जर्ज सेरटलाई नियो इम्प्रेसनिस्ट चित्रकारका रूपमा संसारभर चिनिन्छ । उनी फ्रान्सका ज्यादै चर्चित र सम्मानित चित्रकारका रूपमा चिनिन्छन् ।

उनले चित्रहरूमा नयाँ प्रभाव भित्र्याएका कारण उनी ज्यादै सम्मानका पात्र बने । उनले बनाएका अनेकन् नवप्रभाववादी चित्रहरूमध्ये अ सन्डे आफ्टरनुन अन द आइल्यान्ड अफ ला ग्रान्डा जाँ निकै प्रख्यात मानिन्छ ।

सन् १८७९ मा जर्ज सेरट सेनामा भर्ती भए र एक वर्षसम्म उनी विभिन्न ठाउँमा गए । एक वर्षपछि उनी पेरिस फर्किए र एउटा सानो स्टुडियो स्थापित गरे । त्यहाँ उनले चित्रहरू बनाउने गर्थे । पहिलो पटक उनले सन् १८८३ मा चित्रहरू बनाउने र प्रदर्शन गर्ने गर्न थाले ।

तर जब उनले यो चित्र प्रदर्शनीमा राखे, तत्कालै उनले नवप्रभाववादी चित्रकारको खेमामा आफ्नो कद निकै उँचो बनाइहाले ।

यो चित्र उनले १८८४ देखि बनाएका थिए । उनलाई यो चित्र बनाइसक्न पूरै दुई वर्ष लाग्यो । चित्रमा प्रयोग गरिएका रङ, प्रकाश र शैलीले यसलाई त्यस बेलाका अनेकन् उम्दा चित्रहरूभन्दा फरक उभ्याएको थियो ।

त्यसो त उनले नवप्रभाववादी चित्रकारको पगरी पाउनुअघि उनले आफूलाई डिभिनिज्म चित्रकार भन्थे । अचेल उनको चित्रकारिताको यो शैलीलाई पोइन्टिलिज्म भनी चिनिन्छ । यसमा थोप्ला थोप्लाहरू यति मिहिन तरिकाले प्रयोगमा ल्याइन्छ कि सामान्य आँखाले भेउ पाउँदैन तर गहिरिएर हेर्यो भने यसमा प्रयुक्त थोप्लाहरू मज्जाले खुट्याउन सकिन्छ ।

यो ठाउँमा जुन बेला जर्जले चित्र बनाएका थिए, छेउमा एउटा औद्योगिक कारखाना थियो । यहाँ ससानो बगैँचा हुने गर्थ्यो । तर उनले यो ठाउँलाई चित्रबाट अमर बनाइदिए । कतिसम्म भने संसारभरका मानिसले जसै यो चित्र हेर्छन्, उनीहरूले यो ठाउँ खोज्दै पेरिस पुग्छन् । यो अचेल एउटा सामान्य बगैँचाको ठाउँ हो भन्दा त्यहाँ पुग्ने सर्वसाधारण विश्वासै मान्दैनन् ।

अचेल यो चित्र अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युटमा झुन्डिएको देख्न सकिन्छ । सन् १९२४ मा यो चित्र सो ठाउँमा पुगेको हो । यो चित्रलाई यहाँ झुण्ड्याउन त्यो बेला २४ हजार डलर तिरिएको थियो ।

यो चित्रको प्रभावका कारण कयौँ नाटक र टेलिभिजन कार्यक्रममा समेत यसले ठाउँ पाएको छ । उनको यो चित्र १९ औँ शताब्दीको कला चिनाउने थोरै पेन्टिङमध्येमा गनिन्छ ।

को हुन् जर्ज ?
जर्ज सेरट १८५९ डिसेम्बर २ मा पेरिसमा जन्मिएका थिए तर ३१ वर्षकै उमेरमा २९ मार्च १८९१ मा उनले मृत्युवरण गरे । उनको निधनको कारण भने अझैसम्म पनि अज्ञात नै छ । केहीले निमोनियाको कारण देखाउँछन् । उनको मृत्युको समयमा बनाउँदै गरेको द सर्कस नामक चित्र अधुरै रहेको केहीको दाबी छ ।

