केविन बर्न्स

जीवनमा ३० भन्दा बढी डकुमेन्ट्री बनाइयो । यस क्षेत्रमा काम गर्न थालेको चालीस वर्षभन्दा बढी भइसक्यो । मलाई इतिहासमा रुचि छ । त्यसैले मैले भियतनाम युद्ध र अमेरिकी गृहयुद्धमाथि डकुमेन्ट्री बनाएँ । तिनले मलाई व्यापक स्तरमा चिनाए पनि । हाल बिबिसीबाट निर्माण तथा प्रसारण भइरहेको अर्नेस्ट हेमिङ्वे माथिको वृत्तचित्र पनि चर्चामा छ । ६ भागको यो डकुमेन्ट्रीको लोकप्रियताले मलाई जिम्मेवारी बढाएको छ ।

हेमिङ्वेमाथि बनाइएका वृत्तचित्रको कुनै कमी छैन । यो किन बनाइस् त भन्नेहरु पनि उत्तिकै छन् । सन् १९८० को दशकदेखि नै मलाई हेमिङ्वेमाथि डकुमेन्ट्री बनाउन मन थियो । तर यसका लागि बजेट, उपयुक्त सहलेखक तथा निर्माता साथीहरु फेला पारेको थिइनँ । धेरैपछि मैले ज्याफ्रे वार्ड, लिन नोभिकजस्ता साथी फेला पारेँ ।

हुर्कंदै गर्दा मैले अ फेयरवेल टु आर्म्स तथा द सन अल्सो राइजेजजस्ता महान् सिर्जना पढ्ने अवसर पाएँ । तिनले मलाई महिनौँ घोचिरहे । उनका यी सिर्जना आधुनिक साहित्यतर्फका अद्वितीय लेखनी हुन् भन्ने मेरो ठम्याई छ ।

डकुमेन्ट्री बनाउने सोच अघि बढ्दै जाँदा मैले स्टेफन कुसम्यानजस्ता हेमिङ्वे विशेषज्ञलाई भेटेँ । उनले एकताका भनेका थिए, ‘मानिसजस्तो क्लिष्ट कुरालाई उनले जस्तो सरलीकृत रुपमा धेरै कमले मात्र पस्कन सकेका छन् । त्यो उनको हिम्मत हो ।’

एकातिर लियो टोल्सटोयजस्ता लेखक छन्, जसले जीवनको भव्यता हजारौँ पृष्ठमा व्यक्त गर्न सक्छन् । अर्कोतिर हेमिङ्वेजस्ता लेखक छन्, जसले सम्पूर्ण जीवनको भव्यता होइन, मानिस बाँचिरहेको क्षणलाई थोरै शब्दमा भव्य रुपले अभिव्यक्त गर्न सक्छन् । हेमिङ्वेको त्यो कुरा मलाई मन पर्यो ।

द ओल्ड म्यान एन्ड द सीलाई नै लिऔँ न ! यो सानो पुस्तिका ससर्ती पढ्दा एउटा बूढो मानिसको संघर्षको कथा छ तर त्यहाँ एउटा वृद्धावस्थाको ठूलो दर्शन लुकेको छ ।

अर्नेस्ट हेमिङ्वेको जीवनमा धेरै उतार चढावहरु छन् । उनको परिवारै बौलाहा थियो । मानसिक रोगको घर भन्दा फरक पर्दैन । त्यसपछि उनी विश्वयुद्धमा भाग लिन गए । त्यहाँ उनले युद्धको विभीषिका आफ्नै आँखाले देखे । उनका बुवाले आत्महत्या गरेका थिए र सोही कुराले उनलाई जीवनभर दुःख दिइरह्यो । उनी रक्सीको लतमा परे । आफूमाथि उनले विभिन्न औषधीय प्रयोग गरे, जसका कारण उनको मस्तिष्कमा ठूलो क्षति पुग्यो । पछि उनमा विस्मृतिको रोग लाग्यो । उनले नोबेल पुरस्कार जित्दा विस्मृतिका कारण सानो कागजको चिर्कटोमा लेखेर लगेका कुरा वाचन गरे । यो धेरैका लागि दुःखदायी दृश्य थियो ।

शायद यही कारणले एक जना पत्रकारले राम्रो लेखक हुन के जरूरी छ भनी सोधेको जवाफमा उनको उत्तर थियो, ‘दुखद् बाल्यकाल ।’

यो डकुमेन्ट्री बनाउँदै गर्दा यी व्यक्तिप्रतिको मेरो सम्मान झन् थपियो । उनका केही सिर्जनाको म प्रशंसक थिएँ । व्यक्तिका रुपमा मलाई खासै मतलब थिएन । तर जब मैले साहित्यसँगै व्यक्तिलाई पनि चिनेँ, उनीप्रतिको श्रद्धा बढेर आयो । उनको शब्द सामथ्र्य देख्दा र त्यसका बाबजुद लेखनीमा असफलताका वर्षको झेलाई बुझ्दा उनीप्रति मेरो सम्मान अझ बढ्यो । खासगरी उनीप्रति मेरो करुणाभाव बढेर गयो । त्यति मात्र होइन, उनको टु ह्याभ एन्ड ह्याभ नट तथा एक्रस द रिभर एन्ड इन्टु द ट्रिज पढ्दा पहिलेको भन्दा म अझ असल मानिस बन्न प्रेरित भएँ भन्ने लागेर आयो ।

भलै मानिसले उनलाई स्त्री आशक्त पुरुषका रुपमा हेर्छन्, मलाई त्यो उनको जीवनको सबैभन्दा सानो पाटो मात्र लाग्छ । उनकी आमाले उनलाई बच्चामा छोरीका लुगा लगाइदिन्थिन् । धेरै पछिसम्म पनि हेमिङ्वेलाई म छोरा हुँ भन्ने थाहा थिएन, बालापनमा ।

जीवनका पछिल्लो समयमा उनले आफ्नो लेखनीमाथि विश्वास गुमाइरहेका थिए । तेस्री श्रीमती मार्था गेलहर्नले उनलाई घरैभित्र खाँदिएर बस्नुभन्दा बाहिर निस्कन र भ्रमणमा जान प्रेरित गरिन् । उनी हुन त महिला थिइन् तर उनको आँट, सक्रियता उनको पुरुषमा भन्दा बढी थियो । उनले उनको प्यारो लेखकलाई अँध्यारो कुनाबाट निकाल्न निकै ठूलो प्रयास गरिन् । तर उनको त्यही कुराबाट उनलाई डर लाग्थ्यो । उनी श्रीमतीको पुरुषत्वबाट डराउन थालेका थिए ।

धेरैले यतिबेला अब हेमिङ्वेपछि के भनेर सोधिरहेका छन् । खासमा भन्ने हो भने म अहिले एक साथ आठ वटा डकुमेन्ट्रीमा काम गरिरहेको छु, जसमा महान् बक्सर मोहम्मद अलीको जीवनी पनि छ । मेरा लागि सबैभन्दा प्यारो विषय भने लियोनार्दो दा भिन्सी भएको छ । यतिबेला म ६८ वर्षको पुगेँ तर गर्नैपर्ने र बनाउनै पर्ने विषयले मलाई यसरी जोश भरिरहेको छ कि मैले अन्य कुरा सोच्न नै भ्याएको छैन ।

BBC Four – Hemingway, Series 1, Episode 1

(द गार्डियन पत्रिकाबाट)