
जोसेफ मर्फी
हालै आयरल्यान्डस्थित किलार्नीमा एक जना सर्जन (डाक्टर)सँग मेरो रोचक कुराकानी भयो । उनी आफ्नी सुन्दर पत्नीसँग यात्रामा देशदेशावर निस्किएका थिए । हामीले मस्तिष्कको चमत्कारका बारेमा कुराकानी गर्न थाल्यौँ र उनले मलाई आफ्ना पिताका बारेमा एउटा गज्जबको कथा सुनाए । म यहाँ सबैभन्दा सरल र सम्भव भएसम्म तपाईंसामु त्यसको सारकथा सुनाउँछु ।
यी युवा सर्जन वेल्सको एउटा खानीमा काम गर्ने मजदुरका छोरा थिए । शुरुवाती संघर्षका दिनमा पिता बढीभन्दा बढी समय काम गर्थे । कर्मचारी कम थिए र स्वाभाविक रुपमा जति जना थिए, तिनले बढी काम गर्नुपथ्र्यो । बालापनमा यी सर्जन नाङ्गा गोडा स्कुल जान्थे किनभने उनका पितासँग जुत्ता किनिदिने पैसा पनि थिएन । उनको घरमा फलफूल र मासु खाने दिन भनेको वर्षमा दुई पटक मात्र हुन्थ्यो । उनीहरु क्रिस्चियन भएका कारण इस्टर पर्व र क्रिसमसका बेलामा मात्र स्वादिला खान्की पाक्थे ।
एक दिन ती युवकले बुवासँग भने, ‘बुवा, म डाक्टर र खासगरी सर्जन हुन चाहन्छु । यसको खास कारण के हो त्यो पनि म तपाईंलाई बताउँछु । म जुन केटाका साथ स्कुल जान्छु, उसलाई मोतियाबिन्दु भएको थियो । आँखाका सर्जनले उसको अपरेसन गरे । मेरो दृष्टिविहीन साथीले अचेल आँखा देख्न थालेको छ । तिनै डाक्टरका कारण उसको आँखाको उज्यालो फर्किएर आयो । म पनि ती डाक्टरजस्तै अरुको भलाई गर्न चाहन्छु ।’
उनका पिताले एउटा टिनको बाकस देखाउँदै भने, ‘छोरा, मैले २५ वर्षसम्म सुकामोहर जोडेर तीन हजार पाउन्ड (त्यो बेलाको ८ हजार डलर) बेग्लै जम्मा गर्ने गरेको छु । यो तिम्रो शिक्षाको लागि हो तर म चाहन्छु– तिमी डाक्टरी पढिसिध्याउनुअघि यो पैसालाई नछोऊ । तर जब तिमीले आफ्नो पढाइ पूरा गरिसक्छौ, त्यो बेला तिमीलाई क्लिनिक खोल्न आवश्यक रकम चाहिन्छ र त्यसका लागि मात्र यो रकम खर्च गर । मेरो सपना छ, तिमी आफ्नो पढाइ पूरा गरिसकेपछि लन्डनको हार्ले स्ट्रिट (लन्डनको विशेषज्ञ डाक्टरहरुको विशेष क्षेत्र)मा एउटा सुन्दर क्लिनिक खोल्नू । त्यतिञ्जेल त म पनि काम गर्न सकूँला र तिम्रो क्लिनिकका लागि आवश्यक पर्ने सबै राम्रा उपकरण खरिद गर्न सघाउँला । त्यतिञ्जेलसम्मका लागि यो पैसा म वचत गर्छु र त्यसबाट ब्याज पनि जम्मा हुँदै जाला । तर यदि डाक्टरी पढाइका क्रममा कुनै पनि बेला यी पैसा खर्च गर्नुपर्ने अवस्था आयो भने खर्च गर्न नडराउनू । यो पैसा तिम्रै हो, तर म चाहन्छु र मलाई विश्वास पनि छ– यो पैसाले ब्याज र स्याज बढाओस् र तिम्रो पढाइ पूरा भइसकेपछि यसले तिमीलाई ठूलो काम गर्नेछ ।’
उनका पिताको कुराले युवा यति रोमाञ्चित भयो कि शब्दमा त्यो रोमाञ्चकता बयान गर्न सकिँदैन । उनले त्यहीँ कसम खाए, जबसम्म उनी आफ्नो डाक्टरी पढाइ पूरा गरिसिध्याउने छैनन्, उनी त्यो पैसा छुने पनि छैनन् । उनले मेडिकल कलेजको पढाइलाई महत्त्व दिएका थिए नै, मिहिनेत पनि बढाउन थाले । उनी दिउँसो कलेज पढ्ने र साँझ तथा बिदाका बेला फार्मेसीमा काम गर्ने गर्थे । उनले मेडिकल कलेजमा फार्मेकोलोजी र केमेस्ट्रीको प्रशिक्षकका रुपमा पनि काम गर्न थाले । उनको पूरा ध्यान पितासँग गरिएको वाचा पूरा गर्न र पढाइ पूरा हुञ्जेलसम्म बैंकमा जम्मा गरिएको पैसा नछुनमा थियो ।