उनले चित्रकारिता गर्दै गर्दा मोडल चाहिन्थ्यो र त्यसका लागि प्रायः हरबखत मेडलिन नोब्लोक हाजिर हुन्थिन् । मेडलिनसँग उनको जीवन त्यति लामो जान सकेन किनभने उनीहरूले औपचारिक रूपमा बिहे नगर्दै जोनको निधन भयो । उनले जोनका दुई सन्तान भने जन्माएकी थिइन् । तर दुवै सन्तान लामो समयसम्म बाँच्न सकेनन् ।

यो चित्रमा के हेर्ने ?
यो चित्रमा पेरिसको सेइन नदी किनारमा फेसनेबल महिलाहरू दिउँसो घुम्न निस्किएको कुरालाई जीवन्तका साथ प्रस्तुत गरेका छन् । सन् १८८६ मा पहिलो पटक प्रदर्शनमा राखिएको यो चित्रलाई पोस्टइम्प्रेसनिज्मको शुरूवाती चित्रका रूपमा लिइन्छ । रङको प्रयोग मात्र होइन, ससाना थोप्लाको यति मिहिन प्रयोग छ कि सही दृश्य देखिनका लागि र उनको गणना सही र सटीक हुनका लागि दुई वर्ष लाग्यो ।

१. चित्रको लगभग बीचमा एउटी आमा र उसकी छोरी देखिन्छन् । छोरी श्वेत वस्त्रमा छिन् भने आमा छाता ओढेकी छन् । उनी सिधा हामीतिर आइरहेको भान हुन्छ । महिलाको निकै आकर्षक पहिरन देखिन्छ । बच्चीको श्वेत वस्त्र र उनकी आमाको गुलाबी पहिरन छेउको घाँसमा तीव्र कन्ट्रास्ट हुँदा बेग्लै प्रभाव पारेको छ । उनीहरूको पछाडि नदी र केही मानिसहरूको गतिविधि देखिन्छ । कोही घाँसमा पल्टेका छन्, केही उभिएका छन् त कोही नदीमा रमिता हेरिरहेको देखिन्छ ।

२. चित्रको देब्रे कुनामा दुई जना उभिएका देखिन्छन् । उनीहरूको छेउमा एउटी आमा र उनकी छोरी बसेको देखिन्छन् । यस्तै यी स्त्री पुरूषले छाता र छडी बोकेका छन् । यिनको यहाँ मुभमेन्ट देखिएको छ । ती दुवैले बाँदर र कुकुर डोर्याएको दृश्य मनमोहक छ ।

३. नदीतिर एकोहोरो हेरिरहेकी महिला छाता ओढिरहेकी छ । उसको ठीक अगाडि एउटा मानिस डुङ्गामा माछा मारिरहेको छ ।

४. सबैभन्दा अगाडि तीन जना छायाँमा बसिरहेको देखिन्छ । पुरूषले हातमा छडी लिएको छ भने स्त्रीले केही बुनिरहेको देख्न सकिन्छ । तेस्रो पुरूष भने आनन्दले पल्टेर नदीतिर मुख पारेको छ । छेउकै कुकुर घाँसमा केही सुँघिरहेको छ ।

५. फ्रान्सेली झन्डा देख्नुहुन्छ ? पक्कै पनि गाह्रो हुँदो हो तर त्यहाँ पर एउटा नाउँमा फ्रान्सको राष्ट्रिय झन्डा देखिन्छ ।

६. एउटी बालिका एउटा गोडाले तिती खेलेजस्तो दृश्यले तपाईं हामीलाई बाल्यकालमा डोर्याउँछ ।

यस्ता अनेकन् चिज तपाईंले यो पेन्टिङमा देख्नुहुन्छ र यसको सबैभन्दा रोचक पक्ष चाहिँ, केही उठेका, कोही बसेका, अनि फेरि कोही बसेका, कोही उठेका देखिन्छ । यसले चित्रमा एउटा रिदम सिर्जना गरेको पाइन्छ ।

आउनुस्, यसलाई अझ गहिरिएर एक एक ठाउँलाई हेरौँः