
कवि विपिन चौधरीको परिचय
विपिन चौधरी कवि, लेखक र अनुवादक हुन् । उनको जन्म २ अप्रैल १९७६ मा खरखडी माखवान, जिल्ला भिवानी, हरियाणा, भारतमा भएको हो । उनले रस्किन बन्डको कथा सङ्ग्रह (घोस्ट स्टोरिज फ्रम राज) तथा ‘सरदार अजित सिंह की जीवनी’को अनुवाद गरेकी छन् । रेडियो नाटक र थिएटर लेखनमा पनि उनी लगातार सक्रिय छिन् । उनले नुक्कड़ नाटक र स्टेज थिएटरमा पनि काम गरेकी छन् । उनका प्रकाशित कृतिहरूमा सम्पादित कविता सङ्ग्रह- नई सदी के हस्ताक्षर, संपादक: डॉ. धनंजय सिंह (२००२), अँधेरे के मध्य से (२००८), एक बार फिर (२००८) र नीली आँखों में नक्षत्र (कविता सङ्ग्रह), ज़ेब्रा क्रासिङ (कहानी सङ्ग्रह) प्रकाशनाधीन छन् ।
हरियाणा साहित्य अकादमी तथा प्रेरणा परिवार, हिसार (२००६), वीरांगना सावित्रीबाई फुले फेलोसिप अवार्ड (२००७), वागर्थ, कोलकाता, (२००८) साहित्यिक योगदानका लागि उकलाना मंडी, हरियाणाद्वारा (२००८) बाट उनी सम्मानित तथा पुरस्कृत छिन् ।
हाल उनी महिला सुरक्षा समिति, हरियाणाकी सदस्य हुन् । चित्रकला, सिनेमा, विश्व कविता र सङ्गीतमा विशेष रुचि राख्ने उनी ननफिक्सनमा राजनीति, विज्ञान, लोक संस्कृति र इतिहास पढन मन पराउँछिन् ।
जीवनका मिहिन उपक्रमहरूलाई कवितामा बुन्ने कला भएकी विपिन कविताका विषयमा भन्छिन्- कवितामा डुबेपछि कविले कवितालाई यति नजिकबाट अनुभूत गर्दछन् कि शरीरको छाला जस्तै कवितालाई पनि चिसो र तातो अनुभव हुन थाल्छ । कविताको गुरुत्वाकर्षणको अधीनस्थ भएर यदि हामी छाप्ने, प्रशंसा बटुल्ने प्रयासमा लाग्यौँ भने यो कवितामा नै हाम्रो पराजय हो किनकि कविता आफैंमा एक पूर्ण साधना हो, जुन साधनामा हामीभित्रका प्रत्येक कुनाहरू सेतो तन्ना जस्तै बन्न सक्नुपर्छ जसले हाम्रो आत्माको एउटा सानो धब्बा पनि उजागर हुन सकोस् ।
भाषान्तर कविताको ४८औँ शृङ्खलामा कवि विपिन चौधरीका एक दर्जन कविताको नेपाली अनुवाद प्रस्तुत गरिएको छ ।
१. अन्यमनस्कता
विपिन चौधरी
शान्त जीवनमा ओर्लिन
उसलाई
निकै
आनन्द आउँछ
बिस्तारै तल आई ऊ
र बसिरही यहीँ मसँगै
हतार देखिएन उसमा
यात्राका लागि कुनै सामान मिलाउने
अब ऊसँग कुरा गर्न – केही भन्न
धेरै सजिलो लाग्न थालेको छ
यो सम्भव छ-
भोलि ऊ नै बनोस्
मेरी सबैभन्दा घनिष्ठ मित्र
म खुसी छु,
यस पटक पनि पहिले जस्तै
सपनामा होइन
ओर्लेकी छे ऊ
मेरो जीवनयात्राको ठिक मध्यमा
जति चाहे पनि
भन्न सक्दिनँ उसलाई
फर्केर जान
‘उदासी’
यसले पनि
कहाँ सोधेको थियो र ?
अवतरण गर्नुअघि
मेरो पार्श्वमा !
