साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता के हो ? १५ विद्वानका रोचक परिभाषाहरु यस्ता छन्

Chovar Blues Mobile Size

कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कविद्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवनसँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् ।

पूर्वीय साहित्य जगतमा ऋग्वेद, महाभारत र रामायण तथापश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा साहित्य भन्ने बितिकै काव्यलाई जनाएता पनि आधुनिक साहित्यमा काव्यले गद्यात्मक वा पद्यात्मक कृतिलाई जनाउँछ ।

मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुदै आएको हो । आजको समयमा कविता विधालाई हेर्ने दृष्टिकोणमा धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ.ए. रिचर्डस सम्मका विद्धानहरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् ।

परिभाषाहरुमा अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ ।

कविताको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्धानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन् :

१. शब्द र अर्थले संयुक्त रुप काव्य हो ।– भामह

sagarmani mobile size

२. सुन्दर अर्थयुक्त पदावली नै काव्य हो ।– दण्डी

३. रसात्मक वाक्य नै काव्य हो ।– विश्वनाथ

४. चमत्कारयुक्त अर्थरुप नै ध्वनि नै काव्य हो ।– आनन्दवर्धन

५. काव्यगुणले भरिपूर्ण भएको शब्दार्थ नै काव्य हो ।–मम्मट

६. बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै काव्य हो ।– कुन्तक

७. कवितको आत्मा रीति वा शैली हो ।– वामन

८. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो ।– जगन्नाथ

९. अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो ।– वर्डस्वर्थ

१०. कल्पना र संवेगद्धारा गरिने जीवनको व्याख्या नै काव्य हो । – हड्सन

११. गण मिलाइएको संरचना नै कविता हो ।– जोन्सन

१२. कविता भनेको जीवनको समालोचना हो ।– मैथ्यु अर्नाल्ड

१३. भावनाको बौद्धिक कोमलता कविता हो । – बालकृष्ण सम

१४. मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्धार मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ । – लक्ष्मीप्रसाद देवकोटा

१५. शब्द र संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो । – माधवप्रसाद घिमिरे

कवितासम्बन्धी चर्चा–परिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका विद्धानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई यसरी परिभाषित गर्न सकिन्छ – भाषाका माध्यम द्धारा प्रस्तुत गरिने कविको स्वानुभुतिको कोमल, कलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो ।

कविताको बारेमा पूर्वीय–पाश्चात्य मान्यताहरु

साहित्यका प्रमुख चार विधा, कविता, आख्यान, नाटक र निबन्ध मध्ये कविता सबैभन्दा प्रमुख, प्रचलित र प्राचीन विधा मानिएको छ । कविता के हो ? यो किन र कसका लागि भन्ने विषयमा संस्कृत काव्य परम्परा देखि वर्तमान सम्म अनेकौं बहस चर्चा र प्रतिक्रियाहरु भएका छन् ।

पूर्वीय तथा पश्चिमी साहित्य साधकहरुले कविताका बारेमा आ–आफ्नै किसिमका अवधारणाहरु अघि सारेका छन् । संस्कृत साहित्यका बिद्धानहरुले कवितालाई कविताकै रुपमा परिभाषित गरेको नपाइए पनि कवितालाई काव्य साहित्यकै दृष्टिले हेर्ने गरेको पाइन्छ । संस्कृत साहित्यशास्त्रीहरुले कवितालाई काव्य अन्तर्गत राखी काव्यको स्वरुप वा लक्षण के कस्तो हुने भनी आफ्ना अवधारणा प्रस्तुत गरेका छन् ।

संस्कृत साहित्यका बिद्धान भरतमुनिले आफ्नो कृति नाट्यशास्त्रमा, भामहले काव्यालङ्कारमा, दण्डीले काव्यदर्शनमा र वेदव्यासले अग्निपुराणमा काव्य सम्बन्धी आ–आफ्ना अवधारणा अघि सारेका छन् । भरतमुनिबाट शुरु भएको पूर्वीय काव्य साहित्य सम्बन्धी अवधारणामा त्यस पछिका बिद्धानहरु ले पूर्ववर्ती बिद्धानहरुका अवधरणामा खण्डन, संशोधन अथवा परिमार्जन गरी आ–आफ्ना दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् ।

