चैत्र २९, २०७६ (अप्रिल ११, २०२०)

यता बिहानको समाचारले लेख्यो— कोरोनाबाट मृत्यु हुनेको संख्या लाख भन्दा बढी । अर्काे समाचारले भन्छ— नातिको बिहेमा लण्डन आएका क्षत्रीको कोरोना संक्रमणले निधन ।

अझै अर्काे समाचार छ— अमेरिकामा अर्का नेपालीको कोरोनाबाट मृत्यु । यता राजनेता, नेतृवर्गले नव वर्षको हार्दिक मंगलमय शुभकामना पनि पठाउन थालेका छन् अब केवल दुई दिन बाँकी छ नव वर्ष २०७७ आराम्भ हुन प्रतीक्षा गरिरहेको ।

अब २०७६ सकिन आँट्यो । त्यसकारणले प्रत्येक वर्ष झैँ मेरो नववर्षको पूर्व संध्यामा ८–१० पृष्ठ डायरी लेखन थप्ने चलन छ छुट्टै । जसमा वर्षभरिका महत्वपूर्ण घटनाहरु वर्षभरिका प्राप्ति र बाधाहरुको उल्लेख गर्ने गर्दछु ।

आज प्रातः कालदेखि नित्यको रुटिन पालना गर्दै त्यही गर्न थालेँ । गर्दा गर्दा थाकेपछि एउटा भिडियो क्लिप आयो जसको शीर्षक छः लकडाउन कहिले खुल्छ र कसरी । यो महत्त्वपूर्ण जानकारी शेयर गर्नु होला ।

वास्तवमा यो संकटको बेला राम्रो भाषामा जनतालाई उच्च प्राथमिकता दिँदै बोल्ने लेख्ने डा. रविन्द्र समीर र डा. ओममूर्ति आनिल साहै्र मन पर्छन् । उनीहरुले आफ्नो विज्ञानलाई सरल शब्दमा जनहिताय प्रयोग गरिरहेका छन् ।

आज धेरै नयाँ कुरा आएनन् । डा. ओममूर्तिको विवेकपूर्ण सल्लाह सुनेपछि आफ्नो वार्षिक कार्यको मूल्याङ्कन गर्दै थिएँ । २०७० देखिका वार्षिक डायरी हेर्दै थिएँ । भर्षभरिमा कति निबन्ध भए, कति कविता, कति कार्यपत्र, कति भूमिका अंग्रेजीमा केके, नेपालीमा केके — यस्तै कर्ममा थिए । पुरानो लेनोभोले बिदा मागेको धेरै भएको थियो । बेलाबेलै मेलामा बूढो गोरु बिसाएझैँ गथ्र्याे । सात वर्षका मेरा सर्दाम नै चपाइदिने हो कि भन्ने डर थियो । यस्तै थाहा पाएर एक ल्यापटप र पाँच रीम पेपर ल्याएको थिएँ । आज त्यसले जिन्दगी सरल बनाएको छ ।

राति र मास सानो छोरा (देवांश) ले हात मर्कायो भन्ने सुनेर भाइलाई सोधेँ— त्यो चारवर्षे चञ्चल बालक खुसीयालिको उदात्त ठाउँमा तर भाइले भने— मेडिसिटीमा पुगेर दबाइ गरेछन् । धन्य डाक्टरसरीको जीवनदाता अरु को हुन्छ ? त्यसपछि सम्झना भयो— आजको कान्तिपुरले छापेको एक निबन्ध “बा भन्नुहुन्थ्यो तक्रं शक्रष्य दुर्लभम” भाइको निबन्ध, बहुत राम्रो । नोष्टाल्जिक रहेछ । भाइले बाल्यकाल बिताएका त्यही दमकको बालस्मृतिका कुरा एउटा अनादि कालदेखिको प्राचीन संस्कृति त्यहीँ जोडिन्छ । आज हामी भिन्न स्थान र समयमा छौँ । त्यही आदि सत्ताको अवशेष गान गर्ने यो निबन्ध पारिवारिक भइकन पनि सर्वजानिक जीवनको चित्र हो । त्यसैले आज यहाँ त्यही निबन्ध प्रस्तुत गर्न चाहन्छुः

