जेम्स क्याम्पबेल
बुढ्यौलीतिर लम्किरहेका चर्चित लेखकप्रति दया लाग्छ ! घुमिरहेको चर्खाको गणना हुने दिन नजिकिदैछ । केही व्यापारी गिद्दले भने त्यो कहिले मर्ला र व्यापार गरूँला भनेर आकाशमा चक्कर लगाइरहेको छ । हुन त ती सभ्य गिद्द नै हुन् तर तिनले मृतकको मासु लुछ्ने नै छन् । साहित्यिक जीवनीकार पनि त्यस्तै हुन्, तिनले दयामाया नराखी सेलिब्रटी साहित्यकारका सबै कुरा खनीखोस्री निकाल्ने छन् ।
‘सार्वजनिक सम्पत्ति हुनुको नियति जीवन ध्वस्त हुनु हो,’ सन् १९९३ ताका कवि स्टेफन स्पेन्डरले लेखेका थिए, ‘मान्छेको जीवन निजी हुनै सक्दैन । केही हदसम्म उसको जीवन उसका आफन्त, छिमेकी र माया गरिएकाहरूसम्म गरी केही परसम्म जोडिएकै हुन्छ ।’ उनले लेखकको निजत्वमाथि चिन्ता गर्दै सो कुरा लेखेका थिए ।
स्पेन्डरले त्यो घोषणा गरेको केही समयपछि ९६ वर्षको उमेरमा बिते । के अब उनको जीवन अब उनले भनेजस्तै उनकै मात्र नरहने हो ? माया गरिएकाहरूसँग जोडिने नै हो ? कि उनको देहान्तपछि जसरी चिहानमा आनन्दपूर्वक उनी सुतेका थिए, त्यतिमा मात्र उनले चैन पाउने छैनन् !
उनलाई त्यसरी उद्वेलित पार्ने काम गरेको थियो, डेभिड लियाभायटको ह्वाइल इङ्ल्यान्ड स्लिप्स नामक उपन्यासले । यो उपन्यासमा डेभिडले स्टेफन र अर्का युवा केटा बीचको समलैंगिक सम्बन्धबारे लेखेका थिए । उनीहरूबीच सन् १९३० को दशकमा कसरी जीवन बिताइरहेका थिए भन्ने कुरा सन् १९५१ मा स्टेफनले आफ्नो आत्मकथामा खुला रूपमा बताइसकेका थिए तर पनि लेखक डेभिडको मन अघाएन । त्यो सम्बन्धका बारे उनी अझै खोतल्दै थिए ।
कुनै मानिसको जीवन उसको आफ्नो मात्र हो, उसको निजत्व हो भन्ने आकांक्षा मात्र गर्न पाइन्छ । खासमा उनको मृत्युपछि आफ्नो बाँचेको समयको चीरहरण हुनेछ भन्ने उनलाई थाहा थियो । ह्वाइल इङ्ल्यान्ड स्लिप्स उपन्यास बजारमा आउनबाट रोक्न स्टेफनले सक्दो प्रयास गरे । त्यहाँ स्टेफन र उनका साथीबीचको समलैंगिक सम्बन्धका बारेमा चाहिँदोभन्दा बढी नै व्याख्या गरिएको उनको भनाइ थियो । स्टिफनले डेभिडको उपन्यासको घाँटी निचोर्न अदालती प्रक्रियामा गए ।
तर जब सन् २००५ मा स्टिफनको निधनको १० वर्षपछि जोन सदरल्यान्डले आधिकारिक जीवनी लेखे । जीवनीमा ती समलैंगिक कुरा त आउनु नै थियो । उनकी विधवाले जीवनीमा अनावश्यक कुराहरू राखिएको भन्दै पुस्तक रोक्न हार गुहार गरिन् । त्यहाँ स्टिफनको दोहोरो यौनजीवनका बारेमा खुलेर लेखिएको थियो । एकातिर समलैंगिक सम्बन्ध पनि थियो भने अर्कोतर्फ उनकी पत्नीसँग पनि जीवन बिताइरहेका थिए । यो कुरा लेखक जीवित रहुञ्जेलसम्म मात्र पाठकसम्म पुगेन । उनको निधनपछि जीवनी र अनेकन् निहुँमा स्वर्गीय भइसकेका लेखकको आन्द्राभुँडी खोतल्न कुनै कुरा बाँकी राखिएन ।
