साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जन्मदिन विशेष: भाषाको स्वाद र उनको स्वभाव

व्यक्तित्व

Chovar Blues Mobile Size

अविनाशी । रोचक संयोगहरु हुन्छन् । कहिलेकाहीँ ती संयोगहरु वरिपरि घुमिरहन्छन् । अविनाश श्रेष्ठसँगको मेरो सामीप्यमा पनि अनेक संयोग जोडिएका छन् । मैले उनलाई एकै पटक पढेको दुईवटा कथाबाट हो । ‘जुनेली रातकी द्रौपदी’ र ‘तान्या, ईन्द्रकमल र अन्धकार’ । मधुपर्क, गरिमा त्यतै कता । यिनै दुईवटा उनका कथा कुमार नगरकोटीलाई पनि अत्यधिक मनपर्ने रहेछ । उनका पनि दुईवटै कथाले मलाई आकर्षित गरेको थियो । नगरकोटीका ती दुईवटा कथा छाप्ने पनि उनै अविनाश श्रेष्ठ ।

अचेल अविनाश दाइको प्रशंसक नगरकोटी र नगरकोटीको अविनाश दाइ । दुवै शक्तिशाली कथाकारहरुको बीचमा म प्रेरित भएर रंगमञ्चमा छु । कथादेखि रंगमञ्चसम्म जोडिएको सम्बन्धको बलियो अर्थ छ । अविनाश दाइ नाटककार उहिल्यैदेखि । ‘अश्वत्थामा हतोहतः’ र ‘समय, समय अनि समय’ पढेको हुँ संग्रहित पुस्तकमा । फेरि नगरकोटी पनि नाटककार हुन पुगे । ‘कोमाः अ पोलिटिकल सेक्स’ र ‘बाथटब’ मैले नै निर्देशन गरेको हुँ । कस्तो सुन्दर संयोग ! अब यी दुवै कथाकारहरु नाटकको बारेमा कुरा गर्न थाल्छन् र म मख्ख परेर सुन्छु । यो मेरो कस्तो स्वार्थ र भनौं संयोग ! अविनाश श्रेष्ठसँगका अनगिन्ती उठबस र भलाकुसारीमा कयौँ प्रिय क्षणहरु छन् मेरा । बाँचुञ्जेल नाश नहुने ।

ज्ञान र रंगमञ्च । भारतको असम–गुवाहाटीमा पढेर हुर्केका अविनाश दाइसँग रंगमञ्चको ठूलो परिवेश थियो । असमीय रंगमञ्च, मणिपुरका रतम थियाम, असमीय नाटकहरु, मोबाइल थिएटरहरु, दारा आहामेद, महेन्द्र बरठाकुर आदिको जगजगीका बीचमा हुर्किएका अविनाश दाइले सन् १९७१ मै आफ्नै लेखन र निर्देशनमा नाटक मञ्चन गरिसकेका रहेछन् ।

रुचि कि सुरुचि ! कवितालाई सबैभन्दा प्यारो बनाएर पाठक र समीक्षकहरुको मनमा कथामा उच्चतम स्थान बनाएका अविनाश दाइको नाटकको पाटो मैले यहाँ निक्कै खोतल्न चाहेँ । यसको विशेष कारण छ । भन्दैछु ।

खासमा अविनाश श्रेष्ठको मूल थलो पर्वतको कुस्मा हो । उहाँका बाजे लालबहादुर श्रेष्ठ धेरै कुशलतापूूर्वक ‘हनुमान नाच’ नाच्न जान्ने रहेछन् । त्यस भेगमै ख्याति कमाएका । बुबा एम. नारायण श्रेष्ठ पनि हार्मोनियम बजाउन, गाउन, नाच्न निक्कै सिपालु थिए रे ! परिवारका यी गुणहरु कतै उनमा परेको थियो होला । अर्को अर्थ नलागोस् । अविनाश श्रेष्ठलाई हनुमान नाच आउँदैन । उनी भजन पनि गाउँदैनन् । घरीघरी मलाई लाग्छ, यी एक्ला मनुवा हुन् । आफ्नो कामप्रति बढी नै इमान्दार । पारिवारिक जीवनमा रमाएका ।