अहिले सम्झँदा लाग्छ— हाम्रो एउटै घर रैथाने कुराले भरिएको एउटा संग्रालयझैं थियो । घरैमा ठेकी–मदानी थिए, तोलुङ थियो, फाम थियो, ससाना हर्पेहरु थिए । ढिकी–जाँतो त थियो नै ।

बा भन्नुहुन्थ्यो— तक्र सक्रस्य दुर्लभम् !

देवेन्द्र भट्टराई

सुरुमैं इलामेली अर्थशाश्त्री द्वारिका थेवेलाई धन्यवाद भनिहालौं, उनले ‘बजारले बिगारेको खाद्य सन्चिती’ शीर्षकमा लकडाउनको आजको स्थितिमा बेहोर्नुपरेको खानेकुराको खडेरीमाझ खानपिनकै रैथाने इतिहासलाई सम्झेकी छिन् । द्वारिकासँगै पोषणविद् डा.अरुणा उप्रेतीलाई पनि खानपिनका पितापुर्खा सम्झेझैं सभक्ति धन्यवाद भन्न चाहन्छु जसले मेरो चेतनाले थाहा पाएदेखि ढिंढो, खोले, लट्टे, फापर, सिस्नो, बेथु, कोदो, जौ, आलु, मकैभटमास, बेसार, मेथी आदिजस्ता खानपिनका बारे लेखिरहनुभयो, बोलिरहनुभयो । कतिले सुने अथवा पढे, हौवाका भरमा यसै भन्न सकिन्न ।

कोरोना भाइरसले देश–विदेश, गाउँ–शहर थर्कमान बनाएर घरैभित्र ‘सेल्फ–क्वारेन्टाइन’मा बसिरहेका बेला मेरो भाङबारी गाउँबाट माइली भाउजूले एउटा तस्वीर पठाउनुभो, भाइबरमा । तस्वीरमा नाङ्लामा मःमका डल्लाझैं देखिन्थे, छेवैमा तेलको सानो बोटल थियो, पीठोजस्तो सर्दाम अलिकति । तस्वीरको पिंधमा लेखिएको थियो— कालोदाल र वनतरुलः मिक्स मस्यौरा !

सम्झनाको तरेलीमा जोडिन र द्वारिकाले झैं पुराना दिनमा गाँसिन यो तस्वीर काफी थियो । धेरै पुरानो कुरो पनि होइन, आजभन्दा २० वर्षअघि मात्रै मेरो गाउँमा बाआमाले खाद्यान्नको जोहो गर्न र फारु गरेर खान–ख्वाउन सिकेको–सिकाएका घडीहरु म ललितपुर कुनोमा बसेर आज सम्झिरहेको छु । साँच्चै भन्ने हो भने यो शहरमा खानेकुराको काक्ताली पर्दै गएका बेला म मेरा बितेर गएका बाआमालाई खुबै सम्झिरहेको छु ।

धन्य, भाङबारीमा पुख्र्यौली सम्पत्तिको नाममा मेरो त्यही १ कठ्ठा घडेरी छ जहाँ मैंले बनतरुल, मुरली बाँस, सिमल तरुल, स्कुस, बिंही, लालचन, जिरे खोर्सानी रोपेर शहरतिर आएको छु । त्यहाँ उब्जेको तरुलका भरमा भाउजूले मस्यौरा बनाउनुभएको रहेछ, खुशी लाग्यो । त्यही बाँसबाट उम्रेको टुसाका भरमा दुइ बयम तामा राख्नुभएको छ रे, निकै खुशी लाग्यो ।
मेरो बुबा बित्नुभएको २० बर्ष हुनै लाग्यो, आमा बितेर गएको २ बर्ष भैसक्यो । बाआमा छँदै भने हरेकपटक गाउँबाट काठमाडौं फर्कदाँ मसँग अनेक पोकापोकी हुन्थे । अलिकति मस्यौरा, थोरै गुन्द्रुक, आलो सिन्की(सिजनल), मुलाका चाना, जिरे खोर्सानी । माथि हाङ्देवा वा च्याङ्थापु पहाडबाट आफन्तले मधेश पठाइदिएको जिम्बू, टिम्मुर आदि । रवि, थामथुममा मास्टरी काममा रमाइरहेकी माइली दिदीले पठाइदिएको अलिकति भकिमिलो, थोरै सतिबयर वा मेलका चाना । घरमैं बुबाले बनाएको अलिकति सातु, दारिमको अमिलो चुक । कहिलेकाँही कनिका वा मकैको चामल । लप्सीको सुकेको माडा, तित्रीको अचार वा यदाकदा करेलाका सुक्खा चाना ।

