चीनको साङ्दोन प्रान्तको रिझाओस्थित एक पुस्तक पसलमा आफ्ना सन्तानलाई पुस्तक पढाउँदै एक महिला । पछिल्लो समयमा यो प्रान्तले साँस्कृतिक गतिविधि तथा पठन संस्कृति बढाउन विविध प्रयास गरिरहेको छ । तस्बिरः गुओ सुलोइ/सिन्ह्वा

चीनमा पुस्तकसम्बन्धी कार्य हेर्नका लागि ५८० वटा सरकारी संस्था छन् । चाइना पब्लिसिङ ग्रुप, तीमध्ये एउटा समूह हो, जसअन्तर्गत ४० वटा विभिन्न प्रकाशन संस्था पर्छन् । सारा चीनले के पढ्ने भन्ने कुरा तिनै सरकारी संस्थाले निर्क्योल गर्छन् ।

चीनमा पुस्तक प्रकाशनको बजार वर्षको १५ बिलियन डलर छ । यो अमेरिकाभन्दा केहीले कम हो । तर यो पनि औपचारिक तथ्याङ्क हो र जुनसुकै देशमा पनि अनौपचारिक बजारको ठाउँ त रहन्छ नै !

सारा संसारमा पुस्तक पसल खुम्चदैछन्, चीनमा भने बढिरहेका छन् । गएको वर्ष मात्र चार हजार वटा पुस्तक पसल नयाँ खुले, त्यो पनि विश्वव्याधिका बेला !

चीनमा सबैभन्दा बढी पुस्तक पसल दक्षिणीपश्चिमी क्षेत्र चेङ्दुमा छ । त्यसो हुनुमा त्यस क्षेत्रका नगरपालिकाहरूले पुस्तक पसलमा भारी छूट दिएकाले पनि हो । किताब नाफाको व्यवसाय होइन, त्यसैले त्यहाँ स्थानीय सरकारले नै यस्तो काम गर्न रूचाउनेलाई विशेष छूटमा ठाउँ उपलब्ध गराउँछ ।

यहाँ पुस्तक प्रकाशन गर्न अलि कठिन छ । सरकारी सेन्सर कडा छ । पाठकले चाहेजस्तो पुस्तक पाउन कठिन छ । देशबाहिरबाट छापिएर आएका किताब त्यहाँ दुस्मन नै ठानिन्छ । खासगरी हङकङ र ताइवानबाट छापिएका पुस्तक भेटिए, पाठकले नै सरकारलाई जानकारी गराउँछन् ।

यसका बाबजुद पनि चीनमा साना प्रकाशन संस्थाहरू पछिल्लो पटक निकै मौलाएका छन् । तिनलाई पुस्तक निकाल्न अप्ठेरो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले नयाँ शैलीको विकास गरेका छन् । तिनले म्यागेजिन शैलीमा पुस्तकहरू निकाल्ने गर्छन् । र, तिनलाई स्थानीय पाठकले निकै रूचाइरहेका छन् किनभने त्यो काम सरकारी संस्थाहरूले या त कामै ठान्दैनन् या त त्यो कामका लागि दक्ष युवापुस्ता त्यहाँ हुँदैनन् ।

खासगरी ग्राफिक उपन्यासजस्ता पुस्तकहरू साना प्रकाशकले छापिरहेका छन् । कडा सेन्सर भएका कारण यस्ता पुस्तकमा विवादित विषयहरू कुनै पनि हुँदैनन् । त्यसैले ती सहज रूपमा बिक्री हुन पाइरहेका छन् । त्यसो त तिनका पाठकहरू नियमित पाठक नभएकाले पनि युवाहरू झुम्मिने ठाउँमा मात्र ती पाइन्छन्, पुस्तक पसलमा पाइँदैनन् ।

यो अनौपचारिक क्षेत्र निकै मौलाएका कारण यस्ता अलग्गै पुस्तकहरूको प्रदर्शनीसमेत चल्ने गरेको छ, जसलाई ‘अनफोल्ड’ नाम दिइएको छ । सांघाईमा यस्ता विद्रोही कार्य गर्न अलि खुकुलो छ, बेइजिङको तुलनामा । त्यस पछाडिको मुख्य कारण चाहिँ बजारमा नयाँ के आउँदैछ, कस्ता कुरा रूचाइँदैछन्, भविष्यको बजार के हुनेवाला छ भन्ने कुरा जान्नु नै हो । यस्ता भूमिगत बजारले नै भविष्यको बाटो देखाउने गर्छ ।