मल्टिनेसनल पुस्तक प्रकाशन गृह डिकेले मास्टर सेफ च्याम्पियनका फाइनलिस्ट सन्तोष शाहको पाककलासम्बन्धी पुस्तक (कुकबुक) बजारमा ल्याउने भएको छ ।

ऐलाः अ फिस्ट अफ नेपलिज डिसेज फ्रम तराई, हिल्स एन्ड हिमलयाज् शीर्षकको पुस्तक आउँदो वर्ष २०२२ फेब्रुअरी ३ मा बजारमा ल्याइने भएको हो ।

सोको जानकारी सन्तोष स्वयंले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । उनले अमाजनडटकममा बिक्रीका लागि सूचीकृत आफ्नो सो पुस्तक ट्वीटरमा सेयर गर्दै पुस्तक आउन लागेकामा खुसी लागेको बताएका छन् ।

उनको पुस्तकलाई प्रकाशन तथा वितरण गर्न डिके कम्पनीले विश्वव्यापी अधिकार लिएको छ । यसका लागि डिके लाइफ विभागका अधिग्रहण सम्पादक स्टेफनी मिल्नरले व्यवस्थापन गरेकी थिइन् । पुस्तकको डिजाइन क्रु कम्युनिकेसनले गर्दैछ ।

डिके पब्लिकेसन रहरलाग्दो डिजाइनका हार्डकभर पुस्तक निकाल्ने अग्रणी प्रकाशक हो । तस्बिरहरू भरमार प्रयोग गर्ने प्रकाशक डिकेले आफू सुहाउँदिलो पुस्तक पाएका कारण यसलाई प्रकाशन गर्न लागेको द बुकसेलर नामक पत्रिकाले जनाएको छ । द बुकसेलर डेढ सय वर्षभन्दा पुरानो प्रकाशन व्यापारबारे जानकारी दिने बेलायती पत्रिका हो ।

सन्तोषको पुस्तकमा ६० वटा खान्कीका बारेमा सम्पूर्ण जानकारी पस्किइनेछ । यी सबै नेपालका मौलिक परिकार हुनेछन् । त्यस्तै यस पुस्तककै लागि भनेर केही समययता उनी नेपालमै छन् ।

ऐला नेवारी भाषामा सगुनस्वरूप दिइने रक्सी हो । घरैमा उत्पादन गरिने ऐला निकै स्वस्थकर मानिन्छ ।

सन् २०२० मा मास्टर सेफः द प्रोफेसनल्स टेलिभिजन कार्यक्रममा सहभागी सन्तोषले टाइटल जित्न नसके पनि विजेताभन्दा कम चर्चित भने रहेनन् । उनले शुरूदेखि नै नेपाली खान्कीलाई विश्व बजारमा चिनाउनका लागि आफूले सक्दो कार्य गर्ने र पुस्तक निकाल्ने बताउँदै आइरहेका थिए ।

तस्बिरमा आधारित पुस्तक हुने भएकाले यो पुस्तक अन्य पुस्तकको तुलनामा केही महँगो भने हुनेछ ।

को हुन् सन्तोष शाह ?
६ वर्षको उमेरमा पिता गुमाएका सिरहा जिल्लाको कर्जन्हवा निवासी सन्तोष शाह घर चलाउनैका लागि सानैदेखि मजदुरी गर्थे ।

उनले नेपालका विभिन्न होटलमा भान्सा सहयोगीको कार्य गरे । भारतका विभिन्न कम्पनीमा अध्ययनसँगै काम अघि बढाएका उनले इन्स्टिच्युट अफ कयाटिङ एन्ड होटल म्यानेज्मेन्टबाट डिप्लोमा इन होटल एन्ड क्याटरिङ म्यानेज्मेन्ट कोर्स पूरा गरे ।

यसपछि उनी बेलायतमा वर्क पर्मिटमा काम गर्न गए । त्यहाँ उनले एउटा भारतीय होटल तथा रेस्टुराँमा काम गरे ।

उनी पछि अतुल कोचरको चर्चित रेस्टुराँ बनारसमा काम गरे । यसपछि फ्रान्सेली खान्कीको प्रख्यात रेस्टुराँ चेन चलाउने रेमन्ड ब्लाङ्कको रेस्टुराँमा काम गर्ने मौका पाए । यसपछि सिनामन नामक भारतीय कम्पनीमा काम गरे ।

यो क्रम निकै समय चलिरहँदा उनलाई नेपाली खान्कीलाई विश्वभर चिनाउने सनक चढ्यो । त्यसैले उनले मास्टर सेफ प्रोफेसनल युके प्रतियोगितामा भाग लिएका थिए । यति ठूलो प्रतियोगितामा भाग लिन आँट गर्ने उनी नै पहिलो नेपाली बन्न पुगे ।

सो प्रतियोगितामा उनले विश्वभरका लाखौँ दर्शकमाझ नेपाली खानालाई चिनाए । उनी आफू नेपाली खान्कीबाटै मिसिलिन स्टार बन्न लालायित छन् । मिसिलिन स्टार भनेको विश्वका गुणास्तरीय र राम्रो खान्कीको उत्कृष्ट सेवा पुर्याउने रेस्टुराँलाई दिइने विशेष सम्मान हो । यस्ता स्टार पाउने निकै कम छन् । पाँच जना मात्र थ्री मिसिलिन स्टार सेफ रहेका छन् भने टु स्टार मिलिसिन जम्मा २३ जना छन् । वन मिसिलिन स्टार पाउने १५१ जना छन् । उनी थ्री मिसिलिन स्टार पाउन अहिले सङ्घर्षरत छन् ।

हालसम्म अविवाहित ३६ वर्षीय शाहले मास्टर सेफमा जित्न नसके पनि सारा नेपालीको मन जित्न सकेकामा खुसी व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘ट्रफी हात पार्नु मात्र जित होइन, मैले निर्णायक तथा सारा नेपालीको मन जितिसकेको छु, यो मेरालागि उपाधि जितेसरह भएको छ ।’

उनले बजारमा ल्याउन लागेको पुस्तकमा मास्टर सेफमा प्रयोग गरेका मकैको रोटी, तामाको अचार, भुटेको काँक्रोको बियाँ, वन तरूल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चटनी, भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनीजस्ता चिजबिज पनि अटाउने अपेक्षा गरिएको छ ।

(2) Watch | Facebook