वसन्तको सुमधुर याममा
गृष्मको प्रखर घाममा
थकाइ मार्ने छपनी कहाँ छ ?
मीठो त्यो मेरो सपनी कहाँ छ ?

गाउँ र बेंसी नदी किनारमा
सहरी घण्टाघरका मिनारमा
बज्दैन शान्त संगीतको सुर
भन्छन् सबैले म मात्रै कहाँ छु र ?

बिसाई भारी पसिना पुछेर
मनभित्रको वेदनालाई मथेर
गुञ्जिने संगीत सरगम कहाँ छ
सद्भाव शान्ति खोइ कहाँ छरु

रोदन र क्रन्दन पीडा छ मनमा
के गाउँबेसी भीरपाखा वनमा
कलिलो घामको पाहार कहाँ छ
रिमरिम वसन्त बहार कहाँ छ ?

शोभाकान्त गौडेल

प्रभातीको सुरम्य छटा कहाँ छ ?
मधुश्रावणीको घटा कहाँ छ ?
थकाइ मार्ने छपनी कहाँ छ ?
मीठो त्यो मेरो सपनी कहाँ छ ?

निर्भय उडून् चराचुरुङ्गी
उमङ्ग उत्साह मनभित्र लिई
धुमिल कालो पर्दा फारी
झलमल्ल खुलुन् धरती प्यारी ।

वसन्तको सुमधुर याम होस
शरद्कालीन कलिलो घाम होस्
बर्सोस् वर्षा रिमझिम साउन
चराचुरुङ्गी प्रितकै गीत गाऊन् ।

अबिर रातो फूलपाती रातै
अटूट आस्था लिई हात हातै
समाई थाली लिई पुष्पगुच्छा
त्यागेर कल्मष भाव तुच्छ ।

मिलेर एकापसमा सबै जन
सजाऊँ सिंगारौ मिट्टीका कणकण
सघन छहारी फूलका मुनाहरू
हाँसून्गदगद् भै मनका कुनाहरू