साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गीतिनाटक के हो र कसरी लेखिन्छ ?

सिर्जना पाठशाला २५

१. विषय प्रवेश
साहित्यका श्रव्य र दृश्य भेदमा दुवैको मिश्रण भएर सिर्जना हुने विधालाई गीतिनाटक भनिन्छ । गीतिनाटक शब्दले नै गीत र नाटक दुवैको अपेक्षा गर्दछ । गीत भावनात्मक काव्यविधा हो भने नाटक अभिनयात्मक दृश्यविधा हो । गीतमा लयात्मकता हुन्छ र सङ्गीत अनिवार्य मानिन्छ भने नाटकमा संवादात्मकता हुन्छ र अभिनय अनिवार्य मानिन्छ । यसका आधारमा हेर्दा विषयवस्तुलाई गायन, सङ्गीत, नृत्य र अभिनयका माध्यमबाट प्रस्तुत गरिने एक विशिष्ट विधाका रूपमा गीतिनाटकलाई लिन सकिन्छ । यो विश्वसाहित्यमा प्राचीन कालदेखि नै विभिन्न नामहरूबाट लोकप्रिय मानिँदै आएको छ । वर्तमानमा भने यो गीतिनाटकका नामबाट नै परिचित छ । यस लेखमा साहित्यको त्यही लोकप्रिय विधा गीतिनाटक लेखनका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. गीतिनाटकको सैद्धान्तिक स्वरूप र परम्परा
‘गै’ मूल धातुमा ‘क्तिन्’ प्रत्यय जोडिएपछि बनेको ‘गीति’ शब्द र ‘नट्+ण्वुल्+अक’ निर्माण प्रक्रियाबाट बनेको ‘नाटक’ शब्दका बिचमा समास भएर ‘गीतिनाटक’ शब्द निर्माण भएको हो । शब्दनिर्माण प्रक्रियालाई हेर्दा यसले गीत र नाटक दुवैलाई सङ्केत गरे पनि नाटकलाई प्रधानता दिएको देखिन्छ । पूर्वीय तथा पाश्चात्य साहित्य परम्परालाई हेर्दा गीतको सम्बन्ध काव्य र नाटक दुवैतिर रहेको देखिन्छ । गीतको सम्बन्ध काव्यसँग हुँदा गीतिकाव्य निर्माण हुने र नाटकसँग हुँदा गीतिनाटक निर्माण हुने सैद्धान्तिक परम्परा पाइन्छ तर गीतिकाव्य र गीतिनाटक फरक फरक संरचना भएका सिर्जनाहरू हुन् । गीतिकाव्य पूर्ण रूपमा श्रव्य विधा हो भने गीतिनाटक श्रव्य र दृश्य दुवैको मिश्रण हो । डा. युगेश्वर वर्माले संवेदनाको तीव्रताले गीतकारको व्यक्तित्व निर्धारण गर्ने र गीतिकाव्य व्यक्तिनिष्ठ रचना भएकाले यसमा स्वानुभूतिलाई मूल कारकतत्त्व मानिने विचार व्यक्त गरेका छन् । त्यस कारण पनि गीतिनाटकको रचनाविधान गीतिकाव्यको भन्दा भिन्न प्रकृतिको देखिन्छ । गीतिनाटकको प्रयोगात्मक पृष्ठभूमि पूर्वीय जगत्मा फेला परे पनि सैद्धान्तिक चर्चा भने पाश्चात्य जगत्मा बढी भएको पाइन्छ । समालोचक डा. विन्दु शर्माले ‘गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे’, ‘नेपाली गीतिनाटकः स्वरूप र प्रवृत्ति’ जस्ता कृति र विभिन्न अनुसन्धानात्मक लेखहरूमार्फत यसको सैद्धान्तिक स्वरूप निर्धारण र ऐतिहासिक पृष्ठभूमि केलाउने काममा उल्लेखनीय भूमिका खेलेकी छन् । यसरी नै डा. नेत्र एटमले पनि विभिन्न फुटकर समालोचनाका माध्यमबाट गीतिनाटकलाई चिनाउने काम गरेका छन् । तिनै पूर्वकार्य र सन्दर्भसामग्रीका आधारमा यहाँ गीतिनाटकको प्राचीनता र प्रयोग परम्पराका बारेमा सामान्य सूचना प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
गीतिनाटकको प्राचीन स्वरूप खोज्न थाल्ने हो भने ‘ऋग्वेद’सम्म पुग्नुपर्ने देखिन्छ । ‘ऋक्’को अर्थ गायन हो । यसका साथै वैदिक पठनमा सार र स्वर दुवै हुने र वैदिकजनले शारीरिक हाउभाउका साथ उच्चारणगत आरोहअवरोहका माध्यमबाट मन्त्रहरूलाई प्रस्तुत गर्ने हुनाले समग्र वेदमा गीतिको मात्रा बढी र नाटकको मात्रा कम पाइन्छ । ‘ऋग्वेद’का आन्तरिक पक्षमा प्रवेश गर्ने हो भने चाहिँ त्यसमा रहेका ‘उषासूक्त’, ‘सूर्यसूक्त’ आदिमा गीतिको प्रधानता र ‘यमयमी–संवाद’, ‘पुरुरवा–उर्वशी संवाद’ आदिमा नाट्य स्वरूपको प्रधानता पाइन्छ । पूर्वीय जगत्मा गीतिनाटकको सम्बन्ध यति पुरानो भए पनि पौराणिक काल, लौकिक साहित्य काल आदिमा संस्कृतमा प्रशस्त काव्य तथा नाटकहरू लेखिए तर