बेलायती स्कुल तथा कलेजमा अंग्रेजी साहित्य मुख्य विषय लिई अनुसन्धान गर्ने कार्यमा अधिकांश विद्यार्थीले महिला लेखकका सिर्जनामाथि कम शोध गर्ने गरेको पाइएको छ । त्यस्तै शोध कार्यमा गोरा लेखकहरुको बढी हुने, उनीहरुबाहेक अन्य लेखक (एसियाली, मुस्लिम तथा काला जातिका)हरुका सिर्जनामाथि अध्ययन अनुसन्धान तथा शोधका कार्य कम हुने गरेको समेत देखिएको छ ।

प्रकाशन संस्था पेइन्गुइन तथा रुनीमेड ट्रस्टद्वारा संयुक्त रुपमा गरिएको अध्ययनले पठनपाठनका क्रममा र विद्यार्थीहरुको शोधमा समेत विभेदको डरलाग्दो अवस्था देखाएको छ । पेइन्गुइन प्रकाशन संस्था हो भने रुनीमेड ट्रस्ट चाहिँ थिंक ट्यांक संस्था हो । यी दुई संस्थाले सन् २०१७ र २०१९ मा अंग्रेजी साहित्यलाई मुख्य विषय बनाई पढिरहेका विद्यार्थीहरुले कस्ता उपन्यासहरु शोधका लागि छानिरहेका छन् भनी अध्ययन गरेको थियो ।

यी दुई वर्षमा जम्मा दुई जना लेखकका कार्य मात्र अनुसन्धानका लागि विद्यार्थीले छानेको पाइयो । तीमध्ये मीरा सयालको ‘अनिता एन्ड मि’ र काजुओ इसिगुरोको ‘नेभर लेट मि गो’ रहेका थिए ।

साहित्यका ५ लाख ३७ हजार ३ सय ५५ जना विद्यार्थीहरुमध्ये १४० जनाले मात्र माथिका दुई लेखकका प्रश्नको उत्तर दिन सकेका थिए । धेरै जसोले जर्ज अर्वेलको एनिमल फार्म र जेबी प्रिस्टलेको एन इन्स्पेक्टर कल्सका उत्तर भने दिएका थिए । यसपछि विली रसेलको ब्लड ब्रदर्स र विलियम गोल्डिङको लर्ड अफ द फ्लाइज उपन्यास विद्यार्थीको छनोटमा परेका थिए ।

यसैगरी सो अध्ययनले १४ जनामध्ये एक जनाले मात्र महिला लेखकको प्रश्नोत्तरमा सहभागी भएका थिए । तीमध्ये सुसन हिलको द विमन इन ब्ल्याक, सलेघ डेलानीको अ टेस्ट अफ हनी र चार्लोटी किटलीको माई मदर सेड आई नेभर सुडमाथि लेख्नपर्ने उत्तरलाई प्राथमिकताका साथ लेखेका थिए ।

रोचक त के देखिएको थियो भने परीक्षा बोर्डले उत्तर दिनुपर्ने थुप्रै काला जाति, एसियाली तथा मुस्लिम लेखकका प्रश्नहरुसमेत समावेश गरेको थियो । तर शिक्षक स्वयंले परीक्षामा जरुरी तथा आउने प्रश्नलाई नै बढी केन्द्रिकृत हुँदै पढाउने गरेको र प्रश्न आउन नसक्ने पाठहरु नपढाउने गरेको समेत पाइएको अध्ययनले देखाएको छ ।

यस शोधले के पनि देखाएको छ भने कक्षाकोठामा काला–गोरा, एसियाली–मुस्लिम तथा यस्तै गम्भीर विषयमा भरसक छलफल नगर्न पाए हुन्थ्यो भन्ने किसिमको सोच अधिकांश शिक्षकले राख्ने गरेको पाइएको छ ।

एन इन्स्पेक्टर कल्स जस्ता पुस्तकलाई शिक्षकहरुले बढी पढाउनुको कारण चाहिँ यस्ता पुस्तकका बारेमा धेरै स्रोत पाइने हुनाले उनीहरु यसतर्फ आकर्षित हुने गरेको चर्चित प्रकाशक पेइन्गुइनकी प्रवक्ताले बताइन् । नयाँ पुस्तक चर्चित नै भए पनि सन्दर्भस्रोतहरु कम फेला पारिने भएकाले यी पुस्तक पढाउन शिक्षकहरु त्यति रुचि नराख्ने गरेको पनि पाइएको उनको भनाइ छ ।

पछिल्लो समय लिट इन कलर अभियान पनि सँगसँगै परीक्षा बोर्डले चलाएको छ । जसअन्तर्गत गोराबाहेकका लेखकका सिर्जना पनि कक्षाकोठामा पढाउन शिक्षकहरुलाई प्रेरित गर्न थालिएको छ ।

‘धेरै जसो शिक्षकहरु पढाउन तत्पर त छन् तर उनीहरुले पर्याप्त सहयोग र तालिम नपाएका कारण तातो भुंग्रोमा हात हाल्न डराएको देखिन्छ,’ प्रवक्ताले बताइन् ।

बुकर पुरस्कार जित्ने प्रथम काला जातिकी लेखक बर्नापिडन एभारिस्टोले यस अध्ययन प्रतिवेदनको प्राक्कथनमा लेखेकी छन्, अंग्रेजी साहित्य एकताका ज्यादै संकुचित थियो । प्रायः गोरा, मध्यमवर्गीय पुरुषहरुले यो पूरै साहित्यको ठेक्का लिएका थिए । पछिल्लो समय भने यस्तो परिदृश्य क्रमशः परिवर्तन हुँदैछ । वृहद् आवाज यहाँ समेटिन थालेको छ तर पनि स्कुलको पाठ्यक्रममा ती आवाज छिर्न सकेको छैन । जबकि काला हुन् या एसियाली लेखक हुन्, तिनका कथा कक्षाकोठाभित्र पढाउन लायक छन् ।’

लिट इन कलर रिपोर्टले सन् २०२० मा गैर गोरा (नन् ह्वाइट) चार लेखकका सिर्जनाहरु पाठ्यक्रममा थपेको छ । यसले पाठ्यक्रममा विविधता थप्ने आशा गरिएको छ ।

पाठ्यक्रममा परीक्षा बोर्डले गैर गोराद्वारा लिखित ६० हजार भन्दा बढी पुस्तक दान गरेको छ ताकि बोर्डले विविध लेखकलाई समेट्न सकोस्, खाली शास्त्रीय साहित्य मात्र नपढाओस् या तिनै थोत्रा साहित्यका प्रश्न मात्र नसोधोस् । तीमध्ये मेलोरी ब्ल्याकम्यानको ब्वाइज् डोन्ट क्राई र टोनी मोरिसनको बिलभिडजस्ता पुस्तक भने ए लेभल र जिसिएसईमा पढाइ हुने गरेको छ ।

त्यसो त ७० प्रतिशत विद्यार्थीहरु पाठ्यक्रममा विविधतायुक्त साहित्य पढाइनुपर्ने र आधुनिक बेलायतको प्रतिनिधित्व साहित्यमार्फत हुनुपर्ने धारणा राखेका छन् ।

यस किसिमको अध्ययनलाई नेसनल एडुकेसन युनियनले स्वागत गरेको छ । उता रिपोर्टले भने संरचनागत रुपमा नै गैर गोरा लेखकहरुलाई पाठ्यक्रममा कम समावेश गरिएको र हालको पाठ्यक्रमले वर्तमान बेलायती साहित्यिक वातावरणलाई प्रतिनिधित्व गर्न नसकेको बताएको छ ।