म यतिखेरको अविनाश श्रेष्ठको कुरा गर्दैछु । कसैलाई राम ठानेर हनुमान नबन्ने वा कसैको भजन नगाउने ! लागेको उनी भनिहाल्छन् । कहिलेकाहीँ अलिक धेरै भन्छन् कि ? मानिसहरुलाई बिझाउने गरी । कहिलेकाहीँ अचम्मको प्रतीकात्मक र घुमाउरो व्यंग्य छोड्छन् । अगाडि नै नभने पनि पछाडि त भन्छन् नै ! उनको मनमा कुराहरु अडिँदैनन् । निक्कै सम्वेदनशील, उनलाई चित्त नबुझेको कुरामा कटु आलोचना पनि सहजै निस्कन्छ । आफ्नो परिवेश र स्वाधीनताको बारेमा अलि बढी नै कन्सस छन् अविनाश दाइ ।

sagarmani mobile size

उनी कार्यक्रमहरुमा कम जान्छन् । निम्तोले उनलाई ठूलो अर्थ राख्छ । कस्तो खालको निम्तो हो ? औपचारिकता मात्रै हो कि साँच्चै मनले बोलाएको हो ? उनी खुट्याउँछन् । एसएमएस, फेसबुक म्यासेज, इमेल, निम्तो कार्ड वा फोन कल ? अनुमान लाउँछन् । गै हाले भने पनि हलभित्र कहाँ बस्ने भन्ने कुराले उनलाई सताउँछ । यिनै के–के कारणले आफूलाई धेरै ठाउँमा मानिसहरुले उल्लेख नगरेको अविनाश दाइ महसुस गर्छन् । यतिखेरको साहित्यमा प्रचार त गाँसिएरै आएको छ नि त ! तर, यो उनको भ्रम पनि हुन सक्छ । उनका रचनाले बनाएको ‘स्पेश’ त कसैले खोस्न सक्दैन ।

एउटा उल्लेख्य कुरा छ यहाँ । तपाईंले कहीँ कुनै कार्यक्रममा अविनाश श्रेष्ठ अतिथि बनेर बसेको वा भाषण ठोक्दै गरेको देख्नु भएको छ ? होला । अपवाद । मैले चाहिँ यो २० वर्षमा ३ पटक देखेँ । नगरकोटीको ‘फोसिल’ विमोचनमा नेपालयमा । उमा सुवेदीको ‘सयौँ पुतली’ विमोचनमा शिल्पी थिएटरमा । र, उनको आफ्नै कविता वाचनमा सर्वनाम थिएटरमा । यस हिसाबले उनी सार्वजनिक ठाउँहरुमा कम उभिएको पक्का हो ।

तर, साँच्चै मिठो र छरितो बोल्छन् अविनाश दाइ । तीन वटै कार्यक्रममा उनले रोचक र बलियो विचार दिए । यी सर्जक साँच्चैमा निक्कै फरक स्वभावका भएर आफू जस्तै मोटो पहिचानमा छन् यो कोलाहलयुक्त सहरका माझमा । केही स्वाभाविक र केही अस्वाभाविक स्वभावहरुका बीचमा । धेरै लेखेर र बेस्ट सेलरको विज्ञापन छापिएकाहरुका बीचमा । अविनाश श्रेष्ठले एउटा कथा संग्रह, एउटा नाटक संग्रह र केही कविता संग्रहहरुका बीचमा आफूलाई स्थापित गरे सबै विधामा । निक्कै बलियो गरी ।

जीविकोपार्जनले । किसानहरु प्रायः एकै ठाउँमा टाँसिइरहन्छन् । व्यापारी भएकाले उहाँका बुबा एम. नारायणले लामो यात्रा गर्नु भयो जीवनमा । कुस्माबाट हरिद्वार, दिल्ली, मद्रास, कलकत्तादेखि रंगुन हुँदै दोस्रो विश्वयुद्धको समयमा आसाम पुगेपछि परिवार त्यहीँ स्थापित भयो । सन् २०१७ मा म बर्मा भएको बेला उहाँले आफ्ना बुबाको बारेमा लामो म्यासेज पठाएका थिए । मैले उनका बुवालाई चिन्नेलाई त मैले कोही भेटिनँ तर बर्माको स्मृतिका लागि मैले दाइलाई बर्मेली लुंगी उपाहार ल्याइदिएँ ।

