एकादेशमा एउटा करुणापुर नाम गरेको राज्य थियो । त्यस राज्यमा न गणतन्त्र न राजतन्त्र  नै थियो बरु त्यहाँ त आनन्दतन्त्र थियो । राजा हुन्थे तर  निरङ्कुश राजतन्त्र होइन ,५/५ वर्षमा  जनछनोटद्वारा राजा परिवर्तन हुन्थे तर बिनाराजाको गणतन्त्रजस्तो होइन । राजनीतिक प्रणालीअनुसार छनोटमा परेका त्यहाँका  वर्तमान राजाको नाम नै आनन्द थियो । उनी जनतालाई आनन्द दिएर आफू आनन्दित हुने स्वभावका थिए । महिला प्रतिनिधित्वको रूपमा छनोटमा परेकी रानीको नाम  करुणा थियो जो व्यवहारमा करुणा कि खानी नै थिइन् । जनताका लागि कल्याणै कल्याणको योजना ल्याउन सक्ने वर्तमान प्रधानमन्त्रीको नामचाहिँ कल्याणप्रसाद  र  जनछनोटबाटै हालै पदबहाल भएका हरेक जनताका अति प्रिय व्यक्ति  प्रधानसेनापतिका रूपमा थिए जसको नाम प्रेमबहादुर  थियो । महिना दिनदेखि त्यस राज्यमा  तारन्तार सभा चलेको चल्यै थियो ।

एकदिन  राजाको  सभा चलिरहेको समयमा राजाले प्रधानमन्त्रीलाई सोधेछन्- “जनताको इच्छा के रहेछ त ? उनीहरूको इच्छाविपरीत त केही गर्नु  हुदैन है ! अनि उनीहरूले हाम्रो नयाँ योजनामा के के प्रतिक्रिया गरे सुनाउनुहोस् न प्रधानमन्त्रीज्यू ।”

प्रधानमन्त्रीले  भने- ” तपाईँको कृपाले गर्दा जनताले खुसी व्यक्त गरेका छन् । निःशुल्क मीठो खान , निःशुल्क ओषधि गर्न, निःशुल्क वस्न, निःशुल्क लुगाफाटो  लाउन र निःशुल्क पाठशालाको शिक्षा लिन पाउने भइयो भनेर सबै जना  रमाइरहेका  छन् । महाराज!”

पीपी कोइराला

“यसमा मेरो कृपा भन्ने शब्द नजोड्नुहोस् न । तपाईँको योजना नै यस्तो आयो कि सारा देशभरिका जनता एकैपटक सँगसँगै रमाउने भए । “राजाले प्रधानमन्त्रीको तारिफ गर्दै पुनः सोधे- ” तर  प्रधानमन्त्रीज्यू! सबै जनताको रमाइलो वा आनन्द एक साथ सम्भव भएको देखेर म आफैँ छक्क परिरहेको छु ।”

प्रधानमन्त्रीले मुस्कुराउँदै भने –
“हो नि महाराज ! म पनि छक्क पर्दै काम गर्दै छु महाराज । अबदेखि यहाँका जनता कुनै भेदभावबिना आफ्ना टोलका ४ जना नेतासँग एउटै टेबुलमा  सँगसँगै बसेर सरकारी खाना खान पाउँछन् । सरकारी भान्सा घरमा सबै जनतालाई  एकअर्कासँग घुलमिल गरी रमाइलो वातावरणमा हावापानी सुहाउँदो आर्गनिक भोजन खुवाउने व्यवस्था गरिनेछ ।”

प्रधानसेनापतिले सोधे –
“यति धेरै जनतालाई सधैँ खान खुवाउने योजना सफल होला ?”

“कोसिस गर्दा नहुने भन्ने कुरा केही रहेन छ प्रधान सेनापतिज्यू । जनताको कल्याणै कल्याणको काम गर्न सकिँदो रहेछ । त्यसैले उनीहरूको अहिले आनन्दको सीमा छैन । खुसीको बाँध फुट्दैछ ।”

राजातर्फ हेर्दै उनले भने-
” महाराज! यो सब तपाईँको इमानदारिताको नतिजा हो ।”

राजालाई पनि उनले प्रशंसा  गरे र भन्दै गए –

” हो महाराज ! तर मेरो योजना मेरो खुबी  भनेर  पनि नभन्नुहोस् । नत्र मेरो अहं भाव बढेर मभन्दा जान्नेकोही छैन भन्दै घमण्डले मात्तिएर  म कमजोर हुन सक्छु । जनताका लागि भनेर थालेको सबै काम लथालिङ्ग हुन सक्छ ।”