२. प्रविष्टि
विपिन चौधरी
भर्नका लागि
विगत जीवनको
कुनै कामनाको भाँडो
प्रवेश गरेकी थिएँ
यस जीवनमा
बिर्सेर छेउमा बसिरहेका
वर्तमानका साथीहरूको उपकार
रमाइरहेँ
पूर्वजहरूको सम्झनामा
यति धेरै दुखका कथाहरू कमाएँ कि
लगभग बिर्सिसकेकी छु
कुनै कामनाका लागि
यस जन्मसम्मको यात्रा निर्धारण गरेकी थिएँ मैले ।
फेरि त्यो प्रेम पनि त घटित भयो
केवल एक घटना जसरी नै
दुख पस्किनका लागि
अघिल्ला कैयौँ जन्महरूको
अब यो दुःख नै बन्ने छ
अर्को जीवनमा
प्रविष्ट हुने
एक मात्र
ढोका ।
३. विस्मय
विपिन चौधरी
म सोच्थेँ-
मृत्युपश्चात पनि
कुनै आश्चर्यका लागि
थोरै सम्भावनाहरू त बाँकी रहन्छन्
कुनै दिन
प्रियको संवेदित आत्माले
ढोकापछाडि लुकेको बच्चा जसरी
अचानक अगाडि आएर
अवाक् बनाउँदै
झस्काउन सक्छ
मृत्युको शोकलाई
सहन गरेको केही समयपछि
कुनै महान आत्माले
मेरो अवस्थाप्रति खेद प्रकट गर्दै
दिवङ्गतको एक झल्को देखाइदिने नै छ
यसैको प्रतीक्षामा
दिनहरू,
आफ्नै आयतनमा
हराउँदै गए
अलकत्रे सडक जस्ता समथर रातहरू
अझ अन्धकार हुँदै गए
दिन,
आफ्नो स्थायी स्वभाव जस्तै
खिन्न र बोझिल रहे
कुनै आश्चर्य घटित भएन
हो,
हराएका खुसीहरू
एक दिन सूचनाबिना नै
फर्केर आए
र मैले पनि
बिर्सिएँ
प्रतीक्षा
थियो
मलाई
कुनै दिन
कुनै
आश्चर्यको ।
४. व्यथा
विपिन चौधरी
लौ हेर्नुहोस्, अब फेरि मेरो अगाडि छ
एउटा नयाँ प्रकारको
दुःख
सबै पुराना दुःखहरूभन्दा
नितान्त भिन्न
एकदमै नयाँ अनुहारको
नयाँ ढङ्ग ढाँचाको दुःख
कवचभित्र बसेको
घुँगी
जसरी छटपटाउँछ
कवचको भित्तामा
आफ्नो शरीर तन्काउँदै
केही त्यस्तै तनावपूर्ण
अनुभूति छ
यो नयाँ दुखको
मात्र केही दिनभित्र
यसले दिएको पीडाका
कैयौँ मिहिनभन्दा मिहिन चिह्नहरू
र
उब्जाएका स्थूल सङ्केतहरू
एक एक गरेर मेट्नु परेको छ
दुःखका हरेक कोल्टेहरू
मलाई
शून्य बनाए जान्छन्
यत्नपूर्वक कैयौँ प्रसङ्गहरूलाई
समाप्त गरिसकेकी छु
सुखद स्मृतिका लामा डोरीहरूले काटेर
निकै घटाइसकेकी छु आफ्नो उमेर
टाढै राख्छु पुराना दुखहरूलाई यी नयाँ दुःखहरूबाट
नजोडियुन् कतै ती यी नयाँ दुःखहरूसित
र बनाउन् फेरि
आफ्नो एउटा छुट्टै साम्राज्य
अनेक अपरिचित जोखिमहरू लिएर आएको छ
यो नयाँ दुःखले
साँच्चै ! यस्तो अमानवीय दुःख
पहिले कहिल्यै भोगेकी थिइनँ ।
५. आफ्ना दुःख, पराइका दुःख
(अपने दुख, पराए दुख)
विपिन चौधरी
केही दुःख
यो नयाँ घरले कमाएका थिएनन्
अन्य घरेलु वस्तुहरूका साथ
भाडामा पुरानो घरबाट यिनलाई
काँधमा बोकेर
आफैँले ल्याएकी थिएँ मैले
नयाँ भाडामा बस्नेहरू माझ
आफ्ना पुराना दुखलाई अलपत्र छोड्न
मानेन मेरो मनले
आज फुर्सद निकालेर
पालैपालो ओल्टाइपल्टाइ गर्दै छु
आफ्ना सबै
नयाँ – पुराना दुःखहरू
केही दुःखहरू मलाई
गहिरो पीडा दिएर
आफैँ खाली भइसकेका छन्
अब तिनीहरूलाई घरबाट बढार्ने
समय आएको छ
प्रयोगमा आइसकेका यी दुःखहरूलाई
सारेर
जस्केलाबाहिर
ढोकाको चुकुल लगाइरहेका बेला
एक विचार आयो,
“मभन्दा पहिले यस घरमा बस्ने
गजल नामकी केटीले
जाने बेलामा
के आफ्ना सबै दुःखहरू सँगै लगेकी थिई ?
