गाउँको सम्झना आइरहेको छ, जहाँ म जन्मिएको थिएँ । अस्तित्वले त्यो सानो गाउँलाई किन छान्यो, यो बुझाइभन्दा यो टाढाको कुरा छ । त्यो त्यस्तै नै छ, जस्तो हुनुपर्ने हो । गाउँ ज्यादै सुन्दर थियो । मैले टाढा टाढा निकै टाढाको यात्रा गरेको छु, कयौँ ठाउँ देखेको छु तर त्यस्तो सौन्दर्य कहीँ देखेको छैन । केही पनि दोहोरिँदैन, चिजहरु आउँछन्, जान्छन् तर दोहोर्याएर त्यस्तै हुँदैन ।

म अहिले पनि त्यो सानो गाउँलाई देख्न सक्छु– नजिकै तलाउ छेउ झुपडीहरू छन् र केही ठूलाठूला रुखहरु छन्, त्यसैको मुन्तिर म खेल्थेँ । गाउँँमा कुनै विद्यालय थिएन । यो कुरा निकै महत्त्वपूर्ण छ किनभने लगभग नौ वर्षसम्म मैले केही पनि लेखपढ गरिनँ र यो समय (व्यक्तित्व निर्माणका लागि) ज्यादै नै महत्त्वपूर्ण हुन्छ । जतिसुकै प्रयास गरे पनि शिक्षित भइँदैन । एक प्रकारले म अहिले पनि अशिक्षित नै छु, यद्यपि डिग्रीहरू निकै छन् मसँग । कुनै पनि अशिक्षित व्यक्तिले डिग्री पाउन सक्थ्यो । र, साधारण डिग्री होइन, एमएको प्रथम श्रेणीको डिग्री– त्यो पनि जोसुकै बेवकुफले प्राप्त गर्न सक्छ । यसको कुनै महत्त्व छैन किनभने हरेक वर्ष हजारौँ बेवकुफले यो प्राप्त गर्छन् । महत्त्वपूर्ण केवल यति मात्र हो, शुरुका वर्ष मैले कुनै शिक्षा पाइनँ । त्यो गाउँमा विद्यालय नै थिएन । सडक पनि थिएन । कुनै हुलाक थिएन । कुनै रेलवे बिसौनी थिएन । यही त सौभाग्य थियो । त्यो सानो गाउँ आफैँमा एउटा सानो संसार थियो । पछि म त्यो गाउँभन्दा टाढा गएर त्यही संसारमा बसेँ– अशिक्षित संसारमा ।

मैले जोन रस्किनको प्रसिद्ध पुस्तक पढेको छु, अनटु दिस लास्ट । त्यसलाई पढ्दै गर्दा मैले त्यही गाउँका बारेमा सोचिरहेको थिएँ । अनटु दिस लास्ट… त्यो गाउँ अहिले पनि परिवर्तन भएको छैन । कुनै सडक छैन, कुनै रेलगाडी पुग्दैन । आज पचास वर्षपछि पनि त्यहाँ कुनै हुलाक कार्यालय छैन, प्रहरी कार्यालय छैन, डाक्टर छैन । सत्य त के भने यहाँ कोही पनि रोगी हुँदैन । त्यहाँको पर्यावरण यति शुद्ध छ कि कुनै प्रदूषण नै छैन । म त्यो गाउँका यस्ता मानिसलाई पनि चिन्दछु, जसले कहिल्यै रेलगाडी देखेका छैनन् र त्यो कस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सक्तैनन् । उनीहरूले कहिल्यै बस देखेका छैनन्, न त कार नै । उनीहरू त्यो गाउँभन्दा बाहिर कहिल्यै गएनन् । उनीहरू यति शान्ति, यति आनन्दले जीवन बाँचिरहेका छन् ।

मेरो जन्मस्थान, कुचवाडा, एउटा यस्तो गाउँ थियो, जहाँ कुनै हुलाक कार्यालय थिएन, कुनै रेलवे लाइन थिएन । त्यहाँ साना साना पहाड थिए, सुन्दर झरना थियो र फुसका झुपडीहरू थिए । इँटाले बनाइएको एउटै मात्र घर थियो, जहाँ मेरो जन्म भएको थियो । त्यो पनि कुनै ठूलो घर थिएन, सानो घर थियो ।