गीतिनाटक नै भनेर लेखिएको पाइँदैन । भास, कालिदास, शूद्रक, भट्टनारायण, भवभूति, श्रीहर्ष जस्ता विशिष्ट नाटककारहरू रहेको र ती केवल नाटककार मात्र नभएर विशिष्ट कवि पनि भएको संस्कृत नाट्य परम्परामा गीतिनाटककै रचनाचाहिँ भएको पाइँदैन । उल्लिखित नाटककारहरूले आफ्ना विशिष्ट नाट्यकृतिहरूमा बिच बिचमा गीत, कविता आदिको प्रयोगचाहिँ गरेका छन् र प्रसङ्गअनुसार सङ्गीत, नृत्य र अभिनयको पनि आयोजना गरेका छन् तर तिनलाई गीतिनाटक नै भन्ने अवस्थाचाहिँ पाइँदैन । एकैपटक इसाको सोह्रौँ–सत्रौँ शताब्दीतिर ‘कृष्णनाटक’, गोविन्दवल्लभ नाटक’ जस्ता केही गीतिनाट्य कृतिहरू लेखिएको चर्चा डा. केशवप्रसाद उपाध्यायले गरेका छन् ।
पाश्चात्य साहित्यमा गीतिनाटकका समकक्षी शब्दका रूपमा ‘मेलोड्रामा’ (Melodrama), ‘अपेरा’ (Opera), ‘ब्याले’ (Balet) आदिको प्रयोग गर्ने गरेको पाइन्छ । ‘मेलोड्रामा’ गीतमा संवाद गरिने रचना हो, यसमा गीतको गम्भीरता वा काव्यात्मक गहिराइ कम हुन्छ, ‘अपेरा’मा भावगम्भीर गीत, मनमोहक सङ्गीत, प्रभावकारी अभिनय र आकर्षक नृत्यको समेत अपेक्षा गरिएको हुन्छ भने ‘ब्याले’मा कुनै पनि विषयलाई गीतमा प्रस्तुत गरिन्छ । यसका आधारमा हेर्दा ‘मेलोड्रामा’ र ‘अपेरा’ले कुनै घटना वा कथावस्तुको निरन्तरताको अपेक्षा गरेका हुन्छन् भने ‘ब्याले’ले टुक्रा टुक्रा विषय र सन्दर्भलाई पनि प्रस्तुत गर्न सक्दछ । यसका आधारमा गीतिनाटकको निकट सम्बन्ध ‘ब्याले’सँग भन्दा पनि ‘मेलोड्रामा’ र ‘अपेरा’सँग देखिन्छ । अझै गहिराइमा गएर गीतिचेत, काव्यचेत र मञ्चीय प्रस्तुतिका आधारमा हेर्दा गीतिनाटकलाई ‘अपेरा’को समकक्षी विधाका रूपमा हेर्न सकिन्छ ।
पूर्वीय साहित्यमा वेदमा जस्तै पाश्चात्य साहित्यमा प्राचीन ग्रिसेली दुःखान्त नाटकहरूमा गीतिनाटकको प्रारूप फेला पर्दछ । त्यही बीजरूपका आधारमा सोह्रौँ शताब्दीमा इटलीमा गीतिनाटकको जन्म भएको देखिन्छ । इटलीका ओट्टाभियो रिनुसिनीको लेखन र ज्याकोपो पेरीको सङ्गीत संयोजन तथा गायनमा तयार भएको कृति ‘ड्याफ्ने’ (Dbfne) लाई पाश्चात्य साहित्यमा पहिलो गीतिनाटक मान्ने गरिन्छ । यसको मञ्चन सन् १५९७ मा पहिलो पटक ज्याकोपो कोर्सीको दरबारमा गरिएको थियो । यसपछि पोन्ट, सिकान्देर आदि युरोपेली स्रष्टाहरूका गीतिनाटकहरूले विश्वव्यापी चर्चा पाएको देखिन्छ । यता चीनमा भने सन् २२०—२६५ मा प्रस्तुत गरिने ‘केजुन’ (Canjun) मा गीतिनाटकको प्रारूप फेला पर्दछ भने सन् ६१८—९०७ का बिचमा देखापरेका इम्पेरर लि लङ्जीको ‘द पियर गार्डेन’ (The Pear Garden) पछि यसको औपचारिक विकास भएको र बिसौँ शताब्दीमा भने यसले सर्वाधिक लोकप्रियता हासिल गरेको देखिन्छ ।
गीतिनाटकको सैद्धान्तिक चर्चा पूर्वीय काव्यशास्त्रहरूमा त्यत्ति भएको पाइँदैन । यसलाई चिनाउने कार्यमा पाश्चात्य विद्वान्हरूको विशिष्ट भूमिका रहेको देखिन्छ । ‘इन्साइक्लोपेडिया ब्रिटानिका’ले गीतिनाटकलाई बिच बिचमा वाद्यमण्डलीसहित मञ्चन गरिने सङ्गीतबद्ध र बोलीमा आधारित नाटकलाई गीतिनाटक भनिन्छ भनी परिभाषित गरेको छ भने डोनाल्ड जेइ ग्राउट र क्लाउड भी पालिस्काले दुई वा दुईभन्दा बढी दृश्यमा रहेको नाटकीय र रङ्गमञ्चीय सिर्जनालाई गीतिनाटक भनिन्छ भनी चिनाएका छन् । यसरी नै नेपाली साहित्यमा अत्यन्त लोकप्रिय गीतिनाटकहरूका स्रष्टा माधव घिमिरेले गीतिनाटक गीतिद्वारा प्रस्तुत नाटक वा नाटकद्वारा प्रस्तुत गीत हो र यसमा नृत्य पनि मिसिन्छ भन्ने विचार व्यक्त गरेका छन् भने गीतिनाटककी अध्येता समालोचक डा. विन्दु शर्माले गीतद्वारा प्रस्तुत दुई वा सोभन्दा बढी दृश्यमा बाँडिएर मञ्चमा प्रदर्शन गर्ने उद्देश्यले लेखिएको द्वन्द्व र सङ्गीत प्रधान नाटक नै