पोहोर
हेलिकप्टर चढेर आएको
चामलको बोरा
चुहिएको छानो चढेर
कुहिएको चामल पकाउने
चुल्हो ओतिरहेछ
ऊ हेर त आमा
बादल मडारिएको
हाम्रो बस्ती
पहिरोले बडारिएपछि
एक बोरा चामल
एक पोका नुन
आलु ,दाल र चाउचाउ
फेरि आउने भो
हेलिकप्टर चढेर
हाम्रो बस्ती
राहत बनेर

 

तिमीले घण्टौँ
लाइन बसेर
भोट हालेकाहरू
कर तिरेर पालेकाहरू
गाँउ फर्कनलाई
हाम्रो घरमा बाढी पस्नुपर्छ
ऊ त्यो पहरो
खस्नुपर्छ
एक थान पाल
एक सरो धोती
भाँडाकुँडा पाउन
तिमीले जिन्दावाद र मुर्दावाद
भनेको हुनुपर्छ
नभए त घण्टौँ लाइन बसेर पनि
रित्तै हात भोकै पर्नुपर्छ

 

बाढी पस्नुपर्छ
पहिरो खस्नुपर्छ
बस्तीहरूमा
सुत्केरीले प्रसवपीडामा
नपाएको हेलिकप्टर
सिटामोल नबोकिएका हेलिकप्टर
माननीयहरू बोकेर
मेरो बस्तीमाथि
थिचिएका
किचिएका
तैरिरहेका
शवहरू गन्दै
उड्छ
भटटटटटटटटटटटट………….

 

हरेक साल
सप्तकोसी उर्लिएपछि
हाम्रो सर्वस्व पुरिएपछि
पर्यटक समाजसेवीहरू
आउँछन् बोकेर
राहत
फोटो खिच्छन्
छापिन्छन् पत्रिकाहरूमा
हाम्रो दुःख बेचेर
पीडा देखाएर
कहलिन्छन्
समाजसेवीहरू
राहत बाँडेर

 


सुरक्षित बस्ती चाहन्छु
एकपटक होइन
पटक-पटक माननीयहरूको
मेरो बस्तीमा गस्ती चाहन्छु
झरीमा नचुहिने छाना चाहन्छु
दुई छाक पेटभरि खाना चाहन्छु
आङमा एकसरो नाना चाहन्छु
यदि तिमी
साँच्चिकै समाजसेवी हौ भने
दीर्घकालीन
समाधान चाहन्छु
ए सरकार
ए समाजसेवी हो
साँच्चै आउने भए
तिमीले ल्याउने भए
यी र यस्तै
बोकेर आऊ
राहत

बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटे, नुवाकोट