अन्ततः त्यो दिन पनि आयो, उनले आफ्नो डाक्टरी पढाइ पूरा गरे । पढाइ पूरा गरेपछि उनी बुवाका अघिल्तिर उभिएर क्लिनिक खोल्न मन लागेको कुरा सुनाए ।
त्यस दिन उनका पिताले भने, ‘छोरा मैले जीवनभर कोइला खन्ने काम गरेँ । त्यसको साटो मैले जीवनमा अरु केही पाइनँ । बैंकमा एक पैसा पनि जम्मा गर्न सकिनँ । तिमीसँग मैले झूटो बोलेँ । मैले बैंकमा एकरत्ति पैसा जम्मा गर्न सकेको भए पो पैसा पनि हुन्थ्यो त ! तिमीले मजस्तो बाहिरी खानी खन्ने काम नगर । तिमी आफूभित्रको खानी खन्ने काम गर । आफूभित्रको सुनको खानीको खजाना खोज । त्यो सुनखानी असीमित छ, शाश्वत छ र कहिल्यै सकिँदैन ।’
ती युवा सर्जनले मलाई आफ्ना बुवाको कुरा सुनाउँदै भने, ‘एक क्षणका लागि त मेरो होश नै उड्यो । म अवाक् भएँ । मेरो मुखबाट कुनै शब्द निस्कन सकेन । केही मिनेटपछि जब मनको हलचल शान्त भयो, हामी दुवै जना मज्जाले हाँस्न थाल्यौँ । त्यसपछि मलाई मेरा बाबाले खासमा सम्पत्ति के हो त्यो बुझाउन खोजेका हुन् भन्ने लाग्यो । बाबाले भनेको कुरा ठीक हो– वास्तवमा जब मलाई साह्रै आवश्यक पर्छ, त्यो बेला बैंकबाट पैसा निकाल्न अवश्य सकिन्छ । त्यहाँ अकूत पैसा जम्मा भएको छ । र, त्यो अकूत रकम हामीजस्तो आवश्यक पर्ने मान्छेका लागि नै हो । मेरो सहयोगका लागि कयौँ बैंक छँदैछन् । सबैभन्दा ठूलो कुरा ममा त्यो पैसा लिने साहस छ कि छैन, आफैँप्रति भरोसा र आत्मविश्वास छ कि छैन भन्ने हो । छ भने त्यो पैसा मेरै लागि हो । बुवाको यो कुराले मलाई आफूप्रति विश्वास गर्न सिकायो । जुन दिन मैले बाबालाई डाक्टरी पढ्न पैसा दिनुस् भनेको भए र बाबाले पैसा छैन भन्नु भएको भए, कसैगरी पनि पढाइ पूरा गर्न सक्तिनँ थिएँ । मैले कुनै दिन क्लिनिक खोल्नु छ र त्यसका लागि जम्मा गरिएको पैसा मैले छुनु हुँदैन भन्ने गहिरो विश्वासले नै मैले यो पढाइ पूरा गर्न सकेको थिएँ । त्यो विश्वासले मेरो पढ्ने उद्देश्य पूरा भएको थियो, मानौँ साँच्चिकै पैसा त्यहाँ मेरा लागि छँदैछ भन्ने अप्रतिम विश्वासले मैले पढाइ पूरा गरेको थिएँ ।’
ती सर्जनले भने, ‘मैले बाहिरी रुपमा जे जति हासिल गरेँ, त्यो मेरो आन्तरिक आस्था, विश्वास, सपनाको प्रतीक थियो ।’ यी मेडिकल विद्यार्थीलाई सहयोग गर्नका लागि ती गरिब पितासँग एकरत्ति पैसा थिएन । तर पनि त्यो सपनाको चमत्कार त हेर्नुस् ! उनका बुवाले सुनाएको भूmटो कथाको प्रभाव कति शक्तिशाली रहेछ ! सुनाइएका कुरा झूटा भए पनि तिनमाथि गरिएको विश्वासले नै वास्तविकतामा परिणत भयो । यो कुरा संसारका हरेक व्यक्तिका सन्दर्भमा उत्तिकै लागू हुन्छ । जीवनमा कुनै पनि व्यक्तिले लिएको लक्ष्यको सफलता, उपलब्धि र पूर्णताको रहस्य भन्नु नै उसको विचार तथा भावहरुको चमत्कारी शक्ति खोज्न कत्तिको मिहिनेत गर्यो, त्यसमा भर पर्छ । मेरा सर्जन साथीले विश्वासका साथ काम गरे– मानौँ पहिलेदेखि नै पैसा उनका लागि तम्तयार भएर बसेको छ ।
(जोसेफ मर्फीद्वारा लिखित ‘समृद्ध बन्ने असीमित शक्ति’ पुस्तकबाट साभार । यो पुस्तक मगाउन 014221634 मा फोन गर्नुहोस् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

