
राजकुमार ह्यारीले चार पुस्तकका लागि २९ मिलियन पाउन्ड (लगभग चार करोड डलर) पाउने भएका छन् ।
ती चार पुस्तकमध्ये एउटा पुस्तक भने तयार भइसकेको छ । अर्को एक पुस्तक भने महारानी एलिजाबेथ द्वितीयाको निधनपछि मात्र प्रकाशन हुने बताइएको छ ।
तेस्रो पुस्तक राजकुमार ह्यारीकी पत्नी मेगन मर्केलले ‘वेलनेस’ (स्वस्थ जीवनशैली)माथि लेख्ने तय भएको छ । चौथो पुस्तकका बारे भने कुनै नयाँ जानकारी चुहाइएको छैन ।
३६ वर्षे राजकुमारको पहिलो पुस्तक तयार हुन झण्डै एक वर्ष लाग्यो । यसका लागि उनले पुरस्कार विजेता गोस्टराइटर जेआर मोएरिङ्गरसँग काम गरिरहेका थिए ।
‘यो आत्मकथा मैले राजकुमारका रूपमा लिएको जन्मका रूपमा होइन, म मानिस कसरी बनेँ भन्ने विषयमा हो,’ ह्यारीले भनेका छन्, ‘मैले यत्तिका वर्षमा विभिन्न किसिमको भूमिका निभाएँ । ती भूमिकामा मेरो उन्नति र अवनतिका दिन, मेरा गल्ती र कमजोरी तथा यसबाट मैले सिकेका पाठहरूका बारेमा उल्लेख हुनेछ ।’
ह्यारीले आफू राजकुमार भए पनि अरू सामान्य मानिसभन्दा कुनै फरक नभएको समेत उल्लेख गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेसिटोमा सुविधासम्पन्न घर किनेर बसिरहेका उनले आफ्नो पहिलो पुस्तक डाक बढाबढमा राखेका थिए । शुरूवाती मूल्य नै उनले १ करोड १० लाख तोकेका थिए ।
यसअघि यो घर किन्नका लागि उनले नेटफ्लिक्सका लागि डकुमेन्ट्री बनाउने सम्झौता गरेका थिए । यस्तै स्पोटिफाई नामक अडियो स्ट्रिमिङ कम्पनीसँग पनि उनले मोटो रकम लिएका थिए ।
ह्यारीका पुस्तकहरू प्रकाशन गर्न भनेर बेलायतबाट दुई प्रकाशक उनलाई भेट्न गएका थिए । अन्यसँग भने उनले भिडियो कलमार्फत् डाक बढाबढको काम हेरेका थिए । उनले आफ्नो पुस्तक कम्तीमा पनि १ करोड ८० लाखमा बिक्री गर्न चाहेका भए पनि डाक बढाबढमा कुरा मिल्न सकेन ।
अन्ततः पेइन्गुइन रेन्डम हाउस प्रकाशकले यो डाक बढाबढमा हात माथि पारेको थियो । ह्यारीको पुस्तक आउँदो वर्ष बजारमा आउने अपेक्षा गरिएको छ ।
पुस्तकबाट आएको केही रकम भने राजकुमार ह्यारीको समाजसेवी संस्थालाई दान दिइनेछ भने सो संस्थाले विभिन्न सामाजिक कार्य गर्ने बताइएको छ ।
यही पहिलो पुस्तकको दोस्रो भाग दरबारमा भएको तिक्ततापूर्ण सम्बन्धका बारेमा लेखिने भएकाले र त्यो आफ्नी हजुरआमाका लागि पीडादायी पठन हुनसक्ने भएकाले उनले एलिजाबेथको निधनसम्म दोस्रो पुस्तक ननिकाल्न सम्झौता गरेको बताइएको छ ।
यसअघि नै मेघन मर्केलको बालपुस्तक द बेन्च बजारमा आइसकेको छ । पुस्तकले न्यु योर्क टाइम्स बेस्टसेलरको सूचीमा स्थान ओगटिसकेको छ ।
यस हिसाबले पनि ह्यारीको सन् २०२२ मा निस्कने पुस्तक बेस्ट सेलर हुने लोभका कारण थप पुस्तकहरू लेख्ने शर्तमा चार करोड डलर तिर्न प्रकाशक राजी भएको बताइएको छ ।
किताबको डाक बढाबढमा भाग लिएकाहरूले राजकुमार ह्यारी पैसाको मामिलामा निकै कडा देखिएको र लिने भए लेऊ नत्र बाटो तताऊ शैलीमा प्रस्तुत भएको बताए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










