रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।
उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।
हावा र लामखुट्टेको मुद्दामामिला
एकचोटि एउटा लामखुट्टे न्याय माग्न न्यायमूर्ति सुलेमानको दरबारमा गएर प्रार्थना गर्यो, “हावाले हामीसँग यस्तो-यस्तो अन्याय गर्यो कि अब हामी बगैंचामा निस्फिक्री घुम्न सक्दैनौं । जब फूलको नजिक पुग्छौँ, हावा आएर हामीलाई उडाउँछ । जसले गर्दा हाम्रो सुखको सम्राज्यमा चट्याङ परेको छ । हामी गरिब आनन्दबाट वञ्चित छौं । हे पशुपक्षी, दीनदुःखीको दुःख मेटाइदिने महाराज ! दुवै लोकमा हजुरकै न्याय शासनको तारिफ छ । हामी हजुरसमक्ष न्यायको भीख माग्न आएका छौं ।”
पैगम्बर सुलेमानले लामखुट्टेको प्रार्थना सुनिसकेपछि भन्न थाले, “ए न्याय चाहने लामखुट्टे ! तिमीलाई थाहा छैन होला, मेरो राज्यमा अन्यायको नामोनिसान छैन । मेरो राज्यमा दुष्टको काम नै छैन । तिमीलाई थाहा छैन र ? जुन दिन मेरो जन्म भयो, त्यसै दिन अन्यायलाई गाडिदिएको हुँ । प्रकाशको उपस्थितिमा कहिले अँध्यारोको अस्तित्व रहन्छ र ?”
लामखुट्टेले भन्यो, “अवश्य ! पनि तपाईंको भनाइ सत्य हो तर हामीमाथि कृपादृष्टि राख्नु पनि सरकारको काम हो । दया गर्नुस्, दुष्ट हावाबाट हाम्रो जातिलाई बचाउनोस् ।”
सुलेमानले भने, ” म तिमीहरूलाई न्याय दिन्छु तर दोस्रो पक्षको उपस्थिति हुनु पनि जरुरी छ । जबसम्म प्रतिवादी उपस्थित भएर दुवै तर्फको बयान संकलन हुन्न, तबसम्म अनुसन्धान हुन सक्दैन । त्यसैले हावालाई बोलाउनु जरुरी छ ।”
सुलेमानको दरबारबाट हावालाई निमन्त्रणा पुग्यो । हावा निकै वेग हानेर हाजिर भयो । हावा आउनेबित्तिकै लामखुट्टे त्यहाँ बस्न सकेन, भागेर गयो । जब लामखुट्टे भाग्दै थिए, त्यतिबेला सुलेमानले भने, “तिमी न्याय चाहन्छौ भने किन भागेको ? यसरी तिमीहरूले गरेको न्यायको पुकार सुनिएला त ?”
लामखुट्टेले भन्यो, “महाराज, हावाले हाम्रो ज्यानै लिन्छ । जब त्यो आउँछ, हामी भाग्नु जरुरी हुन्छ । भागेनौँ भने हामी ज्यूँदो रहन सक्दैनौं ।”
मूल कथाकार: रुमि
अनुवाद : जनक कार्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।