सन् १९५४ नोभेम्बर ८ मा जापानको नागासाकीमा जन्मिएका बेलायती लेखक काजुओ इसिगुरो सन् १९६० मा उनका अभिभावकसँगै बेलायत पुगेका हुन् । उनले युनिभर्सिटी अफ केन्टमा सन् १९७८ मा स्नातक गरेका थिए भने युनिभर्सिटी अपफ इस्ट इंगलियाबाट सन् १९८० मा स्नातकोत्तर गरेका हुन् । उनी हाल लन्डनमा बसोबास गर्छन् ।

द रिमेन्स अफ द डे उपन्यासका लागि उनले सन् १९८६ मा ह्वाइटब्रिड पुरस्कार प्राप्त गरेका थिए । उनका उपन्यास अनौठा हुन्छन् र शैली तथा शिल्प पनि बेग्लै किसिमका हुन्छन् । खासमा बेलायतमा उनीअघि त्यस किसिमको शैली देखिएको थिएन । उनको कथानकको समयक्रम दिइएको हुन्छ । अभिव्यक्तिमा अति बढी गरिएका उनका उपन्यासमा ऐतिहासिकता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । उनका चल्तीका साहित्यिक सुझबुझभन्दा बाहिर गएर लेख्छन् ।

उनका उपन्यास ऐतिहासिक हुन्छन् र यति मिहिन तरिकाले इतिहास गाँसिदिन्छन् कि तिथिमिति पनि ठ्याक्कै लेखिदिन्छन् । उनका उपन्यासमा मूल पात्र म भए पनि उसमा सामान्यजनका लोभ, लालच, अपराध, अपराधबोध सबैसबै खुलस्त पार्छन् । उनका प्रायः उपन्यास विरोधाभाषमा सकिन्छन् । तिनका पात्रहरू विगतमा पुरिएका, समस्याले ग्रस्त हुन्छन् र यति ग्रस्त हुन्छन् कि ती समस्या कहिल्यै समाधान हुँदैनन् र ती समस्यालाई उपन्यासकार खुला रूपमा छाडिदिन्छन् ।

यिनै लेखकसँग द टक म्यागेजिनले गरेको कुराकानीको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ ।

सेकेन्ड ह्यान्ड बुकमा तपाईंका किताब कहिल्यै देख्नु भएको छ ? देख्दा कस्तो लाग्छ ?
अँ, कहिलेकाहीँ म बेलायतका गाउँहरु घुम्न निस्कँदा त्यहाँका सेकेन्ड ह्यान्ड पसलमा मेरा उपन्यासहरु देख्छु । त्यो बेला मलाई झ्वाँक चल्छ । कस्ता स्वाँठहरुले यहाँ छाडेका होलान्, यी त घरमा सजाउनुपर्ने पुस्तक पो हुन् त भन्ने नलाग्ने होइन । यो त घोर बेइज्जत नै हो, कोही मेरो किताबलाई घरमा सजाउन चाहँदैन रहेछ भन्ने महसुस हुन्छ । (हाँस्दै) तर मैले मेरो किताब सेकेन्ड ह्यान्डमा नदेखेको भए अझ ठूलो बेइज्जती भएको महसुस हुन्छ । मलाई लाग्थ्यो, किन मेरा किताबहरु यति अररो भएर घरमै थन्किएका होलान्, किन कसैले मेरो किताब आदान प्रदान गर्न नरुचाएको होला ! यो सेकेन्ड ह्यान्ड बुकमा एउटै पनि किताब फेला नपर्नु त मेराप्रति मान्छेको रुचि कम पो हुन थालेको हो कि ?

लेखक हुनको लागि खस्रो छाला हुनै पर्ने रहेछ है ? (यहाँ खस्रो छाला भन्नाले अलि भिन्न खाले मान्छे भन्न खोजिएको हो ।)
हो, हो । उदाहरणका लागि मेरी पत्नी मप्रति बडो अनुदार छे । म नयाँ किताबमाथि काम गरिरहेको हुन्छु, मानौँ त्यो किताब सन् २००४ मा लेखिएको द बरिड जायन्ट हुनसक्छ । मेरी बूढी मेरो छेउमा उभिई भने मात्र पनि म एकछिन रोकिन्छु । किनभने, उसले लुकिछिपी केही चिज पढिरहेकी हुन्छे । उसले कति वाहियात लेख्या होला भनेर टिप्पणी गरिहाल्छे । (हाँस्दै) जुन बेला मेरी पत्नी मेरी प्रेमिका थिई, त्यो बेला म लेखक थिइनँ । एकपछि अर्को सुधार गर्नुपर्ने चिज उसले भेट्टाइहाल्छे । (प्रायः स्वास्नीहरुले लोग्नेलाई कम नै आँक्छन् ।) अनि, जब उसले मेरो केही चिज पढ्छे, त्यहाँ सुधार गर्नुपर्ने अनेकन् कुरा देख्छे । मानौँ, म उसको पोस्ट ग्राजुएटको विद्यार्थीजस्तो यो भएन र त्यो भएन भनेर भाषण दिइहाल्छे । तर अन्त्यमा उसले भन्छे, तिमीमा लेखक हुने छाँट चाहिँ छ । एक दिन तिमी राम्रो लेखक बन्न सक्छौ भनिदिन्छे । त्यति प्रतिक्रिया पनि मेरा लागि ठूलो पुँजी हो ।