गीतिनाटक हो भनी परिभाषित गरेकी छन् । यसरी नै गीतिनाटकका अर्का अध्येता डा. नेत्र एटमले भने गीतिनाटकलाई मञ्चमै उपस्थित वृन्दवादनका माध्यमबाट प्रस्तुत गरिने भएकाले यसमा नाटक, गीत, सङ्गीत र प्रस्तुतिगत कलाको भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गरेका छन् । यी परिभाषाहरूलाई हेर्दा गीतिनाटकमा जीवन र जगत्का जुनसुकै विषय, घटना वा कथावस्तुलाई लयात्मक तरिकाले प्रस्तुत गरिन्छ, तिनमा सङ्गीत, गायन र अभिनयको विशेष भूमिका हुन्छ र मनमोहक एवम् भावगम्भीर रचनाशिल्पले मानव मस्तिष्कलाई तरङ्गित पार्ने क्षमता राख्दछ भन्न सकिन्छ । यसका आधारमा हेर्दा उच्च गीतिचेतना, मनोहारी सङ्गीतचेतना र सशक्त अभिनयले बाँधिएको श्रव्यदृश्यमूलक रचना नै गीतिनाटक हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
नेपाली साहित्यमा गीतिनाटकको प्रारूपचाहिँ लोकजीवनमा नै फेला पर्दछ तर अन्य विधा जस्तो यसको सिर्जनामा त्यति लामो ऐतिहासिक परम्परा पाइँदैन । प्राथमिक कालीन र माध्यमिक कालीन अनूदित र केही मौलिक काव्यनाटकहरूमा र बालकृष्ण समका कवितानाटक र सङ्गीतनाटकहरूमा यसको छनक पाइए पनि तिनलाई स्पष्ट रूपमा गीतिनाटक भन्न मिल्दैन । नेपाली साहित्यमा पाठक र दर्शक दुवैले अनुभव गर्ने गरीको गीतिनाटकको विकास २०३० को दशकमा मात्र भएको देखिन्छ । यस दशकमा राष्ट्रिय नाचघर जमलले महाकवि देवकोटाको ‘मुनामदन’लाई सङ्गीत र अभिनयका साथ प्रस्तुत गर्ने काम ग¥यो तर यो गीतिनाटक नभएर खण्डकाव्य थियो । यसपछि कवि तथा सङ्गीतकर्मी रायन (नारायणभक्त श्रेष्ठ) द्वारा २०३७ सालमा लिखित ‘सिम्मा’ गीतिनाटक २०३८ सालमा प्रकाशन भयो र प्रज्ञाभवन कमलादीमा प्रदर्शन पनि गरियो । नेपाली समाजको यथार्थ चित्रण गरिएको उक्त गीतिनाटक लगातार डेढ महिनासम्म प्रदर्शन भएपछि तत्कालीन शासनव्यवस्थाका कारण बन्द गर्नुपर्ने अवस्था आयो र त्यसलाई पोखरा, विराटनगर हुँदै दार्जिलिङसम्म लगेर प्रस्तुत गरियो । यसले नेपाली दर्शकलाई पहिलो पटक प्रत्यक्ष रूपमा गीतिनाटकको स्वाद चखाउने काम गरेको देखिन्छ ।
माधव घिमिरे नेपाली गीतिनाटक परम्पराका सर्वाधिक चर्चित र लोकप्रिय स्रष्टा हुन् । उनको ‘शकुन्तला’ (२०३८) गीतिनाटकबाट नेपाली पाठकले गीतिनाटकको मिठो स्वाद चाख्ने मौका पाए भने ‘मालती–मङ्गले’ (२०३९) बाट चाहिँ नेपाली पाठक र दर्शक दुवैले साँच्चै गीतिनाटकको आनन्द ग्रहण गर्ने मौका पाए । यति हुँदाहुँदै पनि नेपाली गीतिनाटकको स्पष्ट स्वरूपमा भने जहिल्यै अन्योल देखापरिरह्यो । एकातिर नाचघरमा ‘मुनामदन’लाई साङ्गीतिक रूपमा प्रस्तुत गरेपछि दर्शकलाई खण्डकाव्य नै गीतिनाटक रहेछ भन्ने आभास भयो भने अर्कातिर कवि माधव घिमिरे आफैँले सम्पादन गरेको ‘पच्चिस वर्षका खण्डकाव्य’ नामक कृतिभित्र आफ्नो प्रतिनिधि खण्डकाव्यका रूपमा चाहिँ ‘मालती–मङ्गले’लाई समावेश गरेपछि थप अन्योल सिर्जना भयो तर घिमिरेको उक्त कृति खण्डकाव्य नभएर गीतिनाटक नै थियो । जब अम्बर गुरुङको सङ्गीत संयोजनमा २०४१ सालमा ‘मालती–मङ्गले’लाई लामो समयसम्म प्रज्ञाभवनमा प्रदर्शन गरियो अनि मात्र गीतिनाटकको मिठो स्वाद नेपाली दर्शकले लिन पाएको देखिन्छ । यसरी विभिन्न अन्योल र आरोह–अवरोहका बिचबाट विकास भएको नेपाली गीतिनाटक परम्परामा गीतिनाटकका स्रष्टा र सिर्जनाहरूको त्यति बाक्लो उपस्थिति देखिँदैन तापनि यसको लोकप्रियता भने निकै रहेको देखिन्छ । आज पनि नेपाली भावक (पाठक र दर्शक दुवै) हरू सुन्दर गीतिनाटकको प्रतीक्षामा नै देखिन्छन् । अन्य विधाका तुलनामा गीतिनाटकको एउटा ठुलै चौर खाली देखिन्छ, यसमा खेल्न चाहनेहरूका लागि यस विधाले निरन्तर आह्वान गरिरहेको अनुभूति हुन्छ ।

