रेखाचित्र: कृष्ण मर्सानी

“साहित्यलाई केवल भाषा, शैली र शिल्पको कसीमा राखेर हेर्ने मापदण्ड गलत छ । कुनै पनि लेखकको लेखनलाई तत्कालीन समय र इतिहासको परिप्रेक्ष्यमा राखेर नहेर्दा त्यसको वास्तविक मूल्याङ्कन गर्न पूराकथा, पौराणिक चरित्र र घटनाहरुलाई वर्तमानकै परिप्रेक्षमा फेरि यो बताउन लेख्दछु कि वास्तवमा लोककथामा अतीत र वर्तमान एएटा अविच्छिन्न धाराको रुपमा प्रवाहित हुन्छन् । यो अविच्छिन्न धारा पनि वायवीय छैन, बरु जातपात छ, खेत छ, जङ्गलमाथि अधिकार र सबैभन्दामाथि सत्तासीन वर्गको, सत्ताको विस्तार तथा त्यसलाई कायम राख्ने पद्धतिलाई केन्द्रमा राखेर निम्न वर्गको मनुष्यको शोषणको क्रमिक इतिहास हो ।” यो भनाइ थियो, सन् १९९६ को भारतीय ज्ञानपीठ विजेता महाश्वेता देवीको ।

महाश्वेतादेवीको जन्म सन् १९२६ जनवरी १४ मा ढाकामा भएको थियो । उनका पिता मनीष घटक कवि एवं उपन्यासकार थिए भने माता धारित्री देवी पनि लेखिका एवं समाजसेविका थिइन् । यस्तो परिवारमा जन्म लिन पाउनु महाश्वेताको भाग्य थियो । किनभने उनी उदार मन भएका सुशिक्षित परिवारकी छोरी थिइन् । उनको शिक्षादीक्षा शान्ति निकेतनमा भएको थियो । केही पढाइ भिदनापुर र कलकत्तामा पनि भएको थियो ।
उनले ‘भारत छोडो’ आन्दोलन, बङ्गालको भयावह अनिकाल एवं भारत विभाजनजस्ता उथलपुथल देख्ने-भोग्ने अवसर प्राप्त गरिन् । सन् १९४९ मा उनी केही समयका लागि अध्यापनमा लागिन् । १९५० मा सरकारी जागिर पाइन् तर उनलाई ‘कम्युनिष्ट’ भएको आरोप लगाई निकालियो ।

तदुपरान्त उनी स्वतन्त्र लेखन एवं आदिवासी जातिका लागि समर्पित भइन् ।

महाश्वेतादेवीको भनाई थियो–“म मौजूदा सामाजिक पध्दतिलाई परिवर्तन गर्न चाहन्छु । म सङ्कीर्ण पार्टी राजनीतिमा विश्वास गर्दिनँ । स्वतन्त्रताको पचास वर्षपछि पनि म देखिरहेकी छु- भोक, भूमिहीन जनता, बँधूवा मजदूर र ऋणमा डुबेका जनता । यो पद्धतिको विरुद्धको भावनात्मक रिसले पनि यी जन्जिरबाट मुक्त तुल्याउन सकेको छैन र यी सबले मलाई सधैँ लेख्न प्रेरित गरिरहन्छ ।”

महाश्वेताले सानै उमेरमा लेख्न थालेकी हुन् । उनका लेखनको शुरुवातका रचनाहरु कथा विधाका थिए र विभिन्न साहित्यिक पत्रिकाहरुमा प्रकाशित भएका थिए । उनको पहिलो गद्य रचना “झाँसीकी रानी” थियो भने पहिलो उपन्यास “नाती”, जुन सन् १९५७ मा प्रकाशित थियो । “झाँसीकी रानी” लेखिसकेपछि उनलाई कथाकार बन्नेछु भन्ने लागेको थियो ।

उनको कुन पुस्तक सर्वाधिक लोकप्रिय होला ? यो कठिन प्रश्न हो । यसमा विवाद हुनसक्छ । तर धेरैले उनको ‘१०८४ औंकी आमा’लाई उत्तम कृति मानेका छन्, जुन नेपाली भाषामा समेत अनुवाद भै प्रकाशित भएको थियो । त्यसो त उनका सबैजसो कृतिहरु भारतीय भाषाहरु, विशेष हिन्दीमा अनुवाद भए र ज्ञानपीठ पुरस्कारको घोषणा हुनुअघि उनको नयाँ उपन्यासको हिन्दी अनुवाद ‘टेरोडैक्टिल’ प्रकाशित भएको थियो ।
महाश्वेताका कृतिमा आधारित रहेर चलचित्र पनि बने । हजार चौरासीकी आमा, सङ्घर्ष, गंगोर, रुदाली र माटी मय उनका कृतिमा बनेका चलचित्रहरु हुन् ।

महाश्वेताको वैवाहिक जिन्दगी त्यति सुखद रहेन । उनले २७ फरवरी १९४७ मा प्रख्यात् नाटककार विजोन भट्टाचार्यसँग बिहा गरिन्, जो भारतीय जनताको रंगमञ्च अभियानका एक संस्थापक थिए । उनीहरुबाट सन् १९४८ मा छोरा भयो नवारुण भट्टाचार्य जो पछि उपन्यासकार तथा राजनैतिक समीक्षक भए ।

तर विजोनसँग उनको वैवाहिक जीवन १४ वर्षभन्दा बढी टिकेन । उनीसँग पारपाचुके भयो र सन् १९६२ मा उनले असित गुप्तासँग बिहा गरिन् तर गुप्तासँग पनि उनको सहजीवन १९७६ सम्म मात्र कायम रह्यो ।

