भिन्सेन्ट भ्यान गगको नाम नसुन्ने कमै चित्रकलाप्रेमी होलान् । उनको पृथक् शैलीको चित्रकलाका कारण जीवनभर खासै प्रशंसक पाएनन् । ठीक त्यस्तै अवस्था उनका साथी पल गउगुनको पनि थियो । उनको कलालाई पनि त्यस बेला कमैले बुझेका थिए ।

यी दुईको मित्रताले केही नयाँ काम होला भन्ने अभिप्रायका साथ भ्यान गगका भाइले दक्षिणी फ्रान्सको एउटा सानो शहरमा पठाएका थिए । केही समयसम्म यी दुईको जोडी यहाँ राम्रैसँग रमायो ।

तर पछि पललाई यो ठाउँ मन परेन । उनी जुनसुकै बेला यहाँबाट टाप कस्ने मूडमा हुन्थे, जुन भ्यान गगलाई मन पर्थेन ।

भ्यान गगको चर्चित घटना उनले आफ्नो कान काटेको दिनभन्दा केही दिनअघि उनले यो चित्र पूरा गरेका थिए । सन् १८८८ मा उनले यो र आफ्ना साथी पलको कुर्सी बेग्लाबेग्लै गरी सिर्जना गरेका थिए ।

पलको कुर्सी चाहिँ केही राम्रो छ । तर उनी बस्ने कुर्सी भने सामान्य किसिमको छ । हुन त यो कुर्सी हेर्दाको सामान्य छ तर यसको प्रभाव भने अनौठै देखिन्छ ।

कुर्सीको चित्र मात्र बनाउने प्रभाव त्यो बेला बेलायती चित्रकार ल्युक फिल्ड्सको चित्रकलाबाट भ्यान गगले पाएका थिए । ल्युकले त्यो बेला प्रख्यात साहित्यकार चार्ल्स डिकेन्स जुन कुर्सीमा बसीबसी मृत्युवरण गरेका थिए, त्यस कुर्सीको सम्मानमा बनाएका थिए ।

सो चित्र निकै चर्चित बन्यो । सोही प्रभावले उनलाई चित्रकलामा कुर्सीहरूलाई उनले ठाउँ दिए । हुन त उनले कुर्सी मात्र होइन, आफू सुत्ने ओछ्यान, आफू बसेको शहर र छेउछाउका गाउँले परिवेश उतारे । यो अवधि उनको सबैभन्दा उर्वर मानिन्छ । तर यही शहर उनको पागलपन र अन्त्यको कारकसमेत बन्न पुग्यो ।

को हुन् भ्यान गग ?
चित्रकलामा सबैभन्दा प्रभावशाली केही सीमित चित्रकारको नाउँमा सबैभन्दा माथि भिन्सेन्ट भ्यान गगको नाम आउँछ । जीवनकालभरि उनको कला त्यति रूचाइएनन् तर आधुनिक चित्रकलामा उनले ठूलो नाम बनाए ।

भिन्सेन्ट भ्यान गग नेदरल्यान्डमा सन् १८५३ मा जन्मिएका थिए । तर उनको सबैभन्दा उर्वर समय सन् १८८० पछि रह्यो ।

उनका चित्रकलाहरू शुरूमा प्राकृतिक हुन्थे । पछि पेरिस बसाइका क्रममा १८८६ पछि निकै नै सुध्रियो । उनको भेट प्रभाववादी तथा प्रगतिशील कलाकारहरूसँग भयो । उनीहरूसँगको सङ्गतले उनमा कलाको नयाँ शैली खोज्ने हुटहुटी जाग्यो ।

सन् १८८८ मा उनी अर्ल्स नामक शहरमा गए । दक्षिणी फ्रान्सको यो शहर उनलाई यति मन पर्यो कि उनी यहीँ रमाए । यहीँ उनले महानतम् चित्रकलाहरू सिर्जना गरे । सयौँ चित्रहरू उनले यति हतारका साथ बनाए कि मानौँ उनलाई केही काम चाँडै सक्नु छ ।

उनले सन् १८९० मा आत्महत्या गरे ।

यो चित्रमा के हेर्ने ?

