१७ औँ शताब्दीताका नेदरल्यान्डका एक व्यापारी तथा वैज्ञानिक एन्टोनी भान लिवेनहक आफ्ना चम्किला दाँतमाथि खुबै गर्व गर्थे । नगरून् पनि किन, त्यस बेला ह्याप्पीडेन्टजस्ता दाँच चम्काउने चुइगम् पनि थिएनन्, न त राजुका दाँतलाई टल्काउने डाबर दन्त मञ्जन नै बनेका थिए !

एन्टोनीले हरेक दिन बिहान नूनले दाँत माझ्थे र पानीले कुलुकुलु गर्थे । खाना खाइसकेपछि उनले टुथपिकले मजाले अड्केका चिजबिज निकाल्थे । (धन्न त्यो बेला उनीकहाँ टुथपिकको चल्ती थियो !) उनी ५० वर्षको छँदा सन् १६८३ मा उनको सुन्दर दाँतको प्रशंसामा चिठ्ठीहरूसमेत लेखिएका थिए, जुन त्यो बेला दुर्लभै कुरा हुन्थ्यो । (पुरूषको दाँतको प्रशंसा ? हुम् !)

तर उनलाई आफ्नो दाँत यति सफा भए पनि अझै चित्त बुझिरहेको थिएन । उनले अझै गहिरिएर आफ्ना दाँतको परिक्षण गरिरहेका थिए । दाँतका बीचमा अझै पनि केही चिज बनिरहेको र बढिरहेको उनले पाए । जसलाई अचेलको भाषामा दाँते गू (डेन्टल प्लाक) पनि भनिन्छ ।

एन्टोनीमा केही वर्षयता माइक्रोस्कोपमा निकै रूचि बढेको थियो । यस रूचिका कारण उनले केही वर्षअघि पानीमा भएका ब्याक्टेरियाका गतिविधि नियालेका थिए । पानीमा तिनै ससाना ब्याक्टेरियाका कारण हामीलाई बेलाबेलामा पखाला चल्ने उनले पत्ता लगाएका थिए । उसो भए दाँतलाई मज्जाले सफा गर्दा पनि बाँकी रहेको दाँते गू भित्र पनि त्यस्ता ससाना ब्याक्टेरियाहरूले हामीलाई रोग नलगाउलान् त ? देख्दामा सेता दाँतमा पनि त केही नदेखिने कीराहरू होलान् नि !

यसपछि उनले खोजी शुरू गरे र अन्ततः पत्ता लगाइछाडे कि वास्तवमा हामीले दाँत सफा गरिसकेपछि पनि त्यहाँ ससाना कीरा अझै बाँकी रहन्छन् । दाँते गू निकालिसकेपछिको सफा दाँतमा पनि तिनको अस्तित्व अझै कायम रहन्छ मात्र होइन, तिनीहरू मजाले यताबाट उता हिँड्डुल पनि गर्छन् भन्नेमा उनी विश्वस्त भए ।

यसपछि उनले त्यसको चित्र खिँचे । त्यो चित्रलाई उनले लन्डनस्थित रोयल सोसाइटीलाई पठाए । त्यो बेला कुनै पनि वैज्ञानिक प्रमाणलाई सर्वस्वीकृति लन्डनस्थित रोयल सोसाइटीले दिने गर्थ्यो । त्यो मान्यतापछि ऊ प्रख्यात वैज्ञानिक ठहरिन्थ्यो । त्यसैले आफ्नो ठहर्याईलाई मान्यता दिलाउन उनले पठाएको यो प्रमाण नै वास्तवमा ब्याक्टेरियाको अस्तित्वको पहिलो प्रमाण मानिन्छ ।