भित्री घरधन्दा होस् वा बाहिरी राखनधरन, सबै काममा बुबा जाँगरिलो हुनुहुन्थ्यो । त्यसमाथि भान्सामा बुबाले बनाउने रैथाने आइटमहरु म सम्झन्छु— अमारोको कलिलो मुन्टाको अचार, टाँकीको फूलको अचार, केरा(अँठिया)को बुङ्गोको तरकारी÷अचार, केरा गानोको अचार । साउन–भदौतिर कटहरको भिनाजुको तरकारी, कटहर दाना उसिनेर खाजा, घिरौंलाको खैपी । यदाकदा कुभिन्डाको मस्यौरा र खैपी । लालचनको अचार, पिंडालु–डाँक्ला(कर्कलो)को अचार । काभ्रो र टोटलाको फूल उसिनेर अचार । फर्सी, स्कूस, लौकाका मुन्टा । बाँसको टुसा तरकारी वा मेसु, सिमल तरुलको तरकारी । निगुरो, बेथु, डौंठे । बारीको लट्टे र बेथु । पैनी छेउ पाइने सिमेसाग । पहाडतिरबाट आउने गँदेको अचार । जलपाइ र अमारोको अचार । पहाडतिरबाट आउने जरिङ्गो दहीमा हालेपछि बन्ने अचार अथवा त्यसमा हालिने बयरको धुलोको छोप । काउली/बन्दाको पातकै गुन्द्रुक, टमाटरको सुकुटी आदिआदि ।

गाउँबाट शहर पसेपछि थाहै नपाइ धेरै कुरा शुष्क, निरस र बेस्वादे बन्दै गए । उही सनातनी खानेकुरामा स्वाद थप्न कहिले मिट मसला हालियो, कहिले बनिबनाउ ‘गार्लिक–पाउडर’ । डा.अरुणा उप्रेतीले भनेझैं मकैभटमास वा बुबाले पठाइदिएको सातु मन पर्न छाड्यो, हर्लिक्स, भिभा वा कर्न–फ्लेक्सतिर मन तानिदैं गयो । गाउँमा उसिनेको आलु, आलुकै झोल, आलुकै कवाफ खादैं वाक्कदिक्क भएर यो शहर पसेपछि शुद्ध आलु खाइएन, बरु फ्रेन्च–फ्राइतिर मन तानियो । मकैभटमास वा उसिनेको मकैको हैरान बनाउने ‘ती दिनहरु’ भुल्नकै लागि पप–कर्न वा फ्रोजन–स्वीट–कर्नतिर मन जान थालेको थियो ।
सुठुनी, बन तरुल वा सिमले दिंगदिंग लाग्ने गरी गाउँमा खाएको ‘अतित’ भुल्नै पनि शहर पसेपछि यी चिज खाइएन, अथवा पाइएन पनि । बरु त्यही तरुल र त्यही सिमलेको पीठो बनाएर अन्र्तराष्ट्रिय ब्रान्डिङ गर्दै बिक्रीवितरण भैरहेको सूचनाका आधारमा अफ्रिकाको नाइजेरियाबाट आफन्त हिक्मत थापाले बनिबनाउ तरुल पीठो पठाइदिनुभएको थियो, रोटी खान । हो, ‘ब्रान्डेड’ बनेपछिको उही तरुलको पीठो भने अद्भुत लाग्यो ।

