रेम्ब्रान्टको सबैभन्दा चर्चित चित्रकला द नाइट वाच अहिलेसम्म आधाअधुरो नै प्रदर्शनीमा राख्ने गरिन्थ्यो । तीन सय वर्षअघि यसको महत्त्वपूर्ण भाग नष्ट भएको थियो । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट नष्ट भएको भागलाई पुनर्निमाण गरी बाँकी भागसँग जोडिएको छ ।

सन् १७१५ मा नेदरल्यान्डको राजधानी आम्सटरडामको राजदरबारमा यो चित्र टाँग्न लाग्दा मूल चित्रको दायाँ भाग अलिकति काटिएको थियो । तलदेखि माथिसम्मको नौ इन्च काटेर दरबारको भित्तोसँग मिलाइएको थियो ।

आफ्नो दरबारमा सजाउनका लागि सर्जकको मूल सिर्जना नै उडाइएकोमा केही कलाकारले असन्तोष व्यक्त गर्दै आइरहेका थिए । पछिल्लो समय अर्का चर्चित डच कलाकार गेरिट लन्डेन्सले मूल सिर्जनाको अर्को नक्कल प्रति बनाए । त्यो नक्कल प्रतिलाई आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट सच्याइयो र त्यसलाई पुनः पुरानै आकारमा ढालियो ।

कलाकार गेरिट लन्डेन्सले रेम्ब्रान्टले ब्रस स्ट्रोकको नक्कल गर्दा केही बिगारेको पाइएपछि आइई (आर्टिफिसियल इन्टेलिजेन्स)ले सच्याएको थियो । आइई भनेको नवीनतम् कम्युटर प्रविधि हो ।

द नाइट वाच चित्र हेर्दा अब हामीले अधुरो चित्र हेरिरहनु पर्ने बाध्यता हटेको छ,’ राजधानी नजिकैको रिक्स म्युजियममा यसलाई पुनःस्थापन गर्दै निर्देशक टाको डिबिट्सले भने ।

रेम्ब्रान्टले सन् १६४२ मा बनाएको यो पेन्टिङमा शहरको विद्रोह देखाइएको छ । राति राति गस्ती गर्ने त्यो समयको विद्रोह जनताका लागि गर्व र प्रजातान्त्रिक चाहको संकेत बनेर यो चित्र उभिएको छ । सो अवधिलाई नेदरल्यान्डको स्वर्ण युगका रुपमा पनि लिइन्छ ।

हाल थपिएका टुक्रापछि केन्द्रमा रहेका क्याप्टेन फ्रान्स बानिक कोक र लेफ्टिनेन्ट विलेम भान रुटेनबर्क अलि छेउ किनार लागेको महसुस गराउँछ ।

संग्रहालयका चित्रकला प्रमुख पिटर रोलोफ भन्छन्, ‘यो टुक्रो कसरी गायब भयो, किन गायब भयो भन्ने रहस्य सबै पुस्ताका लागि रोचक खोजी त हो र यो खोजी हामी पछिको पुस्तामा पनि सर्छ । त्यसका अनेकन् जवाफ हिजो पनि खोजिएको थियो । तीमध्ये राजदरबारको भित्तोमा अटाउनका लागि काटिएको टुक्रो भन्ने एउटा जवाफ तयार छँदैछ । तर हरेक पुस्ताले त्यो हराएको टुक्रो जोड्ने प्रयास गरिरह्यो । हामीले त्यसको जवाफमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्यौँ । अब शायद हामी पछिको पुस्ताले अर्को कुनै जवाफ खोज्ने होला । त्यो पनि त्यो पुस्ताका लागि नयाँ र रोचक हुनसक्छ ।’