साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जम्मा तीन पटक बिरामी परेँ: १ सय १ वर्षका सत्यमोहन जोशी

Chovar Blues Mobile Size
सत्यमोहन जोशी

 

कोभिड–१९ भन्ने रोग बोकेर हिँडिरहेको अदृश्य कोरोना भाइरसको वितण्डा संसारभरि ब्याप्त छ । आधा संसार लकडाउनमा र सम्पूर्ण संसार आर्थिक मन्दीमा छ । यस्तो बेलामा आफ्नो एक सय १ औं जन्म दिन आइरहेको पूर्व सन्ध्यामा सत्यमोहन जोशीले स्वास्थका बारेमा केही कुरा गरेका थिए । उनले यसअघि बिफरको महामारी र हैजाको महामारी भोगेका थिए ।

उनको जन्मदिन मनाउन लकडाउनका कारण धेरै कम व्यक्तिहरु मात्र घर पुगेका थिए । परिवारका सदस्यहरुले पनि केही पत्रिका र विशिष्ट व्यक्तिहरुलाई मात्र केही बेरका लागि परैबाट शुभकामना दिने व्यवस्था गरे । साहित्यपोस्टका प्रतिनिधिले पनि उनीसँग थोरै मात्र कुराकानी गर्न मौका पाए । उनले हाम्रा प्रतिनिधिले बिरामी परेको सन्दर्भमा कुरा गर्दा भने, ‘अहिलेसम्म तीन पटक बिरामी परेको छु । तर अस्पताल चाहीँ भर्ना भएको छैन ।’

उनको स्वास्थ किस्सा सबैका लागि रमाइलो हुन सक्दछ ।

००००

बजारमा दीर्घजीवन बाँच्ने उपायका विषयमा अर्तिबुद्धि दिने धेरै वैद्य, हकिम, डाक्टर र योगीहरु भेटिन्छन् । कतिपय आर्युवेद र योगीहरुको पेसा नै के खाने, के नखाने, के गर्ने, के नगर्ने प्रवचन र ती प्रवचनमा समेटिएका पुस्तकहरुका भरमा टिकेको छ । यी सबैको एकै रटान छ– रक्सी, मासु बिल्कुलै नखाऊ । बिहानै सबेरै उठ र योग–ध्यान गर ।

sagarmani mobile size

उमेर र रोगले कस्दै लगेपछि धेरै मानिस यस्ता हकिमहरुको आम्दानी पढाउने ग्राहक बनेर उनीहरुको पथमा लाग्छन् । भलै यस्ता ग्राहकले दीर्घजीवन पाएको बिरलै सुनिन्छ । बरु यस्ता योगी सन्यासीहरुको थैली भने राम्रैसँग भरिने गरेको छ ।

सत्यमोहन जोशी सोमबार दिउँसो एक सय वर्षमा टेक्दैछन् । सय वर्ष बाँच्नु आफैमा उपलब्धिपूर्ण हो । त्यसमा पनि पूर्ण होसका साथ युवाझैँ शारीरिक र मानसिक स्वास्थ्य लिएर बाँच्नु विरलै हुने घटना हुन् । उनी सय वर्ष पुग्दा पनि चश्मा लगाउँदैनन् । लठ्ठी टेक्दैनन् । कान सुन्ने मेसिन लगाउँदैनन् । माछा, मासु, रक्सी उनका नियमित खानपिनका परिकार हुन् । एकपटक राम्रोसँग भेटेका मानिसलाई सजिलै चिन्दछन् । आफ्ना सबै काम आफैं नियमित गर्छन् । धेरै टाढा हिँड्नु पर्‍यो भने मात्रै गाडी चढ्छन्, नत्र पैदल यात्रा गर्छन् । केवल मन लगाएर योग–ध्यान गर्दैनन् । भेटेसम्म माछा मासु खान्छन् । राति सुत्ने बेलामा एक पेग रक्सी उनका लागि अनिवार्य जस्तै छ ।

उनी सय वर्ष पुग्दा पनि चश्मा लगाउँदैनन् । लठ्ठी टेक्दैनन् । कान सुन्ने मेसिन लगाउँदैनन् । माछा, मासु, रक्सी उनका नियमित खानपिनका परिकार हुन् । एकपटक राम्रोसँग भेटेका मानिसलाई सजिलै चिन्दछन् । आफ्ना सबै काम आफैं नियमित गर्छन् ।

के सत्यमोहन जोशीले प्रकृतिलाई चुनौति दिएका हुन् ?