फेरि उनले  भने-
“हो बरु मेरो इमानदारिताचाहिँ म मान्छु । यो दुनियाँमा कल्याणकारी काम गर्न सक्नु र नसक्नुमा मुख्य तत्त्व नै इमानदारिता रहेछ । तपाईँको जनताको आनन्द प्राप्तिप्रतिको प्यास र  काम गर्न सक्ने व्यक्ति सक्षम  र इमानदार व्यक्ति मात्र  छनोट गर्न सक्ने क्षमता र मुख्य तपाईँको पदप्रतिको इमानदारिताले गर्दा नै हामी ४ जनाले मिलेर बनाएको यो योजना बन्न सफल हुँदै गएको हो नि । तैपनि जनताको सहयोग सबैभन्दा महत्त्वपूर्ण  छ । हामीले जनतालाई नै  यस कार्यको पहिलो श्रेणीको श्रेय दिनुपर्छ । हामीले आफूलाई  त ब्रह्माण्ड वा अस्तित्वको इच्छाले  निमित्त भई काम गरेका मात्र हौँ भनि सम्झनुपर्छ । हो कि होइन महाराज ?”
राजाले थपे- ” हो नि, जनता कै त सम्पूर्ण  देन हो नि । उनीहरूकै धन, मन  र शक्तिले उनीहरूकै लागि कल्याणको काम भइरहेको त  छ नि । हामी होस्टे गर्छौँ जनता हैसे गर्छन् ।”

रानीले थपिन्- ” त्यस योजनामा  निःशुल्क यातायात, निःशुल्क टेलिफोन, निःशुल्क मनोरन्जन, निःशुल्क पानी, निःशुल्क बिजुली सुविधा पनि भयो भने त जनताले  वास्तविक रूपमै आनन्दले सरल  जीवन जिउन पाउँथे नि हैन र प्रधानमन्त्रीजी?”

प्रधानमन्त्री – “हो त महारानी ! तर त्यसमा हामी सबैले गहिरो चिन्तन मनन गर्नुपर्छ र हाम्रो मन पनि फराकिलो बनाउनुपर्छ । यति माथिको पदमा हामी छौँ कि हामीले कुनै पनि जनतालाई विपक्षी देख्नु हुँदैन । सबैले हाम्रो आशा र भरोसा गरेका छन् । थोरै होस् तर  सबैका निम्ति होस  भन्ने मुल मन्त्र बिर्सनु हुँदैन । त्यसैले यदि सबै जनतालाई पुग्ने गरीको आम्दानी बढ्दै गएमा हजुरले सोच्नुभएक‍ो सुविधा पनि दिनुपर्दछ महारानी ।”

त्यहीँ बसेका प्रधानसेनापतिले  सोधे-” सबै जनतालाई निःशुल्क खान, बस्न, लाउन, पढ्न र औषधि गर्न रकमचाहिँ कसरी जम्मा गर्न सक्नुभयो एकपटक छोटकरीमा सुनाउनुस् न प्रमज्यू?”

“सुन्नुहोस् प्रधानसेनापति ज्यू!
सर्वप्रथम सबै जनताको वर्तमान यथार्थ अवस्थाको तथ्याङ्क लिएँ । यस करुणापुरको नागरिकता प्राप्त सबै जनता र उनीहरूका छोराछोरी  कहाँ कहाँ बसेका छन् ? उनीहरूसँग आर्थिक क्षमता कति छ ? उनीहरूको आर्थिक गतिविधि के के छ? उनीहरूको अति आवश्यकता के के छ ? उनीहरूको सरकारसँग अपेक्षा के के छन् ? आदि तथ्याङ्क लिएँ । उनीहरूलाई नेटवर्क सञ्चारको सहयोगले हाम्रो यो कल्याणकारी योजना पनि  प्रत्यक्ष रूपमा अडियो र भिडियो सहित सुनाएँ । सबै जनता योजना सुनेर खुसीले गद्गद भएको पाएँ ।”
उनीहरूमध्ये ९०% जनताले खुसीले नै आफ्नो सम्पत्तिको १०% रकम यो योजनाका लागि दिन सक्ने भनेर मलाई जबाफ पठाए ।

प्रधानमन्त्रीले थप्दै गए –
“त्यसैगरी सबै आधारभूत  आवश्यकता (खान,  लाउन, बस्न,  उपचार, शिक्षा) सधैँलाई  निःशुल्क हुन्छ भने   हामी पनि सहयोग गरिहाल्छौँ नि भनि राष्ट्रसेवक कर्मचारीहरूले     खबर पनि गरे । उनीहरूको तलबभत्ताबाट बर्सेनि १०% रकम दान दिनुपर्छ भनि प्रस्ताव थियो ।”

