१. पहिलो लघुकथा
(बेलायतमा बस्ने पहिलो लघुकथाकार)
मन्त्रीको जुत्ता
कृष्ण बजगाईं
मन्त्रीज्यूले केही दिनयता जुत्ता लगाएर हिँडेपछि अनौठो आवाज आएको महसुस गर्नुभयो ।
त्यसो त नयाँ जुत्ता केही दिन चुँइकिने, अलि अप्ठ्यारो हुने वा समाउने हुन्छ नै तर त्यो त केही महिनै भइसकेको थियो । त्यो आवाजको बारेमा आफैँलाई भ्रम भएको हो कि जस्तो पनि भयो तर उहाँले धेरैपल्ट उही आवाज सुन्नुभयो ।
मन्त्री हुने हल्ला पत्रिकामा छापिनेबित्तिकै उहाँले जुत्ताको अर्डर गर्नुभएको थियो । त्यसो त मन्त्रीज्यूको खुट्टालाई मिल्ने जुत्ता बजारमा किन्न पाइँदैनथ्यो, नयाँ अर्डर गर्नुपर्दथ्यो ।
मन्त्री भएको खबर रेडियोबाट सुन्नेबित्तिकै उहाँ जुत्ता अर्डर गरिएको दोकानमा पुग्नुभयो । र, लगाइरहेको चप्पल त्यहीँ छाडी जुत्ता कसेर हिँडिहाल्नुभयो ।
जुत्ता त साह्रै सजिलो थियो । कतै खाँदैन थियो । केही महिना यता भने जब–जब जुत्ता लगाएर हिँडनुहुन्थ्यो, तब–तब दुःख, चित्कार, पीडाको आवाज आएको अनुभूति हुन थाल्यो ।
केही समयपछि त्यो जुत्ताको रङमा पनि परिवर्तन आएको देख्न थाल्नुभयो । मन्त्रीज्यूले त्यसमा पालिस दलेर खुब चम्काउनुभयो । जति–जति जुत्ता टल्किँदै जान्थ्यो, दुःखी, पीडित र ख्याउटेका अनुहार झन्झन् स्पष्ट देखिन थाल्यो जुत्तामा ।
उहाँले पीडाका आवाज सुनिरहनुभयो, बिम्ब देखिरहनुभयो । यस्तो आश्चर्यजनक घटनाका बावजुद पनि मन्त्रीज्युले त्यो जुत्ता लगाउन छाडनुभएन ।
किनकि त्यो जुत्ता साह्रै सजिलो थियो ।
###
(बेलायतमा बसेर लघुकथा लेख्ने पहिलो व्यक्तिको रूपमा कृष्ण बजगाईलाई लिइन्छ । पहिल्लो समय उनी बेलायतमा बस्दाबस्दै नेपालबाट “संवैधानिक पत्नी” प्रकाशित भएको थियो ।
कृष्ण बजगाईं नेपाली साहित्यमा पछिल्लो कालखण्डको विशिष्ट हस्ताक्षर हुन् । उनी विविध विषयमा कलम चलाउँदा चलाउँदै लघुकथामा पनि सक्रिय छन् । त्यसो त उनले अनलाइन साहित्यिक पत्रिका पनि सञ्चालन गरिरहेका छन् । लघुकथा समाज नेपालको अन्तर्राष्ट्रिय समितिका संयोजक पनि हुन्, उनी । कृष्ण बजगाई राजनीति विषयमाथि चोटिलो व्यङ्ग्य सहितको लघुकथा लेख्न खप्पिस छन् ।
प्रस्तुत लघुकथा “मन्त्रीको जुत्ता” राजनीतिक व्यङ्ग्य सहितको गम्भीर लघुकथा हो । कथामा एउटा नेता मन्त्री बनेपछि चप्पल छोडेर जुत्तामा कसरी आकर्षित हुन्छ र मन्त्रीको चम्किलो जुत्तामा आश्चर्यजनक हिसाबमा के-के चम्किएको छ भन्ने प्रष्ट देखाइएको छ । लघुकथा स्वस्थ र पूर्ण छ ।)
