गएको एक दुई वर्षमा संसारले के मात्र भोगेन, के के मात्र देखेन ! बन्दाबन्दी, लाखौँ मजदुरको पलायन, बेरोजगारी, दोस्रो लहरमा अक्सिजनको अभावले मृत्युवरण गरेका सर्वसाधारण, नदीमा बगाइएका, किनारामा हतारमा पुरिएका कोरोनापीडितका शव ! साहित्य समाजको ऐना भएकैले ती त्रासदिलाई खासगरी कवि तथा गीतकारले आफ्नो भाव र शब्दावलीमा उनेर आममानिससम्म पुर्याए । यसमा पनि महत्त्वको कुरा चाहिँ सिनेमा र रंगमञ्चसँग जोडिएका केही महत्त्वपूर्ण नामले तिनलाई स्वर दिएर यसको पहुँचलाई अझ वृहद् बनाइदिए ।

ओम निश्चल

फेसबुक होस् या युट्युब, इन्स्टाग्राम होस् या ट्वीटर हरेक सञ्जालमा यस्ता कवि र कविताका दायरा तीव्रतम् रुपमा बढिरहेको छ । छन्दका बन्धनबाट मुक्त, अहिलेका समस्यालाई आवाज दिने कलाकार न त कवि हुन् न त गायक नै । यिनीहरुले कविताको पाठको रसास्वादन गर्ने आजका युवाहरुमा ठूलो समूह यस्तो छ, जसको साहित्यसँग कुनै मतलब छैन । पाठकर्ता कलाकार पनि यसै किसिमको प्रेरणाका कारण हरेक दिन नयाँ कविका नयाँ कविता खोज्दै वाचन गरिरहेका छन् । तिनले अहिलेको सामाजिक र राजनीतिक अवस्थालाई उकर्ने कडा विम्वहरु प्रकट गरिरहेका छन् ।

सिनेमासंसारमा पहुँच भएका मनीष गुप्ताले केही वर्ष पहिले युट्युबमा हिन्दी कविता नामक एउटा च्यानल शुरु गरेका थिए । त्यसमा मनोज वाजपेयी, सौरभ शुक्ल, राजेन्द्र गुप्ता, पीयूष मिश्र, सुरेखा सिकरी, स्वरा भाष्कर र मोहम्मद जिसान अयुबजस्ता कलाकारले प्रख्यात कविहरु रामधारी सिंह दिनकर, जयशंकर प्रसाद, मुक्तिबोध, भवानीप्रसाद मिश्र, दुष्यन्तकुमार जस्ता कविका कविता पाठ गरेका थिए । यसमा कविताभावका अनुसार दृश्य र संगीत पनि हुन्थे । यो प्रयोग निकै चर्चित भयो ।

यसपछि त उर्दू स्टुडियो नामक च्यानल आयो । यसमा नसीरद्दीन शाहजस्ता कलाकारहरुले मिर्जा गालिब, कैफी आजमी, मीर तकी मीर, साहिर लुधियानवीजस्ता गजलकारका सिर्जना आफ्नो आवाजमा वाचन गरी सुनाए ।

राजेन्द्र गुप्ता

हिन्दी कविता च्यानलमा काम गरिसकेका अभिनेता राजेन्द्र गुप्ता अचेल युट्युब च्यानल राजेन्द्र गुप्ता रिसाइट्समा कुनै होहल्लाबिना नै हरेक दिन एउटा कविता सुनाइरहेका छन् । उनी भन्छन्, ‘आजका कविता छन्दबद्ध हुँदैनन् । तिनमा कन्टेन्ट हुन्छन् । यसै कारण यसका दर्शक हरेक दिन बढिरहेका छन् । एउटा नयाँ वर्ग तयार भइरहेको छ, जसलाई पढ्नुलेख्नुसँग बाल मतलब छैन तर पनि उनीहरु साहित्यसँग जोडिन चाहन्छन् ।’

स्वान्तः सुखाय र अव्यावसायिक रुपमा भए पनि कविता पाठ गरिहेका गुप्ताले यसलाई शुरुमा फेसबुक र एउटा साहित्यिक संस्था चौपालमा कथा सँगसँगै कविता पनि पाठ गर्थे । गएका दुई वर्षमा उनले करिब चार सय कविता पाठ गरिसकेका छन् ।