३. गीतिनाटक हुनका लागि के के चाहिन्छ ?
इटलीका प्रथम गीतिनाटककार ओट्टाभियो रिनुसिनीले ‘मञ्चनीयता’ र ‘सङ्गीतात्मकता’ दुई कुरालाई गीतिनाटकका लागि नभई नहुने तत्त्वका रूपमा लिएका छन् । उल्लिखित विविध सन्दर्भबाट पनि हामीले गीतिनाटकमा गीतरचना, सङ्गीतसिर्जना, गायन र नाटक चारओटा कुरा नभई नहुने रहेछन् भन्ने थाहा पाइसकेका छौँ । यति भएपछि एउटा गीत हुनका लागि आवश्यक कवित्व, लयचेतना र सुकोमल पदविन्यास, सङ्गीतका लागि आवश्यक अनेकौँ आरोह–अवरोह र मनोहारी झङ्कार, गायनमा अनिवार्य मानिने श्रुतिमधुर स्वरसंयोजन र नाटकका लागि आवश्यक मानिने घटना, अभिनय, संवाद, द्वन्द्व आदि जस्ता कुराहरू स्वतः आवश्यक हुने नै भए । त्यसैले एउटा स्रष्टा गीतिनाटक लेख्न बस्दा उसका लागि निम्नलिखित कुराहरू अनिवार्य बनेर आउने गर्दछन्—