“साना किसान, साना उद्योगि, साना व्यापारीहरूले पनि माथिका निःशुल्क सेवाहरूको ग्यारेन्टी हुन्छ भने त आआफ्नो कारोवार ठुला कारोवारमा रूपान्तरणका लागि सरकारलाई वार्षिक  न्यूनतम रकम लिएर जिम्मा दिन सक्ने कुराको खबर पठाए । त्यसबाट सरकारी ठूलो फमले ठूलो स्केलमा वस्तु र सेवा उत्पादन गरी देशभित्रका जनतालाई आवश्यकताअनुसार राखेर बाँकी वस्तु र सेवा  निर्यात गरी आएको नाफाको रकम  त्यो योजनामा हाल्ने भनिएको छ ।”

रानी खुसी हुँदै भन्छिन् -” हामी सरकारमा बस्नेहरूको अभिभावकत्वप्रति जनताले विश्वास गर्ने हो भने सम्पत्ति त छेलोखेलो पुग्ने गरी जनताबाटै उठ्ने  रछ पो ।”

“हो त महारानी ! ” प्रधानमन्त्रीले भने ।

“त्यसैगरी विदेशमा कमाउन गएकाहरूले त यो निःशुल्क योजनाको स्वागत गर्दै  ५ वर्षसम्म आम्दानीको १५% रकम लगातार दिने । त्यसपछि आआफ्नो सिप र पुँजीसहित सदाका लागि यहाँ करुणापुर  आउने  भनि खबर पनि गरे । यसरी ती सबै रकम उठ्दा त   १५ वर्षका लागि खर्च रकम  उठिहाल्यो नि ।”

“तपाईँको बुद्धिलाई मान्नैपर्छ ।”
प्रधानसेनापतिले तारिफ गरे र हौसिँदै  भने-
”  हामी सेना र प्रहरीहरूले  पनि आर्थिक योगदान दिन्छौँ ।
हामीले खट्नुपर्ने सीमा  सुरक्षा, देशभित्रको शान्ति सुरक्षा र निर्माणमा ५ वर्षसम्म कुनै अतिरिक्त भत्ता नलिई अहोरात्र खट्ने र खटाउने बचन दिन्छौँ ।”

राजाले पनि थपे -” राज्य नै कल्याणको  बाटामा जाने भएपछि त सबै जनता पनि पो स्वःस्फुर्त त्यही बाटो हिँड्न चाहँदा रहेछन् त । एक अर्कालाई  सहयोग गर्न  आतुर नै  पो हुने रहेछन् । ”

“कस्ता राम्रा दिन देख्न पाइने भो अब । अब त यो तेरो यो मेरो भनी तँछाड मछाड हुँदैन होला । कुनै पनि जनता आफूआफू लडाइँ गर्दैनन् होला । कोही कसैको दुस्मन पनि हुँदैनन् होला । खान लाउन खोज्न जानु नपरेपछि चोरी डकैती र यौनधन्दा नि बन्द हुन्छ नै होला  । पद र  पैसाको  अर्थात् नाम र दामको लोभका कारण  हुने  अपहरण, हत्या, हिंसा  अब हुँदैन होला । अनि  सबैखाले अपराध कार्यहरू पनि  आफैँ निर्मूल हुन्छन र हामीले गोलीले गर्दै आएको काम पनि  बोलीबाटै सकिन्छ र हतियारको ठूलो खर्च जोगिन्छ होला । होइन  प्रधानमन्त्रीज्यू ?।”

“हो हो प्रधानसेनापतिज्यूले ठीक भन्नुभयो ।” प्रमले भने।

“त्यसपछि त सबै जनताको ध्यान  आफ्नो  राम/कृष्ण/बुद्ध/किरातेश्वर/अल्लाह/जिजस/वा सबैका आआफ्ना ईश्वर वा आ-आफ्ना परमात्मातर्फ मात्र जान्छ होला नि हैन प्रमज्यू ? ”

“हो त नि महाराज ! अब त जनता आफ्नो जीवन राजनीतिक हस्तक्षेपबिना जिउन सक्छन् । उनीहरूको नाम लिएर  अरू गलत व्यक्तिहरूले  गरेको राजनीति चलन परिवर्तन हुन्छ किनकि जनता नै  त सर्वोपरि र  शक्तिशाली हुन् नि तर अब उनीहरू  एकअर्काको कवच हुनुपर्छ । ”

राजाले फेरि प्रश्न गरे-“महारानीले सोच्नुभएको निःशुल्क यातायाt, निःशुल्क टेलिफोन सुविधा, निःशुल्क पानीबिजुली, निःशुल्क मनोरञ्जन सुविधा पुऱ्याउन सकिन्छ होला नि ?”