लट्टे, बेथु, बन्दा, फर्सी वा कुभिन्डो ? शहर आएपछि लाग्थ्यो— यी नामका शागशब्जीहरु त हाम्रो गाउँमा सुब्बा काकाको सुँगुरले नि नाकनिक गरेर मात्रै खान्छन् । अथवा, पहिले जंगली अवस्थामा हुँदा भुलबस ती चिज खाइयो होला, अब शहरिया भइयो— कहाँ लट्टे खाइरहनु ? अझ गाईभैंसी लैनो भएका अधिकांस बिहानीहरुको कथा एउटै हुन्थ्यो । बिहान सधैंजसो हतारले भरिएको हुन्थ्यो । रतुवा खोला छेउको चारमाने कुमालको अँधिया खेतीमा बिहानभर हलो जोतेर वा आली लगाएर हत्तपत्त घर आइपुग्यो । त्यसपछि नुहाइधुवाइ, खानपिन अनि स्कुल जाने हतार छँदै थियो । सफासुग्घर भएर हतारिंदै भान्सामा पस्यो, सधैंजसो उही कुरा हुन्थ्यो— मकै–कनिका मिसाइएको भात, अमिलो मोही र अलिकति लट्टे साग वा शिन्की अचार । अथवा, त्यही अमिलो मोहीको सोल्दर र फर्सीको मुन्टासँग मकैभात । रिसाउँदै, फन्किंदै त्यही खान्की खायो र, स्कुल पुग्यो । दिनभर मोहीको अमिलो डकार आइरहन्थ्यो— दिक्कै लाग्नेगरी । यो संसारै पो अमिलो छ कि झैंलाग्थ्यो ।
यदाकदा फुर्सतमा बुबाले नीति कथा र अनेक प्रसङ्ग सुनाउनुहुन्थ्यो । घरमा लैनो गाइ–भैंसी भएपनि दूध खान हत्तपत्त नपाइने तर मोही मात्रै पाइने नियम हामीकहाँ थियो । एकदिन बुबाले भन्नुभयो— ‘तक्र सक्रस्य दुर्लभम्’ अर्थात मोही भन्ने चिज इन्द्र भगवानले पनि खान पाउँदैनन् । यो यत्ति दुर्लभ छ । (किनभने भगवानलाई मोही चढाउनै मिल्दैनथ्यो ।) यसकारण ‘तक्रम’ खानुपर्छ है, जति सक्छौ भनिरहनुहुन्थ्यो । घरमा गतिलो खानपिन नभएका कारण अथवा दूध पर्गेल्ती पुर्याउन नसकेकै बेलामा यसो भनिएको होला भन्ने लाग्थ्यो । तर, अहिले अनेक मानसिक–शारीरिक थकानले हरहर भएको आँत भर्नकै खातिर भैंसेपाटी डेरीमा गएर ५० रुपैंया लिटर ‘तक्रम’ किनिरहेका बेला म मेरा बुबालाई सम्झिरहेको छु, बढो प्रेम र सम्मानपूर्वक ।

त्यो विद्यार्थी बेलामा निराशा, उदासी वा हैरानीका केही कारण थिए भने त्यही लट्टे, त्यही फर्सी मुन्टा वा उही अमिलो मोही आफैंमा पर्याप्त कारणहरु थिए । बिहान लट्टे भए बेलुका बेथु अथवा भोलीपल्ट बिहान सोल्दर भए बेलुकी निगुरोमा झोल । कवि लक्ष्मण गाम्नांगेको प्रचलित कविता ‘मुला’ झैं थियो गाउँले दैनिकी—‘प्रिये, तिमी नरिसाउ, बरु अहिले आलु र मुला पकाउ/भरे मुला र आलु पकाउ…।’

