२ वैशाख, २०७७ ( १४ अप्रिल २०२०)

आज अलिक चाँडै ब्यूँझायो अनि दोमनसँग एकछिन सोचेँ— निद्रा नपुगे केही छैन; दिनको समय आफ्नै हो । कोही भेट्न आउने छैन, कसैलाई भेट्न जानु छैन । घरका तीनै सदस्य आफ्नै आइसोलेसन वार्डमा हुनेछौँ; मन परे सुतौँला, मन परे उठौँला ।

तर माथि चढेर ठिकठाक परिसक्ता, हर्वल चिया उमालेर खन्याइसक्तादेखि बतास चल्न थल्यो । त्यो बिस्तारै हुरीमा परिणत भयो र वर्षाले कौशीमा तमासा गर्न थाल्यो । सम्झेँ— आज बिजुली जान्छ होला, त्यसपछिको अन्धकारमा पनि तल नझरी यहीँ पल्टिन्छु । एक घण्टा निदाएर उठेँ भने ठिक्क हुन्छ, चार बज्न थाल्छ ।

तै पनि कसोकसो मनले भन्यो— आज कुनै प्रकारले एक अन्तर्राष्ट्रिय स्तरको कविताको खोजी गर्नुपर्‍यो । जसले यो कोरोना महाव्याधिमा धेरै मानिसका हृदय छोएको होस् । अघि भूकम्प कालमा पनि मैले त्यस्तै केही कविता अनुवाद गरेको थिएँ ।
यसपालि खोज्दै जाँदा भेटिएको कविताको शीर्षक छ अनि मानिस घरै बसे ।

कविता अत्यन्तै सरल र अत्यन्तै प्रभावकारी, मन छुने रहेछ, अत्यन्तै प्रभावकारी सन्देश बोकेको । यसकी रचयिता किटी ओमार हुन् । तर ठूलो विवाद पनि रहेछ । होइन, यसकी रचयिता अर्कै थिइन् क्याथलिन् ओमारा भन्ने । उनले यो कविता सन् १८६० मा स्पेनमा महामारी चल्दा लेखेकी थिइन् । जोसुकै होस्, एउटा सुन्दर कविता आएको छ, कोरोना महाव्याधिको विषयमा । यसकी वर्तमान लेखिका किटी ओमारालाई पत्रिकाले पोएट लरेट (राजकवि) भन्ने उपाधि पनि दिएको छ । विवाद जहाँसम्म पुगेको होस् तर यो राम्रो कविता अनुवाद गर्न बसेँ । एक घण्टा चढाएपछि हेर्दा कविताले यस्तो रुपमा पुनर्जन्म लियोः

अनि मानिस घरै बसे

रचनाकारः किटी औमिरा (अंग्रेजी)
अनुवादः गोविन्दराज भट्टराई (नेपाली)

अनि मानिस घरै बसे
अनि पुस्तक पढे अनि सुने
अनि आराम गरे अनि व्यायाम गरे
अनि रचे खेल

अनि बाँच्ने नयाँ शैली सिके
अनि रोकिए
अनि अझ गम्भीर भएर सुने
कसैले ध्यान गरे
कोही नाचे
कसैले आफ्नै छाया
अनि मानिसले भिन्न पाराले सोच्न लागे
अनि अनभिज्ञतापूर्वक, खतरापूर्ण
अर्थशून्य अनि हृदयशून्य भई
मानिसहरू सकिएपछि
मानिस निका भए

पृथ्वी पनि निको हुन थाल्यो
अनि उनीहरूले नयाँ उपायहरू खोजे
नयाँ सपना देख्न थाले
पृथ्वीलाई पूरै निकै पारे
जसरी आफैँ निको भएका थिए

[embedyt] https://www.youtube.com/watch?v=q21rn3kfknQ[/embedyt] 

यता नेपालमा कोरोना थपिए र १५ जना पुगे भन्ने खबर हेर्दै मनलाई फकाएर सकारात्मक टुङ्गोमा पुर्‍याएँ । हिजो यस्तो कविता चाहिन्थ्यो र चिन्ताले खोजेँ ।

एक घण्टा लागेछ— उता वर्षा रोकियो, बतास पनि रोकियो, कविता तयार भइसक्यो, मेरो चिया पनि सकियो । मेरो आफ्नै कविता लेखाउने वातावरण नेपाल–भारत सम्बन्ध थियो; लिपुलेकदेखि उता कालापानीको चुच्चो थियो ।

