साइनोले उनी मेरा दाजु हुन्‌ । सानोतिनो जिम्दार । गाउँमै प्रायः बस्छन्‌ । स्थानीय स्तरका प्रभावशाली नेता हुन्‌ उनी । गाउँलेहरू उनलाई निकै सम्मान गर्छन्‌ । सम्मान उनको व्यक्तित्वलाई गर्छन्‌, बिचारलाई गर्छन्‌, उनको आदर्शलाई गर्छन्‌ । वास्तवमा उनी सम्मानका लायक पनि छन्‌ । नग्न, भलाद्मी, मितभाषी छन्‌। चरित्रवान्‌ छन्‌ । उनका बारेमा आजसम्म जथाभावी केही सुनिएको छैन ।

उनी पनि गाउँलेहरूलाई निकै माया गर्छन्‌ । सबै गाउँलेहरूलाई आफ्नै दाजुभाइ ठान्छन्‌ । पुरुषको श्रमको सम्मान र नारीको शीलको आदर हनुपर्छ भन्छन्‌ उनी । म बेलाबेलामा उनलाई आदर्शवादी भन्छु । उनी हाँस्छन्‌ र भन्छन्‌ – आदर्श नै त जीवन हो । आदर्श भएन भने जीवनको के अर्थ ! गान्धी जीवित छन्‌ किनभने उनको आदर्श जीवित छ।”

उनको यस किसिमको आदर्शमा नतमस्तक हुन मन लाग्छ, कहिलेकाहीँ ।
गाउँमा एउटा कोठार छ उनको । भाउजू नेपालगञ्जमा बस्नु हुन्छ । गाउँमा सबैसित मिल्ने मेरा दाजुको आफ्नी अर्धाङ्नीसित खासै मिल्ती छैन । भाउजू अलि रोगी हुनुहुन्छ । दमले बेलाबेलामा दुःख दिन्छ । एकपटक टिबी पनि भैसकेकाले छाती कमजोर छ। जीर्ण र उमेरमै बूढो भैसकेको शरीर छ उहाँको । अनुहारमा आकर्षण छैन । शरीर कमजोर भए पनि स्वभाव कडा छ भाउजूको । सायद त्यही भएर पनि दाजु-भाउजूबीच खासै न्यानो हार्दिकता छैन । हार्दिकता नभएपछि मेल नहुनु स्वभाविकै हो ।

नयनराज पाण्डे

नयनराज पाण्डे

*****
त्यसैले मेरा दाजुले आफ्नो ध्यान परिवारभन्दा गाउँ र गाउँको राजनीतिमा केन्द्रित गरेका छन्‌ । गाउँप्रति उनको तीव्र मोह छ । यति तीव्र मोह कि हामी भन्छौँ – “यस्तो डरलाग्दो समय र जटिल परिस्थितिमा पनि गाउँमा बस्ने ? वाह, क्या हिम्मत हाम्रा दाजुको ।”

गाउँमा अधिकांश समय मेरा दाजु किताब पढ्छन्‌ । सानोतिनो पुस्तकालय नै छ उनको । पुस्तकालयमा मोटा मसिना थुप्रै किताबहरू छन्‌ । सुरक्षा फौजले गाउँमा आएर बेलाबेलामा जाँच गर्ने भएकोले रेड बुकहरू भने उनले नेपालगञ्जतिरै लगे र त्यहाँको स्थानीय पुस्तकालयलाई दान दिए।

*****
पोहर जाडोताका म पनि दाइसँगै गाउँ गएँ । सहरको तनावबाट मुत्त हुन । र साँच्चिकै तानावमुक्त पनि भएँ ।

म दाइकै कोठारमा बस्थेँ । तल्लो तलामा धानका भकारीहरू थिए र माथिल्लो तलामा दुईवटा कोठाहरू थिए । भान्साको काम बार्दलीजस्तोमा हुन्थ्यो । गाउँमा थप तडकभडक देखाउन जरुरी पनि त थिएन ।

भात भान्साको लागि दाइले ओरगानी राख्नु भएको थियो । ओरगानी विवाहित थिई, तर सुन्दर थिई । मादकता खाँदाखाँद भरिएको थियो ऊभित्र । त्यसैले म जिस्काउँथैँ उसलाई । ऊ जिस्कन्थी पनि । मैले जिस्काएकोमा खुसी पनि हुन्थी ऊ।

तर मेरा दाजु भने ऊसित राम्ररी बोल्दैनथे । मुस्किलले दुईचार शब्द बोल्थे। राम्ररी ओरगानीतिर हेर्दा पनि हेर्दैनथे । बोली हाले पनि, हेरी हाले पनि त्यो बोली र हेराइमा सम्मानजस्तो भाव हुन्थ्यो ।

नारीलाई महान्‌ ठान्नु हुन्थ्यो नि, सायद त्यसैले ।

*****
ओरगानीको पति गाउँमा थिएन, सहरमा कतै विक्रम टेम्पु चलाउँथ्यो रे !

दुईचार महिनामा गाउँ आउँथ्यो । मेरा दाजैले त ओरगानीको पतिलाई नदेखेको वर्षौं भइसकेको थियो । संयोग नै त्यस्तो । ओरगानीको पति गाउँमा आउँदा मेरा दाजु नेपालगञ्जतिर लाग्थे र उहाँ फर्कदा ओरगानीको पति सहर फर्किसकेको हुन्थ्यो ।