प्रसंगहरुको हाँगा फाट्यो । म नाटकको कुरा गर्दै थिएँ । हनुमान नाच र संगीतको प्रभाव उनको सिर्जनामा पर्‍यो । उनले नाटक लेखे । गुवाहाटीमै लगभग १४ वटा नाटक मञ्चन भए उनका । मेरो स्वार्थ यहीँनिर हो । अविनाश दाइले नाटक नलेखेको जुग भयो । उनले सिर्जनामा कविता र कथालाई माया गरे । नाटकलाई चाहिँ नजिकबाट नियाली रहे । मलाई यो कुरोमा विश्वास छ, त्यही सर्जकले उत्कृष्ट नाटक लेख्न सक्छ जसले रंगमञ्चको परिवेश बुझेको छ । जो नाटक पढ्छ र हेर्छ । कुनै नाटक समूहसँग नजिक बसेर अन्तरक्रिया गर्छ । रंगकर्मीहरुसँग रमाउन सक्छ । अविनाश दाइले यी सबै सहजता भएर पनि पछिल्लो समय नाटक लेखेनन् । बरु विद्यावारिधिमा यस्तो शीर्षक पो छाने ! ‘प्रयोगात्मक नेपाली नाटकमा स्वैर कल्पनाको अध्ययन’ ! शीर्षक सुन्दै जटिल र पारम्परिक लाग्यो ।

हुन त विश्व विद्यालयिय कर्मकाण्डको पीडा मलाई भन्दा अविनाश दाइलाई नै राम्ररी थाहा छ । मलाई उत्सुकता भयो, अविनाश दाइले नाटक र रंगमञ्चलाई उतिखेर बुझेको कुरा यतिखेर कस्तो स्वरुपमा छ त ? किताब त उहाँले प्रशस्तै पढिरहनु भएको होला । केही दिनअघि यही लेख तयार पार्ने शिलशिलामा उहाँसँग कुराकानी गर्नु थियो । गोठाले नाटकघरको बार्दलीमा बसेर हामी कुरा गर्दै थियौँ । सत्यमोहन जोशीले लेख्नुभएको र मैले निर्देशन गरेको नाटक ‘मजिपालाखे’ अविनाश दाइले अघिल्लो दिन हेर्नु भएको थियो ।

उहाँले नाटकको अत्यन्तै प्रसंसा गर्नुभयो । प्रशंसाको कुरा छोडौँ । मलाई त्यो कुराले आकर्षित गर्‍यो जब उहाँले नाटकको पाठ र प्रस्तुतिमा देखिएका केही महत्त्वपूर्ण कमजोरीहरु औँल्याउनुभयो । उहाँले देखाएका कमजोरीहरु निर्देशकका रुपमा मेरा लागि निक्कै कन्भिन्सिङ र परिमार्जित थिए । मलाई निक्कै खुशी लाग्यो । हो, गाँठी कुरो यही हो । उनले नाटक लेखेनन् तर नाटक र रंगमञ्चप्रतिको उनको ज्ञान निक्कै परिष्कृत र अपडेटेड रहेछन् । त्यसपछि पनि उनीसँग रंगमञ्च, फिल्म र साहित्यका बारेमा लामालामा बहस भएका छन् । कला र साहित्यमाथि उनका समीक्षात्मक विचारहरु सुनिरहन मनलाग्छ मलाई । त्यसैले उनले नाटक लेखे भने उनको भाषा र शिल्पको शक्तिले नेपाली रंगमञ्चले नयाँ कुरा पाउँछ भन्ने मेरो विश्वास हो ।