(क) घटना वा कथावस्तु
गीतिनाटकमा एउटा निश्चित कथावस्तु वा घटना हुनु अनिवार्य छ । त्यो जीवन र जगत्को जुनसुकै क्षेत्रबाट टिपोट गर्न सकिन्छ तर यसमा मानवीय संवेगको उच्चतम प्रयोग हुने हुनाले संवेदनशील विषयको छनोटले गीतिनाटकलाई जीवन्त बनाउँछ ।

(ख) पात्र वा चरित्र
गीतिनाटकमा कथावस्तुलाई लक्ष्यसम्म पु¥याउनका लागि उपयुक्त पात्रको छनोट आवश्यक मानिन्छ । यसमा ती पात्रहरूले आफ्नो भूमिकालाई उचित रूपमा निर्वाह गरे भने गीतिनाटक जीवन्त बन्छ ।

(ग) परिवेश
गीतिनाटकमा पात्रहरू उभिएको ठाउँ, समय र वातावरणको व्यवस्थापन अत्यन्त सचेततापूर्वक गरेको हुनुपर्छ । यसलाई प्रदर्शनमा लगिने हुनाले मञ्चमैत्री, पात्रमैत्री, संवादमैत्री र दर्शकमैत्री परिवेशको छनोट गीतिनाटकको सौन्दर्य मान्ने गरिन्छ ।

(घ) उद्देश्य
गीतिनाटकको सिर्जनात्मक अभीष्टमा स्रष्टा स्पष्ट हुनु जरुरी छ । यो गीतिनाटक किन, केका लागि वा के उद्देश्यले लेख्न लागिएको हो ? त्यसका बारेमा स्रष्टा स्पष्ट छ भने लक्ष्यप्राप्तिका लागि उसले विशेष कलाकारिता प्रदर्शन गर्ने गर्दछ । यसले गीतिनाटकलाई भावकमैत्री बनाउन सहयोग पु¥याउँछ । यसैलाई सिर्जनाको भाव, विचार वा केन्द्रीय कथ्य पनि भन्ने गरिन्छ ।

