२० औँ शताब्दीका महान् अमेरिकी लेखकमध्ये अर्नेस्ट हेमिङ्गवे पनि एक हुन् । उनको सबैभन्दा चर्चित उपन्यास द ओल्ड म्यान एन्ड द सीले सन् १९५३ मा उपन्यास विधामा पुलित्जर पुरस्कार जितेको थियो । त्यसको अर्को वर्ष उनलाई साहित्यमा पुर्याएको योगदानका लागि नोबेल पुरस्कार दिइएको थियो । ‘उनको शक्तिशाली लेखनी, शैली निर्माण गर्ने शिल्प र अभिव्यक्तिको कलाका लागि’ पुरस्कार दिइएको नोबेल समितिले जनाएको थियो ।

कसरी लेख्ने भन्नेबारेमा हेमिङ्वेले कहिल्यै सिकाएनन् । जसले हेमिङ्वेले लेखनबारे यसो भने भनेर किताब निकाले, तिनले पनि छरपष्ट विचार, उपन्यास, चिठ्ठीपत्रहरूबाट सिला खोजेर तयार पारेका हुन् ।

आफू छँदै यस्तो काम गरिहाल्नुपर्छ भन्ने सोच स्टेफन किङको थियो, रे ब्राडबरीको थियो । ज्यूँदै छँदा उनीहरूले कसरी लेख्ने भनी पुस्तकै निकाले । ग्रिन हिल्स अफ अफ्रिका पुस्तकमा हेमिङ्वेले कतै भनेका छन्, ‘त्यस्ता लेखक भाग्यमानी हुन्, जसको लेखनीले अरूलाई एक वाक्य भए पनि लेख्न प्रेरणा दिन्छन् ।’

शायद यही कारणले कसरी लेख्ने भनेर सिकाउने लेखकको सूची भने निकै लामो भएको हुनुपर्छ । मूल कुरा त कसरी लेख्ने भनेर सिकाएर कोही लेखक बन्दैन । जब कसैको लेखनीको घनले रन्थन्याएर कसैले कलम समाउँछ र एक पाना भए पनि लेख्छ, त्यस्ता लेखकलाई हेमिङ्वेले भाग्यमानी भनेका हुन् ।

कसरी लेख्ने भन्ने सूत्रहरू नलेखे पनि त्यस्ता छनक उनले पर्याप्त दिएका छन् । कसैलाई चिठ्ठी लेख्दा दिएका छन् । ती चिठ्ठीमध्ये केही आफ्ना एजेन्टलाई लेखेका छन् । केही प्रकाशकलाई, केही लेखकहरूलाई, केही साथीहरूलाई लेखेका छन् । ती सबै चिठ्ठीहरू पढेपछि नै एउटा पुस्तक तयार भएको छ, अर्नेस्ट हेमिङ्वे अन राइटिङ

ती चिठ्ठी पढिसकेपछि उनको लेखनबारेको धारणा स्पष्ट हुन सकिन्छ । उनका छरपष्ट विचारमध्ये मलाई रूचेका केही टिप्सहरू यहाँ उल्लेख गरिएको छः

१. लेखनी के हो ?
राम्रा पुस्तक वा राम्रा लेखनी तपाईंसँग छपक्क टाँसिन्छन् । तिनले मन मस्तिष्कलाई राम्रो तथा नराम्रो दुवै हिसाबले तपाईंलाई प्रभाव पार्छन् । जुन लेखनीले तपाईंलाई पढिसकेपछि पनि प्रभाव पार्छन्, तिनले आनन्द दिन्छन्, खिन्नता जन्माउँछन् र दुःखी पार्छन्, त्यो लेखनी राम्रो हो ।

मान्छेले मलाई सोध्छन्, गद्य लेख्न सजिलो कि पद्य ? कविता लेख्न सजिलो कि उपन्यास ? राम्रो सिर्जनाको सूत्र के हो ? धेरैले सोध्छन् । अहिलेसम्म कसैले पनि त्यो पत्ता लगाउन सकेको छैन । त्यसैले आफू सन्तुष्ट नहुञ्जेलसम्म लेखिरहनु नै उत्तम ।

२. लेखन गुणस्तर
मैले जीवनभर शब्दहरूलाई यसरी हेरेँ, जस्तो कि म पहिलो पटक तिनलाई देख्दैछु… लेखनमा गम्भीर हुनै पर्छ । अर्को चाहिँ तपाईंमा प्रतिभा हुनै पर्छ ।

राम्रो लेखकको अत्यावश्यक उपहार नै फोहोर पत्ता लगाउने क्षमता हो । सबैजसो महान् लेखकमा त्यो गुण हुन्छ । तिनले एकै झमटमा अनावश्यक शब्द, अनावश्यक अनुच्छेद, अनावश्यक लेखनी पत्ता लगाइहाल्छन् । अरूको मात्र होइन, आफ्नै !