गहनता । दुई वटा कथाबाट तानिएको म भित्रको पाठकले एक दिन उनलाई भेट्यो । प्रज्ञाप्रतिष्ठानको त्यो समकालीन साहित्यको कार्यालय । प्रत्येक दिन त्यहाँ आउने दर्जनौँ मानिसहरुका बीचबाट म पनि छानिएर कवि भएँ । कविता छाप्न अनेकौँ पत्रिकाका सम्पादकहरुसम्म पुगेको मेरो यात्रा अविनाश श्रेष्ठको कोठामा पुगेपछि फरक हुन्छ । र, पटकपटक म त्यहाँ पुग्छु। कविता छपाउन हैन । त्यो मनपर्ने लेखकलाई भेट्न र उनका रोचक कुरा सुन्न । ‘अश्वत्थामा हतोहतः’ र ‘समय, समय अनि समय’ जस्ता दुई नाटकले नै उहाँलाई स्थापित नाटककार बनाइसकेको थियो त्यसबेला । रचनाको स्वभावमा राम्रो र नराम्रोको चेतना नआइसकेको बेला थियो त्यो मेरो । अहिलेचाहीँ आइसक्यो भनेको चाहिँ हैन है !

यो २०५७ सालतिरको कुरा हुनुपर्छ । उहाँको नाटक र रंगमञ्चको अनुभवले मलाई निक्कै लोभ्याएको हो त्यतिखेर । तर उहाँको कथाकारले मलाई छ्याप्प छोपेको थियो । पछि ‘करोडौँ सूर्यहरुको अन्धकार’ कविता संग्रह पढेपछि उनका कवितामा फैलिएको परिवेश, भाषा र शिल्पको जादु अद्वितीय लाग्यो । उनका जति पुराना कविता पढ्नुस् उनी समसामयिक लाग्ने कविताहरु छन् । १९९० मा छापिएको ‘अनुभूति यात्रामा’ पढेपछि म झन् कविताले पग्लिएँ । हैन यो कस्तो कविता हो ? ‘कुन्नी कुन अपरिचित गाउँकी नयनतारा बरुवा’ ? वा भनौँ न ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ । ‘आमा’ शीर्षकको कविताले त झन् खुत्रुक्कै पार्छ ।

मेरी आमाका जर्जर पुराना झ्याल जस्ता आँखामा
कहिले कतै शहरको रङ्गीन सपना पौडने गर्छ ।
तर कुन दिशामा छ त्यो शहर…?
कुन बाटो जानु पर्छ त्यहाँ ?
कति कोस पर छ त्यो…?
उनलाई केही थाहा छैन ।
भविष्यका इन्द्रधनुषी सुखहरुको काल्पनिक संसार
मेरी आमा फाटेको पटुकामा सप्काएर हिँड्छन्
गाउँका थकित बाटाहरुमा ।
अरु कविका आमाहरुलाई झैँ
थाहा छैन मेरी आमालाई
लियोनार्दोकी ‘मोनालिजा’को नाम ।
थाहा छैन को थिए कार्ल मार्क्स ?
कहाँ थिए, कस्ता थिए लेनिन ?
ठूल्ठुला आकांक्षा
र गह्रुङ्गा इच्छाको महत्त्व पनि
थाहा छैन मेरी सोझी लाटी आमालाई
अरु कविका आमाहरुलाई झैँ ।
हो, उनको पनि पुरानो सपना छः
‘म ठूलो मान्छे बनूँ ।’

कविकी आमालाई उभ्याएर यो कवितामा प्रयोग भएका प्रशस्त विम्बहरुले हाम्रो माटो र यहाँका सपनाहरुलाई बोल्यो । रोचक लाग्यो । उनले मोनालिसा नलेखेर मोनालिजा लेखे । अर्थात् उनका शब्द र लेखाइको फरक पन, खाली लेख्नका लागि मात्रै फरक भएनन् । ती मीठा पनि भैदिए । ‘कुन्नी कुन अपरिचित गाउँकी नयनतारा बरुवा’ पढ्नुस् त्यो द्वन्द्वकालीन असममा भिजेको उनको अनुभव कविता–इतिहास बनेर टक्क अडिएको छ । उसरी नै परिवेश, विम्ब, भाषा र शिल्प उनको फरक छ । मिठासपूर्ण छ ।