किन यो रगत बिहानैदेखि यसरी उम्लेर मर्छ

मुटुमै लाग्छ सक्छ हुरी चलेको यत्तिबेला
हल्लिएका जोडले वृक्षहरू गुँडमा बसेका भोका बचेरा
काम्दै छोपेर बसेका आमाहरू
दूर देशमा उड्दै होलान् कतै
चारो खोज्ने बाबुहरू
तल नुहिन्छ कतिबेला
टुप्पो भुइँ नै छुँला जसरी
उचालिन्छ कतिबेला पल्लो रुखैमा ठोक्किने गरी
डिम्मा झर्ने हुन् कि माटामा गुँडसितै
बचेरा खस्ने हुन् कि बाटामा गुँडसितै ?
यस्तो बेला माथि शिरमा उड्दै छ कालो चिल निर्भय
यस्तो बेला सिरिसे साँप पनि एउटा
चढ्दैछ तलको भीरमा निर्भय
त्यही गुँड ताकेर
हेर्नु नि !
हुरी छ कत्रो उडाउने गरीको
हेर्नु नि !
आँगनमै लाप्पा छ मूर्ख गोठालाहरूको
यस्तो बेला गुलेली नताक ब्याधाहरू हो
त्यो लिपुलेकमा जिउँदै छन् हाम्रा वीरहरू
हाम्रो मुटुमै पनि लाग्न सक्छ
तिम्रो पनि मुटुुमै लाग्न सक्छ
यस्तो बेला किन हो काइँला !
हतियार उध्याइरहेको देख्छु नि ?
यस्तो बेला ऊ भन्छ
“किन यो रगत बिहानैदेखि यसरी उम्लेर मर्छ !
भन ! वीर बलभद्र लडेको किल्ला
यहाँदेखि कति टाढा पर्छ ?”
०००

बतासको तमासा मात्र रहेछ, त्यो शान्त भयो । वर्षा पनि आइनपुगी रोकियो । त्यसपछि निद्राले झ्याप्प भएको म एकछिन त्यहीँ पल्टेँ । एक निद्रा घटाएँ । जुरुक्क उठेर हेर्दा उज्यालो छ्याङ्ङ भएको तर यो वसन्तमा अझै पनि कुनै पक्षी आएका छैनन्, एउटैले गीत गाएका छैनन् । कागको रुक्षता, नित्य घुर्ने परेवा र कुखुरा मात्रै । सधैँ यो बेला पक्षीको संगीत भरिपूर्ण हुन्थ्यो यसपालि एउटा जुरेली चरी आउँछे त्यो पनि दिनमा मात्रै, किन यस्तो विपरीत भयो !

त्यसपछि म अनुवाद सन्दर्भ ग्रन्थका लेख पढ्न थालेँ, पहिलो छ शोणितपुर आसामका छविलाल उपाध्यायको अनुवाद गर्दाका केही अनुभव र समस्या ।

त्यसपछि लाग्यो यो अलिक गह्रौँ छ विषय । प्राज्ञिक लेखन बौद्धिक तर्क र विश्लेषण एकोहोरो पढिरहन पनि दिग्दार लाग्छ । आज विसाएर विषय बदल्नुपर्‍यो । अनि श्रीलङ्का भ्रमणको टाइप करेक्शन गर्न बसेँ । कोलम्बोको दक्षिण भाग स्पेनिश उपनिवेशको ठाउँ गल फोर्ट पुगेको थिएँ, जाँदाजाँदै त्यसपछि फेसबुके खबर आयो— बेलायतबाट आउने तीन नेपाली विनासूचना बसेका रहेछन् काठमाडौँको सन सिटीमा । मान्छेले उजुरी गरेर जाँच गर्दा तीनै जनामा कोरोना देखियो र त्यो ५०० परिवारको अपार्टमेन्ट यतिखेर आर्मीले सील गरेको छ ।

हुनुहार भयो । दश बीस होइन हजारमा सल्किसक्यो होला । यो एक महीनामा । मानिसको मन त्रस्त छ । आज यो महाव्याधि अचानक काठमाडौँको मुटुमै पस्यो ।