तपाईंकी पत्नीले त्यसो भन्नु भए पनि आखिरीमा तपाईंले त बुकर पुरस्कार पाइछाड्नुभयो नि, है ?
जुन बेला म लेखक थिइनँ, उसले मेराबारेमा त्यति कडा प्रतिक्रिया जनाएको थाहा छैन । कुनै पनि उपन्यास नछापिएका बेलामा त उसले लेख्नलाई राम्रो प्रेरणा दिएकै हो । तर जब मेरो किताब छापिन थाल्यो, पाठकको अपेक्षा बढ्न थाल्यो, त्यसपछि भने उसले मलाई हदै कडाइ गर्न थालेकी छ । कयौँ बेलामा त उसको र मेरो झगडा, भनाभनै पर्छ, ती भनाभन मेरा किताबमा हुनसक्छ, अरुका किताबमा हुनसक्छ, भर्खरै जान लागेको सिनेमामाथि हुनसक्छ वा हेरेर आएपछिको सिनेमाका बारेमा हुनसक्छ । अथवा नाटकका बारेमा पनि हुनसक्छ । हामीले सन् १९८० देखि निरन्तर चलिरहेको छ र लगभग ४० वर्ष हुन लाग्यो ।

यी बाझाबाझका कुरामा कहिले म ऊसित सहमत हुन्छु, कहिले म सहमत हुन्नँ । त्यसैले उनले भनेका सबै कुरा मैले मान्नुपर्छ वा सुन्नुपर्छ भन्ने लाग्दैन । (हुन त प्रायः सबै लोग्ने मान्छेले स्वास्नीले भनेको मान्दैनन् नै !) तर मलाई जे कुरा राम्रो लाग्छ, म त्यसमा यति डुब्छु कि मलाई अरुले यो भयो वा भएन भनेर राखेका टिप्पणीको कुनै अर्थ लाग्दैन । तर केही केही कुरामा भने उसको दृष्टिकोण साँच्चिकै राम्रो हुन्छ ।

तर तपाईंले आफ्नो दृष्टिकोणमा कहिल्यै पनि सम्झौता गर्नुहुन्न नि ?
त्यो चैँ हो । मूलभूत कुरामा म कहिल्यै पनि सम्झौता गर्दिन । यी यी कुरामा मेरो धारणा यो हो, यस कारण यस्तो हुनुपर्छ भन्ने मन बनाइसकेपछि मेरातर्फबाट कामकुरा सक्कियो । जस्तो कि कुनै उपन्यास लेखिरहेको छु भने त्यो उपन्यासको मूल कुरा, सोच वा मुद्दामा कुनै पनि सम्झौता हुँदैन । त्यस्तो बेलामा मेरी पत्नीले के कुरालाई आलोचना गरिरहेकी छ, त्यसको मतलब लाग्दैन । अँ, जब मैले त्यो कुरालाई राम्रोसँग अभिव्यक्त गर्न सकेँ कि सकिनँ भन्ने कुरा चाहिँ महत्त्वको लाग्छ । जब उसले सही तरिकाले तिमीले यो कुरा स्थापित गर्न सकेनौ, तिमीले गर्न खोजेको कुरा मैले त बुझेँ तर पाठकले बुझ्दैनन्, त्यो कोणबाट तिमी सफल छैनौ भनी भने म उसको कुरालाई ध्यान दिएर सुन्छु । उसले किताबको मूल दृष्टिकोण नै ठीक छैन भनेर आलोचना गरेको चाहिँ आजसम्म याद छैन ।