अविनाश दाइ आफ्नो मूल जरो कविता भएको अह्वान गर्छन् । वि.सं. २०१४ वैशाख ३१ गते गुवाहाटीमा जन्मिएका अविनाश श्रेष्ठले एउटा कुरा जिकिर गरे । कविता लेखन ४० अघि नै ठीक हुँुदोरहेछ । अझ युवाकालमा लेखिएका कविता सशक्त हुने । कुरो मिल्यो । मैले माथि लेखेको छु। उनका अघिका कविता झन शक्तिशाली ।

उनले भने–‘अब लेखेका कवितामा पहिले लेखिएका कुरा दोहोरिएर आउने रहेछन् !’ उमेरसँगै आउने रचनागर्भ र स्तरीयताको मूल्यांकन रोचक लाग्यो । एउटा स्रष्टाले आफ्नै रचनामाथि यसरी मूल्यांकन गरेको थाहा पाउँदा खुसी लाग्दोरहेछ । अग्रज स्रष्टाको अनुभूतिबाट धेरै सिक्न सकिन्छ । नारायण ढकाल पनि यस्तै लेखक लाग्छ मलाई जसले आफ्नो रचनाको समीक्षा अति निष्ठुर भएर आफैँ गर्छ । अविनाश दाइका योजना अब कथा र नाटकतिर छन् । उपन्यासतिर उनको अन्तिम रुचि हो । बाठो भएर मैले उनलाई मुख खोली हालेँ– उपन्यास लेख्नुभयो भने लामो नलेख्नु होला । ढड्डु । प्रकाशकलाई नसुन्नु होला । तपाईंमा थोरैमा धेरै भन्ने शक्ति छ । बी.पी.मा जस्तै ।’ सामीप्यताले यसो भन्ने अधिकार दिएको हो ।

त्यसो त उनका कविता, कथा र नाटकका भाषाशिल्प र सिर्जनाका विषयमा थुप्रै व्याख्या भएका छन् । म बबुरोको हेराइ कति अर्थपूर्ण होला थाहा छैन । तर, केही समीक्षकहरुसँग धारणा मिल्न जाँदो रहेछ । गएछ । डा. गोविन्दराज भट्टराईले लेखेका छन्–‘अविनाशको सबैभन्दा ठूलो शक्ति भाषामा निहित छ । यी विषयवस्तु, थिम र पात्र अनि कथाहरु अरुले पनि लेखेका छन् । तर, उनको निजी शक्ति…त्यो हो भाषा । दोस्रो कुरा उनको भाषा सन्तुलित ‘इलिगेन्ट’ स्टाइलको छ । पढौँ–पढौँ लाग्ने ।’ जब मैले ‘तान्या ईन्द्रकमल र अन्धकार’ दुई पटक पढेँ । र केही कथाहरु शिल्पीका कलाकार साथीहरुलाई पढेर सुनाएँ ।

हरेक पटक पढ्दा मलाई लाग्यो, यस्मा के छ जस्ले तानी रहन्छ । त्यो आकर्षण उनको विचित्र किसिमको भाषा नै हो भन्ने मैले पनि ठानेँ । असमीयाबाट मुक्त भएर काठमाडौँ वा नेपालमा लेखिइरहको भाषामा आइनपुगेको । अविनाश श्रेष्ठले भाषाको यात्रामा बीच बाटोमा नयाँ आविष्कार गरे । न उता मिल्छ न यता मिल्छ । त्यसैले पनि उनले कहिलेकाहीँ भन्ने गरेका छन्– मेरो प्रतिस्पर्धा मेरो आफ्नै लेखाइसँग भयो ।

वास्तवमा । उनले अब लेख्ने कथा कस्तो होला त भन्ने मलाई पनि लागिरहन्छ । एउटा अर्को उत्कृष्ट कथा अस्तित्वका केही वाक्य यहाँ राखेँ ।

‘एक साँझ मानिसहरुको बाढीमा हेलिँदै भोटाहिटीबाट इन्द्रचोकतिर जाँदै थिएँ । असन अन्नपूर्णादेवीको थान अगाडि उभिएकी एउटी रुपसीलाई देखेँ । लोकगाथाबाट टपक्क टिपेर ल्याइएको जस्तो मध्ययुगीन अनुहार थियो उनको ।’