गाउँघरमा महिनामा एकचोटी अन्तिम शनिबारको दिन पारेर माउते दाइकहाँ खशी काटिन्थ्यो । भन्नै पर्दैनथ्यो— चाडपर्वका बेला १ केजी अथवा अरुबेला आधा केजी हाम्रा लागि शिकार छुट्ट्याइएकै हुन्थ्यो । कहिले आलुमा, कहिले टमाटर वा कहिले अरु घरेलु शागशब्जी र तरकारीमा पनि त्यो शिकार ‘बार्टर’ मूल्यमा आउँथ्यो । शिकार ल्याएको दिन दिउँसो २÷३ बजेबाटै बुबा भान्सामा छिर्नुहुन्थ्यो । कालो किटको कराइमा दाउराको ओदान चुल्होमा घण्टौं लगाएर केही पाक्दैछ भने त्यो शिकार नै हुन्थ्यो । आधा केजी शिकारमा आधा केजी जति मुलाका सुकेका चाना र एकदमैं घरेलु अरु मरमसलाहरु हुन्थ्यो । त्यो शब्जीले कम्तिमा परिवारका ८÷१० सदस्य अघाएका हुन्थे, ‘कोटा’ हिसाबमा बाँढिएको हुन्थ्यो— फेरि थप्नै नमिल्ने गरी ।

त्यही आधा केजी शिकारबाट पनि केही बोसो (चर्बी) झिकेर माथि धुँवा लाग्ने छानाको अन्तरकुन्तरमा राखिन्थ्यो । अर्कोपटक, मुलाका चानामा उसैगरी मिसाएर खाने गतिलो शब्जी हुन्थ्यो त्यो । ‘नानी, यो माथि पहाडतिर चिराइतो चरेको खशीको चर्बी हो, निकै तागतिलो चिज हो । अलिक गोज्जे गरेर माथि सिलिङतिर राख है’ भन्नुहुन्थ्यो बुबाले । दशैंछेक काटेको खसीका टेकुवाल पछि पुस/माघमा खाइन्थ्यो, उस्तै तिर्सना मेटाउने गरी ।

बोलीचालीकै हिसाबमा पनि ब्राम्ह्ण घरमा ‘मासु’ भन्न मिल्दैनथ्यो, शिकार भन्नुपर्थ्यो । बोसो होइन, चर्बी भनिन्थ्यो । आन्द्राभुँडी होइन, भित्र्याँस चल्थ्यो । चोक्टा कसैले भन्यो भने त्यसको उठीबास लाग्थ्यो, ‘शिकारका चाना’ भनिन्थ्यो । झुक्किएर कसैले ‘झोल मलाई’ भन्यो भने त्यसले हुर्मत खेप्नुपर्थ्यो । ‘रस भन्ने गर् मुर्ख’ भनेर सिकाइन्थ्यो । दूध पनि खासै भनिन्नथ्यो, ओलन भन्नुपर्थ्यो, ब्राम्हण लवजमा ‘डकार’ चल्दैनथ्यो, बिकार भन्नुपर्थ्यो। ‘पाद’ होइन, अपान–वायु भनिन्थ्यो । ‘गू’ त कहिल्यै बोलिएन, टट्टी भन्नुपर्थ्यो । गाउँघरमा अरुले बोलेजस्तो ‘मूत’ पनि भनिएन, लघुशंका भन्ने गर्थ्यौं । यसरी सम्झने आफ्नै लोकल शब्दावली कति छन् कति ।

हो, भान्सामा शिकारको बासना मात्रै हरर आउँथ्यो, तर चानाका नाममा मुखमा ठोक्किन आइरहने मुलाका सुकुटी बढी हुन्थे । तर, स्वाद भने अलग हुन्थ्यो, जाइदानो ‘फ्लेबर’ले भरिएको मुला–सुकुटी र चर्बी । कवि गाम्नांगेले भनेजस्तो मिट मसला हालेर पकाएको आलु–मूलाजस्तो, जिब्रो झुक्याइरहने !