शनिबार नई प्रकाशनले एक दर्जन श्रष्टालाई सम्मान गर्ने कार्यक्रम थियो । कार्यक्रमका प्रमुख वक्ता र अतिथि थिए, यिनै सत्यमोहन जोशी । सबैलाई सम्मान गरिसकेपछि एउटा टेबुलमा पनिर पकौडा र चिकेन रोस्ट खाँदै गर्दा यो पंक्तिकार उनलाई सोध्यो, ‘तपाईंले त सारा योगी संन्यासीहरुको व्यापार नै चौपट बनाइदिनु भयो ।’

‘किन र ?’ उनी सचेत भए ।

‘योगी, संन्यासीहरुले जेजे नगर्नू, नखानू भन्छन्, तपाईं त्यहीत्यही खानुहुन्छ, त्यहीत्यही गर्नुहुन्छ ।’

उनी मुस्कुराए । उनका धेरैजसो दाँत पनि सग्लै रहेछन् । स्मरण शक्तिको कुरा त गर्नै पर्दैन । बाग्मतीमा पानी भर्न आउने युवतीलाई लुकीलुकी हरेको र पौडी खेलेका कुराहरु घन्टौं बताएर थाक्दैनन् । खुलामञ्चमा राणा प्रधानमन्त्रीहरुको सवारी हेर्ने, ९० सालको भुइँचालोको वर्णन गर्ने, बिपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा संस्कृति विभागका प्रमुख हुँदाका घटना, चीनमा अध्ययन गर्दा अरनिकोलाई नेपाली समाजमा परिचित गराउन गरेको प्रयास र प्रज्ञा प्रतिष्ठानमा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिका विषयमा गरेका कामहरु तिथिमितिका साथ भनिरहन्छन् ।

‘बुढौलीको लक्षण केवल एउटा कुरामा मात्र छ,’ उनका नजिक रहेका मानिसहरु भन्छन्, ‘बुढाले आजभोलि आफ्ना पुराना कुरा मात्रै सुनाउँछन् । नयाँ अध्ययन अनुसन्धानतिर ध्यान दिन सकेका छैनन् । अध्ययन र अनुसन्धान अलि कम भएको छ ।’

मनोविज्ञहरु भन्छन्, ‘त्यही मानिस वृद्ध हो, जसले नयाँ कुरा दिन सक्दैन । धेरै मानिसमा ४५ वर्षपछि नयाँ कुरा दिनसक्ने क्षमता घट्न थाल्छ ।’

गोरखापत्रका पत्रकार सत्यमोहन जोशी सय वर्ष पुगेपछि बल्ल ४५ वर्षे उमेरको लक्षण देखाउन थालेका छन् ।

तर जोशीले आफ्नो जीवनमा यति काम गरेका छन्, जसको स्मरणहरुले मात्र पनि मानिसलाई रोमाञ्चित बनाउँछ । उनले बोल्ने हरेक कुराहरु नयाँ पुस्ताका लागि कौतुकमय हुने गरेको छ । उनले बनाएका इतिहास पनि अब बिरलै कुनै स्रष्टाले बनाउनेछन् । उनले बोलेका हरेक कुरा नेपाली साहित्य, संस्कृति र इतिहासका विद्यार्थीहरुका लागि ‘कोर्स बुक’ सरह हुने गरेका छन् ।