मलाई अचम्मै लाग्छ उनले मिहिनरुपमा र नौलो किसिमले गर्ने परिवेशको वर्णन देखेर । हेलिँदै, रुपसी, लोकगाथा, मध्ययुगीन जस्ता शब्दहरु यहाँ आविष्कार जस्ता भएर प्रयोग गरिए । उनका हरेक कविता वा प्रत्येक कथाका प्याराग्राफहरुमा यस्तै फरक स्वाद दिने शब्दहरुलाई कलात्मक र उपयुक्त ढंगले प्रयोग गरेको म पाउँछु। मायाजाल भन्ने कथाको सुरुवात हेर्नुहोस् है त !

‘धीराले ऊर्मिको मुहारतिर हेरी । ऊर्मिको मुहारको एउटा सग्लो क्लोज–अप उसका आँखाअघिल्तिर छ अहिले ।’

म घोरिन्छु । किन उनले यहाँ चाहिँ अनुहार नलेखेर मुहार लेखे ? सग्लो क्लोज–अप के हो ? नाम किन यस्ता फरक ? धीरा र ऊर्मि । उनका कथाका कुनै पनि अनुच्छेद लिएर यसरी नै केलाउनुस् यस्तै रोचकता पाउनुहुनेछ । उनको भाषा मलाई यस्तो लाग्छ, अग्राखको काठमा चिल्लो पारेर रन्दा लगाइएको छ । कथाको सुरुवात र अन्त्य चलनचल्ती भन्दा फरक छ । यही गुण मैले नयनराज पाण्डे र कुमार नगरकोटीका कथामा पनि पाउँछु ।

अहिले फरक भाषा शिल्प र कथागत संरचनाको नयाँ रुपले अर्चना थापाका कथा पनि मलाई खुब मन पर्छ । यी दुवै कथाकार अविनाश दाइ र मलाई मन पर्नेमा लिस्टमा रहेछन् । बिपी, आइबी राई, गोठाले, विजय मल्ल, लामिछाने, विकल, राजव, ब्राजाकी, अभय श्रेष्ठ उनका मनपर्ने कथाकारहरुको लिस्टमा थपियो । अब अर्चना थापा पनि थपिइन् । दार्जिलिङतिर चाहिँ संजय विष्ट र उदय थुलुङ उनलाई मनपर्ने कथाकार हुन् ।

यति मात्रले उनका रचना वा भनौँ कथाहरु शक्तिशाली भएका त हैनन् । अन्तर्वार्ताको पहिलो दिन उनकै घरमा हामी छौं । ‘पाण्डुलिपि’का सम्पादक दीपक सापकोटा साक्षी छन् छेऊमा । दीपक अलिक आतुरीमा छन् । धेरै जिम्मेवारीहरुमाझ फसेका जस्ता । फोटोग्राफर अदिप्त गिरी बहुत सालिन छन् कुनै क्षणलाई क्यामेरामा कैद गर्न अवसर खोजिरहे जस्ता । एकछिनमा कवि सरिता तिवारी पनि आइपुगिन् । यही बखत अविनाश दाइ भन्दैथिए । –‘मेरो लागि कथा बलियो हुनुपर्छ । दृष्टिविन्दु भनेको कथा भन्नलाई कथाकार उभिने ठाउँ हो । कथाकार सही ठाउँमा उभिएको छ भने कथाको परिवेश छनौट ठीक हुन्छ । परिवेश ठीक छ भने कथानक पत्यारिलो बन्छ । त्यसकारण मेरो लागि विषयवस्तु दोस्रो तहको कुरा हो । दृष्टिविन्दु र परिवेश पहिलो ।’