दिनभरि श्रीलङ्का यात्रा करेक्शन गरिरहेँ । धेरै त भएको छैन । दक्षिण कोलम्बोको एउटा थुम्कीमा बुद्ध मन्दिर दर्शन गरकोेदेखि सन् २००४ को सुनामीले ध्वस्त पारेको समुद्री किनाराको बयानसम्म पुगेँ । यहाँनेर एउटा भूकम्पले समुद्र भित्रैदेखि हल्लाएर सुनामी उठाएर कत्रो प्रकोप उत्पन्न गरेछ ।

सन् २००४ को भूकम्पले सुनामी उठायो । समुद्रको पीँधदेखि उम्लेर आयो र पहाडजत्रा पानीका मुस्लाले हिर्कायो । दक्षिणपूर्वी अम्परा जिल्लाका समुद्रीतटमा मात्रै दश हजार नागरिकको मृत्यु भयो । १७०० यात्री बोकेर कोलम्बोदेखि गल्लेको यात्रा गर्ने रेल पल्टियो, त्यसमा सवार आधा जति यात्री समाप्त भए । उत्तरी जिल्लामा पनि आठहजार जति समाप्त भएछन् ।

समुद्री किनारादेखि पाँच किमि टाढासम्मका खेतिपाति, घर, फ्याक्ट्री, विद्यालय, होटल सारा धुला भए । जमिनदेखि पच्चीस फिट माथि उचालिएको सुनामीले कति मानिस र पशुलाई उचालेर बिजुलीका तारमा अड्कायो, कतिलाई रुखका टुप्पामा लगेर अड्कायो ।

हामीले पनि त्यसको संग्रहालयभित्र पसेर भिडियो र तस्बीर हेर्‍यौँ ।

यस्ता विघ्नहरु जहाँ पनि जहिले पनि भइरहेका छन्— जलमा, थलमा, नभमा । प्राकृतिक छन, मानव निर्मित, उत्पादित पनि छन् । भौतिक अभौतिक अनेक छन् । यो कोरोना एक जीवाणु विशेष आफैँ उत्पत्ति भएको वा मानव उत्पादित यो ‘स्यूडो साइन्स’ले भरिएको विमारको बारेमा कुरा सुन्दा मस्तिष्कमा अनेक कुरा भरिन्छन्, फेरि घोप्ट्याउँछु, फेरि भरिन्छन् । विज्ञानको विद्यार्थी भए अलिक धेरै बुझ्थेँ कि भन्न सक्तिनँ । ज्ञानको अभावले थला परेको छु ।

हिजो दमकबाट मेरा मित्र नारायण फुँयालको फोन आयो । उनको विचारमा मैले यो कोरोनाबारे लेख लेखिदिए राम्रो हुन्थ्यो । मैले ‘हुन्छ’ भनेँ । तर यो अति वैज्ञानिक, सूक्ष्म जीवाणुको बात धेरै अध्ययन गरेर कष्ट गरेर मात्रै तथ्य लेख्न सकिन्छ । अनि पनि ती कुराको स्तर बुझ्ने समुदाय अत्यन्तै नगण्य बराबर हुन्छ । विज्ञान प्रविधिको विषयमा हाम्रो मुलुक कहाँ छ कहाँ ! यद्यपि अर्काे कुरा पनि मनमा आयो— अघि पनि लण्डनको प्लेग (सन् १६६५–०६६) ले आधि जनसंख्या लग्यो, स्पेनको महामारी (सन् १९१८–०२०) मा कति गए, हाम्रैमा पनि विफर खटिरा हैजा भोकमारीका लहरले हाम्रा पूर्वजलाई बारम्बार मास्तै आएको हो, संसारलाई मास्तै आएको हो । खोप, दबाइ ननिस्कुन्जेलको संसार कस्तो थियो होला, कल्पना गर्न पनि डर लाग्छ ।