उसो भए तपाईंले पहिलो उपन्यास द बरिड जायन्टलाई यत्तिका वर्षसम्म किन छाप्न समय लगाउनु भयो ? जबकि यसलाई लेख्न तपाईंले करिब १० वर्षभन्दा बढी समय लगाउनु भएको थियो, हैन र ?
म प्रायः किताब लेख्दा त्यस्तै गर्छु । जब म किताब लेखिसिध्याउँछु, केही वर्ष म त्यत्तिकै फ्याँकिदिन्छु । मलाई सबैभन्दा प्रिय लागेको उपन्यास नेभर लेट मि गोलाई पूरा गर्न तीन वटा ठूलो आँट गर्नुपर्‍यो । हरेक वर्ष म पूरा गरिएको यो उपन्यास छेउ जान्थेँ, हेर्थें र यसमा गर्नुपर्ने सुधार र थपघट गर्थें । कहिलेकाहीँ मैले भन्न खोजेको कुरा अपूरो हुन्थ्यो, कहिले सही शैली फेला पारिरहेको हुन्न थिएँ । कहिलेकाहीँ ती कथानक एक थोक सोचेर लेखिएको हुन्छ, पछि बेग्लै अर्थ बोकेर उभिएका हुन्छन् वा त्यसलाई ठ्याक्कै भन्न खोजेजस्तो अभिव्यक्त गर्न नसकेको पत्तो लाग्थ्यो । मलाई उपन्यास वैचारिक र सिर्जनात्मक हिसाबले पाक्न दिन मन लाग्छ । यस्तो कयौँ पटक भएका कारणले मेरी पत्नीले यसलाई छाप्ने बेला भएको छैन भनेर सुझाव दिई भने म त्यसलाई ठूलो मुद्दा बनाउँदिनँ । यस्तो कयौँ चोटि भएको छ ।

तपाईंले लेखेको उपन्यास अन्ततः सकियो भनेर प्रेसमा पुर्‍याउनु हुन्छ, कस्तो महसुस हुन्छ ?
सुन्दा अनौठो लाग्ला तर प्रेसमा पुर्‍याइसक्दा पनि मैले उपन्यासलाई पूरा गरेँ भन्ने भाव आउँदैन । म कुनै फुटबल टुर्नामेन्ट हेरिरहेको हुन्छु, अनि त्यसमा फुटबलरले म्याचको अन्तिममा आफ्नो खेलको समीक्षा गरिरहेका हुन्छन् । त्यहाँ के गर्न सकिन्थ्यो र के हुनसक्थ्यो भन्ने सम्भावनामाथि उनीहरुले टिप्पणी गरिरहेका हुन्छन् । एउटा सिठ्ठी फुकाइले उनीहरुको खेल अन्त्य भएको हुन्छ, हारजीतको घोषणा भएको हुन्छ । यो एउटा लेखकको कोणबाट हेर्दा हास्यास्पद लाग्छ ।

किन नि ?
जब किताबको बाक्लो गाता (हार्ड बाउन्ड) को संस्करण छापिएर आउँछ, त्यसका घटनाहरु अझ परिस्कृत हुँदै आउँछन् । खासगरी जब मेरा किताबको अनुदित संस्करणमा काम भइरहेका हुन्छन्, ससाना कुराहरुप्रति अनुवादकले टिप्पणी गरिरहेका हुन्छन्, अनि मात्र आफूलाई ख्याल हुन्छ, ओहो, त्यसमाथि त काम गर्नै बिर्सिएछ ! कति चनाखा अनुवादक !

अनि उनीहरुले दिएका ससाना सुझाव, गरेका टिप्पणी र आफूलाई लागेका कुराहरु भेला पारेर पेपर ब्याक संस्करण (पातलो गाता)मा सकेसम्म मिलाउने प्रयास गर्छु ।

तपाईंलाई चाँच्चाँडो लेख्न कुनै दबाब हुन्छ ? तपाईंको लगभग चालीस वर्षे करियरमा निकै थोरै (१२ पुस्तक) मात्र लेख्नु भएको छ नि ?
मलाई एउटा लेखकका रुपमा चिनाएको फेबर एन्ड फेबर नामक प्रकाशकले हो र त्यहाँका सम्पादक रोबर्ट म्याक्रमले मलाई यो रुपमा उभ्याइदिएका हुन् । म उनको खोजी हुँ । त्यो बेला मैले उनलाई सोधेको थिएँ, एउटा साहित्यकारको रुपमा पहिचान बनाउन र नहराउन वर्षमा कति वटा किताब लेख्नुपर्छ ? उनले ‘दुई वर्षमा एउटा लेखे पुग्छ’ भनेका थिए । उनले कति वाहियात सुझाव दिएका रहेछन् ! अहिले पनि उनी मेरा ज्यादै प्रिय मित्र हुन् । उनलाई मैले उनको सुझावका बारेमा सम्झाउँछु र उनले भन्ने गरेका छन्, ‘एउटा सम्पादकको हिसाबमा मैले तिमीलाई वाहियात सुझाव दिएको रहेछु ।’

मैले उनले दिएको सुझावलाई कार्यान्वयन गरिनँ किनभने म दुई वर्षमा एउटा किताब लेख्न नसक्ने लेखक रहेछु ।

हुन त सिर्जनशीलता हतारमा हुँदैन क्यारे !