“सकिहालिन्छ नि, महाराज!” प्रधानमन्त्रीले कुरा थप्दै गए-

” हामी सबै नेताहरूले पनि ५ वर्षसम्म जनताको सेवा नै धर्म हो भनी कुनै पनि तलब भत्ता नलिई  सेवकको रूपमा काम  गर्नुपर्छ । हामी टोलदेखि राजधानीसम्म  ४/४ वटा मुख्य राजनीतिक पदमा बसेकाहरूले त आफ्नो निजी सम्पत्तिको २५% रकम आर्थिक अनुदानको रूपमा  दिनुपर्छ । यसबाट  विशाल रकम जम्मा हुन्छ अनि पुगिहाल्छ नि ।”

” पक्ष विपक्ष हुने गरी जनतामा फुट पनि आउन दिनु हुँदैन । जनताका असन्तोष पक्षहरूलाई आफ्नो मुद्दा बनाएर विद्रोह गरिरहेका वा हतियार उठाइरहेका सबै नेताहरूलाई पनि  यो  योजना बुझाउँदा उहाँहरू सबैले योजना  मन परेको खबर पठाउनुहुनेछ । उहाँहरू ससम्मान र निसर्त जनताको कल्याणकारी सेवा गर्दै  मानवजीवनको आनन्द लिने काममा लाग्नुहुनेछ । यसबाट सुरक्षातर्फको अथाह खर्च रकम  पनि घट्न जान्छ ।”

“त्यसपछि नेताका पहिचान पनि जनतालाई करुणा प्रदान गरेको आधारमा हुनेछ र जनताले नै ५/५ वर्षका लागि केन्द्रमा राजा, रानी, प्रधानमन्त्री र सेनापतिको पदमा र हरेक टोलमा ४/४ जना  सेवक पदमा काम गर्न पठाउने छन् ।”

रानीले सोधिन् – “देशभरिका जनताले कसरी हामी नेताहरूलाई  छान्लान् ?”

राजा भन्छन् – “यो कामको जिम्मा पत्रकारले पाउनेछन् ।  नेताको जनसेवामा निष्पक्ष र निःशुल्क भूमिका कस्तो छ ?उनीहरू सबैको मुल्याङ्कन न्युट्रल पत्रकारमार्फत हुनेछ ।”

“अनि दलहरूको पक्षधर  पत्रकार मित्रहरूले वास्तविक इमानदार नेताको वास्तविक मूल्याङ्कन गर्न सक्नुहुन्छ  र?”

रानीले शङ्का गर्दै भनिन् ।
“दलहरूले सबै पेसाकर्मीहरूलाई निसर्त बिदा दिने कुरा पक्का भइसक्यो महारानीज्यू । “राजाले स्पष्ट पारे।

रानीले पुनः भनिन् – ” त्यसो भए अब  त यो करुणापुरमा  नातावाद, कृपावाद, जातिवाद, साम्प्रदायिकता, भ्रष्टाचार, खुफियातन्त्र, माफियातन्त्र, गुण्डागर्दि, बलात्कार, हिंसा, कुशासन, ढिलासुस्ती, शोषण, कुरीति आदि सबै हराउँछन् होला ।
जनताहरूबीच एकअर्कामा डाह, ईर्ष्या, द्वेष, मनमुटाउ केही हुँदैन होला । कोही पनि मानसिक विचलनको सिकार बन्नु पर्दैन होला । देशभरि शान्ति, सुख र आनन्दको वातावरण देखापर्छ होला  ।”

रानीले  अझै थपिन्- ” अनि त जनताहरूका माझमा बडिगार्डबिना नै हामी खुलेआम हिँडडुल गर्न पनि सक्छौँ होला हैन प्रधानमन्त्रीजी?”