एन्टोनीको यो ठहर्याई मात्र होइन, रोयल सोसाइटीको स्वीकारोक्तिलाई केही मानिसले शङ्काको दृष्टिले हेरे । उनीहरू कसैगरी पनि ती साना ब्याक्टेरियाले यत्रा ठूला रोग लगाउँछन् भन्ने मान्न तयार भएनन् । त्यो बेलासम्म चिकित्सकहरूले हिप्पोक्रेट्सका कुरा पछ्याउँथे । पश्चिमा जगत्मा हिप्पोक्रेट्स प्रथम आधुनिक चिकित्सकका रूपमा चिनिन्छन् । उनको भनाइ थियो, कुनै पनि मानिसमा रोग लाग्नुको कारण कुनै अन्य तत्त्वका कारण नभई मानिसको शरीरमा भएको ‘हास्यचेत’को अभावले हो । (हाँस्यचेत भन्नाले कफ, रगत, मनको शान्ति, सदासिनता, रूघाखोकी, पहेँलो पित्त र कालो पित्तलाई जनाइन्थ्यो ।)

त्यो बेला पनि महामारी हुन्थ्यो र महामारीको कारण दूषित वातावरणलाई ठानिन्थ्यो । दूषित वातावरण चाहिँ जहाँ पायो त्यहीँ फ्याँकिने फोहोर र तिनको समुचित व्यवस्थापन नभएका कारण हुने मानिन्थ्यो । जस्तो कि फोहोर व्यवस्थापन नहुने हुँदा त्यसबाट उत्पन्न हुने दूषित वायु लिने हरकोहीलाई महामारीले पक्डने उनीहरूको बुझाइ थियो । ससाना परजीवी हाम्रो शरीरमा प्रवेश गर्नाले हामीलाई महामारीले सताउने तथ्य त्यसबेलाका चिकित्सकहरूलाई थाहा थिएन । त्यसैले उनीहरूले साना विषाणु र जीवाणुका कुरालाई अस्वीकार गरे ।

समय बित्दै जाँदा माइक्रोस्कोपमा पनि अझ शक्तिशाली र विकसित हुँदै जान थाले र विषाणु तथा जीवाणुको अस्तित्वलाई तिनै चिकित्सकहरूले नमानी धरै पाएनन् ।

त्यसअघि नै बेलायती वैज्ञानिक रोबर्ट हुकले सूक्ष्मजीवीमा हुने म्युकर अर्थात् खोल वा ढाललाई सन् १६६० को दशकमा पत्ता लगाएर त्यसको चित्रसमेत बनाएर पेस गरेका थिए । त्यसै कुरालाई अझ बढी विस्तारमा बुझाउने प्रयास गरेका थिए । एन्टोनीको सोही प्रमाणलाई अचेल हामी प्रोटोजोआ र ब्याक्टेरिया भनी चिन्छौँ ।

एन्टोनीको सोही साना कीराहरूले हामीलाई रोग लगाउँछन् भन्ने सोचलाई १७ औँ शताब्दीमा नै मान्यता दिइएको भए के हुन्थ्यो होला ? पक्कै पनि हामीले दुई सय वर्षसम्म कुर्नु पर्दैनथ्यो होला । किनभने १९ औँ शताब्दीमा यस्ता ससाना कीराहरूका कारण हामीलाई रोग लाग्छ भन्ने तथ्य र त्यसको मान्यतालाई नै अचेल हामीले जर्म थिअरी (रोगको सिद्धान्त) भनी जान्दछौँ । र, यो जर्म थिअरी लोकप्रिय हुन थालेको पनि १९ औँ शताब्दीको मध्यमा आएर मात्र हो ।

सन् १८४० को दशकमा हंगेरीका चिकित्सक इग्नाज सेमलवेजले हात धुनुको महत्त्वका बारेमा बुझेका थिए । कुनै अस्पतालमा हात धुँदा र सर्जरी गर्दाका बेला सर्जरीसामग्री राम्रोसँग धोइपखाली (स्टेरिलाइजेसन) गरेको खण्डमा मानिसलाई संक्रमण हुने सम्भावना निकै न्यून हुन्छ भन्ने उनले महसुस गरेका थिए । सन् १८५० को दशकमा जोन स्नोले लन्डनको एउटा टोलमा कलबाट निस्केको दूषित पानी पिउँदा पखाला चलेको र त्यसबाट धेरैको ज्यान गएको पत्ता लगाएका थिए ।