जस्तो, सत्यमोहन जोशी राणाकालमै गोरखापत्रका पत्रकारका रुपमा २००१ देखि २००६ सालसम्म लमजुङ् र तनहुँका गाउँहरु पुगेका थिए । ती गाउँहरुमा बाहुनहरु पढ्न बनारसतिर गएका हुन्थे । गुरुङ् र मगरहरु भने दोस्रो विश्वयुद्धका लागि अंग्रेजी सेनामा भर्ना भएर विश्वभरि पुगेका थिए । सम्पूर्ण गाउँहरु पुरुषविहीन थिए । महिलाहरु पानीपँधेरा गर्थे र खेतीकिसानी गर्थे ।

‘त्यतिबेला अंग्रेजी सेनामा भर्ना भएर विदेशी मुद्रा ल्याउनु र अहिले कतार मलेसिया गएर आफ्नो परिवार पाल्नु उस्तैउस्तै हो । हामी पहिले पनि अर्काकै लागि मर्ने मार्ने काम गर्‍यौँ । अहिले पनि अर्काकै लागि काम गरिरहेका छौं,’ जोशी भन्छन् ।

यसरी गल्लावालसँग पछि लागेर अंग्रेज सेनामा भर्ना भएका धेरै किशोर र युवाहरु कहिल्यै गाउँ फर्केर आएनन् । आफ्ना खसम सम्झेर गीत गाएर जीवन बाँच्ने र मृत्युसम्म पनि उसैलाई पर्खने चलन नेपाली समाजमा आज पर्यन्त कायम रहेकोमा उनी आश्चर्य चकित हुने गरेका छन् । ‘त्यो बेला पनि फाट्टफुट्ट केही महिलाहरुले अरुसँग विवाह गरे होलान्, अहिले पनि गर्छन् । नत्र नेपाली समाज उतिसारो परिवर्तन गएको छैन । महिलाको अवस्थामा पनि धेरै परिवर्तन भएको छैन ।’

मनोविज्ञहरु भन्छन्, ‘त्यही मानिस वृद्ध हो, जसले नयाँ कुरा दिन सक्दैन । धेरै मानिसमा ४५ वर्षपछि नयाँ कुरा दिनसक्ने क्षमता घट्न थाल्छ ।’ गोरखापत्रका पत्रकार सत्यमोहन जोशी सय वर्ष पुगेपछि बल्ल ४५ वर्षे उमेरको लक्षण देखाउन थालेका छन् ।

तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति

गाउँगाउँ गएर यस्ते विरही गीत संकलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखे । यही पुस्तकले २०१३ सालमा मदन पुरस्कार पायो । मदन पुरस्कार गुठी पनि यही वर्ष स्थापना भएको थियो । उनले लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरुको खोज गरे । तिब्बतका लागि नेपालले मुद्रा बनाउने जिम्मा लिएको र त्यसबाट नेपालले मनग्गे आम्दानी गरेको कुरा पनि उनले पत्तो लगाए ।

यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि उनले दोस्रो पटक मदन पुरस्कार पाए । तेस्रो पटक २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए । तीन पल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन् र सम्भवतः अन्तिम पनि । किनभने मदन पुरस्कार गुठीले केही वर्षदेखि एउटै व्यक्तिलाई पटक–पटक मदन पुरस्कार दिने नीति अघोषित रुपमा बन्देज लगाएको छ ।

पुरातत्व विभागको पहिलो निर्देशक

उनलाई पुरातत्व विभागका पहिलो निर्देशक बन्ने सौभाग्य पनि प्राप्त भयो । २०१५ सालमा पुरातत्व विभागको निर्देशक हुँदा उनको उमेर केवल ३८ वर्षको थियो । कतिपयले राष्ट्रको ठूलो मध्येको एउटा पदमा उनको नियुक्ति हुँदा विरोध पनि गरेका थिए । उनी आफैंलाई पनि सरकारले त्यति ठूलो पदमा नियुक्ति दिएको कुरामा विश्वास लागेको थिएन । ‘कति दिनसम्म त रेडियो नेपालले भनेको संस्कृति विभागको प्रमुख हुने सत्यमोहन जोशी को रहेछ भनेर म आफैं पनि खोजी गरिरहेको थिएँ । संस्कृति विषयमा अध्ययन गरिरहेको मान्छेले अर्को संस्कृतिविद् सत्यमोहन जोशी चिन्न नसक्नु मेरो भूल हो भन्ने ठानिरहेको थिएँ ।’

उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उनले दुई वटा काव्य, पाँच कथा संग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरु लेखेका छन् । समालोचकहरुले उनका ५० वटा पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ ।

आफ्ना महत्त्वपूर्ण पुस्तकको सम्झना गर्न लगाउँदा उनी निकैबेर गम खाए । सायद अरु श्रष्टालाई झैँ सत्यमोहनलाई पनि आफ्ना सबै पुस्तक प्यारा थिए । तै पनि उनले भने, ‘२०२७ सालको कुरा हो । म प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ थिएँ । मेरो नेतृत्वमा बिहारीकृष्ण श्रेष्ठ, जङ्गबहादुर सिंह ‘स्थिर’, प्रदीप रिमाल, चुडामणि बन्धुहरु मिलेर नेपाली भाषाको उत्पति थलो कर्णालीको सिन्जा प्रदेश गयौं । त्यो बेला आजको जस्तो सञ्चार, बाटोघाटो र त्यस क्षेत्रको जानकारी थिएन । त्यो क्षेत्रमा जाँदा ज्यानको माया मारेरै जानुपर्दथ्यो । सबैजना घरबाट बिदा हुँदा अन्तिम बिदाइ हो जस्तै गरेर बिदाइ भएका थियौं । दुई महिनासम्म गरिएको त्यही खोजले नेपाली भाषाको प्रारम्भिक इतिहास बाहिर आएको थियो । त्यो संयुक्त प्रयासले मदन पुरस्कार पनि पायो । त्यो किताब मलाई बढी प्रिय छ ।’

अरनिकोबारे जानकारी दिने पहिलो व्यक्ति

नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएनन् । अझै पनि उनलाई नेपाली भाषाभन्दा नेवारी भाषा बोल्न सजिलो लाग्छ । तै पनि उनी नेपाली भाषाको खोज गर्नुलाई जीवनकै महत्त्वपूर्ण समय मान्दा रहेछन् ।

उसो त कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी नै हुन् । नेपाली कलाकार चीनमा पुगेर ठूलो काम गरेको कुरा मात्र सुनेका सत्यमोहन जोशीले चीनमा बस्दा अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन अनुसन्धान गरेर ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गरे ।

त्यसैगरी सत्यमोहनकै पहलमा लिच्छविकालीन राजा मानदेवका धेरै कुरा बाहिर ल्याए । उनले लेखेको पुस्तककै आधारमा नेपाली इतिहासमा राजा मानदेवलाई पहिलो लिखित इतिहास भएको राजाको रुपमा गणना गरिएको थियो ।

कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी नै हुन् ।

गाईजात्रा व्यवस्थित रुपमा सञ्चालनको श्रेय

नेपालमा हाँस्यब्यङ्ग्य महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जस पनि जोशीलाई नै जान्छ । तत्कालीन राजा वीरेन्द्रले विरोधीको स्वर सुन्न एउटा व्यवस्थित ठाउँ खोज्न आग्रह गर्दा त्यस्तो काम प्रज्ञा प्रतिष्ठानले नै गर्नुपर्ने उनको सुझाव थियो । बेलायत पढेका राजा वीरेन्द्र लण्डनको ‘स्पीकर कर्नर्स’बाट प्रभावित थिए । जहाँ वक्ताले आफ्ना असन्तोषको कुरा राख्न पाउँथ्यो । यस्ता विरोधलाई कलात्मकरुपमा प्रस्तुत गर्न गाईजात्रा महोत्वस उपयुक्त हुने सुझाव संस्कृतिविद् जोशीको थियो । यो सुझाव स्वीकृत भएपछि उनले हाँस्यव्यङ्ग्यमा काम गरिरहेका साहित्यकार र कलाकारहरुलार्य बटुलेर महोत्सव सुरु गरे ।