अहिले ता प्रत्येक देशले प्रत्येक भाषामा खबर सन्देश पुर्‍याएका छन्, जानी नजानी जति भए पनि बुझ्छन् बुझाउँछन् । तर नबुझ्ने वा बुझाउन नसकिने समूह ठूलो छ । आज एउटा क्लिप आयो उडेर जसमा एउटा मान्छे प्लेटमा फूल–फलेदो बाती अनि अक्षतापाति आदि ठीक पारेर एउटा थानमा बसेको छ । पुरानो बाजा बजाएको अथवा थाल ठोक्ने पर कतै होला त्यसको आवाज आउँछ देखिँदैन । त्यो धामीले कस्तो एकचित्तले मन्त्र फलाक्छ । अलिकति सन्देह पनि लाग्छ तर हजारौ वर्षदेखि हामै्र लोकजीवनले सार्दै ल्याएको नेपाली जीवनको एक झल्को यो तलको पूजाआजा फलाकोमा प्रस्तुत छ अझ यस्तो भिजुअल देख्न पाए त्यो धामीको तन्मयता प्रस्ट हुने थियो होला ।

कोरोना फलाको

ल परमेश्वर
यो कोरोनालाई अब भुइँ छुट्टा गर्नुपर्‍यो

लौ है कोरोना, तिमी महामारी भई आयौ
ज्यानमारा भई आयौ, भोकमारी भई आयौ
झोकमारी भई आयौ शोकमारी भई आयौ
लुकामारी भई आयौ
लौ है कोरोना तिमी आजदेखि
तिमै्र थानमा तिम्रै मानमा बसिदेऊ
तिम्रै ठाउँ फर्की जाऊ
तिमै्र थानमा बसिदेऊ तिम्रै मानमा
तिम्रै ठाउँमा तिम्रै खेतमा तिम्रै देशमा
तिम्रै गाउँमा

हेर कोरोना तिमी चमेरोलाई मित लगाई आयौ मान्छे मार्न
बिरालोको घोडा चढी आयौ तिमी मान्छे मार्न
सर्पलाई माला लगाई आयौ तिमी सखाप पार्न
हेर कोरोना तिमीले आजसम्म कति खायौ
जति पायौ जति मार्‍यौ जति सार्‍यौ
जति डुल्यौ जति भूल्यौ भैगो अब
आफ्नै ठाउँ फर्की जाऊ आफ्नै ठाउँमा
आफ्नै गाउँमा आफ्नै थानमा आफ्नै मानमा
हेर कोरोना तिमी फर्की जाऊ
आफ्नै थानमा छु… छु…छु…

हेर है कोरोना तँलाई खोर्सानीको
माला लगाई खोर्सानीकै धूप धुवाँर गरेँ मैले
पुजिदिएँ मैले आज पुजिदिएँ फर्कीजाऊ
आफ्नै गाउँमा तिम्रै देशमा तिम्रै भेषमा
फर्की जाऊ तिम्रै मानमा तिम्रै थानमा
हेर है कोरोना तँलाई
खोर्सानीको माला लगाई भगाइदिउँला
है कोरोना छि… थु…

हे कोरोना तेरो नाकमा खोर्सानीको धूप गरी
धूप धुवाँर गरीकन खोर्सानीको अचार बनाई
तिमलाई टीका लगाइदिउँला टिम्मुर पिसी नस बनाई
तिम्रो नाकमा सुँघाइदिउँला
अदुवाको झोल बनाई तिम्रो कानमा हालिदिउँला
लसुनको मलम बनाइ तिम्रो आँखा टालिदिउँला
डल्ले खोर्सानीको दिमक बनाई तेरो चाकमा दलिदिउँला
तिमी जाऊ आजदेखि
आफ्नै ठाउँमा आफ्नै गाउँमा आफ्नै देशमा आफ्नै भेषमा
आफ्नै ठाउँमा आफ्नै गाउँमा
जाऊ है कोरोना तिमी
छि… छि… थु…२
थु… थु… थु…२
०००

यसरी मानव चेतनाको एउटा टुप्पो यहाँ छ, अर्काे कहाँ ?

म केही कुरा एकछिन गुगल भित्र पसेर कोरोना भाइरसबारेका केही कुरा खिच्न चाहन्छु । यथा—

