कथाकार, उपन्यासकार नयनराज पाण्डेको नवीनतम कृति “जियरा” कथासङ्ग्रहका रूपमा हालै बजारमा आएको छ । जसमा लामा छोटा गरी १३ वटा कथाहरू सङ्ग्रहित छन् । त्यसैमध्येको जियरा एउटा कथा हो । हरेक कथाहरूमा विभिन्न उपकथाहरू बुनिएका छन् भने हरेक कथामा १,२,३,४ गर्दै उपशीर्षकहरू छुट्याइएको छ । एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको समिश्रणले आख्यानको एउटा बेग्लै प्रयोग गरिएको छ । तराई मधेसमा बोलिने स्थानिय शब्दवलीहरूको थुप्रै ठाउँमा प्रयोग भएको पाइन्छ । कतिपय कथामा लेखकले स्थानीय भाषामा कविता पनि समावेश गरेका छन् ।
पहिलो कथा “जनसी” बाट सुरु भएको छ । प्रेमलाई असफल बनाइदिएपछिको विरहले विक्षिप्त बनेकी एक प्रेमिकाको कथालाई मूल कथाका रूपमा अगाडि बढाइएको छ । “आसुँबाट न धुवाँ उड्छ न आसुँको कुनै गन्ध हुन्छ । गरीबहरूको आसुँले हल्ला पनि गर्न सक्दैनन् ।” यो आसुँको भाव लेखकले “शर्पदस” शीर्षकको कथामा तराई मधेसको दुर्गम गाउँमा बसोबास गर्ने गरीब सपेराहरूको जीवनको यथार्थलाई उजागार गरेका छन् । जहाँ भोटको राजनीतिले जैपुन गाउँको सपेरा बस्ती पूरै जलाइन्छ । असली साँप त हाम्रै पेटभित्र कुण्डली मारेर बसेको छ । इच्छाधारी नागिनी हत्याएर सधैँ चुनाव जितिरहने अन्धविश्वासले सपेराका मुखिया हक्कालाई नेता चिन्तामणिले हत्या गरेको कुरा इच्छाधारी नागिनीले कस्तुरीलाई बताउँछे । साँपहरूको कथालाई लेखकले गरीब जनताहरूसँग लगेर जोडेका छन् । हरेक गरीब तक्षक नाग हो । जति यज्ञ गरे पनि आखिर राजा परीक्षितलाई तक्षक नागले नै डसेर मारेको थियो । युगौँदेखि हेपिएर, पिल्सिएर, दमित भएर बसेका गरीब सपेराहरू सबै साँपमा परिणत भएर अन्त्यमा नेताको अन्त्य गर्दछन् । यसरी साँपलाई गरीब जनताको विम्बका रूपमा प्रस्तुत गरिएको छ ।
कथासङ्ग्रहको नामाकरण गरिएको शीर्षक कथा हो “जियरा” जसलाई कथासङ्ग्रहको अन्त्य अन्त्यतिर राखिएको छ । जियरा त्यो गाउँको कथा हो जहाँ गुडियाहरू बोल्दछन् भन्ने विश्वास रहेको छ । उक्त गाउँमा पुरुषहरूले रोजगारीका कुनै पनि उपायहरू अवलम्बन गर्न सक्छन् तर महिलाहरू सासू, बुहारी, छोरी, दिदी, बहिनी, भाउजू, नन्द हरेक चेलीहरूको जिन्दगी जीवनपर्यन्त गुडिया बनाउने कलासँग जोडिरहन्छ ।
हरेक चेलीले आफ्ना लागि एक विशेष गुडिया बनाउँछन् । विवाहपछि आफ्नो लोग्नेको घरमा जाँदा उक्त गुडिया माइतीकै जिम्मा लगाएर जाने गर्दछन् । जाने बेलामा “यो मेरो गुडियामा मेरो आत्मा बसेको छ । म लोग्नेको घरमा गए पनि यो गुडियामार्फत म माइती घरमै बसिरहेको हुनेछु । यो गुडियालाई माया गरेर राख्नू” भनेर आफ्नो माइतीलाई सुम्पिएर जाने गर्दछन् ।
यो कथा बढो रोचक छ र अत्यन्त मार्मिक पनि । माइतीमै छाडिएका यी गुडियाहरूको आमा र बहिनीहरूले अक्षयतृतीयाको दिन कुनै सुन्दर अर्को गुडिया खोजी बिहे पनि गरिदिन्छन् । त्यतिबेला यी गुडियाहरू बोल्छन् । गुडियालाई लेखकले एक विम्बको रूपमा कथालाई अगाडि बढाउँछन् । यस्ता बोल्न सक्ने गुडियाहरू नाग पञ्चमीका दिनदेखि बनाउन सुरु गरेर चैत्र रामनवमीको दिन बनाइसक्नुपर्दछ । उक्त दिन गाउँको कुनै सुत्केरी महिलासँग गएर गुडियालाई दूधले निहाइदिनुपर्दछ । त्यस रात गुडिया बनाउनेको आत्मा गुडियामा प्रवेश गर्छ भन्ने विश्वास गरिन्छ । त्यो रात गुडियासँगै “जबसे देखी तोरे सुरतिया प्यारो, मोरे जियरा पे चलत है आरी” भन्दै गीत गाइन्छ ।