महाश्वेताले आफ्नो जीवनका सङ्घर्षमय समयमा अनेकन् काम गरेकी थिइन् । उनले साबुन बेच्ने काम गरिन् । अशिक्षित जनका लागि अङ्ग्रेजीमा चिट्ठी लेख्ने काम पनि गरिन् ।

उनले आफ्नो लेखनका लागि अनगिन्ती पुरस्कार र सम्मान पाएकी थिइन् । साहित्य अकादमी पुरस्कार(सन् १९८७), पद्मश्री (सन् १९८६), ज्ञानपीठ पुरस्कार (सन् १९९६), रामोन म्याग्सेसे पुरस्कार (सन् १९९७), पद्म विभूषण( सन् २००६), सार्क लिटरेरी अवार्ड( सन् २००७), यशवन्त राव नेसनल अवार्ड (सन् २०१०), बङ्ग विभूषण (सन् २०११) आदि छन् ।

उनी सन् २००९ मा मान बुकर पुरस्कारका लागि समेत छानिएकी थिइन्, यद्यपि उनलाई पुरस्कार भने प्राप्त भएन । त्यस्तै सन् २०१२ मा नोबेल पुरस्कारका लागि पनि मनोनित भएकी थिइन्, तर यो पुरस्कार पनि उनलाई प्राप्त भएन ।

उनलाई ज्ञानपीठ पुरस्कार विश्वविख्यात अश्वेत नेता नेल्सन मण्डेलाको हातबाट वितरण गरिएको थियो । यस पुरस्कारबापत उनलाई प्राप्त ५ लाख रकम उनले बंगालको पुरुलिया आदिवासी समितिलाई हस्तान्तरण गरेकी थिइन् ।

महाश्वेताले सन् १९८५ मा फ्रान्स, १९८८ मा अमेरिका र फेरि १९९० मा अमेरिकामै विभिन्न विशव विद्यालयहरुमा आदिवासी जीवन तथा अन्य विषयमा लेख एवं व्याख्यान प्रस्तुत गरेकी थिइन् । महाश्वेताको विचारमा रचनात्मक लेखन, पत्रकारिता र विविध रुपमा गरिएका अन्य लेखन एक अर्काका पूरक हुन् ।

महाश्वेतालाई ज्ञानपीठको घोषणा गरिएपछि प्रख्यात लेखक दिस्येृन्दू पलितले भने, “उनी यस पुरस्कारकी योग्य हकदार हुन् । उनले हामीलाई महान् साहित्य दिएकी छन् ।”

त्यस्तै समालोचक थमोरन्जनदास गुप्ताको विचारमा ‘महाश्वेताको लेखन पृथक एवं समसकालीनहरुको भन्दा विशिष्ट तवरको परक छ ।’

“म आफ्ना मानिसका बारेमा आफ्नो क्षमताले भ्याएसम्म लेख्छु ताकि म खुदै आफ्नो सामना कुनै अपराध बोधबिना गर्न सकूँ । लेखक आफ्नो फैसलाको सामना आफ्नै जीवनमा गर्दछ र निरुत्तर हुन्छ,’ महाश्वेताको भनाइ थियो । उनी आफूलाई भारतीय लेखिका मान्थिन् र भन्थिन्, “जे जति म लेख्छु त्यो भारतको कुनै पनि भूभागको लागि सत्य हुन सक्दछ ।”

महाश्वेताको विचार थियो, संघर्षको अन्त्य कहिल्यै हुँदैन, र हामीले प्रत्येक सास फेराइमा यही कुरालाई सम्झिरहनुपर्छ ।

वास्तवमा महाश्वेताको आफ्नो जीवन सधैँ संघर्षमय रह्यो । उनी सधैँ संघर्षशीलजनहरुका बीचमा रहिन् । शोषित, पीडितहरुको साथमा रहिन् र ‘ग्राम बाङ्गला’ ‘साल गिरहकी प्रकार पर’, ‘जङ्गलका दावेदार” जस्ता आदिवासी पीडित जातिका विषयमा कृतिहरु लेखिरहिन् । उमेर ढल्दै गए पनि उनको लेखनको ऊर्जा सधैँ उत्तिकै महत्त्वपूर्ण वस्तु दिन, कृति दिन पर्याप्त थियो ।

आफ्ना समकालीनहरुमा उनलाई श्यामल गंगथोपाध्याय देवेश राय, अफसार अहमद् तथा बाङ्लादेशका हसन अजिजुलहक अकतारुज्जमान इलायस एवं जोनग्रिसन, डिक फ्रान्सिस आदि मन पर्थे । त्यसो त उनलाई शाहरुख खानको हिन्दी चलचित्रदेखि विविध भारतीय बज्ने गीतसम्म रुचि थियो ।

२३ जुलाई २०१६ का दिन उनलाई कडा हृदयाघात भयो । उनलाई वेले भ्यू क्लिनिक कोलकातामा भर्ना गरियो । तर २८ जुलाई २०१६ का दिन ९० वर्षको उमेरमा उनको निधन भयो । उनी डायबेटिज, सेप्सिस, पिसाबसम्बन्धी रोगबाट ग्रस्त थिइन् ।

उनको मृत्यु भएपछि पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले लेखिन्, “भारतले यौटा महान् लेखिका गुमाएको छ । बङ्गालले यौटी यशस्वी आमा गुमाएको छ । मैले मेरो व्यक्तिगत पथप्रदर्शक गुमाएकी छु ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “महाश्वेतादेवीले कलमको माध्यमले देखाउन सक्ने अलौकिकता प्रदर्शन गरेकी थिइन् । दया, करुणा, समानता र न्यायको आवाज, उनको अवशानले व्यथित छु ।”