(ङ) गीत
गीतिनाटकमा पात्रका बिचमा हुने विचारविनिमय नै गीतमार्फत हुने गर्दछ । अनुभूतिको एउटा प्रवाह, संवादको एउटा प्रसङ्ग र विचारको एउटा झोक्काबराबर एउटा गीतको रचना हुनु यसको सौन्दर्य पक्ष हो । गीत भन्नासाथ यसले विषय र प्रसङ्गको प्रकृतिअनुसार गम्भीरता, कोमलता, आक्रोश वा आकर्षण जस्ता कुराहरूको खोजी गर्दछ । यसमा कतै एउटा पात्रको सिङ्गो अभिव्यक्ति एउटा गीतमा हुन्छ, कतै एक एक अन्तराबाट दुई पात्रका बिचमा संवाद हुने गर्दछ भने कतै एउटै गीतमा दसौँ पात्रहरू पनि बोल्न सक्छन् । समूहगायन (कोरस) को सिर्जना पनि गीतिनाटकमा हुन सक्छ । यसमा समूहको आवाजको प्रतिनिधित्व गराउन सकिन्छ ।

(च) लयविधान
लयविधान गीत वा कविताका लागि अनिवार्य तत्त्व मानिन्छ । अन्य विधाका तुलनामा गीतमा संवेदनशीलता बढी हुन्छ । त्यसैले यसमा विषयवस्तुको लयात्मक प्रस्तुति हुनै पर्छ र अनुभूतिको साङ्गीतिक अभिव्यक्तिले यसलाई थप शक्ति प्रदान गर्दछ । मुक्त लयात्मक संरचनामा गीतिनाटकको सिर्जना हुनै सक्दैन, भए पनि त्यो अत्यन्त कृत्रिम हुने गर्दछ ।

(छ) संवाद र अभिनय
नाटकलाई नाटक बनाउने तत्त्वका रूपमा अभिनयलाई लिने गरिन्छ । यसका लागि संवाद आधारभूमि हो । संवादमा अभिव्यक्त भावगत सामथ्र्यका आधारमा अभिनयले आफ्नो स्वरूप ग्रहण गर्दछ । गीतिनाटकमा हुने संवादको प्रकृति अलि फरक खालको हुन्छ । यसमा सबै संवादहरू गीतमा हुने हुनाले अभिनय पनि गम्भीर प्रकृतिको हुनु अनिवार्य छ । यसका लागि अभिनेतामा संवेदनशीलताको मात्रा बढी नै हुनुपर्ने देखिन्छ ।

(ज) द्वन्द्वविधान
गीतिनाटकलाई सशक्त बनाउनका लागि द्वन्द्व निर्माण आवश्यक मानिन्छ । द्वन्द्व भनेको विचारमा देखिने विरोधाभास हो । स्रष्टाले पात्र पात्रका बिचमा हुने मनमुटाव र लेखकीय अभीष्ट पूरा गर्नका लागि बिचमा आइपर्ने आन्तरिक वा बाह्य विरोधाभासहरूको व्यवस्थापनमा आफूलाई निकै सचेत राख्नुपर्छ । उक्त विमति घटनाको विस्तार, पात्रगत संवाद आदिबाट बाहिरै देखियो भने त्यसलाई बाह्य द्वन्द्व र भित्रभित्रै विकास भयो र भावकलाई मात्र अनुभूत भयो भने त्यसलाई आन्तरिक द्वन्द्व भनिन्छ ।

(झ) भाषाशैली
विषयवस्तुलाई बाह्य रूपमा प्रकटीकरण गर्नका लागि भाषाशैलीको आवश्यकता पर्दछ । गीतिनाटकको भाषा कोमल, सुललित, हृदयसंवेद्य र पदलालित्यपूर्ण हुनुपर्छ भने प्रस्तुतीकरणको शैली लयात्मक, आलङ्कारिक र साङ्गीतिक हुनुपर्छ । यसमा गीतले नै सबै विषय वा कथ्यको वहन गर्ने हुनाले गीतिनाटकको सामथ्र्य भाषाशैलीमा प्रतिविम्बित हुने गर्दछ ।