जियरा कथा छोरीको बिहेमा मनज्ञ दाइजो र तिलक दिन नसक्दा दमित भएर, शोषित भएर, अन्याय अत्याचारमा पिल्सिएर मर्न विवश भएका, तेजाबले जलाइएका, आगाले पोलिएका ती अबोध नारीहरूको कथा हो ।
कथामा गाउँ र सहर दुवै परिवेशमा हुने नारीशोषण र नारीमाथि हुने विभिन्न प्रकार अत्याचारलाई समेटिएको छ । कथाको अन्त्यमा एक नारीले “चलाउनु छैन मलाई जियरामा आरी” भन्दै नारी शोषण विरुद्ध आवाज उठाएको कुरालाई पनि नारी आन्दोलनको झिल्काका रूपमा दर्साएका छन् ।
लेखकले राणाशासनका बेलाको शिक्षाको अवस्थालाई चित्रण गरेका छन् । काखीमा पाटी च्यापेर, हातमा नर्कटको कलम समातेर, बकलवाला स्कुलले झोलामा किताबहरू राखेर सेतो खडिया र बुतका बोकेर स्कुल जाने गरेको उल्लेख गरेका “कबै अर्ध्यालो नथाप्नू” कथामा । वान टु थिरी, चवन्नी गिरी । लमकन्ना पाइस, पकाउडा खाइस । जस्ता पुरानो शिक्षा आर्जन गर्दाताका बोलिने ठट्टाहरूलाई समावेश गरेका छन् । शिवराम निकै पढन रहर गर्ने केटो । किताबै किताबले भरिएको दराजबाट किताब निकाल्ने क्रममा ऊमाथि दराज पल्टेर किताबहरूले थिचिएर मृत्यु हुन्छ । मरेको केही दिनपछि स्कुलमा शिवरामको भट्केको आत्मा रातिराति स्कुलभित्र पसेर किताब पढिरहन्छ भन्ने हल्ला फैलाइन्छ । यही बहानामा गाउका भद्रभलाद्मीहरूले यो स्कुलले अरू केटाकेटीहरूको पनि ज्यान लिन सक्छ भन्दै बच्चाहरूलाई स्कुल पठाउन बन्द गरिन्छ ।
आफूले केही प्रगति गर्न सकिएन भनेर चिन्ता लिनुभन्दा अरूले गरेको प्रगति देखेर डाहा लाग्ने हाम्रो समाजको यथार्थलाई कथाकारले “रार” कथामार्फत वर्णन गरेका छन् ।
कथासङ्ग्रहमा एउटा अनौठो कथा छ “फिस फ्राई” । माछालाई फ्राई गर्ने तौरतरिका, रेसिपी र विधिबाट कथाको सुरुवात गरिएको छ । माछापालनसँग जोडेर लेखकले निकै मार्मिक ढङ्गबाट राजनीतिक व्यङ्ग्य प्रस्तुत गरेका छन् । यो कथा पढ्दै जाँदा निबन्ध पो हो कि झैँ पनि लाग्छ । फिस अथार्थ माछालाई लेखकले जनतासँग तुलना गरेका छन् । माछालाई विम्बका रूपमा प्रयोग गरिएको छ । लेखक नयनराज पाण्डे राजनीतिभित्र लुकेको अपराधलाई फिस फ्राईमार्फत खोतल्नेमा सफल देखिन्छन् ।
“दाइमारा” कथामा लेखकले यस्तो वाक्य लेखेका छन् जुन हर पाठकलाई सही लाग्छ । “पुस्तक जस्तो नजिकको साथी कोही हुन्न । पुस्तक पढेर हामी पात्र या घटनालाई मात्र बुझ्दैनौँ, आफैँलाई पनि बुझ्नेछौँ । किताब पढ्नु भनेको ध्यान गर्नु पनि हो हो । अक्षरहरूमा आफूलाई खोज्नु पनि हो ।” जुन कुरा लेखकले सुर्खेत कारागारका बन्दीहरूका लागि कारागारभित्र पुस्तकालय खोलिने सन्दर्भमा बन्दीहरूलाई आफ्नो अनुभव बताउँदा भनेका थिए ।
उक्त कथामा एक बन्दीको प्रश्नमार्फत मधेसमा दोस्रो दर्जाका रूपमा हेपिएर, पिल्सिएर अनागरिक भएर बाँच्न विवश पारिएका मधेसी जनताको यथार्थ चित्रण गरेका छन् । “नागरिकता किन नपाएको ?” “लालपुर्जा नभएर” । “अनि लालपुर्जा किन नबनाएको?” “नागरिकता नभएर” । हर पाठकलाई यो प्रश्नले एकपटक मनमा अवश्य छुनेछ ।
लेखकले हरेक कथामा अनेकौँ उपकथाहरू मिसाएका छन् । देशको उच्च पदमा बसेर भ्रष्टाचार गर्नेहरूलाई साँप मानेका छन् लेखकले । साँपलाई एउटा कथामा गरीब जनताको विम्बका रूपमा प्रस्तुत गरेका छन् भने अर्को कथामा साँपलाई भ्रष्टाचारीका रूपमा ।