अहिले पनि म त्यसलाई देख्न सक्छु र पूरा वर्णन गर्न सक्छु । तर त्यो घर र गाउँभन्दा मलाई त्यहाँका मानिस सम्झनामा आउँछन् । लाखौँ मानिसलाई मैले भेटेको छु तर त्यो गाउँका जस्ता सरल मानिस अन्त कहीँ छैनन् । किनभने उनीहरू ग्रामीण मानिस थिए । उनीहरूलाई संसारका बारेमा केही थाहा थिएन । त्यो गाउँमा एउटा अखबार पनि कहिल्यै पुगेन । अब तिमीहरू बुझ्न सक्छौ, त्यहाँ कुनै स्कुल किन थिएन, प्राथमिक स्कुलसमेत थिएन । कति सौभाग्य ! अचेलका बालबालिकालाई यस्तो सौभाग्य कहाँ ?

ती वर्षहरूमा म अशिक्षित नै रहेँ र त्यो ज्यादै सुन्दर समय थियो ।

हो, मैले के भन्नुपर्छ भने मलाई पढाउनका लागि एक जना शिक्षक राखिएको थियो । ती शिक्षक पनि त्यति पढेलेखेका थिएनन् । उनले मलाई पढाइरहेका थिएनन्, मलाई पढाउने बहानामा आफैँ पढिरहेका थिए । शायद उनले कतै सुनेको हुनुपर्छ, ‘सिक्ने सबैभन्दा राम्रो तरिका भनेको अरूलाई सिकाउनु हो ।’ तर उनी असल मानिस थिए, चिढचिढे स्वभावका स्कुले शिक्षकजस्ता थिएनन् । स्कुल मास्टर बन्नका लागि चिढचिढे हुन जरुरी छ । सारा संसारको तरिका नै त्यही हो । ऊ असल मानिस थियो, नौनीजस्तो नरम । म स्वीकार गर्छु, कहिलेकाहीँ म उनलाई कुट्थेँ पनि । तर उनले कहिल्यै मलाई कुटेनन् । उनी खाली हाँसिदिन्थे र भन्थे, ‘तिमी त बच्चा हौ, तिमीले मलाई कुट्न पाउँछौ । म बूढो मानिस, तिमीलाई कुट्न सक्तिनँ । जब तिमी ठूलो मानिस हुन्छौ, त्यो बेला बुझ्नेछौ ।’ हो, बूढोले ठीक भन्यो । यतिबेला म बुझ्ने भएको छु । ऊ एउटा ग्रामीण व्यक्ति थियो र उसको बुझाइ गहिरो थियो । कहिलेकाहीँ गाउँका मानिसको बुझाइ सभ्य मानिसको भन्दा कयौँ गुणा बढी हुन्छ ।

भर्खरै मलाई याद आयो… एउटा सुन्दर स्त्री समुद्र तटमा आउँछे । त्यहाँ कसैलाई नदेखेर ऊ आफ्नो कपडा खोल्छे । जब ऊ समुद्रमा छिर्छे, एउटा बूढो मानिसले उसलाई रोक्छ र भन्छ, ‘म यो गाउँको प्रहरी हुँ । यहाँ समुद्रमा पौडी खेल्न मनाही छ ।

त्यो स्त्रीले आश्चर्यपूर्वक सोध्छे, ‘यो कुरा कपडा खोल्दा किन नभनेको ? किन नरोकेको ?’

बूढो मानिसले हाँस्दै भन्यो, ‘कपडा खोल्न त मनाही गरेको छैन नि । त्यसैले म रुखपछाडि प्रतीक्षा गरिरहेको थिएँ ।’

कति प्यारा देहाती ! त्यो गाउँमा त्यस्ता मानिस बस्थे । सिधासाधा, सरल मानिस । गाउँका चारैतिर पहाड थियो र एउटा सानो ताल थियो, पोखरी । त्यो तालको वर्णन बासोका अतिरिक्त कसैले पनि वर्णन गर्न सक्तैन । उसले पनि तालको वर्णन गर्न सक्तैन, यति मात्र भन्छः

चिरन्तन तलाउ
भ्यागुताको छलाङ
छपाक् !