कि टुटेफुटेका सामान जसरी
तिनलाई यतै
यसै घरका कुनातिर कतै
छोडिगएकी थिई ?
कतै म उसैले छोडेर गएका दुःखलाई
दिनरात बोकेर हिँडिरहेकी त छैन,
मानेर
तिनलाई
आफ्नै दुःख ?
६. उसका दुःखहरू
(उसके दुःख)
विपिन चौधरी
ऊ
मेरो नजिक
आएको थिएन
एक्लै
ऊसँग
उसका दुःखहरू पनि
आएका थिए
दुःखहरू यस्तरी आत्मीय भएर गाँसिएका थिए ऊसित
तिनको छुट्टै परिचय दिनु पनि
उसले आवश्यक ठानेको थिएन त्यति बेला
सुरुमा ती अपरिचित दुःखहरूसित
निर्वाह गर्न केही गाह्रो अवश्य भयो
अब छैन
अब त उसका ती सबै दुःखहरू
यस्तरी मिसिएका छन् मसँग
जसरी
आजसम्मको आफ्नो उमेरमा
यो दुःख मात्र कमाइ हो
मेरो ।
साँच्चै, प्रेमले
परिचय गराउँछ
कैयौँ नयाँ अनुभव र नयाँ प्रजातिको दुःखहरूसित ।
७. गोचर पीडा
विपिन चौधरी
सबै कुरा जे देखिँदै छन्,
ती दुःख हुन्
जति सत्य
त्यति नै दुःख
गाउँबाट भागेर
मुम्बईको कुख्यात बस्तीमा शरण लिने
एक सानो बालक झरीमा नाङ्गो खुट्टा
चियाले भरिएको गिलासको ट्रे लिएर जाँदै छ
मात्र एउटा
यो बिम्बले नै
अनेक दुःखहरूलाई सँगै समेटेर ल्याएको छ
त्यसमा पनि,
कुख्यात बस्तीको कोठाका आँखीझ्यालबाट चिहाइरहेका
अर्धनग्न युवतीहहरूको दुःख
राति राति बालकहरूलाई
आवारा अनाथ केटाहरूले सताउने गरेको दुःख
गिलास फुट्दा तलबबाट पैसा काटिने दुःख
हरेक दुःखले बालकको अनुहारलाई अझ अँध्यारो बनाएर जान्छ
चियाको गिलासमा खस्दै गरेको
फोहर पानी
दुःख हो
बालकको पैतालामा केही बिझ्नुको दुःख
सडकमा पानी बगिरहेका कारण ट्रे तल राखेर,
त्यो बिझाइको कारणलाई उसले हेर्न नसक्नुको सत्यताको दुःख
छेवैको घरको सबैभन्दा माथिल्लो तलाबाट कुनै भँडुवाले
बालकलाई घिनलाग्दो गाली गर्नु र
तल उभिरहेको पसलेले ऊ खुट्टा खोच्याउँदै हिँडेको देखेर
उसलाई थप्पड लगाएर र हप्काउँदै यसो भन्नु-
“साले चियामा झरीको पानी हालेर पिउन दिन्छस्”
-को दुःख
हरेक दृश्य नै दुःख हुन्
र जब अनेक दुःखहरू
कविताका अंश बनिसकेका हुन्छन्
र शब्दहरू आँसु
त्यस बेला
कवि एक क्षणका लागि जीवनबाट टाढा गए जस्तो लाग्छ
र उसलाई फर्किआउनका लागि एक प्रहर लाग्छ
यो पनि पीडा हो
सत्यको ।
८. प्रतिच्छाया
विपिन चौधरी
निद्राको सेतो तन्ना,
त्यसमा झरिरहेका
हरिया पातहरू जस्ता
सपना
यी सपना
मेरो मनको गहिराइसम्म
घुमेर आएका छन्
मेरो विगत उमेरका सबै
कथाव्यथाहरू
सपनाको जानकारीमा छन्
निद्राले अझै देख्छ
बाल्यकालमा
बँयरको बोट हल्लाएर
आँचल भरेका
सपनाहरू
मेरो जवानीका अर्धमुदित नयनबाट
कैयौँ पटक सपनाको मनसम्म पनि
आइपुगेको छ आर्द्रता
प्रेममा निमग्न भएको कथा
सपनामा यति धेरै आएको छ कि
अब त्यो
जगको पत्थर बनिसकेको छ
निद्राले
जीवनबाट कैयौँ बिम्बहरू सिञ्चन गरेर
तिनीहरूलाई सपनामा गाँसेको छ
एउटा उमेर बिताएपछि