हरेक कथामा विम्ब, प्रतिविम्बहरूलाई यथार्थसँग जोड्न निकै सिपालु देखिन्छन् लेखक । शब्द संयोजन र कथाको विषयवस्तुलाई निकै उत्कृष्ट ढङ्गले प्रस्तुत गरेका छन् । यो कथासङ्ग्रहमा हास्यरस, राष्ट्रप्रेम, मायापिरती, पीडा, आक्रोश, दर्शन सबै कुराको मिश्रण रहेको पाइन्छ । यद्यपि उनी आफैँले भनेका छन् कि कथासङ्ग्रह तराई मधेसको पृष्ठभूमिमा केन्द्रित रहेर लेखिएको आख्यान हो । हरेक कथामा कुनै न कुनै रूपमा तराई मधेसको मुद्दा पदार्पर्ण भएको पाइन्छ ।
“सिरी उपमा जागे” सबैभन्दा लामो कथा हो । जसमा नेपालगन्ज सहरको उदय र विस्तार कसरी भयो भन्नेबारे प्रस्तुत गरिएको छ । लु चल्ने भएकाले काठमाडौँमा बस्ने राजामहाराजहरूले आफ्ना दुस्मन या अपराधीहरूलाई सजाय दिनुपऱ्यो भने मधेसमा पठाउँथे । लु लागेर मरेन भने करेत र गोमनजस्ता विषालु सर्पको टोकाइले मर्दथे । सर्पको डसाइबाट पनि बाचे औँलो र कालाजर लागेर मर्थे । कसैगरी मरेन भने सबै सजाय माफ गरिदिन्थे । लेखकले जियरा कथासङ्ग्रहमार्फत तराई मधेसजस्तो विकट ठाउँमा बसोबास गर्ने जनताको उकुसमुकुस, आक्रोश, मुद्दा र मागहरूलाई उजागर गरेका छन् । लेखकले आफ्ना पात्रलाई दुःखका गाथा सुनाउने चरित्रमा मात्रै सीमित पारेका छैनन्, तिनलाई दुखको कारण पत्ता लगाएर विद्रोहका लागि आगाको झिल्का पनि छोडेका छन् । थुप्रै कथाहरूमार्फत पितृसत्ताको कडा आलोचना गरेका छन् । पुँजीवाद र भ्रष्ट राजनीतिले गर्दा सीमान्त जनताहरू गरिबीमा पिल्सिएका कुरा चित्रण गरेका छन् ।
“या देवी” कथामा देवताहरूले सम्पूर्ण देवीहरूको कामको बाँडफाड गराइदिएको वर्णन गरिएको छ । देवताहरूले देवीहरूलाई अनेकौँ शस्त्रास्त्र र आभूषण दिएर दैत्यहरूसँग लड्न पठाएको उल्लेख गरेका छन् । चण्ड, मुण्ड, शुम्भ निशुम्भ र महिषासुर जस्ता राक्षसको नाश गरी देवताहरू जीवन, सम्पत्ति र साम्राज्य रक्षा गरिदिएका बारे प्रस्तुत गरेका छन् । जुन कुरा पौराणिक कालदेखि वर्तमान समयसम्म हामीले मान्दै आएको पनि हो तर कथाकार पाण्डेले यो सबै कुराहरूलाई पितृसत्तासँग लगेर जोडेका छन् । पहिला देवता मानिएका ती खासमा दैत्य थिए । सुकिलो अनुहारका दैत्यहरू । परापूर्वकालदेखि महिलाहरू पुरुषको सम्पत्तिका रूपमा रहेको र वर्तमान अवस्थामा पनि महिलाहरूको अवस्था त्यस्तै नै रहेको कुरा कथामार्फत प्रस्तुत गरेका छन् । कथाको अन्त्यमा पुरुष विरुद्ध मल्लयुद्धको घोषणा गरी दमन र अत्याचार विरुद्ध एक झिल्का निस्किएको चित्रित गरेका छन् ।
त्यसबाहेक जशोधा र धरीछन् बीचको अमर प्रेमकहानी, सात सात जना पुत्रकी आमा सतपुनियाको दिनचर्या, सुनको मुट हुने धरीछन्, प्रधानमन्त्रीको सम्राट् बन्ने रहरजस्ता अनेकौँ उपकथाहरू समावेश गरिएको छ ।
समग्रमा कथासङ्ग्रहमा मधेसका सबै विषयहरूलाई समेटिएको छ । कतिपय कथा काल्पनिक स्वैरकल्पना र यथार्थबीच सेतु भएर प्रस्तुत गरिएको छ । कतिपय कथा पौराणिक र वर्तमान अवस्थाबीचको अन्तस्सबन्ध देखाउन खोजिएको छ । एउटा कथाको शीर्षकमा अनेकौँ उपकथाहरूको जालो बुनिएको छ ।
मधेसको पृष्ठभूमिमा लेखिएका कथासङ्ग्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखनपद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैली अपनाएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।