साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रूमीका कथाः शृङ्खला १ः स्वच्छ हृदय

Chovar Blues Mobile Size
रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरुलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन हुनेछ । यसै शृङ्खलाको पहिलो अङ्क ।

स्वच्छ हृदय

चिनियाँहरुलाई आफ्नो चित्रकलाप्रति घमण्ड थियो र रुमियालाई आफ्नो प्रतिभाप्रति गर्व थियो । सम्राटले आदेश दिए, “म तिमीहरू दुवैको परीक्षा लिन्छु ।”

चिनियाँले भने, “धेरै राम्रो, हामी आफ्नो कला प्रदर्शन गर्नेछौं ।”

sagarmani mobile size

रुमियाले भने, “हामी आफ्नो कौशल देखाउने छौं ।”

अनुवादः जनक कार्की

अर्थात्, चिनियाँ र रुमियालाई आ-आफ्नो कला देखाएर प्रतिस्पर्धा गर्ने होड चल्यो ।

चिनियाँले रुमियालाई भने, “ठीक छ एउटा कोठा तिमीहरु लिनू, अर्को हामी लिनेछौँ ।”

कोठा आमुन्नेसामुन्ने थियो । त्यसमध्ये एउटा कोठा चिनियाँले लिए भने अर्को अर्को रुमियाले । चिनियाँले सयौँ रङहरू माग गरे । सम्राटले रङ खरिदका लागि खजानाको ढोका खोलिदिए । चिनियाँले जति मागे, त्यति नै रङ उनीहरूले पाए । रुमियाले भने, “हामीहरु न त कुनै चित्र बनाउँछौँ, न त कुनै रङ नै पोत्नेछौँ । आफ्नो कला यसरी प्रदर्शन गर्नेछौँ कि पछिल्लो रङ पनि नरहोस् ।”

रुमियाले ढोका बन्द गरेर भित्तालाई घोटीघोटी सफा गर्न थाले । भित्ता पूरै सादा, बादलको आकाश जस्तो भयो । उता चिनियाँहरू आफ्नो काम सकेर गदगद थिए । सम्राट चिनियाँको अदभूत चित्रकारी देखेर आश्चर्यचकित भए ।

त्यसपछि सम्राट रुमियाको कोठातर्फ लागे । रुमियाले आफ्नो काम देखाउन पर्दा उठाए । भित्तामा चिनियाँको चित्रको प्रतिविम्ब टल्किरहेको थियो । उनीहरूले टिलिक्क टल्काएको भित्तामा चिनियाँहरूको अद्भुत चित्रकला प्रतिविम्बित भएर भूतो न भविष्यति बन्न पुगेको थियो । यति सुन्दर र भव्य दृश्य देख्नेहरु दंगदास भए ।

प्रतिक्रिया
Loading...