एडगर डिगाको यो डान्सिङ क्लास नामक चित्रकला हेर्दाको सुन्दर, रङ्गीन, जीवन्त र मनोहर छ । यहाँ पेरिस ओपेराका नर्तकीहरू कुनै नृत्यको अभ्यासमा मग्न छन् । पक्कै चित्रकार डिगा यी नर्तकीहरूको प्रशंसक हुनुपर्छ, जसका कारण उनी अभ्यासस्थलमा नै पुगेर यो चित्रकला बनाउन जोडबल गरे ।

यो चित्रकलाको सबैभन्दा रोचक पक्ष चाहिँ यसले सिर्जना गर्ने भ्रम नै हो । एक शरीरमा उम्रिएका विविध टाउकाझैँ देखिने गरी सर्जकले यो कला बनाएका छन् ।

पेरिस ओपेरामा नृत्य प्रदर्शन गर्ने बलेरिनाहरू (नर्तकी)का बारेमा धेरै पेन्टिङ बनाएका छन् । उनको ओपेरा प्रेमले यसो गर्न बाध्य पार्यो । अर्कोतर्फ उनी नियमित रूपमा ओपेरा भ्रमण गर्ने र कतिपय अवस्थामा अभ्यासथलोसम्मकै पहुँच भएका कारण पनि उनले तिनीहरूको मुभमेन्टलाई ठ्याक्कै पक्रन सके ।

लामो समयसम्मको अवलोकन, मन्थनपछि यो चित्र बनेको हो । कतिसम्म भने डिगाले जबसम्म चित्त बुझ्दैन, त्यतिञ्जेल पात्रहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सारिरहन्थे । उनको यो चित्रलाई अनुसन्धानकर्मीहरूले एक्स रे गर्दा के पत्ता लगाएका छन् भने धेरै पटक उनले यहाँ देखिएका पात्रहरूहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सारेका छन् ।

र, यो संस्करण सबैभन्दा पूर्ण देखिएको पनि छ ।

यो चित्र उनले आफ्ना पुराना गुरूहरूको सम्मानमा बनाएका हुन् । उनले पुराना गुरूका शैलीलाई यहाँ पछ्याएका छन् ।

युवावस्थाको अधिकांश समय उनले लुभ्र दरबारमा बिताए । दरबारमा रहेका पेन्टिङहरू उनी दिनभर हेरेर बिताउन सक्थे ।

चाँडै नै उनले के पत्ता लगाए भने आफूभन्दा अगाडिका सर्जकहरूले बनाएका मिथकीय तथा ऐतिहासिक पात्रमाथि चित्र बनाएर उँभो लागिने छैन । ती कुनै समयका क्लासिक, गज्जबको काम भए पनि अब तिनको काम छैन । त्यसैले उनले शास्त्रीय कलालाई समकालीन संघर्षसँग जोड्न चाहन्थे । त्यसैले उनले ओपेराका नर्तकीहरूलाई पछ्याउन थाले । यसो गर्नु भनेको उनले फ्रान्सेली कलाको संस्थापनमाथि अवज्ञा देखाउनु थियो । यसका अनेकन् बेफाइदा गाँसिएर आउने थिए तर उनले ती कुनै कुराको परवाह गरेनन् ।

उनले प्रभाववादी चित्रकारहरूसँग मिलेर प्रदर्शनीमा भाग लिए पनि आफूलाई प्रभाववादी चित्रकार मानेनन् । उनी आफूलाई बेग्लै शैली र शिल्पयुक्त चित्रकार ठान्थे । त्यसैले एक्लै र अलग रहेर आफ्नो काममा लागिरहे । उनलाई संस्थापन पक्षसँग त्यति गाँसिनु थिएन । त्यसैले विद्रोही मानसिकताका नयाँ पुस्ताका सर्जकसँग सामूहिक रूपमा आफ्ना चित्रहरू प्रदर्शनमा राख्ने गर्थे । यसो गर्दा उनको नाउँ बाँडिन्थ्यो, उनले एकल चर्चा नपाउन सक्थे । नपाए पनि उनले त्यसलाई मतलब गरेनन् ।

को हुन् एडगर डिगा ?

डिगा सन् १८३४ मा पेरिसको सम्पन्न परिवारमा जन्मिएका थिए । १८ वर्षको उमेरमा नै उनले आफू चित्रकार हुन्छु भनेर घोषणा गरेका थिए । यद्यपि उनलाई कलाकार बन्नु छ भने पहिले पढाइ सिध्याउन आदेश दिइएको थियो र उनले त्यसलाई स्वीकार पनि गरे । उनले कानुनको पढाइ सिध्याएपछि कलाकारितामा पूर्णकालीन रूपमा लागेका थिए ।

उनलाई लुई लामोथले आफ्नो शिष्य बनाए । लुई फ्रान्सेली शास्त्रीय चित्रका महान् हस्ती इन्ग्रेसका शिष्य थिए । लुईको पढाइबाट उनी यति प्रभावित भए कि इटालीको भ्रमणबिना आफ्नो कलाकारिता यात्रा अधुरो हुने महसुस गरेपछि उनी तीन वर्षसम्म इटाली बसी त्यहाँको कला, संस्कृति र सम्पन्न चित्रकारिताको अध्ययन गरे ।

