इबुक अर्थात् इलेक्ट्रोनिक बुक अर्थात् बिजुली पुस्तक जन्मेको हिजो ५० वर्ष पुगेको छ ।

प्रोजेक्ट गटेनबर्ग डट ओआरजीका बारेमा प्रायः सबैलाई थाहा छ । यसले संसारभरिका पुस्तकहरू सित्तैमा पढ्न पाउनु पर्छ भन्दै रोयल्टी विवादमा नपर्ने पुस्तकहरूलाई राख्दै आएको छ । यो संस्था स्थापित भएको र इन्टरनेटमा बिजुली पुस्तक राख्न थालिएको हिजो ५० वर्ष पुगेको छ ।

अमेरिकाको राष्ट्रिय दिवस जुलाई ४ का दिन सन् १९७१ मा यो सोच जन्मिएको थियो । यसका परिकल्पनाकार माइकल एस. हार्ट थिए ।

५० वर्षअघि अमेरिकाको स्वतन्त्रता घोषणा (युएस डिक्लेरेसन अफ इन्डिपेन्डेन्स) को प्रति टाइप गरी सित्तैमा पुस्तकहरू पढाउने उद्देश्यका साथ यसलाई स्थापना गरिएको थियो ।

५० वर्षअघिको तुलनामा हाल धेरै परिवर्तन भइसकेको छ । त्यस बेलाका प्रिन्टिङ प्रेस, रङ्गीन छापा, पुस्तक बिक्रीजस्ता धेरै कुरा परिवर्तन भइसकेका छन् । अहिले त किताब कहाँ कहाँ मात्र बिक्री हुँदैनन् ! जबकि त्यो बेला कल्पना मात्र गरिन्थ्यो ।

इबुकको चल्ती भने सन् २०१४ मा मात्र हुन थाल्यो । खासगरी इबुक बिक्रीमा भ्याट हटाइनुले यसप्रति पाठकहरूको ध्यानाकर्षण भएको थियो । सस्तो इबुकले पाठकहरूको संख्या मात्र बढेन, छोटो समयमा नै यसले छापा पुस्तकको बिक्रीलाई उछिन्यो । झन् सन् २०२० मा संसारभरिको बन्दाबन्दीले त इबुक बिक्रीको सर्वाधिक बढी अंक पार गर्यो ।

यद्यपि प्रोजेक्ट गटेनबर्गले आफ्नो उद्देश्य छाडिसकेको भने छैन । हाल यहाँ ६५ हजारभन्दा बढी बिजुली किताबहरू प्राप्त छन् ।

हार्ट इलिनोय विश्वविद्यालयमा पढ्दाताका जेरोक्स कम्पनीको सिग्मा फिफ्थ मेनफ्रेम कम्प्युटरमा खेल्ने अवसर पाएका थिए । त्यो बेला त्यो कम्प्युटरको मोल दस करोड डलर पर्थ्यो ।

सो कम्प्युटरमा बसेर काम गरिरहँदा उनलाई संसारभरिको अज्ञानता महसुस भयो । त्यसपछि उनले संसारलाई ज्ञानको सागरमा पुर्याउन सके जाती हुन्थ्यो भन्ने धारणाका साथ प्रोजेक्ट गटेनबर्ग शुरू गरेका थिए ।

यसको शुरूवाती कथा कम रोचक छैन । सन् १९७१ को जुलाई ४ का दिन हार्टले पटाका पड्काइएको आतशबाजी हेरिसकेपछि नजिकैको पुस्तक पसलमा छिरे । त्यहाँ उनले अमेरिकी स्वतन्त्रताको घोषणा पुस्तिका किने । उनले पुस्तिकालाई टाइप गरे र आफ्ना एक जना साथीलाई त्यो पुस्तिका दिन खोजे । त्यसबेला हालको इन्टरनेटजस्तै अर्पानेट भन्ने प्रणाली प्रयोग हुन्थ्यो । सो प्रणालीमा राख्दा कम्प्युटर सिस्टम क्र्यास हुने सुझाव साथीले दिएपछि डाउनलोड गरी पढ्न मिल्ने गरी उनले राखे ।