एकदिन काठमाडौं डेरामा तरकारीको जोहो सकिएका बेला अलिक छिप्पिएको काँक्रोको झोल तरकारी पकाएको थिएँ, मेरा पितामाता सम्झेर । परिवारमा त्यो खान्कीको खासै स्वागत त भएन तर, काँक्राको शब्जी पनि हुँदो रहेछ भनेर स्वीकार सम्म भयो । यो मेरा लागि आफ्नो आगत–बिगत सम्झाउने खुशीको बात थियो ।

कुभिन्डो वा चिचिन्डोको भित्री गुदी निकालेर त्यसलाई सुरक्षित डब्बा झैं बनाइन्थ्यो । त्यसमध्ये कुनैमा फूल उठ्ने मकै राखिन्थ्यो, कतै भटमास र बिउबिजन । कुनैमा चिनी–मिश्री लुकाइएको हुन्थ्यो, कतै सातु । छोराछोरीले भोक लाग्यो भनेमा बाबुआमाले पालो गरेर ती खानेकुरा दिन्थे । आजभन्दा २० बर्षअघिसम्म यति बिध्न चाउचाउ र कुरमुरे, बिस्कुट र थुक्पा गाउँघरमा आइसकेका थिएनन् कि ? अथवा भएपनि त्यसबेलासम्म चाउचाउहरु ‘बर्गीय खान्की’मैं सिमित थिए होलान् ।

यो आफ्नो गाउँमा बुबाआमा छैन्जेलको कुरा हो । अहिले सम्झँदा लाग्छ— हाम्रो एउटै घर रैथाने कुराले भरिएको एउटा संग्रालयझैं थियो । घरैमा ठेकी–मदानी थिए, तोलुङ थियो, फामहरु (दही जमाउने भाँडा) थिए, ससाना हर्पेहरु थिए । दाप–दापमा साइज–साइजका खुकुरी–कर्द थिए । गाउँभरका छरछिमेकीहरु चिउरा कुट्न, दाल फल्न वा न्वागी चामल निफन्न हाम्रो ढिकी–जाँतो छेउ आइपुग्थे । दशैं–तिहार, चैते दशैं, असार १५ का बेला त बिहान ३ बजेदेखि ढिकी कुट्ने ‘क्यू’ लाग्थ्यो । त्यसबेला यो जीवनजत्तिको उत्सवले भरिएको चिज केही होला भन्ने थिएन ।

आज बाआमा बितेर गएपछि ढिकीजाँतो ‘सोकेश’ झैं पर ग्वालीको भित्तोमा कतै थन्किएका छन् । ठेकी, तोलुङ, हर्पे त अवलोकन गर्नैका लागि पनि खोज्नुपर्ने स्थिति छ— जिर्णकाय घरको सिलिङतिर । घरखेतीमा बेथु, लट्टे भेट्न मुश्किल छ । तोरी र रायो साग पनि बजारबाटै किनेर ल्याइने रैछ । जिरे खोर्सानी, तित्री, लहरे आँपका बाटो त सिंगो गाउँमैं छैन रे । सरकारी र निजी विद्यालयका शिक्षक–शिक्षिका मेरो दाजु–भाउजूहरुका घर–घरमा २/४ वटै फ्रिजहरु ठडिएका छन् । त्यहाँभित्र कोक–फ्यान्टा, एप्पल जुस, ट्याङका बट्टा सजिएका छन् । बजारबाट किनेर ल्याएको बेमौसमी करेला, भिन्डी, चम्सुर–पालुङ र चिकेन ससेज, ड्रमस्टिकका प्याकेटहरु राखिएका छन् । तर, कहींकतै छैन त्यो लट्टे र अमिलो मोही । अनि, छैनन् मेरा बाबुआमा पनि जो जानीनजानी पहाडदेखि मधेशसम्म रैथाने बनेरै बाँचे । र, रैथाने बनेरै बिते पनि ।
म अहिले लोकगायक कमलीकान्त भेटवाललाई सुनिरहेको छु—

‘हे…आमाले दिएको दहीदूध खाइनँ
आज र मैंले अमिलो मोही पाइनँ…!’