हलिउडले यतिबेला अन्य बेलाभन्दा बढी फिल्म बनाइरहेको छ । तर बहस यतिबेला चलिरहेको छ, तीमध्ये कति फिल्म चाहिँ राम्रा फिल्म छन् त ?

यतिबेला संसारभर स्ट्रिमिङ साइटहरुको धूम मच्चिरहेको छ । एक किसिमको क्रान्ति त्यहाँ देख्न सकिन्छ । यसले फिल्म निर्माण र प्रदर्शनको नयाँ नयाँ लेखिदैछ । यस्तोमा गुणस्तरका फिल्म निर्माण गर्ने ठूला फिल्म स्टुडियोहरुको हातबाट गुणस्तर भने चिप्लिन थालेको महसुस हुन थालेको छ ।

नेटफ्लिक्स यतिबेला हलिउडको स्पष्ट अगुवा बन्न पुगेको छ । सन् २०२० मा वर्षभरिमा हलिउडले जति फिल्म निर्माण गर्थे, उसले एकै सातामा त्यति फिल्म निर्माण गर्न थालेको छ । यस्तै अमाजनले पनि अमाजन प्राइमका लागि आफैँ फिल्म निर्माणमा उत्रिएको छ । पुराना स्टुडियोहरु वाल्ट डिज्ने कम्पनी र पारामाउन्टले पनि तिनको स्ट्रिमिङ साइटका लागि भनेर फिल्म निर्माणमा गति दिइरहेका छन् । सन् २०२२ मा पारामाउन्ट+ नामक स्ट्रिमिङ साइट बजारमा ल्याउन लागिरहेको उसले हरेक साता कम्तीमा एउटा फिल्म रिलिज गर्ने लक्ष्य राखेको छ ।

उसो भए अब सिनेमाको अर्थ के हो त ?

युनिभर्सल स्टुडियोका वितरण प्रमुख रहिसकेका रेन्डी ग्रिनबर्ग यतिबेला स्ट्रिमिङ कम्पनीका लागि फिल्म निर्माता बनिरहेका छन् । उनी भन्छन्, ‘अब सिनेमाका बारेमा बेग्लै तरिकाले सोच्ने बेला आइसक्यो ।’

पारम्परिक रुपमा सिनेमा व्यापार भनेको दर्शकलाई बढीभन्दा बढी सिनेमा हलसम्म तान्नु थियो । बढीभन्दा बढी टिकट बिक्री गर्न सकिने सिनेमा उनीहरु बनाउने उनीहरुको ध्येय हुन्थ्यो ।

‘घरबाट निस्कने एउटा बहाना बन्नु त्यो बेलाका फिल्मको उद्देश्य थियो,’ ग्रिनबर्ग भन्छन्, ‘तर समय बद्लिइसक्यो ।’

अर्कोतर्फ स्ट्रिमिङ कम्पनीहरुलाई दर्शकलाई घरैमा भुल्याउने माध्यम चाहिएको छ । उनीहरु दर्शक घरबाट ननिस्किऊन् र हरेक दिन नयाँ नयाँ ग्राहकलाई घरैमा मनोरञ्जन दिलाऔँ भन्ने उनीहरुको लक्ष्य हुन्छ ।

नयाँ ग्राहकले तिर्ने र हरेक महिना सेवालाई निरन्तरता दिऊन् भन्ने उद्देश्यले तिनले सेवा दिइरहेका छन् । तिनको मूल्य पनि सिनेमा हलमा तिरिने टिकटको भन्दा बढी छैन ।

हरेक महिना जसले बढीभन्दा बढी फिल्म रिलिज गर्न सक्यो, जसले राम्रोभन्दा राम्रो फिल्म दिन सक्यो, उही स्ट्रिमिङ कम्पनीको ग्राहक स्थिर रहने वा बढ्ने सम्भावना बढी हुन्छ ।

त्यसैले स्ट्रिमिङ कम्पनीहरुले फिल्म स्टुडियोहरुलाई बढीभन्दा बढी फिल्म निर्माण गर्न दबाब दिइरहेका छन् । यो दबाब स्वयं स्टुडियोले पनि आफैँलाई दिइरहेका छन् । यसले फिल्म निर्माणको संख्या त ह्वात्तै बढेको छ तर स्तरमा भने सम्झौता भने गर्नु परिरहेकै छ ।

एम्प्रे एनालिसिस नामक कम्पनीका अनुसार नेटफ्लिक्सले सन् २०१६ देखि २०२० सम्म १३३ वटा फिल्म निर्माण गर्‍यो । यो चाहिँ हलिउडको सबैभन्दा ठूलो कम्पनी डिज्नेले निर्माण गर्ने भन्दा तीन गुणा बढी हो । अर्कोतर्फ स्वयं डिज्नेले भने सबैभन्दा कम फिल्म निर्माण गर्‍यो । यस्तै सोनी पिक्चर्स इन्टरटेन्मेन्टले दोस्रो बढी फिल्म निर्माण गर्‍यो, १११ वटा ।