अविनाश श्रेष्ठले आफ्नै रचना वा विधालाई यति गहिरिएर किन हेरे होला त ? उनीभित्रको अर्को शक्तिशाली प्रतिभा ‘सम्पादक’ले पो यसो गराएको हो कि ! उनी जुन पत्रिकाको सम्पादक भए, त्यसको वजन बढेर गयो । इज्जतिलो भयो । उनले केही फिल्मी पत्रिकाहरु पनि सम्पादन गरे । तर म यहाँ सम्झन चाहन्छु ‘समकालीन साहित्य’, ‘कविता’ र ‘गरिमा’लाई । अघिल्ला दुई पत्रिकाले त नाम कमाएकै हुन् । सबैले बिर्सिइसकेको र यो बजारको दुनियाँमा दुब्लाउँदै गएको गरिमामा उनी जानेबित्तिकै सबैको ध्यान खिच्न सफल भए । उत्कृष्ट रचनाहरुको छनौट र स्रष्टाहरुलाई घच्घच्याएर, फकाएर, बारम्बार पछ्याएर लेखाउन सक्ने उनको क्षमता धेरैले बिर्सिने छैनन् भन्ने लाग्छ मलाई । यो देशमा कसैले तिमी रचना देऊ न म राम्रोसँग छापेर पारिश्रमिक पनि दिन्छु भन्ने सम्पादकको फोन अचानक आउँदा कति लेखकहरु त अचम्भित भएका हुनन् ! दर्जनौँ लेखक कवि जसको रचना चाकडी नगरी, पटकपटक नधाई कनै पहिलो पटक छापिदिएर उनले ती नव लेखकहरुलाई कति उत्साहित गरे हुनन् ! नेपाली भाषाको कर्ममा उनले दुईखाले समुदायलाई भोग्ने मौका पाए । दुवैतिर उनको योगदान रह्यो । भारतीय नेपाली साहित्यमा उनको अनुसन्धान र तिनको प्रवर्धननमा योगदान रह्यो । आधुनिक भारतीय नेपाली कथा नामक निक्कै मोटो किताब त्यसको एउटा उदाहरण हो । यिनै विविध कारणले उनी एक्लो यात्रामा भएर पनि उनका वरिपरि निक्कै शुभचिन्तकहरु छन् भन्ने लाग्छ मलाई ।

यो देशमा कसैले तिमी रचना देऊ न म राम्रोसँग छापेर पारिश्रमिक पनि दिन्छु भन्ने सम्पादकको फोन अचानक आउँदा कति लेखकहरु त अचम्भित भएका हुनन् ! दर्जनौँ लेखक कवि जसको रचना चाकडी नगरी, पटकपटक नधाई कनै पहिलो पटक छापिदिएर उनले ती नव लेखकहरुलाई कति उत्साहित गरे हुनन् ! नेपाली भाषाको कर्ममा उनले दुईखाले समुदायलाई भोग्ने मौका पाए । दुवैतिर उनको योगदान रह्यो ।

तीन छोरीका धनी यी लेखक यतिखेर सुन्दर पारिवारिक सुखमा छन् । भाउजू मनुले उनका जतिधेरै लेखक र पत्रकार साथीहरु आए पनि त्यो सहजतालाई टुटाएकी छैनन् । एउटा लेखकका लागि जीवनभर यसरी नै वातावरण सिर्जना गरिदिनु निक्कै झन्झटिलो काम हो भन्ने लाग्छ मलाई । घरको ममलामा अविनाश दाइ आम पुरुषहरु भन्दा भिन्न छैनन् भन्ने लाग्छ मलाई । उनी भान्सा र घरको काममा सिन्को पनि भाँच्दैनन् । उनी प्राध्यापक हुन् तर त्यो पनि उनका विद्यार्थीहरुका माझ मात्रै । नत्र शुद्ध लेखक । शुद्ध सम्पादक ।

हिजोका दिनमा फिल्म र टेलिफिल्मका पटकथा र सम्बाद लेखक पनि थिए । पचासौँ फिल्म र सयौँ टेलिफिल्म लेखेका यी लेखकले नेपाल टेलिभिजनको पहिलो टेलिशृंखला चक्रव्यूह र अर्को चर्चित शृंखला ‘कालीगण्डकीको सेरोफेरो’ लेखेका उनले उपार्जनका लागि निक्कै झुर फिल्महरु पनि लेखे । यो कुरा उनलाई महसुस छ भन्ने म ठान्छु । यतिखेर उनी त्यो कहीँ नपुगिने दौडमा छैनन् । उनको कथा संग्रहको नयाँ संस्करण भर्खरै फाइनप्रिन्टले बजारमा ल्याएको छ । र, विजय मल्लका कथाहरुको संकलन ‘मान्छेको नाच’ उनकै सम्पादनमा प्रकाशित छ । विजय मल्लका मनखाने कथा उनले बटुलेर यहाँ राखेका छन् । कृतिमा उनको भूमिका सुन्दर छ, विजय मल्लसँगको संगत र उनका अनुभूतिहरु ।