२. सक्रियकालीन लघुकथा
ओझेल
प्रकाश बस्नेत गफाडी
आभास मेरो फेसबुके साथी। ऊसँग फेसबुकमार्फत साथीको रूपमा जोडिएको ठ्याक्कै पाँच वर्ष बितिसकेछ। फेसबुकका मेरा कैयौँ साथीहरुमध्ये मलाई आभासको बढी याद आउँछ। त्यसको कारण पनि छ। हामीले आपसमा भेटेका पनि छैनौँ। हामीले आपसमा फोनमार्फत बोलेका पनि छैनौँ। तैपनि मलाई उसको याद आइरहन्छ। ऊ अलि अर्कै पाराको मान्छे छ। फेसबुकमा मेरा अरु कयौँ साथीहरुले सालाखाला हप्तामा दुई तीन पटक स्टाटसका साथ आआफ्ना नानातरहका तस्बिर राख्छन्। अधिकांश साथीहरु कि एक्लै कि साथीहरुसँग बसेका, कि आफ्ना बच्चाबच्ची वा आआफ्ना श्रीमतीहरुसँगका तस्बिर सम्प्रेषण गर्दछन्। तर आभास मलाई बेग्लै प्रकृति र प्रवृत्तिको लाग्छ किनकि ऊ प्रायः कि आफ्नो बासँगको तस्बिर राख्छ कि ऊ आफ्नी आमासँगको तस्बिर सम्प्रेषण गर्छ कि ऊ बाआमा दुवैसित भएको तस्बिरमा देखापर्छ। आहा! उसको आफ्नो बाआमाप्रतिको सद्भाव र उहाँहरूप्रतिको प्रेम ! म र मजस्ता धेरै साथीहरू ऊबाट प्रभावित भएको हुनुपर्छ।
मलाई यस्तो लाग्दथ्यो, मैले उसका बाआमालाई कहीँ कतै देखेँ भने पनि सजिलै चिन्नसक्छु होला। बारबार फेसबुकमा देखेका कारण ! यस कलियुगमा यस्ता श्रवणकुमारहरु पनि भेटिँदारहेछन् ! म यही सोच्दथेँ।
एकदिन अचानक उसको स्वयम्बर गर्दाको तस्बिरका साथ फेसबुकमा एउटा स्टाटस आयो। ओहो! मित्रको चाँडै विवाह हुँदैरहेछ। मैले पनि अग्रिम बधाईका खातिर एउटा कवितामय शुभकामनाको श्लोक राखिदिएँ कमेन्टका रूपमा।
केही दिनपछि उसको विवाह सम्पन्न भयो। उसको वालभरि शुभकामनाका कयौँ कमेन्टहरू ओइरिए। विवाहपछि पनि उसका कैयौँ स्टाटसहरु आए, आइरहे। तर उसको तस्बिरसँग अब आमाको तस्बिर टाँसिएन, न त उसका बाको नै तस्बिर राख्यो उसले। अब ऊ श्रीमतीका अनेक भावभङ्गिमासहितका तस्बिरहरुका साथ उपस्थित हुनथाल्यो फेसबुकभरि। श्रीमतीसँगका खाईपिई, घुमघाम, गफगाफ, आदिका दृश्यहरूले मात्रै प्रश्रय पाउन थाले। त्यसको प्रभाव उसका अरू साथीहरूलाई पर्यो कि परेन कुन्नी तर मेरो स्मृतिबाट उसका आमा-बाका तश्वीरहरु ओझेलिँदै जान थालेका छन्।अब त उनीहरुलाई कतै देखेँ भेटेँ भने पनि चिन्न सक्दिनँ होला।
###
(नेपाली लघुकथाको पचासको दशकलाई सक्रियकालीन समय मानिन्छ । यसै समयमा लघुकथाकार प्रकाश बस्नेत गफाडीको नेपाली साहित्यमा उदय भएको हो ।