तर यी प्रयोगहरुलाई सबैभन्दा बढी शक्ति केहीले दियो भने त्यो महामारीको फुर्सदले दियो । अनि, महामारीका विषय नै विविध पाटामाथि लेखिएका कविता पाठले यसलाई सशक्त बनायो । गुप्ता भन्छन्, गएको वर्षको बन्दाबन्दीमा जसरी लाखौँ मजदुरहरुले शहर छाडेर आफ्नो गाउँतिर निस्किए, त्यसले सर्वसाधारणलाई केही न केही लेख्ने प्रेरणा दिइरह्यो । अहिले त अक्सिजनको अभावका कारण भएका अनेकौँ मृत्युले त्यस्तै गर्यो । त्योभन्दा पहिले शाहीनबाग काण्ड र एनआरसीजस्ता मुद्दाले कवितालाई ब्युँताउने काम गर्यो । गएका डेढ दुई वर्षमा जुन किसिमको राजनीतिक सामाजिक उथलपुथलको अवस्था रह्यो, तिनले कविहरुलाई उद्वेलित पार्यो ।

उनले कविता पाठ गर्नका लागि महान् नाउँ भन्दा पनि राम्रा कविता छानेका थिए । एकातर्फ उनले साहिर, मजरुह, दिनकर, गुलजार, नरेश सक्सेना र कुँवर नारायणलाई पढे भने अर्कोतर्फ सञ्जय कुन्दन, अनिल करमेले, प्रेम रञ्जन अनिमेष, हूबनाथ पाण्डेय, विजय कुमार, देवेन्द्र आर्य, मणि मोहन, अमिताभ मिश्र, फरिद खानजस्ता ४०–५० समकालीन कवि र केही त बिल्कुलै नयाँ अनुहारका कविता वाचन गरे ।

बरेलीका चिकित्सक तथा नाटककार डा. व्रजेश्वर सिंहको वरवर राव र किसानजस्ता कविता मनपर्नेबित्तिकै उनले स्वर दिइहाले । यी कवितालाई अहिलेसम्म १० हजारभन्दा बढी श्रोताले सुनिसकेका छन् । उनी भन्छन्, जुन कविताले मलाई झङ्कृत पार्छन्, आजको अवस्थालाई सशक्त रुपमा व्याख्या गर्छन् र जुन कविता मानिसहरुसम्म पुग्नुपर्छ भन्ने लाग्छ, तिनलाई म एउटा अभिनेता भएका कारण सर्वसाधारणमाझ पुर्याइरहेको छु ।

सौरभ शुक्ला

अर्का कलाकार सौरभ शुक्लले पनि हिन्दी कविताका लागि भवानीप्रसाद मिश्रको सन्नाटा भन्ने कविता वाचन गरेका थिए । पछि अभिनय र अन्य कामको व्यस्तताका कारण उनले आफ्ना अन्य प्रिय कविका रचना वाचन गर्न भ्याएनन् तर यस किसिमको प्रयोगका बारेमा शुक्ल भन्छन्, त्यो प्रयोगमा तपाईं कविता वाचन मात्र गर्नु हुन्थेन, त्यो किन मन पर्छ भनी दर्शकश्रोतालाई भन्नु पनि हुन्थ्यो । त्यो कविताको विशेषता के हो ? कवितामा भाषा र विचारका अतिरिक्त अरु पनि केही हुन्छ, जसले तपाईंलाई आकर्षित गरिरहेको हुन्छ । ती कुरा व्याख्या गर्दै कविता वाचन गर्नु कम्ता रमाइलो हुन्न !