भाइरस भनेको अति सूक्ष्म माइक्रोस्कोपले मात्र पत्ता लाउन सकिने संक्रामक तत्व हो जुन चाहिँ जीवतत्वको जीवित कोष भित्र बहुमुणित हुँदै जान्छ । भाइरसले सबै प्रकारका जीवन प्रणालीहरु— प्राणी, जीव, वनस्पतिदेखि अति सूक्ष्म जीवसम्मलाई प्रभाव पार्छ । यसले ब्याक्टेरियादेखि एक कोषीय आर्कियासम्मलाई प्रभावित गर्दछ । दिमितृ इभानोभ्स्कीले सन् १८९२ मा नन ब्याक्टेरिअल प्याथोजेनको वयान गर्दै सूर्तिको बोटलाई रोग लागउने प्याथोजेनको वर्णन गर्दै एउटा लेख लेखेपछि र मार्टिनस लिजरिङ्कले सन १८९८ मा ‘टोबाको मोजाइक’ आक्रमणको आविष्कार गरेदेखि यता भाइरसका करिब ५००० प्रकार पत्ता लागेका छन् । तिनको अध्ययन भएको छ तर यो वातावरणमा लाखौँ प्रकारका भाइरस पाइन्छन्, जीवन तत्वहरुमध्ये सबैभन्दा धेरै प्रकारका भेदमा पर्ने तत्व भाइरस हुन् । भाइरसका अध्ययन गर्ने विद्यालाई भाइरोलोजी भनिन्छ ।
यो धेरै कठिन कुरा छ, सामान्य ज्ञानलाई छोडेर भित्रैसम्म पुग्ने कुरा । त्यसकारण यसभित्र पसेर विशेषज्ञ बाहेक अरुले पार पाउन सक्तैनन् । यस विषयलाई बन्द गरेर म दैनिकीपट्टि फर्किएँ । दाजुले फोन गरेर आफ्ना— २०२६ सालदेखिका दैनिकी, डायरी, चिठीपत्र पोकामा खोलेँ, धुलो टकटक्याएँ, कति पारिवारिक, कति राजनीतिक, कति अन्य रहेछन् अब त्यसपट्टि लागेँ, भन्नुभयो ।

धन्य दाजु, यो दुर्लभ कुराको कसरी सञ्चय गर्नुभो । कोरोनाबाट निस्केपछि तयार पारौँ, म पनि लाग्छु । एउटा पुस्तक बनोस् चाँडै भनेँ । यता लक्ष्मण गाम्नागे भाइले पनि एक किताब चिठी नै चिठीको पठाएको छ, त्यो पनि गर्नु छ, त्यो पनि हाम्रो परिवारकै सम्पत्ति हो, मैले भनेँ ।

खगेन्द्रलाई सोधेँ– राम्रै छ । सुलभ नातिले व्यञ्जनाको उपन्यास टाइप गर्नेछ भन्ने खबर आयो । खुसी लाग्यो ।

होसियारीपूर्वक बस्नू बाहिर नजानू, दाजु भनेर भाइबैनीसँग बोलेँ ।

हुन्छ घरैमा लेखापढी गर्दैछौँ, भाइले भन्यो । धेरै बोलिएन ।

बेलुका नीता गुरुङले फोन गरिन् । एउटा गीत गाएकी रहिछन् छोटो मीठो त्यो सुनेँ । पिरामिड कविता पनि पढेँ राम्रो छ । एउटा लेख आयो निशा भण्डारीद्वारा लिखित कथा वाचन सुनेँ— सोलुबाट काठमाडौँ हुँदै कैलाली हिँडेका मजदुरको कथा अब बडो मर्मछुने छ ।

यही ग्लोबलाइजेसनको परिणाम । विश्वग्रामीकरणले के गर्छ भने सुख पनि तत्कालै, दुःख पनि तत्कालै त्यसको खबर पनि तत्कालै विश्वभरि पुर्‍याउँछ । अघि भएका महामारीहरु स्थानकेन्द्री भूगोलबद्ध हुन्थे तर अहिले जगत् सीमाहीन र एउटै भूगोल एउटै जलवायु एउटै बतास भित्रको बनिसक्यो । त्यसैले गर्दा एक देशले उत्पादन गरोस् नगरोस् उसले लाउने कपडा, खाने दबाइ, हिँड्ने बाटा पढ्ने विद्यालय सबै उपलब्ध छन्, एकरुप छन् । एकरुपीकरणले जगत् एक छ । एक पार्नु नहुने रहेछ भूल भइसक्यो आज चाल पाइयो ।

दिन ढल्दै थियो । दिनमा सातु खाजा खाएँ । सेवा छोरीले यूट्यूबको अर्कै फूर्ति व्यायाम ल्याइन् । तीनैजनाले गर्‍यौँ । आधा घण्टा । शरीरलाई यतिले चलायमान राख्छ नै होला ।