यसको पहिलो सो राजा–रानी र दरबारका व्यक्तिहरुले हेर्ने गर्दथे । २०३५ सालबाट सुरु भएको यही महोत्सबबाट आजका प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यहरुको जन्म भएको कुरा तत्कालीन अवस्थामा सत्यमोहन जोशीको सहयोगी रहेका रामकुमार पाँडे सम्झना गर्छन् ।

यस्तो छ जोशीको दैनिकी

सत्यमोहन जोशी आज पनि बीबीसी नेपाली सेवा सुन्छन् । करिब ६४ वर्षदेखि रेडियो सुन्दै सुत्ने बानी परेका जोशी बीबीसी नेपाली सेवा सुन्ने बानी कहिलेदेखि लाग्यो ठ्याक्कै भन्न सक्दैनन् । यो रेडियो नै उनका लागि देश विदेशका घटना थाहा पाउने माध्यम हो । टेलिभिजन आएपछि केही वर्ष टेलिभिजन पनि हेरे तर त्यसमा उनको रस बसेन । बरु नियमित अध्ययन गर्न भने उनले छुटाएनन् ।

‘यसो एक पेग लिएर रेडियो खोल्छु र एकै पटक बिहान भएको थाहा पाउँछु,’ कालो भादगाउँले टोपी मिलाउँदै जोशी मुस्काए, त्यसपछि भने, ‘बिहान उठ्दा पो थाहा पाउँछु, कति मीठो निद्रा परेछ !’

उनी चिया उति पिउँदैनन् तर बिहान उठेर पानी मज्जाले पिउँछन् । सबैले योग ध्यान गर्नुपर्छ भन्न थालेकाले यसो योग पनि गर्ने प्रयास गर्छन् । तर त्यो उनका लागि कुनै खेल जस्तो लाग्छ । बरु बिहान कतै हिँड्नु पर्‍यो भने रमाइ-रमाइ हिँड्छन् । अति सामान्य खाना खाएपछि उनको भेटघाट सुरु हुन्छ । सय वर्ष पुग्न लागेर होला उनलाई भेट्न ठूलो भिड लागिरहन्छ । भेटघाटपछि उनी साहित्यिक सांस्कृतिक कार्यक्रमहरुमा पुग्छन् ।

‘हरेक दिनजसो कार्यक्रम हुन्छ । प्रमुख अतिथि बनिदिनू पर्‍यो भनेर अनुरोध आउँछ, नाईं भन्ने कुरै छैन,’ थोरै ठट्यौली पारामा भन्छन्, ‘बुढो भएपछिको एउटा फाइदा के भने, सधैं प्रमुख अतिथि बन्न पाइने ।’

हरेक कार्यक्रममा उनी लामै भाषण गर्छन् । इतिहास र दर्शन मिसिएका उनका कुरा रोचक भएकाले पनि उनका कुरा दर्शकले ध्यान दिएर सुन्छन् । आफ्ना कुरा सुनिदिने मान्छे जम्मा हुने भएकाले नै आफू त्यस्ता कार्यक्रममा जाने गरेको उनी बताउँछन् ।

‘यो उमेरमा कुरा सुनिदिने मान्छे चाहिँदो रहेछ । मेरो बानी पनि एक्लै बस्ने छैन,’ जोशी भन्छन्, ‘अब लेख्न सक्दिनँ । हात दुख्छ, त्यसैले बोलेर तिर्सना मेटाउँछु ।’
कार्यक्रमबाट चाँडै फर्किए भने पुनः भेटघाटमा व्यस्त हुन्छन् । साँझ सामान्य दालभात खाएर उनी सुत्न जान्छन् । रेडियो खोल्नुअघि उनी पिउनयोग्य कुनै पदार्थ छ कि भनेर आँखा लगाउँछन् । सधैंभरि पिउँदैनन् । तर जहिले पिउँछन्, एक पेग जति पिउँछन् ।

बीबीसी नेपाली सेवाले समाचार भन्दै गर्दा उनी ओछ्यानमा पुग्छन् र समाचार सक्दा उनी मस्त निद्रामा पुगिसकेका हुन्छन् ।

साहित्यपोस्ट परिवारको तर्फबाट सत्यमोहन जोशीलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया
Loading...