यिनका साथै स्रष्टाले मूल विषयलाई प्रभावकारी, आकर्षक र कुतूहलपूर्ण बनाउनका लागि आवश्यक नयाँ शैली, प्रतीक र विम्बहरूको छनोट पनि गीतिनाटकमा गरेको हुनुपर्छ र गीतको सूक्तिपूर्णता, संवादको प्रभावकारिता, अभिनयको जीवन्तता र अभीष्टको सहजताका लागि आवश्यक आन्तरिक व्यवस्थापनलाई पनि विशेष ध्यान दिएको हुनुपर्छ ।

४. गीतिनाटक कसरी लेखिन्छ ?
गीतिनाटकमा जीवन र जगत्को जुनसुकै संवेदनशील घटना विषयवस्तु बनेर आउन सक्छ । यसमा सामाजिक, ऐतिहासिक वा काल्पनिक जुनसुकै क्षेत्रको विषयलाई गीति स्वरूप प्रदान गर्न सकिन्छ । त्यसैले कुनै पनि स्रष्टाले गीतिनाटक लेख्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरण ः कथावस्तु, पात्र र परिवेशको निर्धारण र गीति संरचनाको चयन
गीतिनाटकका लागि विषयवस्तुको छनोट यसको पहिलो कार्य हो । यसका लागि सबैभन्दा पहिले घटनाको चयन गर्नुपर्छ, त्यसका लागि सुहाउँदो पात्र र परिवेश निर्धारण गर्नुपर्छ र त्यसलाई साङ्गीतिक रूप र नाटकीय स्वरूप प्रदान गर्न मिल्ने गरी गीति संरचनाको छनोट गर्नुपर्छ । यसमा एकलयात्मक वा बहुलयात्मक स्वरूप प्रदान गर्न सकिन्छ । बहुलयात्मक संरचनाले गीतिनाटकलाई थप आकर्षण प्रदान गर्दछ । यस चरणमा लयछनोट, बुँदाटिपोट, तिनको व्यवस्थापन र लेखनको थालनी हुनु राम्रो मानिन्छ ।

दोस्रो चरण ः गीतका माध्यमबाट घटनाको विस्तार र खेस्रा लेखन
गीतिनाटकमा अभिव्यक्तिको माध्यम नै गीत हो । यसमा घटनाको विस्तार, सूचनाको प्रवाह, पात्रगत संवाद आदि सबै कुरा गीतबाट नै हुने गर्दछ । एकल, युगल वा समूहमध्ये कुन ठाउँमा कुन प्रकृतिको गीतिरचना गर्ने हो, त्यसको निर्धारण गरेर लेखनको थालनी गर्नुपर्छ । यस चरणमा विषयको गहिराइ, टिपोट गरिएका बुँदा र तिनको आन्तरिक व्यवस्थापनका आधारमा संवादात्मक शैलीमा गीतका माध्यमबाट विषयवस्तुको विस्तार गर्न थाल्नुपर्छ । गीतिनाटकको निर्धारित सिद्धान्तमा केन्द्रित रहेर सङ्गीतमैत्री, मञ्चमैत्री र अभिनयमैत्री ढाँचामा कथावस्तुलाई अगाडि बढाउनुपर्छ । गीतका माध्यमबाट भएको कथानकको विकासमा द्वन्द्व, उत्सुकता र कुतूहलको समेत सिर्जना गर्दै जानुपर्छ । यसरी निर्धारित विषयवस्तुलाई गीतका माध्यमबाट प्रस्तुत गर्दै गएर गीतिनाटकको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरण ः आवश्यक परिमार्जन र साफी लेखन
यहाँसम्म आइपुग्दा गीतिनाटकको एउटा स्वरूप निर्माण भइसकेको हुन्छ । अब त्यसलाई स्रष्टा आफैँले गायक बनेर गाइहेर्नुपर्छ र निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । गाउँदा र पढ्दा लयविधान वा अन्य सन्दर्भमा आफूलाई केही असहज जस्तो लागेमा तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा गीतिनाटकको बाह्य बनोट र आन्तरिक बुनोटमा केही दोषहरू देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो गीतिनाटक प्रदर्शन र प्रकाशन गर्न योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका स्रष्टाका लागि हुन् तर सिद्धहस्त स्रष्टाले त सरासर एउटा गीतिनाटकको साफी लेखन नै गर्न सक्छ । यति मात्र होइन, यो गीतिनाटक लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने कवित्व, साङ्गीतिक प्रवाह, नाटकीय कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यसैलाई स्रष्टाको मौलिकता भन्ने गरिन्छ ।