अविनाश दाइसँगको मेरो सामीप्य लामो समयदेखि एक नासले बगेको रहेछ । हामी आआफ्नो गुन र बैगुनलाई आत्मासात गर्दै यहाँसम्म आइपुगेछौँ । तर, उहाँसँगको सामीप्यले मलाई सधैँ ऊर्जा प्रदान गरेछ । कालान्तरमा व्यक्ति गौँण र रचना प्राथमिक हो भन्ने लाग्छ मलाई । उहाँका सिर्जनाले ती स्थान कब्जा गरिसकेका छन् । अझै नयाँ रचनाहरुको प्रतिक्षामा म उनको असल पाठक भएर कुरिरहेको छु ।

लकडाउन । अविनाश दाइसँगको दुई दशकको घनिष्ठ सम्बन्ध यो लकडाउनले रोकेको छैन । हामी निरन्तर कुराकानीमा छौँ । केही दिनअघि उनले मलाई चुनुवा अचेवेको ‘एरो अफ गड’ र ‘थिंस फल अपार्ट’ पढ्न सुझाए । उनको जन्मदिनको साँझ उनी ‘मोहल्ला अस्सी’ फिल्म हेर्दै रहेछन् । यो पनि हेर्न सुझाए । बन्दाबन्दी (लकडाउन)को कारणले थिएटरको के हविगत होला ? शिल्पी थिएटर कसरी चल्ला उनलाई विशेष चिन्ता छ ।

बन्दाबन्दीअघि हामी कहिले शिल्पी त कहिले उनकै निवासमा दिनको ५ घण्टा काममा थियौँ । अविनाश दाइले भारतीय सशक्त नाटककार रमेश बक्षीको नाटक ‘देवयानीका कहना है’को नेपाली रुपान्तरण गरेका छन् । यसै नाटकको फाइनल ड्राफ्टमाथि हामी काम गर्दै थियौँ । मूल कृति र नेपाली अनुवादलाई ट्याली गर्दै परिमार्जनमा उनी कति स्वाभाविक छन् भने उनीसँग काम गर्न साँच्चै आनन्द आउँछ । यस नाटकलाई मञ्चन गर्ने र नेपाली संस्करण पनि छाप्ने हाम्रो योजना छ । यौन र गालीसँग सम्बन्धित ठाडा र झर्रा शब्दहरु यस नाटकमा धेरै छन् । अविनाश दाइको कलात्मक भाषाले नेपालीमा अझै रोचक बनाएको छ । लिभिङ टुगेदर र युवायुवतीको प्रेम सम्बन्ध माथिको यस नाटकका लागि अविनाश दाइले प्रशस्त मिहिनेत गर्नु भएको छ । त्यसो त प्रेम जीवनका उहाँका आफ्नै अनुभवहरुले पनि सहयोग गर्‍यो सायद ।

कोरोना कहरले हामी रोकिएका छौँ । कोरोना संक्रमणले यो संसारसँगै हाम्रो स्थिति के हुने हो पत्तो छैन । चिन्ता अधिक छ । नेपाल नामक देशको । यहाँका नागरिकको । र, भ्रष्ट शासकहरुको । तर पनि आशाहरु बाँकी छन् । अविनाश दाइ लगभग कलेज अध्यापनको विश्राममा हुनुहुन्छ । उहाँबाट नयाँ रचनाहरु त आउने नै छन् । साथै नयाँ नाटकको पनि आशा छ ।

(दीपक सापकोटाद्वारा सम्पादित पत्रिका ‘पाण्डुलिपि’मा छापिएको लेखको अद्यावधिक स्वरुप)

प्रतिक्रिया
Loading...