जे होस्‌, दाजु यताउता आमसेवामा लागेको बेला ओरगानी मेरो सेवामा लाग्न थाली । सेवा शारीरिक तहमा पुग्ने सम्भावना पनि थियो । र म त्यो सम्भावनालाई साकार गर्न चाहन्थेँ ।

उ भन्थी – “गौ किरिया, लोग्नेपछि मलाई छुने तपाईं नै हो ।”

म पत्याइदिन्थेँ । ऊ खुसी हुन्थी ।

तर यो ‘छुनु’ छुनुको तहमा मात्र सीमित थियो । म चाहन्थेँ, यो सम्बन्ध केही अघि बढोस् ।

तर मलाई उसको सास निकै गनाउँथ्यो । उसको शरीरबाट धुँवाको गन्ध आउँथ्यो किनभने उ प्राय: चुलोमै व्यस्त हुन्थी । शरीरको गन्धलाई त सहेको थिएँ, तर उसको मुखको गन्ध अलि असह्य हुन्थ्यो ।

ऊ लुकिलुकि खान्थी । मैले “चुरोट खान्छेस्‌ ?” भनी सोध्दा भन्थी “खान्न, गौ किरिया ।”

*****
दाइ दिनभरि गाउँ डुल्थे र साँझ आएर मलाई सोध्थे – “कहिले फर्कन्छस्‌ ?”

म “अझै केही दिन बस्छु” भन्थेँ ।

उनी अलि लामो सुस्केरा हाल्दै फेरि ग्रामभ्रमणमा लाग्थे । राति अबेर फर्कन्थे । उनी बाहिर रहुञ्जेल, म सुटुक्क भित्र हुन्थेँ – ओरगानीसित, स्पर्शसुखमा लिप्त ।

शीरीरिक सुख भोग गर्ने मेरो चाहना उसाको सासको गन्धका कारण पूरा हुन सकेको थिएन ।

स्पर्श सुखमा लिप्त हुँदा पनि हरेक पटक ओरगानी यही भन्थी – “मेरो लोग्नेपछि मलाई छुने तपाईं नै हो – गौ किरिया”

र म फेरिफेरि पत्याइदिन्थेँ ।

*****
तर ओरगानीको मुखको दुर्गन्ध मलाई झन्‌-झन्‌ असह्य हुन थाल्यो । मैले त्यो दुर्गन्ध हटाउने उपाय सोच्न थालेँ । किनभने त्यो दुर्ग्ध हटेपछि उसको शरीर भोगको मेरो चाहना पूरा हुने प्रबल सम्भावना थियो । र मैले उपाय भेटेँ पनि । प्राकृतिक उपाय । सुकुमेल । मैले उसको निम्ति सुकुमेल ल्याइदिने निश्चय गरेँ ।

तर गाउँमा कतै सुकुमेल पाइएन । त्यसैले बाँसगढी नै जानु पर्ने भयो। म तयार भएँ। तर जाडो निकै थियो । मधेशको जाडो । शीतलहर पनि चलिरहेको थियो । मेरो सबै न्यानो लुगा बिहानै ओरगानीले धोइदिएकीले मलाई न्यानो लुगाको खाँचो पर्यो ।

उसैले भनी – “दाइको कोट लगाउनुस्न ।”

मलाई पनि उसको उपाय राम्रै लाग्यो । दाइ ग्रामभ्रमणमा थिए, त्यसैले मैले उनको कोट धारण गरेँ।

*****
कोट न्यानो थियो । एकदम तातो थियो । शरीर पनि दङ्ग पर्यो मेरो र फुर्तिसाथ सुकुमेल लिन बाँसगढीतिर जान तम्तयार भएँ । र उत्साहसाथ कोटको खल्तीमा हात हालेँ।

म छक्क परेँ । तीन छक्क । छक्क पर्नु जरुरी पनि थियो । किनभने सुकुमेल त यहीँ थियो । दाइको कोटको खल्तीभित्र । मैले सुकुमेल ओरगानीलाई देखाएँ । ऊ लाजले रातो भई। पूरै रातो। र रातै अनुहार पारेर भनी – “उहाँसित कैलेकाहीँ मात्र । गौ किरिया ।”

र मैले यसपटक पनि उसको कुरा पत्याइदिएँ । पत्याएजस्तो गरिदिएँ ।

तर अब ओरगानीसित शारीरिक सुख भोगको योजनालाई मैले परित्याग गरिदिएँ । नैतिकताका कारण ।

*****
यो पोहर सालको कुरा हो। तर सुन्छु – गाउँमा यसपाली जाडोमा मेरा दाजु गाउँ गएनन्‌ । गाउँमा ओरगानीले बतासे छोरा पाई । उसको लोग्ने जङ्गल पस्यो । बेलाबेलामा उ बन्दुकसहित गाउँ आउँछ र गाउँलेहरूलाई मेरा दाजुको बारेमा सोध्छ र अनि क्रुद्ध भावमा भन्छ – “फेला परोस्‌ मात्र, जनकारवाहीमा पर्छ त्यो ।”

*****
मेरा दाजुले अचेल राजनीतिक र साहित्यिक लेखहरू लेख्न थालेका छन्‌ । गाउँको राजनीतिलाई खत्तम भन्छन्‌ । त्यसैले जिल्ला स्तरीय राजनीतिमा व्यस्त छन्‌ । गाउँ गनाउँछ भन्छन । गाउँलेहरूलाई मूर्ख ठान्छन्‌ । नारी जातिलाई घृणा गर्छन्‌ र लेख्छन्‌ – “नारी साँप हो, बिषालु साँप ।”