५. गीतिनाटकको प्रयोगात्मक सिर्जनाका चरणहरू
चरण १ ः विषयवस्तु, घटना वा कथावस्तु (प्लट) को परिकल्पना (यथार्थ वा काल्पनिक) ।
चरण २ ः अनुकूल र आकर्षक शीर्षक चयन (पात्रकेन्द्रित, विषयगत वा ध्वन्यात्मक) ।
चरण ३ ः कथावस्तुलाई वहन गर्न सक्ने पात्र र परिवेशको निर्धारण र तिनको दृश्याङ्कन (कथाअनुकूल, मञ्चीय र विश्वसनीय) ।
चरण ४ ः गीतिनाटक किन लेख्ने भन्ने कुराको निर्धारणसहित प्राक्कल्पना (मस्तिष्कको आन्तरिक संरचनामा) ।
चरण ५ ः समग्र घटना वा कथावस्तुलाई समेट्ने गरी बुँदाटिपोट, बुँदाहरूको आदि, मध्य र अन्त्यको व्यवस्थापन र आन्तरिक रूपमा गरिने खण्ड विभाजनको निर्धारण ।
चरण ६ ः गीतका लागि लयको छनोट, बहुलयात्मक संरचनाको निर्धारण र सङ्गीत एवम् अभिनयलाई ध्यानमा राखी गीतिसंवादका शैलीमा कथावस्तुको विस्तार गर्दै गएर खेस्रा लेखन ।
चरण ७ ः खेस्रा रूपमा तयार भएको गीतिनाटकको गायन, पठन, पुनःपठन, सत्य परीक्षण र संशोधन, त्रुटिविश्लेषण र परिमार्जन गरी अन्तिम रूप प्रदान ।
चरण ८ ः सङ्गीत संयोजन, पूर्वअभ्यास, मञ्चबाट प्रदर्शन वा कम्प्युटर टाइपिङ, भाषा शुद्धीकरण, भूमिका र कृतज्ञता (स्रष्टाले आवश्यक ठानेमा), आन्तरिक सेटिङ, कभर डिजाइन, छपाइ, बाइन्डिङ र लोकार्पण आदि । (आवश्यकताअनुसार)

६. निष्कर्ष
गीतिनाटक साहित्यको श्रव्यदृश्य विधा हो त्यसैले यसको सिर्जना नै साङ्गीतिक प्रस्तुतिका लागि गरिन्छ । यो पाठ्यसामग्री पनि हो तर गीत, सङ्गीत, गायन र अभिनयात्मक प्रदर्शन सबै कुरा पूरा भएपछि गीतिनाटक पूर्ण भएको मानिन्छ । यसमा घटनालाई काव्यात्मक स्वरूप प्रदान गरिन्छ र लयात्मक तरिकाले सम्प्रेषण गरिन्छ । यसमा नायक पनि गायकका रूपमा प्रस्तुत हुन्छ र पात्रगत साधारणीकरणका कारण सबै पात्रहरू गम्भीर गायकझैँ लाग्दछन् । उच्च काव्यचेत, लयगत बहुलता, नाटकीय संरचना, द्वन्द्वपूर्ण एवम् मनमोहक गीतिसंवाद अनि हृदय र दृष्टि दुवैमा आह्लादको सिर्जना गीतिनाटकको शक्ति हो भने असचेत लयविधान, एकै खालको घटना विस्तार, खजमजिएको र गुजमुजिएको प्रवाह, गन्थनपूर्ण गीतिरचना र सङ्गीत, गायन र अभिनयमा कृत्रिमता वा कमजोरी गीतिनाटकका सीमा हुन् ।

क्रमशः अर्को हप्ता…

 

प्रतिक्रिया
Loading...