१. सामान्य कुर्सी

उनले आफूलाई अर्ल्स शहरले अँगाल्यो भन्ने सोचे । यहीँ उनी बस्न थाले र हरेक कुरालाई चित्राङ्कन गर्न थाले । त्यसमध्ये यो कुर्सी पनि हो । यो कुर्सी खाली छ, सामान्य छ । यसको खालीपनले भ्यान गगको खालीपनलाई जनाउँछ र साथमा उत्ति नै उनी कति सामान्य जीवन बाँच्थे भन्ने पनि देखाउँछ ।

२. कुर्सीको पाइप र सुर्ती
कुर्सीमा पाइप छ । यो पाइपमा त्यही सुर्ती हालेर मज्जाले पिउँथे । उनका लागि दैनिकीको यो सामान्यपन देखाउन जरूरी थियो । किनभने उनको अरू कुराको लत थिएन । जबकि उनका साथी पलको कुर्सीमा भने किताब र बलिरहेको मैनबत्ती राखिएको छ । किताबले पलको बुद्धिमता र मैनमबत्तीले तीक्ष्णता प्रकट गराउँछ र बढी त्यसमा लत छ भन्ने पनि देखाउँछ ।

३. हस्ताक्षर
चित्रको पल्लो छेउमा भिन्सेन्ट भ्यान गगले आफ्नो नाउँको हस्ताक्षर देखिने गरी राखेका छन् । प्रायः चित्रकारले यस्तो हस्ताक्षर चित्रको सबैभन्दा पुछारमा गर्ने गर्छन् तर यहाँ उनले भने माथि नै राखेका छन् । तर यो हस्ताक्षर उनले आफ्नो चित्र चिनाउन भन्दा पनि पल र आफ्नो टिनको बाकस चिनाउन गरेका थिए ।

४. प्याजको टुसो
भिन्सेन्टको बाकसमाथि एउटा प्याज छ र त्यो प्याज नजाने कयौँ दिनदेखि त्यहीँ बसिरहेको छ । जसका कारण त्यहाँ प्याज सुक्दै जाँदैछ तर सँगैमा त्यसमा टुसा पलाउन थालेको छ ।

पलले भ्यान गगलाई चित्रकलामा केही सङ्केत र अस्पष्टता राख्ने सुझाव दिन्थे तर त्यसको साटो उनले सङ्केत त राखे तर त्यो निकै मुखर हुने तरिकाले राखेका छन् । पलको सुझावविरूद्ध आफू बेग्लै गरी टुसाउन सक्छु भन्ने सन्देश यहाँ दिन खोजेका हुन् कि ?

५. ब्रुस-आघात
दाहिने भित्तामा ब्रुसको आघात देखिन्छ । सामान्यतः यस्ता चित्रमा ब्रुस स्ट्रोक नदेखिने हुनुपर्ने नियम पढाइन्छ । तर भ्यान गगले यस्ता नियमलाई नमानेको यसैबाट प्रस्ट हुन्छ ।

६. जापानी भुइँ
भ्यान गग जापानी कलाको निकै प्रशंसक थिए । जापानी कलाको चहकिलोपन उनलाई मन पर्थ्यो । त्यसैले उनले पनि चित्रकलामा चहकिला रङ प्रयोग गर्ने गर्थे । उनी दर्शकलाई यस्तै ब्राइट कलरले तान्न सकिने धारणा राख्थे । भुइँमा उनले जापानी टाइलको प्रयोग देखाएका छन् । बाङ्गाटिङ्गा प्रभाव यहाँ देख्न सकिन्छ । यी दर्शकतर्फ तानिएकाझैँ यसले प्रभाव दिन्छ ।

तपाईंले अरू पनि केही प्रभाव देख्न सक्नु हुन्छ । आउनुस्, अझ गहिरिएर यो चित्र हेरौँः