रमाइलो त के छ भने यत्तिका फिल्म निर्माण भए पनि समीक्षकहरुले ती फिल्मलाई त्यत्ति रुचाएनन् । दर्शकले पनि बब्बालै मन पराए भन्न सकिने अवस्था रहेन । मेटाक्रिटिक, रोटेन टमाटोजजस्ता फिल्मको स्तर, समीक्षा र वर्गीकरण गर्ने वेबसाइटमा नेटफ्लिक्स उत्पादित फिल्मको रेटिङ निकै दयनीय छ । कतिपय फिल्मले अस्कर अवार्डमा नामांकन पाएका भए पनि तिनको रेटिङ निकै तल छ । बरु डिज्नेका फिल्महरुको रेटिङ निकै माथि देखिन्छ ।

एम्प्रे एनालिसिसको अध्ययनमा देखिएको छ, स्टुडियो निर्मित फिल्मको तुलनामा नेटफ्लिक्स निर्मित फिल्महरु दर्शकले चाँडै भुल्ने गरेका छन् । तिनको रिपिटेसन भ्यालु (दोहोर्‍याएर हेरिने मूल्य) निकै तल रहेको छ ।

डिज्नेका फिल्महरुको स्कोर सबैभन्दा माथि छ । दर्शकहरुले औसतमा १०० मा ७०.३ अंक दिएका छन् भने आलोचकहरुले ६६ दिएका छन् । उता नेटफ्लिक्सका फिल्महरुको औसत रेटिङ ५४.४ मात्र छ ।

डिज्नेका फिल्महरु तुलनात्मक रुपमा धेरै दर्शकले रुचाएको पनि पाइएको छ ।

स्ट्रिमिङ साइटका कारण पहिले कहिल्यै नआएका अवसरहरु आइरहेका छन् । महँगाभन्दा महँगा फिल्म यहीँ बन्न थालेका छन् भने प्रयोगात्मक फिल्म बनाउन रुचाउनेहरुले पनि देखाउने ठाउँ पाएका छन् । प्रयोगात्मक फिल्म बनाउनेहरुले त पहिले कहिल्यै नपाउने मौका स्ट्रिमिङ साइटहरुमा पाइरहेका छन् । तर सिनेमाप्रेमी र व्यावसायीहरु भने यसमा खुसी हुनुको साटो दुःखी हुन थालेका छन् ।

हालै प्रख्यात फिल्म निर्देशक मार्टिन स्कोर्सिजले हार्पर म्यागेजिनमा एक आलेख लेख्दै सिर्जनाको उम्दा कलालाई टेलिभिजन र रियालिटी सोहरुसँगै थुप्रोमा फ्याँकिदिएको गुनासो गरेका छन् । अर्कोतर्फ, साँच्चिकै हिट फिल्म कुन हो त भन्ने ठम्याउने ठाउँ पनि नरहेकामा उनलाई खल्लो लागेको बताएका छन् । स्ट्रिमिङ साइटहरुले आफ्नो साइटमा सबैभन्दा बढी कुन फिल्म हेरियो, हेरिएका फिल्म पनि पूरा हेरिएकी हेरिएनन्, पूरा फिल्म हेरिएको संख्या, आधा वा आधाभन्दा कम समय हेरिएका फिल्मजस्ता तथ्यांकहरु सार्वजनिक गर्दैनन् । यसले कुन मन पराइयो वा पराइएन भन्ने मानक नै स्ट्रिमिङ साइटहरुले भत्काइदिएको उनको भनाइ छ ।

यसैगरी केही फिल्म अभिनेताहरुले फिल्म कत्तिको चल्यो, त्यसका आधारमा आफ्नो मूल्य तोक्ने गर्थे । बक्स अफिसमा मज्जाले चलेको फिल्मबाट उनीहरुले बोनस पाउने गर्थे भने नचलेको खण्डमा उनीहरुले बोनस पाउँदैनथे ।

स्ट्रिमिङ साइटमा फिल्म रिलिज गर्दा यी मानक सबै भत्किएका छन् । अब स्ट्रिमिङ विशेष फिल्महरुबाट कलाकार तथा प्राविधिकले बोनस नपाउने मात्र होइन, उनीहरु आर्थिक रुपमा सशक्त हुने अवसर पनि गुमेको छ । यसले सबैभन्दा अप्ठेरो चाहिँ फिल्म वितरकहरुलाई भएको छ । फिल्म वितरकहरुले जति बढी फिल्म चल्थ्यो, उनीहरुको आम्दानी उति राम्रो हुन्थ्यो । नचल्दा कम्तीमा उनीहरुको अफिस खर्च निस्किन्थ्यो । तर अब यो बाटो उनीहरुका लागि बन्द भएको छ ।

रेन म्यान, द कलर पर्पल तथा ब्याटम्यानजस्ता फिल्मका निर्माता पिटर गुबेर भन्छन्, ‘के हिट भयो र के फ्लप भयो भन्ने चासो र प्रवृत्ति नै हराउनु पक्कै राम्रो होइन । हलिउडको स्वर्ण युगमा कुनै पनि फिल्म सिक्वेलका रुपमा सोचिदैनथे, अहिले फिल्म निर्माण गर्नुअघि सिक्वलसमेत सम्भावना हेरी निर्माण गरिन्छन् । सिनेमा उद्योगमा धेरै कुरा परिवर्तन भइसक्यो तर राम्रा फिल्मको सम्भावना सधैँ रहे पनि सबैतिर हतार मात्र देखिन थालेको छ । जुन पक्कै राम्रो कुरा होइन । हतारमा राम्रा फिल्म बन्दैनन् ।’