संसारमा प्रख्यात चित्रकला बनाउने महिलाहरूको संख्या निकै कम छ । किन पनि कम छ भने त्यो बेला चित्रकला बनाउन एक किसिमले प्रतिबन्धजस्तै लगाइएको थियो । यो काम भने पुरूषहरूको मात्र हो भन्ने सोचले समाज वा देशहरू ग्रस्त थिए ।

यस्तोमा निकै कम चित्रकारले आफ्नो अस्तित्व मात्र जोगाएका छन् । त्यसमाथि संसारकै प्रख्यात चित्र बनाउने त निकै कम छन् । आज हामी त्यस्तै दुर्लभ चित्रकारमध्ये एक मेरी कसाट र उनको चित्रकलाबारे चर्चा गर्नेछौँ ।

१९ औँ शताब्दीको अन्त्यताका जन्मिएकी मेरी कसाटले आफ्नो नाउँ दैनन्दिनीका चित्र कोरेरै आफ्नो अस्तित्व बनाएकी थिइन् । त्यो बेला प्रभाववादी चित्रकलाको धुम मच्चिरहेका बेला उनले आधुनिक शहरिया जीवनलाई चित्रमार्फत उकेरेकी थिइन् । अरूभन्दा उनको चित्रले चाँडै स्थान बनाउनुमा भने हरेक चित्रमा उनले महिलाको दृष्टिकोण पस्कन सफल भएकी थिइन् । उनी स्वयं आफू पनि महिला भएकाले उपेक्षामा परेका महिलाका घरधन्दालाई घनीभूत रूपमा चित्रमा व्यक्त गर्न सहज पनि भयो ।

महिलाहरूको दैनिकीलाई जसरी उनले मुखरित पारिन्, त्यसैले उनलाई चित्रकलाको इतिहासमा ठाउँ दिलायो ।

त्यो बेला जापानी प्रिन्ट मेकिङ निकै चल्तीमा थियो । अन्य चित्रकारलाई पनि त्यसले प्रभावमा पारेको थियो । उनी पनि त्यो प्रभावमा परिन् । उनका चित्रमा जापानी प्रिन्टमेकिङको प्रभाव देख्न सकिन्छ । १८९० को मे महिनामा जापानी प्रिन्टको व्यापक प्रदर्शनी हुँदा उनले त्यो प्रदर्शनी हेर्ने अवसर पाएकी थिइन् । त्यो प्रभाव उनलाई पछिसम्म परेको थियो । सोही प्रभाव उनको द चाइल्ड्स बाथ नामक यो चित्रमा परेको देखिन्छ ।

को हुन् त मेरी कसाट ?
मेरी कसाट सन् १८४४ मा अमेरिकाको पिटसबगर्गमा जन्मिएकी थिइन् । उनको परिवार घुम्न खुब रूचाउँथ्यो । उनी पनि आफ्नो परिवारसँगै अनेकन् ठाउँमा सानै उमेरमा घुम्न पाइन् । उनको शिक्षादीक्षा फिलाडेल्फियास्थित पेन्सिलभेनिया एकेडेमीमा भयो ।

कलाप्रतिको मोहले उनलाई फ्रान्समा डोर्याएर ल्यायो । हुन त अमेरिकामा छँदा नै उनले अनेकन् चित्र बनाएर चर्चा बटुलेकी छँदै थिइन्, ख्याति भने फ्रान्सले दिलायो । यही ख्यातिले उनलाई १८७४ देखि फ्रान्समा नै बस्न बाध्य बनायो ।

त्यो बेला प्रभाववादी चित्रकार एडगर डेगाससँगको भेटले उनलाई प्रभावित नपारी रहन सकेन । उनी प्रभाववादी चित्रकारहरूको समूहको एक सदस्यका रूपमा रहन थालिन् । यो समूहका चार महत्त्वपूर्ण सामूहिक कला प्रदर्शनीको उनी एक सक्रिय सदस्य रहिन् । डेगासबाट उनले धेरै कुरा जान्नेबुझ्ने मौका पाइन् ।

चित्रमा के हेर्ने ?
१. टाउका
चित्रमा आमाले छोरीलाई नुहाइदिँदै गरेको सामान्य दृश्य छ । यी दुईको टाउको चित्रको मुख्य केन्द्रमा छ । आमाछोरीको अनुहार युरोपेली वा अमेरिकी छैन । यहाँ एसियाली मूलका अनुहार देखिन्छ । पूरा चित्र हेर्यो भने थाहा हुन्छ, आमाले आफ्नी छोरीलाई काखमा लिएर नुहाइदिँदैछिन् । दुवैको ध्यान एकै ठाउँमा केन्द्रित छन् र दुवै यसमा मग्न छन् भन्ने झलक चित्रले दिएको छ ।

२. कम्मरमा हात
छोरीलाई आमाले कम्मरमा हात लगाएकी छन् । छोरी असन्तुलित भएर कतै नलडोस् भन्ने हेतुले प्रायः आमाले कम्मरमा हात राखेकी हुन् । यस किसिमको कोमल छुवाईले आमाको सन्तान प्रतिको स्नेह व्यक्त गरेको छ । कोठामा व्याप्त शान्ति, घरेलु सद्भाव र संगति यसले देखाइरहेको छ । उदेकलाग्दो कुरा चाहिँ के छ भने, जीवनभर मेरीका कुनै सन्तान भएनन् तर उनका भदाभदै हुर्किएको भने नजिकबाट देखिन्, तिनीहरूसँग उनको सम्बन्ध बलियो भने थियो ।

३. बालिकाका गोडा
मेरीका गुरू एडगर डुगासले जहिल्यै पनि क्लिसे र स्वाभाविक कुराहरूलाई पन्छ्याइरहे । सोही कुरा बुझेर मेरीले पनि चित्र बनाउँदा सधैँ क्लिसे पोजलाई अस्वीकार गरिरहिन् । खासगरी एकेडेमीहरूमा यस्ता स्वाभाविक पोज (चित्रतिर हेर्ने, सतर्कको अवस्थामा रहनेजस्ता) कुराहरू बढी सिकाइन्थे । एडगर डुगासले त्यस्ता कुरालाई पन्छाएर आफ्नै शैली र शिल्प बनाउनुपर्नेमा जोड दिन्थे । सोही सिकाइअनुसार उनले गोडालाई प्रस्तुत गरेकी छन् । यहाँ कुनै शतर्कपना छैन । यहाँ स्वाभाविकता छ र यही स्वाभाविकताले नै यो चित्रलाई अस्वाभाविक बनाएको हो ।

४. जग
त्यो बेला जापानी प्रिन्टमेकिङ निकै चल्तीमा थियो । बुट्टाहरूप्रतिको मोहका कारण यहाँ जगलाई उनले जापानी फूलाकृति दिएकी छन् । खासमा हेर्ने हो भने जगलाई दाहिनेतिर भन्दा पनि देब्रेतिर राख्नुपर्ने हो । तर चित्रको सौन्दर्य बिग्रने डरले अस्वाभाविक भए पनि दाहिनेतिर नै राखेकी छन् । जगको स्वाभाविक, चिल्लो आकृतिले यसको सौन्दर्य प्रकट भइरहेको यहाँ देखिन्छ ।

आउनुस्, अझै गहिरिएर यस चित्रलाई हेरौँः