पाश्चात्य साहित्यका विभिन्न कवि, समालोचक एवं चिन्तकहरुले पनि प्राचीनकालदेखि नै कवितालाई विभिन्न ढङ्गले परिभाषित गरेका छन् । पश्चिमा साहित्यशास्त्रीहरुले पूर्वीयहरुले जस्तो समग्र साहित्य सन्दर्भबाट नभई कविताका मात्रै परिभाषा गर्ने र यसलाई अथ्र्याउने प्रयत्न गरेबाट पूर्वीय बिद्धानहरुका कविता सम्बन्धी अवधारणा भन्दा पश्चिमा बिद्धानहरुका परिभाषा बढी बोधगम्य देखिन्छन् ।

यस सन्दर्भमा फिलिप सिड्नीले ‘अनुकरणको कला नै साहित्य हो’ भनेका छन् भने प्रख्यात कवि जोन मिल्टनले ‘कविता कम सूक्ष्म र सुकुमार भए पनि बढी सरल, इन्द्रियग्राह्य र भावपूर्ण हुन्छ’ भनेका छन् । त्यस्तै वीलियम वर्डसवर्थले ‘शान्त क्षणमा सन्चित अनुभवहरुबाट उत्पन्न मनोभावनाको स्वतःस्फूर्त प्रवाह कविता हो’ भनेका छन् भने सेमुअल टेलर कलरिजको परिभाषामा ‘विज्ञानजस्तो सत्यको नभएर आनन्दको अनुभूति गराउने तात्कालिक उद्देश्य भएको रचना कविता हो’ भनेर परिभाषा गरेको पाइन्छ ।

नेपाली साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालदेखि नवोदित स्रष्टाहरुबाट समेत कविताका बारेमा आ–आफ्नै अवधारणा र परिभाषा प्रस्तुत भइरहेका छन् ।

पूर्वीय तथा पाश्चात्य साहित्यशास्त्रीहरुको परम्परागत अवधारणा भन्दा अलग हटेर मार्क्स तथा फ्रेडरिक एंगेल्सले पनि कविता तथा साहित्यका बारेमा आफ्ना पृथक् अवधारणा प्रस्तुत गरेका छन् । यी बिद्धानहरुको मतमा अन्य विधाको जस्तै कविताको पनि सामाजिक र संरचनागत चरित्र हुन्छ । मार्क्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले कविताको चरित्र निरुपण गर्दा कवितामा केही आधारभूत तत्वहरुको उपस्थिति अनिवार्य देखिन्छ । ती आवश्यक तत्वहरुमा कविताको उद्गम स्रोत,कविताको सार, कविताको सामाजिक सम्बन्ध, यसको पक्षधरता, ऐतिहासिक क्रमवद्धता, कलात्मक बिम्वहरुको बिशिष्टता,अन्तरवस्तु तथा रुपको सम्बन्ध, समाजवादी यथार्थवादी मान्यता एवं यथार्थ र कल्पनाशीलताको प्रस्तुति हुन् ।

साहित्यलाई कल्पनाशीलताको फसल मात्र मान्नेहरुले कवितालाई समाजिक यथार्थ र कल्पनाशीलताको दोभान नठानी कवितालाई क्लिष्ट शाब्दिक कलाको रुपमा व्याख्यान गरेको पनि पाइन्छ । कथा वा उपन्यासको जस्तो यथार्थवादको समग्र मान्यता कवितामा प्रयोग गर्न नमिले पनि कवि बाँचेको समाज यसको यथार्थ संश्लेषण एवं प्रतिबिम्वन जस्ता कुराबाट कविता अलग हुन सक्दैन । कवितामा पनि विचार हुन्छ । कविता व्यक्तिगत भावावेग द्धारा अभिप्रेरित भइ रचना गरिए पनि यो समाज निरपेक्ष हुन सक्दैन ।

प्रतिक्रिया
Loading...