मानौँ मैले पनि सिकेँ,
निद्रालाई
सेतो तन्ना
र सपनाहरूलाई
हरिया पातहरूको
बिम्बमा सजाउन ।
९. एक अधीनस्थ साँझ
(एक अधीन शाम)
विपिन चौधरी
कति खिन्न अँध्यारो छ
हेर्दाहेर्दै
यो गाढा अन्धकारले
निलेको छ एउटा उर्लँदो नदीलाई
यसै अन्धकारमा
अनेक ढुकुरहरू
कैयौँ सारस
धेरै रूखबिरुवाहरू पनि लोप भइसकेका छन्
ती सुन्दर रङहरू पनि अवशोषित गरेको छ यस अन्धकारले
जसलाई मैले बनाएको थिएँ
एक आपसमा मिसाएर
अरु केही पनि हैन
एउटा साँझलाई अन्धकारको नियन्त्रणमा जानबाट रोक्न सकेकी छु
त्यही साँझको आँगनमा बसेर
हेर्दै छु
खुला आँखाले
ती सपनाहरू
जो बन्न सकेका थिएनन् हिजोको निद्राका अंश
केही सपनाहरू छन्
जसलाई मैले उज्यालोका लागि जोगाएर राखेकी छु ।
१०. हराएको मन
(लापता मन)
विपिन चौधरी
धेरै टाढासम्म उसैसित हिँडिरह्यो मन
अनि बिर्सियो
फर्कने बाटो
आफ्नो मनलाई यसरी
खुला राखेकामा आजसम्म
मैले धेरै धेरै
प्रेमपूर्ण गुनासाहरू सुनेकी छु
जब म उनका मायालु आँखामा हेर्छु
आज पनि देखिन्छ त्यहाँ
मनको त्यो बालसुलभ रूप
जब गएको थियो ऊ
पैदल, चप्पलबिना नै
उसका पदचिह्नमा आफ्ना पाइलाहरू टेक्दै
आफूभित्रको त्यो बहुमूल्य अङ्ग हराएपछि पनि मैले
उनलाई कहिल्यै हराएको ठानिनँ
न त सिकारी नै माने उसलाई
बुनेको थियो जसले कुनै दिन
यसै मनका लागि
अत्यन्त लोभलाग्दो पासो
मन त अहिले पनि
हराइरहेकै छ
र सिकारी
मेरो छेउमै छ ।
११. मेरो भागको प्रेम व्यवस्थापन
(मेरे हिस्से की प्रेम व्यवस्था)
विपिन चौधरी
कहाँ छन् मेरो भागका
गुलाफ
कहाँ छन् मेरो नाममा लेखिएका
प्रेमपत्र
तिनीहरूलाई ल्याऊ त मेरो नजिकै
त्यो गुलाब
कालो हुन लागेको छ
बास्ना
फूलबाट फर्कने तयारीमा छ
प्रेमपत्रको मसी सुक्न धेरै समय बाँकी छैन अब
के म पढ्न सकुँली ?
तिमीले लेखेका ती प्रेमपत्रहरू
जसलाई लेख्नका लागि ठिक पारेको कलमको मसी
के लेखुँ ?
यो सोच्दासोच्दै सुकिसकेको थियो
अझै पनि मलाई
ती नकुँदिएका प्रेमपत्रहरूको प्रतीक्षा छ
र ती राता गुलाबहरूको पनि
सुनेकी छु- तिनमा तिखा काँडाहरू पनि पलाएका हुन्छन्
अझै पनि यो विश्वास गर्न मनले मान्दैन ।
१२. प्रश्न मेरो खिन्नताको
(सवाल मेरी उदासी का)
विपिन चौधरी
निकै धेरै खिन्नता कमाएकी छु
मैले
थाहा छैन यो कहाँ खर्च होला ?
यो भएकै कारण मलाई
आफू हुनुको
अनुभव हुन लागेको छ
अब यो साथी हो मेरो
त्यसो भन्नुअघि
म झन्डै स्तब्ध हुन्छु
तर भर्खरै उसले मेरो काँधमा
एक प्रिय मित्र जसरी हात राखेको छ
म जस्तै यसले पनि
भरिएका आँखाले आशाको सपना देख्न सिकिसकेको छ
र फेरि पछाडि फर्केर
मलाई नै सोध्न थालेको छ-
भन-
आज तिमी मलाई कहाँ कहाँ खर्च गर्दै छौ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ माघ २०८२, बुधबार 