स्टेफन स्पेन्डरभन्दा एक दशकअघि परलोक यात्रा गरेका फिलिप लार्किनका बारेमा गनगन गरिदिने कुनै विधवा थिइनन् । मृत्युपछि जीवनीकारले अनेकन् तथ्यहरू खोतल्दै मनलाग्दी चित्रणहरू गरिदेलान् भनेर लार्किनले आफ्नो निजी डायरी जलाइदिएका थिए । लेखक हुनु भनेको केही गल्ती हुनु हो, केही सम्बन्ध बन्नु हो, केही सम्बन्ध बिग्रनु हो । तिनैलाई आधार मानेर रौँचिरा खोतलेर मृतात्मालाई अशान्त गर्न जीवनीकारहरूहरूले कुनै ठाउँ राख्दैनन् । फिलिप लार्किनको मामिलामा पनि त्यस्तै भयो । उनले आफ्ना २५ वटा डायरीहरू च्याते र जलाइदिए पनि सन् १९९२ मा आफ्ना प्रेमिल सम्बन्धहरूको खुलासा गरिएका चिठ्ठीपत्रहरू सतहमा आए ।
ती चिठ्ठीहरू उनका नजिकमध्येका एक एन्थोनी थोइटले सम्पादन गरी बजारमा ल्याए भने अर्का एक व्यक्ति एन्ड्रयु मोसनले जीवनी नै लेखिदिए । जीवनी कस्तो थियो भने, क्रिस्टोफर हिचेन्सका शब्दमा भन्ने हो भने, त्यो जीवनीले मरणोपरान्त ती कविलाई घृणित, फोहोरी, क्षुद्र कट्टरताको ज्वारमा कोचकाच पारिदिए ।
लार्किनले आफ्ना निजी डायरीलाई जलाइदिएर ठिकै गरे । के मरणोपरान्त कुनै चर्चित साहित्यकारले लज्जास्पद मूल्य बेहोर्नु पर्ने हो ? के उनी समलैंगिक थिए कि थिएनन्, कुनै स्त्रीसँग उनको रागात्मक सम्बन्ध कस्तो थियो भन्ने कुरा जनताले नजानी नहुने कुरा थियो ?
कवि तथा समीक्षक थम गनले सन् १९९३ ताका लेखेका थिए, ‘लार्किनका चिठ्ठीपत्रहरू सार्वजनिक भएपछि जुन रूपमा त्यसलाई विवादमा ल्याइयो, म अप्ठेरो मान्दै उनको पक्षमा लाग्न बाध्य भएँ । म आफैँ पनि मेरो मृत्युपरान्त मेरा कुनै चिठ्ठीहरू सार्वजनिक होस् वा ती छापिऊन् भन्ने चाहन्नँ । अझ भन्ने हो भने केही चिठ्ठी त कहिल्यै नछापिऊन् नै भन्ने चाहन्छु ।’
पछि थम गनका चिठ्ठीहरूको सँगालो पनि छापिएर बजारमा पुग्यो । उनको द लेटर्स अफ थम गनमा कस्ता चिठ्ठी पनि समावेश गरिएका छन् र उनी किन ती नछापिऊन् भन्ने चाहन्थे भन्ने बुझ्न उनको सो चिठ्ठी सङ्कलनको पृष्ठ ५३२ मा गएर हेरे पुग्छ ।
जर्ज अर्वेल र टिएस इलियटले आफ्नो जीवनी नलेखियोस् भनेर सार्वजनिक रूपमा नै आह्वान गरेका थिए । यद्यपि अर्वेलका अहिलेसम्म १० वटा जीवनी बजारमा आइसकेका छन् । उता इलियटका निस्केका जीवनीमध्ये मैले आधा दर्जनको गणना त पुर्याएँ नै ।
जोन उप्डाइकले एक अखबारमा संस्मरण लेख्दै भनेका थिए, ‘म मेरो जीवनी कसैले लेखोस् भन्ने चाहन्नँ र कोही साथीहरूको भिडमा जुडास खोज्दै हिँडेको म रूचाउन्नँ ।’ (जुडास जिसस क्राइस्टका अनन्य चेला थिए, जसले केही रूपैयाँको लोभमा भूमिगत जिससलाई चुम्बन गरी चिनाएका थिए । जसका कारण जिससको क्रुसमा टाँगी हत्या गरिएको थियो ।)
जोन उप्डाइकको यो इच्छा पनि भनेजस्तो भएन । पछि सन् २०१४ मा एडम बिग्लीले ‘उप्डाइक’ नामक जीवनी लेखे ।
यसैगरी केही समयअघि बेन्जामिन मोजरले लेखेको सुसन सोन्ताङको जीवनी बजारमा आयो । सो जीवनी न्यु योर्कर म्यागेजिनमा समीक्षा गर्दा समीक्षक जेनेट माल्कोमले कुनै जुडासको हवाला दिँदै उनले यति मात्र प्रश्न सोधिन् कि कुनै सेलिब्रिटीलाई चिनेका आधारमा, उनले गोप्य कुरा सुनाएको आधारमा मृतक साथीमाथि धोका दिन मिल्छ ? नैतिकताले त्यसो गर्न दिन्छ ?