प्रकाश बस्नेत गफाडी मूलत: गजलकार/मुक्तककार हुन् । यसका अलावा गफाडी कथा र लघुकथा पनि लेखिरहेका छन् । उनीको आख्यान र काव्यमा केही कृतिहरू प्रकाशित छन् ।
प्रस्तुत लघुकथा “ओझेल” लघुकथाको सिद्धान्तअनुसार सामान्य लघुकथा हो तर यस लघुकथाले बोकेको विषय अत्यन्त समसामयिक र मर्मस्पर्शी छ । अधिकांश फेसबुक प्रयोगकर्ताहरूले आफ्ना मातापितालाई गरेको बेवास्ता लघुकथाले प्रष्टिएको छ । “ओझेल” शीर्षक सार्थक छ ।)
३. मलाई मन परेको लघुकथा
प्रतिविम्व
लामिछानेको कुखुराको भाले खोरबाट निस्कियो। खुबै सानले पँखेटा फट्कारो र घाँटी तन्काएर बास्यो, “कुखुरी काँ…।”
डल्लीको घरमा करकराउन थालेकी पोथी कुखुरी थिई। भाले बासेको सुनेर दगुर्दै लामिछानेको करेसाबारीभित्र पसी।
भालेले पोथीलाई खानेकुरा खोस्रेर अनुरोध गर्यो। अनि खोइ के के हो…।
घरको बरण्डामा उभिएकी डल्लीले आज पनि त्यो दृश्यलाई खुबै चाख मानेर हेरिरही।
भोलिपल्ट बिहान भाले बासेन।
धमिलो बिहान उज्यालिँदै गयो। भाले बासेन। समयले भालेलाई पर्खिएन। पूर्व क्षितिजमा सूर्योदय भयो। भाले बासेन। बरन्डामा उभिएकी डल्ली भालेकै प्रतीक्षामा थिई तर, भाले बासेन।
लामिछानेले चारो छरे आँगनमा। साना-ठूला, मझौला सबै खाले कुखुराहरुले तँछाडमछाड गर्दै चारो टिपे तर, यहाँ पनि भाले कुखुरो देखिएन।
डल्लीको मन एकतमासको भयो। आज कुनै ठूलो कुरो हराएजस्तो महसुस भयो।
ऊ हठात् भित्र कोठामा पसी। आफ्नो पतिको तस्विरलाई खुबै जतनले सिरानीमा राखेकी थिई। उठाएर छातीमा टाँसी र मायाले भरिएका औंलाहरूले सुम्सुम्याउँदै भनी, “मेरो कालू ! तिम्लाई कसले बेपत्ता बनायो? सरकारले कि आफ्नै लडाकुले ?”
###
(लघुकथाकार पर्शुराम घिमिरे पुराना लघुकथाकार हुन् । लघुकथाको शिल्प र प्रस्तुतिमा लघुकथाकार घिमिरेको विशेष चासो र मोह छ । उनी लघुकथा समाज, नेपालको १ नं. प्रदेशको सचिव पनि हुन् । लघुकथा लेखनको अलावा पर्शुराम घिमिरे कलेजमा प्राध्यापन पनि गर्दछन् । उनका केही साहित्यिक कृतिहरू प्रकाशनमा आएको पाइन्छ ।
प्रस्तुत लघुकथा “प्रतिविम्व”मा लघुकथाकार पर्शुराम घिमिरेले पंक्षीप्रेमलाई अद्भुत रुपमा प्रस्तुत गरेका छन् । राम्रोसँग लघुकथालाई हेरिने हो भने कथाले यौनआनन्द र यौनपीडालाई बडो मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । कथा अत्यन्त श्लील र शक्तिशाली छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।