पछि लुई पास्चर सन् १८६० को दशकमा यस्ता जीवाणुहरूलाई अत्यधिक तापक्रम दिएर मार्न सकिने प्रयोग गरी देखाएका थिए । अझ पछि बेलायती सर्जन जोसेफ लिस्टरले किटाणुनाशक औषधिको प्रयोगबाट विभिन्न सर्जरीका सामग्रीलाई सफा गर्ने मात्र होइन, घाउलाई निको पार्ने क्षमतासमेत रहेको देखाए ।

दुई सय वर्षअघि नै यसबारे थोरबहुत जानकारी हासिल भए पनि यत्तिका समय किन जर्म थिअरी विकसित हुन सकेन त ? केहीको बुझाइमा त्यो बेला बौद्धिक क्रान्तिको समय थिएन । बौद्धिक छलफल, स्वीकारोक्ति र माझ्ने अवस्था त्यो बेला विकसित हुन सकेको थिएन ।

सरसफाईको महत्त्वबारे त्यतिबेला बुझाउन सकिएको भए कयौँलाई मृत्युको मुखबाट जोगाउन सकिन्थ्यो । खासगरी गर्भवती र शिशुको ज्यान अधिकांशतः जोखिममा हुनुको कारण नै सरसफाईको महत्त्व नबुझ्दा हुन गएको थियो । आँखाले देख्न नसकिने तत्त्व वा किराले मानिसलाई क्रमशः मार्दछ भन्ने कुरा कोही पनि मान्न तयार थिएनन् । पछि क्रमशः अस्पताल, युद्धग्रस्त क्षेत्र र सर्जरीका सामग्रीमा सरसफाई बढेपछि मानिसको ज्यान पनि कम जान थाल्यो ।

केही विज्ञ भन्छन्, त्यो बेला जुनसुकै देशले पनि सरसफाई र जर्म थिअरीलाई अँगालेको हुन्थ्यो भने त्यो देशले संसारभर राज गर्ने थियो । उसैका मानिस स्वस्थ र चाँडै निको हुन्थे, स्वस्थ सैनिकले बढीभन्दा बढी समय लडाइँ गर्न सक्ने थिए र बढीभन्दा बढी जमिन हडप्न सक्ने थिए ।

तर सन् १६८० को दशकमा नै हुनुपर्ने क्रान्ति ढिलो हुनुको कारण के थियो त ? योर्क विश्वविद्यालयका इतिहासकार डेभिड वुटन भन्छन्, ‘वास्तवमा बौद्धिक छलफल, स्वीकारोक्ति भन्दा पनि यसमा सांस्कृतिक समस्याले बढी भूमिका खेलेको थियो । मानिसहरू फोहरी हुने यति आदतमा थिए कि हात धुन सिकाउनु पर्यो, नुहाउनुपर्छ भन्नु पर्यो । स्वयं चिकित्सकहरू पनि आफ्ना पुराना बानीमा यति अड्किएका थिए कि नयाँ पत्ता लगाइएका कुरामा पनि उनीहरूले विश्वास गरेनन् । डाक्टरहरू स्वयं संकुचित बनिदिँदा, नयाँ र प्रयोगमा आधारित तथ्य बाहिर आउँदा उनीहरूले आफ्नो व्यावसायिक पहिचान तथा व्यवसाय नै सङ्कटमा पार्ने भएकाले अस्वीकार गर्न थाले ।

चिकित्सकको साटो माइक्रोस्कोपलाई अझ बढी विकसित अरूले नै गर्न थाले । खासगरी खगोलशास्त्रीहरूले ठूला र शक्तिशाली दूरबिन बनाउन थाले । ब्रह्माण्डलाई बुझ्ने उनीहरूको समझ वृहद् हुँदै जान थाल्यो । यता चिकित्सकहरूको आँखा भने अज्ञानताका कारण टालिन थाले । माइक्रोस्कोपले खुलाएको नयाँ बाटोतर्फ उनीहरूको ध्यानाकर्षण हुनै सकेन ।