न्याय गर्ने क्षमता वा अक्षमताले राम्रो लेखक वा नराम्रो लेखक बनाउँछ ।

महान् लेखक आमाको कोखबाटै ज्ञान लिएर आएको प्रतीत हुन्छ तर त्यस्तो हुँदैन । राम्रो लेखकमा चाँडै सिक्ने क्षमता चाहिँ हुन्छ । तिनमा के राम्रो र के नराम्रो भन्ने भेउ चाँडै पाउँछन् र त्यो क्षमता चाँडै सिक्छन् ।

३. लेख्नुको आनन्द र पीडा
मेरो विचारमा तपाईंले दुई जनाका लागि लेख्नुहुन्छ । पहिलो तपाईं आफ्नै लागि लेख्नुहुन्छ र त्यो पूर्ण, काइदाको लेखनी होस् भन्ने चाहनुहुन्छ । अर्को चाहिँ, जसलाई तपाईं असाध्य प्रेम गर्नुहुन्छ, उसका लागि लेख्नुहुन्छ । चाहे त्यो जीवित होस् या मृत ।

लेख्नु चुनौती हो । मलाई चुनौती मन पर्छ । मैले जानेको नै चुनौती हो र मलाई राम्रोसँग थाहा छ, यो म राम्रैसँग गर्न सक्छु ।

म खुसी हुनका लागि लेख्ने गर्छु । चाहे त्यो लेखाईबापत मैले पैसा पाऊँ या नपाऊँ । यो एउटा यस्तो कीरा हो, जो तपाईंको दिमागमा सल्बलाइरहन्छ र यसले तपाईंलाई नरकको अनुभूत गराउँछ । जब लेखिसिध्याउनु हुन्छ, त्यसले घुमाउने स्वर्गको बयान गरिरहनु पर्दैन, त्यो त अनुभूत गर्ने कुरा हो ।

४. के लेख्ने ?
मैले जो दैनिन्दिनीका बारेमा लेख्छु, के आलोचनाका लागि म लेख्छु ? जस्तो जीवन छ, त्यसलाई देखाउन लेख्छु ? होइन । म त दैनिन्दिनीलाई जीवन्त पार्न लेख्छु । त्यसैले जब तपाईंले केही पढ्नुहुन्छ, त्यो तपाईंले अुनभूत गर्नुहुन्छ । खराब तरिकाले लेखेर तपाईंले सुन्दर अनुभूत गर्न सक्नुहुन्न । अथवा, तपाईंले जे कुरा सुन्दर अनुभूत गर्नुहुन्न, त्यो सुन्दर तरिकाले अभिव्यक्त गर्न सक्नुहुन्न ।

तपाईंले त्यही कुरा लेख्नुहोस्, जुन तपाईंलाई थाहा छ । किताब लेख्दा ध्यान दिनुस्, जसलाई तपाईं चिन्नुहुन्छ, जसका बारेमा तपाईंलाई मज्जाले थाहा छ, जसलाई तपाईं प्रेम गर्नुहुन्छ, जसलाई तपाईं घृणाा गर्नुहुन्छ तिनका बारेमा लेख्नुहोस् । तपाईंले पढेका र नचिनेका व्यक्तिका बारेमा लेख्नु भनेको शब्दफोहोर जमाउनु हो ।

मैले लेखेर जे जति कमाएँ, जे जति सफलता हात पारेँ, ती सबै मैले चिनेका मान्छेका कथाहरू नै थिए ।

५. परम् सत्यमा ध्यान दिनुस्
जब म नयाँ कुरा लेख्न बस्छु, कथा कहाँ बग्छ मलाई थाहा हुँदैन । म पेरिसको एउटा घरको छानामा उभिन्छु र सोच्छु… चिन्ता नगर अर्नेस्ट । तैँले पहिले पनि लेखेकै होस् र पछि पनि लेख्ने नै छस् र अहिले पनि लेख्छस् । मात्र तैँले एउट सच्चा वाक्य लेखे पुग्छ । त्यो सच्चा वाक्यले तँलाई तानेर लैजान्छ ।