कविता मात्र होइन, कुनै पनि कला आफैँमा एउटा अलग्गै चिज नभई आफ्नो समयको ऐना हुने उनको धारणा छ । अचेल प्रचलित कविताहरु यदि लोकप्रिय भएका छन् भने त्यही समयको ऐना देखाइदिएका कारण लोकप्रिय भइरहेका छन् । तिनमा तपाईंभित्र उठेका अनेकन् प्रश्नका उत्तर पाइन्छन् । मानिसहरु तिनलाई पढ्छन्, सुन्छन् र स्वाभाविक रुपमा आफूसँग जोडिएको पाउँछन् । त्यसैले ती लोकप्रिय भइरहेका शुक्ल बताउँछन् ।

मोहम्मद जिसान अयुब

गुप्ता र शुक्लजस्तै अर्का युवा अभिनेता मोहम्मद जिसान अयूब पनि कविता लेख्दैनन् तर उनलाई पढ्न भने खुब मज्जा लाग्छ । हिन्दी कविता च्यानलमा उनले नजीर अकबरावादीका दुई कविता बञ्जारानामा र दिवाली पढेका थिए । यी दुई वाचित कवितामा उनले पाएको प्रतिक्रिया देखेर छक्क छन् । त्यसपछि नै उनलाई लागेको हो, अनलाइनको एउटा ठूलो तप्का कविता सुन्न चाहन्छन् तर हामी नै शायद उनीहरुसम्म पुग्न सकिरहेका छैनौँ । जिसान चाहिँ नयाँ नयाँ कविका प्रशंसक हुन् । सिएए विरोधी आन्दोलनका बेला सुमीत सपरा र आमिर अजिजजस्ता युवा कविबाट उनी प्रभावित भएपछि तिनको हौसला बढाउन उनले निकै ठाउँमा उनीहरुका कविता वाचन गरी हिँडे ।

रमाशंकर यादव विद्रोहीका एउटा कविता उनले इन्स्टाग्राममा राखेका छन् । कविता यस प्रकार छः
इतिहासमा त्यो कुन चाहिँ स्त्री होली
जसमाथि सबैभन्दा पहिले आगो झोसिएको थियो होला !

यस्ता कविहरुलाई हिन्दी साहित्यको राम्रो भविष्यका लागि पढ्नु जरुरी भएको उनी ठान्छन् । जिसानका शब्दमा, ‘मेरो पढ्ने कुनै प्याटर्न छैन । कुनै कविता झ्वाट्ट अगाडि आउँछ, समाजको अवस्था त्यसमा राम्रोसँग अभिव्यक्त भएको छ र मलाई भाव मन पर्यो भने म त्यसलाई वाचन गरी सामाजिक सञ्जालमा हाल्ने गर्छु । अचेल त राम्रा कवितालार्य भिडियो सुटिङ गरिकन हाल्ने चलन बढ्न थालेको छ । म पनि इन्स्टाग्राममा हाल्ने गर्छु । हातमा किताब बोकेर आफूलाई मन परेका कविता वाचन गर्नुको मज्जा नै बेग्लै हुन्छ ।’

सामाजिक सञ्जालमा कविताजस्तै गीत पनि लोकप्रिय भइरहेका छन् । गीतलाई सामाजिक सञ्जालसँग जोड्ने काम गर्ने कवि, गीतकार तथा आलोचक ओम निश्चल पनि हुन् । अचेल कविताको यस प्रकारको वाचनका कारण गाउँगाउँ कविता पुग्ने गरेका छन् ।

‘सामाजिक सञ्जालले सबै कुरा सहज बनाइदिएको छ । फेसबुक होस् या युट्युब, त्यसमा तपाईंले लेखिएको कुरा छापिएर संसारका कुनाकुनामा पु¥याइदिन्छ । नयाँ नयाँ कविता र गीत नयाँ नयाँ पाठकमाझ पुगिरहेको छ ।

निश्चलको धारणामा सामाजिक सञ्जालले वर्तमान समयको तस्बिर देखाइदिन्छ । नांगो सत्य दोइदिने नयाँ कवि तथा गीतकार जन्मन थालेका छन् । उनी शववाहिनी गंगा कविताको उदाहरण दिँदै भन्छन्, यो कविता यसरी भाइरल भयो कि यसका कयौँ भाषामा अनुवाद भइसकेको छ । यसको कथ्य प्रवल छ । गंगामा अस्थि विसर्जन हुन्छ तर शव विर्सजनपछि यदि कसैले यसलाई शववाहिनी गंगा भन्छ भने त यो सभ्यतामाथि ठूलो प्रश्नचिह्न हो ।

(इन्डिया टुडे म्यागेजिनको ३० जुन २०२१ अङ्कबाट साभार)