कुनै लेखक वा कलाकारको जीवनी राजनीतिज्ञको भन्दा फरक हुन्छ । राजनीतिज्ञहरू निजी चासो खोज्छन्, सार्वजनिक छवि निर्माण गर्छन् र जनतालाई आकर्षित गर्न चाहन्छन् । अथवा कसैले बिगारिदिएको छवि पुनः निर्माणका लागि उनीहरू नयाँ छवि बनाउन जीवनी निकाल्छन् । यो कुरा जीवित वा मृत सबै राजनीतिज्ञमा लागु हुन्छ ।
तर लार्किन अथवा इलियटजस्ता लेखक कलाकारहरूको छवि उनीहरूले लेखेको सिर्जनामार्फत बनेको हुन्छ । तिनको व्यक्तिगत जीवनमा हामीले पर्याप्त असहमत हुने ठाउँ हुन्छन् । व्यक्तिगत रूपमा उसले जे गरेको भए पनि बाँच्ने व्यक्ति होइन, उसको सिर्जना हो र त्यो सिर्जनाले के बोकिरहेको छ, त्यसले उसको दीर्घजीवनको रेखा कोर्ने हो ।
उपन्यासकार पेट्रिसिया हाइस्मिथका बारेमा लेखिएको जीवनी डेभिल्स, लस्ट्स एन्ड स्ट्रेन्ज डिजायर्स शीर्षकमा पत्रकार ब्रुक एलेनले न्यु क्रिटेरिअन नामक पत्रिकामा समीक्षा लेखेका छन् । रिचर्ड ब्राडफोर्डले यो जीवनी लेख्दा उनी निजी जीवनमा यहुदी तथा कालाजातिका अमेरिकीप्रति कस्ता धारणा राख्थिन् भन्ने कुरामा जोड दिइएको छ । उनका वाहियात निजी बानीबेहोरा, उनका क्रूरताका कुरा सो जीवनीमा अटाएका छन् । उनको क्रूरता जनावरहरूप्रति थिएन, मानवहरूप्रति मात्र थियो भनी लेखिएको छ । प्राइभेट आई नामक बेलायती म्यागेजिनमा उनको बारेमा छापिएको एउटा कार्टुनको समेत जीवनीमा व्याख्या गरिएको छ, जसमा उनको निधारमा स्वस्तिक टाँसिएको छ । स्वस्तिक यहुदीविरोधीहरूको चिह्न हो भने हिटलरका सेनाको झण्डा पनि हो ।
मैले प्रायः पेट्रिसिया हाइस्मिथका सबैजसो उपन्यासहरू दोहोर्याएर पढेको छु । चाँडै नै अर्को चरण पनि पढ्ने सूचीमा राखेको छु । मैले उपन्यास पढ्दा कतै पनि रिचर्ड ब्राडफोर्डले खुलासा गरेका कुराहरू उपन्यासमा देखिदैनन् । न त मैले उपन्यास पढ्दा कतै ती खुलासाले मेरो स्वादलाई नै तलमाथि पारेका छन् । पेट्रिसिया व्यक्तिगत रूपमा अनौठै व्यक्ति होलिन् तर उनले साँच्चिकै अपराध गरेकी होलिन् भन्ने चाहिँ मलाई कतै पनि लाग्दैन किनभने उनले लेखेका उपन्यासमा कतै पनि उनका निजी विचार वा भावना प्रकट नै भएका छैनन् । बरू उल्टै उनका उपन्यासले आनन्द दिन्छन् । र, यस्तो अनुभूत गर्ने म मात्र शायद एक्लो व्यक्ति पनि होइन होला ।
लेखक डब्लु.एच. अडेनले कतै भनेका छन्, ‘लेखकका जीवनी आवश्यकता भन्दा बढी नै लेखिन्छन् र प्रायः ती बेस्वादका हुन्छन् ।’ तर सधैँ त्यस्तो हुँदैन । फ्रान्सिसस स्टिगमुलरले ‘जाँ कोक्टु’ र ‘गैलुम एपोलिनेयर’ आफैँमा एउटा कला बन्न पुगेका छन् । ग्राहम रबको ‘रिबउड’ अर्को स्टाइलिस र आविष्कारक शैलीमा लेखिएको छ ।
यो भिडमा मैले अर्को एक जीवनीकारका बारेमा उल्लेख गर्नैपर्छ र त्यो व्यक्ति म स्वयं हुँ । तीस वर्षअघि मैले चर्चित लेखक जेम्स बाल्डविनको जीवनी लेखेको थिएँ । के त्यो चाहिँदोभन्दा बढी लेखिएको थियो ? बढाइचढाइ गरिएको थियो ? बेस्वादको जीवनी थियो ? त्यसले बाल्डविनको निजत्वलाई हरण गरेको थियो ? यी सारा प्रश्नहरूको उत्तर चाहिँ तपाईं आफैँ खोज्नुस् र मूल्याङ्कन गर्नुस् । कयौँ वर्षपछि जब मैले बाल्डविनमाथि आफैँले लेखेको जीवनी पढेँ, मलाई आफैँलाई लाग्यो, अहो ! यत्रो कुरा मलाई कसरी थाहा भएछ ! के ती सबै कुरा त्यहाँ हाल्न जरूरी थियो ?
(जेम्स क्याम्पबेल जेम्स बाल्डविनको जीवनीकार हुन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।