त्यसैले तपाईंले लेख्दा पनि तपाईंलाई थाहा भएको सर्वसत्य, परम् सत्य वाक्यबाट लेख्न थाल्नुहोस् । मैले पनि त्यस्तै गर्छु । एउटा परम् वाक्यबाट कथा शुरू गर्छु । त्यसपछि त्यो वाक्यले मलाई तान्दै कथाको अन्तिम बिन्दुसम्म पुर्याइदिन्छ । त्यो वाक्य मैले त्यो बेलासमम जानेको परम् सत्य वाक्य हुन्छ, मैले देखेको वा कसैबाट सुनेको परम् सत्य कुरा हुन्छ ।

६. के त्याग्ने, जान्नुस्

निबन्धकारलाई एउटा कुरा गज्जबले थाहा हुन्छ, लेखनीमा के राख्ने र के फ्याँक्ने भन्ने ! के चिज किन त्यहाँ राख्यो भन्ने एउटा असल पाठकले चाल पाउँछ । एउटा आइसबर्ग (हिमशैल)को स्वाभिमान लेखकीयमा हुनुपर्छ । समुद्रमा यसको टाउको मात्र देखिन्छ तर जब त्यसको फेद पत्ता लगाउनुहुन्छ, टुप्पोपछिको फेद त आठ गुणा बढी भएको चाल पाउनु हुनेछ । जसलाई के कुरा निकाल्ने भन्ने थाहा हुँदैन, उसले जे निकाल्छ, त्यसपछि उसको लेखनी सतही बन्न पुग्छ ।

अब्राहम लिङ्कनले गृहयुद्धको अन्त्यपछि दिएको गेटिसबर्ग भाषण उनलाई के बोल्ने थाहा नभएर छोटो मीठो भएको होइन, कति कुरा बोल्दा उचित हुन्छ, त्यो थाहा पाएकाले मीठो भएको हो । निबन्ध लेखनको नियम त्यति नै लागू हुन्छ, जति विमानको नियम वा गणितको नियम वा भौतिकशास्त्रको नियम लागू हुने गर्छ ।

७. शब्द गणना
मलाई केही न केही लेखिरहन मन पर्छ । मलाई लेखनमा जति आनन्द अरू केही गर्दा आउँदैन । दिनमा मैले १२ सय शब्द लेख्दा म खुसी हुन्छु, २७ सय शब्द लेख्दा खुसी हुन्छु । कहिलेकाहीँ दिनमा कनेर ३२० शब्द लेख्छु, त्यो बेला पनि मलाई उत्ति नै खुसी लाग्छ । लेखिसकेर जब शब्द गन्छु, मलाई आनन्द लाग्छ ।

८. कुवा रित्तिँदैन
जसले केही शब्द लेख्छ, केही न केही लेखिरहेको हुन्छ, उसबाट तपाईंले केही न केही लेखन कला सिक्न सक्नुहुन्छ ।

म केही नपढी लेख्न सक्दिनँ । बिहान बिहानै जब म केही पढ्छु, मलाई त्यसले केही न केही लेख्न घच्घच्याउँछ । पढिनँ भने नङ टोकूँ कि कपाल कन्याउँ कि, केही गरी मलाई लेख्न आउँदैन ।

अनि जब मैले केही लेखिसिध्याउँछु, मलाई नपढी हुँदैन । त्यसपछि म खालीपनको महसुस गर्छु, रित्तिएको अनुभव हुन्छ मलाई । मलाई मेरो लेखनको कुवा कहिल्यै रित्तिदैन भन्ने थाहा छ । त्यसैले म ह्वारह्वारी लेखेर त्यो खानी रित्याइदिऊ या रित्तिएला कि भनेर आत्तिन्नँ । म कुवाको पानी रित्तिने गरी लेख्छु र मलाई थाहा छ, भोलिपल्ट त्यो कुवामा फेरि पानी भरिनेछ र अवश्य भरिनेछ ।

(ल्यारी डब्लु. फिलिप्सद्वारा सम्पादित ‘अर्नेस्ट हेमिङ्वे अन राइटिङ’ पुस्तकमा आधारित ।)