साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बहुआयामिक व्यक्तित्वका धनी जीवित खड्का मगर

जीवित खड्का मगर रोजगारको सिलसिलामा अहिले दुबईमा छन्। दिनको कम्तीमा आठ घण्टा काम गर्छन् अनि बचेको समय साहित्य सृजना, लेखन र कलाकर्म गर्छन् । त्यसबाहेक संगीत उनको अर्को रुचिको विषय हो। हार्मोनियम बजाउन उनलाई औधि मनपर्छ । अरबको त्यो रापिलो खाडीमा काम गर्दा मन उथलपुथल भएको बेला मन शान्त पार्न उनी हार्मोनियम बजाउँछन्, गीत गाउँछन् र नाच्छन् पनि ।

पछिल्लो समय सगरमाथा साहित्य प्रतिष्ठानमा मुख्य जिम्मेवारी वहन गरेपछि उनको दैनिकी अझ व्यस्त र सृजनशील बनेको छ। उनको संयोजनमा
हरेक साता विहीबार सामाजिक सन्जालमा लाइभ प्रसारणहुने स्रष्टा र सिर्जना सम्वाद कार्यक्रम संसारभर छरिएर रहेका नेपालीबीच निकै चर्चित बनेको छ। उक्त कार्यक्रममा उनी नयाँ र पुराना पुस्ताका स्रष्टालाई निम्ता गर्छन् र अनुभव आदानप्रदान गर्छन्।

जीवित सानै उमेरदेखि चित्र र संगीतमा रुचि राख्दथे। पढाइमा ध्यान दिन छाडेर किताबका चित्रहरू हुबहु उतार्थे उनी । गाउँघरका पर्खाल र घरका भित्ताहरू खाली देख्नै नहुने, कालो अँगारले कोरेर चित्र बनाइहाल्थे उनी । अँगारले आफ्नो घरको भित्ता पोतिएको देख्दा छिमेकीले खुब हम्काउँथे उनलाई ।

यसैगरी विवाह, देउसीभैलो लगायत गीतसंगीतका कार्यक्रमा उनको उपस्थिति अनिवार्यजस्तै रहन्थ्यो।

पछि यही रुचिले उनलाई काठमाडौँ ल्याइपुर्यायो । काठमाडौँ आएपछि उनले साइन बोर्ड लेख्न सिके, पछि नयाँबजारमा आफ्नै साइनबोर्ड पसल पनि चलाए।
उतिबेला साइनबोर्ड लेख्ने कलाकारबीच कसले छिटो र राम्रो अक्षर लेख्ने भन्ने अघोषित प्रतिस्पर्धा नै चल्थ्यो । जीवित छिटो र राम्रो अक्षर लेख्नमा अब्बल थिए । त्यसैले उनको पसलमा साइनबोर्ड लेखाउन ग्राहकहरुको खुब घुइँचो लाग्थ्यो।

२०५९ मा नेपाल कमर्सियल आर्टिस्ट संघले उपत्यकाब्यापी ब्यानर प्रतियोगिता आयोजना गरेको थियो। सो प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि उनको उचाई अझ चुलियो।

यसैबीच उनले ललितकला क्याम्पसमा कला र संगीतको औपचारिक अध्ययन पनि गरे । केही समय जनवादी गायक जीवन शर्मासँग सङ्गीत सिकेका जीवित रक्तिम सांगीतिक परिवारसँग आबद्ध भएर जनताका गीत गाउँदै पनि हिँडे।

साइनबोर्ड लेखेर राजधानीमा उनको जीवन राम्रैसँग बितेको थियो। नाम र दाम उसैगरी कमाएका पनि थिए तर यही समय कलाकारबीच रोजगारीका लागि विदेश जाने फेसन चल्यो । यही फेसनको प्रभाव परेर जीवित पनि विदेश गए । विदेशमा राम्रो आम्दानी त थियो नै, त्योभन्दा पनि बढी विदेशीभूमि उनका लागि सृजना निखार्ने अवसर बन्यो।

कामकै सिलसिलामा उनले विशाल आकृतिका मुरल चित्र, होम डेकोर, डिजाइन र थुप्रै मुहारचित्रहरू बनाए। उनको कलाकर्म देखेर कलाका पारखी र अरबका धनाढ्य शेखहरु निकै प्रभावित बने ।

यसबीच उनले नेपाली साहित्य क्षेत्रका चर्चित श्रष्टाका मुहारचित्र धारावाहिक रुपमा बनाए । कवि दिनेश अधिकारीदेखि शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीका मुहारचित्र उसैगरी उनका क्यानभासमा कैद भएका छन्।

उनले बनाएका व्यक्तिचित्रहरू जस्ताको तस्तै बनेका त छन् नै, त्योभन्दा बढी कलाकारिताको व्याकरण र रङको माधुर्यले अब्बल बनेका छन्।

त्यसैगरी उनले आधुनिक शैलीका अर्ध अमूर्त र पूर्ण मूर्त शैलीका चित्रहरू रचना गरेका छन्। उनका यी आधुनिकला जीवन भोगाइका वास्तविक दस्तावेज हुन् भन्दा अतिशयोक्तिपूर्ण नहोला।

चित्रमा प्रयोग भएका रातो, पहेँलो, निलो र हरियो रङले संघर्ष, विद्रोह, आशा र निराशाका भावहरू व्यक्त गरेका छन्।

कलाकारिताको अलावा जीवित साहित्यमा पनि उत्तिकै जमेका छन्। खासगरी उनी काव्यविधामा कलम चलाउँछन् । माया, प्रेम, विछोड र विद्रोह उनका काव्यका विषयवस्तुहरू हुन्। त्यसैगरी परदेशमा बस्दाको पीडा र जन्मभूमिको सम्झनामा लेखिएका डायस्पोरिक कविता उनले लेखेका छन्।

हालसम्म उनका ‘अनुभूतिका चर्चाहरू’ २०६० र ‘ईश्वरको खेती’ २०७१ पुस्तक प्रकाशित छन्।

आऔँ यिनै अब्बल कवि तथा कलाकारले बनाएका चित्रहरू अवलोकन गरौँ:

लेखक परिचय
प्रतिक्रिया
Loading...