यसरी गटेनबर्ट जन्मियो र विद्युतीय किताब सित्तैमा पढ्न मिल्ने एउटा ठाउँ तयार भयो ।

माइकल एस. हार्ट

त्यसपछिका एक दशकसम्म हार्टले कयौँ पुस्तकहरू आफैँले टाइप गरे । तीमध्ये बिल अफ राइट्स, द कन्स्टिच्युसन, बाइबल तथा एलिसेज् एन्डवेन्चर्स इन वन्डरल्यान्डजस्ता पुस्तक थिए ।

त्यसपछि त नूक र किन्डलजस्ता इबुक रिडरले पुस्तकमा क्रान्ति नै ल्याइदिए । अहिले इन्टरनेटमा नपाइने बिजुली पुस्तकहरू कमै होलान् ।

६५ हजार पुस्तक ६० भन्दा भाषामा पाइने भइसक्यो । सन् २०१० ताका प्रविधि लेखक ग्लिन मुडीले सन् २०२१ सम्म एक अर्बको हाराहारीमा बिजुली किताब पाइने आँकलन गरेका थिए । गटेनबर्गमा त्यति धेरै पुस्तक नपाइए पनि बाहिर रहेका बिजुली पुस्तक जोड्दा भने मुडीको भनाइ सत्य ठहरिएको छ ।

इन्टरनेटमा पुस्तक पाइने यस्तो सोचका धनी माइकल एस. हार्टको जन्म मार्च ८, १९४७ मा वासिङ्टन राज्यको टाकोमामा भएको थियो । उनका पिता अकाउन्टेन्ट थिए भने उनकी आमा दोस्रो विश्वयुद्धताका गुप्तभाषा विश्लेषकका रूपमा काम गर्थिन् । पछि उनका बुवाआमाले उच्च शिक्षा लिएपछि एलिनोय विशवविद्यालयमा पढाउन थाले । बा सेक्सपियर पढाउँथे भने आमाले गणित ।

प्रोजेक्ट गटेनबर्गको लोगो

स्कुल पढ्दै गर्दा हार्टले आमा र बुवा दुवैको विश्वविद्यालयमा गई कक्षा लिने गर्थे । सन् १९७३ मा उनले विज्ञानमा स्नातक गरे ।

प्रोजेक्ट गटेनबर्ग शुरू गर्दा पहिला खासै गति लिएन । महिनामा एउटा किताब मात्र उनले हाल्न सकेका थिए । सन् १९९७ सम्म आइपुग्दा उनले जम्मा ३१३ वटा पुस्तकलाई सार्वजनिक गर्न सकेका थिए ।

पछि हार्टले नयाँ पुस्तकहरू आफैँले लेखेर त्यहाँ हाले । जसमध्ये जेन एन्ड द आर्ट अफ द इन्टरनेट र द हिचहाइकर्स गाइड टु द इन्टरनेट पर्छन् ।

अचेल यहाँ छापिने पुस्तकलाई धेरैले सित्तैमा प्रुफ हेरिदिन्छन् । हरेक महिना सयौँ किताब थपिने क्रम जारी छ ।

कपिराइट अवधि सकिएका कयौँ पुस्तकहरू सन् १९९८ मा गटेनबर्गबाट निकाल्नु पर्यो । किनभने त्यसअघिसम्म पुस्तकहरूको प्रतिलिपि आयु ७५ वर्ष मात्र थियो । गायक सोनी बोनोको अभियानले अवधि ९५.५ वर्ष पुर्याइदियो । तापनि उनी अत्तालिएनन् । ६४ वर्षको उमेरमा सन् २०११ मा उनको निधन भए पनि र उनले देखेको सपना पूरा हुन अझै सय वर्ष लागे पनि बिजुली पुस्तकको बिजुली गतिमा प्रगति भइरहेको देख्दा उनी खुसी थिए ।