बेलायती सर्जन जोसेफ लिस्टर भने यस मामिलामा अपवाद निस्के । उनी चिकित्सक र सर्जन मात्र थिएनन्, उनले माइक्रोस्कोपी पनि अध्ययन गरे । यो गुण चाहिँ उनका बुबाबाट पाएका थिए । उनका बुवाले प्रकृतिको साना चिजको मज्जा लिन माइक्रोस्कोपलाई आफैँले नयाँ नयाँ प्रयोग गर्थे र साना किराहरूको ठूलो संसार चिहाउँथे । यो देखेका लिस्टरले अस्पतालमा विज्ञान र औषधिबीचको खाडल पुर्न माइक्रोस्कोपमा उपयोग गरे ।

पछि लिस्टर सर्जरीका प्राध्यापक मात्र बनेनन्, बेलायती महारानी भिक्टोरियाका निजी सर्जनसमेत रहे । यसको फाइदा उनलाई भयो । उनले कयौँ नयाँ नयाँ अभ्यास प्रयोगमा ल्याए । ती नयाँ प्रयोगका बारेमा उनलाई कतिले त जिस्क्याउनुसम्म जिस्क्याए । पछि आफ्नो प्रयोगको प्रभावकारिताका कयौँ प्रमाणहरू जुटाई छाडे ।

सन् १६८० को दशकमा यही कुरा प्रयोगमा ल्याएको भए के हुन्थ्यो ? चिकित्सक, सर्जन र माइक्रोस्कोपका खेलाडीहरूले किन जर्म थिअरीको आधारशीला बनाउन सकेनन् ? किनभने त्यो बेला चिकित्सक, सर्जन र माइक्रोस्कोपी बेग्लाबेग्लै मानिस हुन्थे । तिनलाई यस्ता प्रयोगका लागि राजनीतिक र औषधीय ठालुहरूको सहयोग चाहिन्थ्यो । उनीहरूको स्वीकृतिबेगर नयाँ प्रयोग गर्न पाइँदैनथ्यो । पाश्चर र लिस्टरका सिद्धान्तहरू चाँडै नै सर्वसाधारणले ग्रहण गरे किनभने उनीहरू कहलिएका व्यक्ति थिए । उनीहरूले एक पटक भनेपछि ती कुरा सर्वस्वीकार्य हुन्थे । ठीक यही कुरा सन् १६८० को दशकमा लागू हुन सकेन ।

त्युमेन स्कुल अफ एडभान्स स्टडिजकी इतिहासकी प्राध्यापक कोरिन डोरिया भन्छिन्, ‘कुनै पनि स्थापित कुरा कुनै एक जना व्यक्तिले भनेको आधारमा स्थापित भएको हुँदैन । त्यसका लागि लामो समयसम्मको अध्ययन, अनुसन्धान र स्वीकृतिले भूमिका खेलेको हुन्छ । एक्लो मानिसले ठूलो परिवर्तन ल्याउन सक्दैन । जब सामूहिक प्रयत्न हुन्छन्, त्यो बेला मात्र देखिने गरी परिवर्तन सम्भव हुन्छ । ठीक त्यसैगरी जर्म थिअरी, त्यसबाट निश्रित ज्ञान र नयाँ नयाँ प्रायोगिक निष्कर्ष लामो समयदेखिको प्रयत्नको योगफल हो । जसरी एउटा रोगको पत्ता र वातावरण पाउनेबित्तिकै त्यो ह्वारह्वारी अरूलाई सार्न थाल्छ, त्यसैगरी एउटा गतिलो सोचले साँच्चिकै काम गर्न पनि सुहाउँदिलो वातावरणको आवश्यक पर्छ ।’