नोबेल पुरस्कार हात पारेपछि पत्नीका साथ

पहिलो उपन्यास छापिएकै बेलामा मलाई महसुस भइसकेको थियो, म सिर्जनाको मुहान होइन । मैले दनादन किताब लेख्न सक्तिनँ । मेरो मुहान त अलि अलि गरेर रसाउनु पर्छ । अनि बल्ल जम्मा भएका चिजहरु अझ बढी फिल्टर र रिफाइन गरेपछि मात्र पिउनयोग्य बन्छ । अर्कोतर्फ संख्यात्मक हिसाबमा मैले साहित्यमा योगदान गर्न सक्तिनँ भनेपछि कम लेखे पनि मैले फरक किसिमले केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसै पनि हरेक दिन कयौँ उपन्यास छापिइरहेका छन्, त्यस्तै छपाउनु त किन पर्यो र ? केही फरक होस् । खासमा स्टान्ली कुब्रिक मेरा प्रिय आदर्श हुन् । उनले हरेक फिल्म बनाउन लामो समय लगाउँथे र हरेक पटक भिन्दाभिन्दै फिल्म बनाउँथे । अनि, मलाई लाग्थ्यो, ‘ओहो, मैले कुब्रिकजस्तो हुनुपर्छ ।’ मैले त उपन्यास लेख्न बढीभन्दा बढी समय लगाउनुपर्छ । यही लामो समयले नै मैले उपन्यासहरुमा नयाँ संसार सिर्जना गर्ने पर्याप्त समय पाउने गरेको छु  ।

उसो भए तपाईंले सिर्जना गर्दा कथानक पहिले बनाउनु हुन्छ कि संसार ?
म कथानक अनुसारको सेटिङ बनाउँछु । शुरुमा कुनै घटना घट्छ र त्यो घटना कुन संसारमा, कहिलेको समयमा घट्नुपर्छ भन्ने पछि तय गर्छु । त्यो घटनाका लागि म कयौँ पटक ठाउँ हेर्न गएको छु, खासगरी जापान र बेलायतका कुनाकाप्चा र गाउँतिर पुग्ने गरेको छु । जसरी फिल्मको निर्देशकले लोकेसन हन्ट गर्छन्, त्यसैगरी मैले पनि मेरो उपन्यासका लागि ठाउँ हेर्ने गर्छु । भूगोल हेरेर, भूदृश्य कैद गरेर आएपछि मलाई त्यो सेटिङमा उपन्यास पूरा गर्न मन लाग्छ । लोकेसन हन्टिङले नै मलाई उपन्यासलाई पटक पटक केही नयाँ दिन प्रेरित गर्छ । त्यसैले हरेक पटक म बेग्लै संसार बनाउँछु ।

योसँगै मेरो लेखनमा भूमिका खेल्ने काम चाहिँ संगीतको पनि हुन्छ । मेरो किसिमको कथावाचनमा संगीतको भूमिका महत्त्वपूर्ण छ ।

त्यो चाहिँ किन नि ?
किन, किन यो बताउन म सक्दिनँ । तर के लाग्छ भने खास किसिमको संगीत (चाहे त्यसमा शब्द नहोस्)ले तपाईंलाई बेग्लै किसिमको भावमा पुर्याइदिन्छ । जब म कुनै दृश्य लेखिरहेको हुन्छु, म त्यो दृश्यलाई आवश्यक पर्ने भाव उत्पन्न गर्ने संगीत सुन्छु । ती गीत वा संगीतको सांगीतिक परिदृश्य, सांगीतिक भूगोलले मलाई मेरो काल्पनिक भूगोल सिर्जना गर्न सहयोग गर्छ । संगीतले सिर्जना गर्ने खास भाव चाहिएको खण्डमा म त्यो संगीत पटक पटक सुनेर केही लेख्छु र लेखनमा त्यो भाव ल्याइछाड्छु, मलाई त्यो भाव चाहिन्छ नै !