यो पनि कुनै वर्णन हो र ? भ्यागुतो र तलाउको उल्लेख मात्र छ । न त तलाउको कुनै वर्णन छ, न भ्यागुतोको… र छपाक् !
त्यो गाउँमा एउटा पुरानो तलाउ थियो, ज्यादै पुरानो र त्यसका चारैतिर निकै पुराना रुख थिए, शायद सैकडौँ वर्ष पुराना र चारैतिर ठूला सुन्दर चट्टानहरू थिए । त्यहाँ निश्चित रुपमा भ्यागुता कुद्थे होला । दिनरात छपाकको आवाज पटक पटक सुन्न सकिन्थ्यो । भ्यागुतोको उफ्राईको आवाजले त्यहाँको नीरवतालाई अझै बढाउँथ्यो र अझै बढी अर्थपूर्ण बनाउँथ्यो ।
बासोको यही विशेषता होः वर्णन नगरीकनै धेरै कुरा उनले वर्णन गर्न सक्थे । केही नभनेर नै धेरै कुरा भन्न सक्थे । ‘छपाक्’, यो पनि कुनै शब्द हो ? त्यो पुरानो तलाउमा भ्यागुतो कुद्ने आवाजको वर्णन कसैले पनि गर्न सक्तैन तर बासोले गरेर देखाइदिए ।

म बासो होइन र त्यो गाउँलाई बासोको आवश्यकता थियो । उसले सुन्दर चित्र बनाएको भए, सुन्दर पेन्टिङ बनाएको भए, सुन्दर हाइकू लेखेको भए… । त्यो गाउँका लागि मैले केही पनि गरिनँ । किन नगरेको भनेर तिमीले सोधौला । म फेरि फर्किएर त्यहाँ कहिल्यै गइनँ । एक पटक नै काफी छ । म कुनै ठाउँ पनि दोहोर्याएर गइनँ, जान्नँ । मेरा लागि नम्बर दुई हुँदैन । मैले धेरै गाउँ र धेरै शहर छाडेँ र कहिल्यै फर्केर गइनँ । मेरो शैली नै यही हो । गाउँका मानिसले कयौँ पटक मलाई सन्देश पठाए, कम्तीमा एक पटक त आऊ भने । तर मैले ती सन्देशवाहकलाई भनेँ, म एक पटक त्यहीँ बसिसकेको छु, दोहोर्याएर कहीँ जाने गरेको छैन ।

तर त्यो प्राचीन तलाउको मौनताले अहिले पनि मलाई घेरेको छ । फेरि पनि मलाई हिमालयको सम्झना आयो… त्यो हिउँ, यति सुन्दर, यति पवित्र, यति सहज ! हिमालयको त्यस कुमारी सौन्दर्यलाई केवल बोधिधर्म, जिसस या बासोका आँखाले मात्र देख्न सकिन्छ । हिउँका वर्णनको कुनै अर्को बाटो छैन, केवल बुद्ध पुरुषका आँखाले नै त्यसलाई प्रतिविम्बित गर्न सक्छन् । बुद्धूले त त्यसलाई किच्न सक्छन्, त्यसको भकुण्डो बनाएर खेल्न सक्छन् तर बुद्ध पुरुषले नै त्यसलाई प्रतिविम्बित गर्न सक्छन् ।
यद्यपि…

जंगली बकुल्ला
चाहँदैनन् बनाउन प्रतिबिम्ब
पानी बिम्ब
ग्रहण गर्न चाहँदैन…

र पनि प्रतिबिम्ब बन्छ ।

बुद्ध पुरुष संसारका सौन्दर्यलाई प्रतिबिम्बित गर्न चाहँदैनन् र संसार पनि बुद्धहरूद्वारा प्रतिबिम्बित हुन चाहँदैनन् तर त्यो प्रतिबिम्बित भइहाल्छ । कोही पनि केही गर्न चाहँदैन तर त्यस्तो बन्न पुग्छ । हुन पुग्छ । र, जब केही हुन्छ, त्यो बेला त्यो बहुतै सुन्दर चिज बन्न पुग्छ । जब केही गरिन्छ, त्यो बिल्कुलै साधारण चिज बन्छ । जब केही गरिन्छ, त्यो बेला तिमी केवल एक प्राविधिक हुन्छौ । तर जब प्रयास नगरीकनै केही घट्छ, केही बन्छ भने तिमी मास्टर हौ । बातचित, कम्युनिकेसन प्राविधिकको संसारको अंश हो, संवाद भने कम्युनियन गुरुको सान्निध्यको सुगन्ध हो ।

यो संवाद हो ।

म कुनै निश्चित विषयमाथि बोलिरहेको छैन…

जंगली बकुल्लो र पानी…