त्यही उनले अर्का चर्चित चित्रकार एडुआर्ड मनेटसँग भेट भयो । मनेटले डिगालाई प्रभाववादी प्रभावशाली चित्रकारहरूसँग भेट गराइदिए । प्रभाववादीहरूलाई ल्यान्डस्केपमा रूचि थियो तर उनलाई थिएन । उनलाई त स्त्रीहरू प्रति रूचि थियो । तिनका प्रत्येक गति, सुर र लयमा उनी भुतुक्क हुन्थे । त्यसैले उनी ल्यान्डस्केपका नाममा बाहिरतिर घुम्न गएर चित्र बनाउनुभन्दा उनी कोठाभित्र घण्टौँ युवतीका गति नियाल्थे र ती गतिबाट नयाँ चित्र बनाउँथे ।

सन् १८८० मा उनको आँखाले धोका दिन थाल्यो । त्यसपछि भने उनी मैनका मूर्तिहरू बनाउन रूचि राख्न थाले । उनको प्रख्यात मूर्तिमध्ये लिटल डान्सर निकै चर्चित छ ।

यो चित्रमा के हेर्ने ?
१. ब्याले युवती
चित्रको मुख्य भागमा रहेकी हरियो पट्टी र श्वेत वस्त्रधारी एउटी केटी यो चित्रमा प्रमुख पात्र भएर उदाएकी छन् । छेउका ब्याले शिक्षकतर्फ सिधा हेरेर उनले भनेको केही सुन्दै गरेको यहाँ देख्न सकिन्छ । उनको गोडाको पोजिसन शास्त्रीय ब्यालेको छ ।

२. ब्याले शिक्षक
यहाँ ब्याले शिक्षक जुल्स पेरोट देखिन्छन् । उनी काठको एउटा छडीको सहारामा उनी उभिइरहेका छन् र उनले हातको यस्तो इशारा गरिरहेका छन्, जसले केही अभिव्यक्त गरिरहेको छ । उनको अनुहारको भाव कठोर छ । त्यो जमानामा जुल्स आफैँमा प्रख्यात नर्तक थिए । त्यसैले उनको गोडामा नर्तकको जुत्ता देखिन्छ ।

३. नर्तकीको ढाड
यो चित्रमा प्रमुख नर्तकीको ठीक अगाडि एउटी नर्तकी देखिन्छे तर उसको ढाड मात्र यहाँ देखिन्छ । ब्याले नर्तकीले लगाउने पहिरन र हरियो पट्टी त्यहाँ देखिन्छ । यो चित्रको एक्स रे गर्दा यी युवती पहिला प्रमुख पात्र थिइन् तर उनलाई पछि ढाड मात्र देखाइदिएका छन् । तर यी युवती चित्रको सिधा अगाडि देखिँदा चित्र पूरै अनौपचारिक बन्न पुगेको छ । तिनको गोडामुनि एउटा कुकुरसमेत उभिएको देख्न सकिन्छ ।

४. थकित नर्तकी
चित्रमा दुई जना नर्तकीहरू थकित अनुहारमा बसेका छन् । तीमध्ये एक जनाले गोडालाई क्रस गरेकी छ भने अर्की युवतीको गोडाको पोजिसन नृत्यमा राखिनेजस्तै देखिन्छ । उनी अर्की थकित युवतीसँग गफमा मग्न भए पनि मनमनै नृत्यमै व्यस्त छिन् जस्तो यहाँ देखिन्छ ।

ती दुई युवतीको ठीकमाथि अर्का दुई युवती केही मिलाइरहेको देखिन्छ । तिनीहरूभन्दा ठीक माथि एक युवती उभिएकी छन् । यो तीन तहको दृश्यमा सबै आआफ्ना कुरामा मग्न छन् भन्ने देखिन्छ ।

५. दाहिनेतिरकी युवती
सबैभन्दा दाहिनेतिर एउटी युवती ढाड कन्याइरहेकी छ । उसको टाउकोको पोजिसन, कन्याईको अवस्था र उसको ठीक अगाडिकी युवतीले कानको टप चलाइरहेको दृश्य यति गतिशील देखिन्छ कि उनीहरू अब चल्मलाउलान् झैँ हामीलाई लाग्छ ।

६. ढोका पर्तिर
चित्रमा ढोका पर्तिरका गतिविधि पनि कैद गरिएका छन् । उता सङ्गीतका गतिविधि भइरहेको हो कि भन्ने छनक दिन्छ । यस किसिमको कम्पोजिसनले ढोकाभन्दा बाहिर पनि एउटा बेग्लै संसार छ भन्ने झक्झक्याउँछ ।

७. ढाढसको अँगालो
ओपेरामा नृत्य सिक्ने युवतीहरू एक्लै विरलै आउँथे । उनीहरूसँग प्रायः तिनका आमाहरू हुन्थे । कलिलो उमेरमा कडा मिहिनेत गर्नुपर्दा यी युवतीको आँत मरेर आउँथ्यो । यस्तोमा आमाहरूले ढाढसको अँगालोले तिनको ऊर्जालाई नियमित बनाइरहन्थ्यो । दाहिनेतिरको सबैभन्दा पछाडिको दृश्यले सोही कथा कहिरहेको देखिन्छ ।

यी बाहेक अन्य चिजबिज पनि तपाईंको आँखाले ठम्याउला कि ?