“हो त नि महारानी ! तपाईँ हामी देशभित्र जहाँ जादा पनि त्यहाँका सबै जनताले कारुणिक र
प्रेमपूर्ण नजरले हेर्नेछन् । अब हाम्रा कोही पनि विपक्षी हुँदैनन् । सामान्य जनताका घर घरमा गएर पनि हामी उनीहरूसँगै बसेर आरामले खान, बस्न  सक्छौँ नि महारानी !” प्रधानमन्त्रीले जबाफ दिए।

राजाले भने – ” लाखौँ दान गर्न सक्ने धार्मिक प्रवृत्तिका जनताले पनि यो योजनामा लाखौँ करोडौँ  दान गर्न सक्छन् नि । ठुलाठुला धनाढ्य व्यक्तिहरूबाट दान, अनुदान र आन्तरिक ऋण पनि  उठाउन सकिन्छ नि ।”

प्रधानसेनापतिले जिज्ञासा राखे- “लु यसरी जनताका लागि निःशुल्क  गाँस, वास ,कपास, स्वास्थ्य, शिक्षा, यातायात, टेलिफोन
र मनोरन्जन खर्च १५/१६ वर्षका लागि पुग्ने भो । त्यसपछिका वर्ष के गरी पुग्छ प्रधानमन्त्रीज्यू ?”
प्रधानमन्त्रीले सजिलै उत्तर दिँदै भने- ” त्यसपछि २०  वर्ष  निःशुल्क सेवा गर्न  पुग्ने रकम उठ्छ । किनकि मुख्य खान , बस्न, लाउन, पढ्न, यात्रामा हिँड्न, टेलिफोन गर्न र  औषधि गर्न पानीबिजुलीसमेत  निःशुल्क व्यवस्था  भएपछि उनीहरूको कमाइको १०% रकम  पनि अरू खर्चमा  लाग्दैन । जनताले यताको १६/१७ वर्ष कमाएर जोडेको रकमले पहिलेभन्दा दोब्बर सहयोग गर्न सक्छन्, हैन र ?”
“हो ठिक भन्नुभो प्रधानमन्त्रीज्यूले ।” एकै स्वरमा तीनै जनाले भने।
प्रधानमन्त्रीले भन्दै गए- ” हामी यस हिसाबले  कम्तीमा ३५ वर्षका लागि ढुक्क हुँदा हुन्छ ।”

“त्यसपछि कसरी खर्च उपलब्ध  हुन्छ ?” प्रधानसेनापतिले थप जिज्ञासा राखे ।

“लगभग ३० वर्ष पछि हाम्रो समाजमा अहिलेको तुलनामा ८०%  भौतिक वस्तुको प्रयोग नै हराउँछ ।  आध्यात्मिक ढङ्गको जीवनशैलीबाट यहाँको समाज चल्छ । जताततै रूखपात, कृषिजन्य वस्तु, जडीबुटी र पर्यटकीय महत्त्वका वस्तुहरूको मात्र प्रचुर मात्रामा उत्पादन हुन्छ र प्रशस्त आम्दानी बढ्छ अनि  हाम्रो आजकलको विलासी  खर्च लगभग ८०%ले कम हुन जान्छ” ,प्रधानमन्त्रीले फटाफट जबाफ दिए ।

“पछिपछि भौतिक सम्पत्तिको पनि  मोह नै हराएर जान्छ । मानिसहरू सहर छोडेर गाउँ जान थाल्नेछन् । आजकालको जस्तो अधर्मी भएर पनि कमाउनैपर्ने  होडबाजी हराएर जान्छ । ३० वर्षपछिका मानिसहरू यति सिधा र सात्विक  हुनेछन् कि उनीहरूको मन, शरीर र आत्माको सुस्वास्थ्य र संस्कार सुनेर उनीहरूको प्रत्यक्ष दर्शन र उनीहरूको सादा र आध्यात्मिक जीवनशैली  हेर्न, बुझ्न र सिक्नका निमित्त  विदेशबाट पर्यटकहरू ह्वारह्वार्ती यो करुणापुरमा आउनेछन् । गाउँ गाउँमा पर्यटकहरूको घुइँचो लाग्नेछ । आजकलको जस्तो प्रकृतिको दोहन र विनाश हुने छैन । बरु ५० वर्ष पहिलेजस्तो सुन्दर देश हुनेछ ।”

राजाले थपे – “अनि यो सुन्दर देशको  प्राकृतिक सुन्दरता र शीलमा आधारित समाजको सांस्कृतिक सुन्दरता हेर्न बर्सेनि आउने पर्यटकबाट उठ्ने ठूलो रकमले बाँकी वर्षहरूका खर्च धानिहाल्छ नि ।”

फेरि राजाले भने-
“लाखौँलाख पर्यटकहरूले यहाँका किसान, मजदुर र व्यवसायीहरूको सुखी र आनन्दित सरल  जीवनशैलीलाई विश्वभरि फैलाउनेछन् । अनि उनीहरू हाम्रो संस्कारको पछि-पछि लाग्नेछन् अनि हामी दुनियाँमा राम्रो देश भनेर पुनः परिचित हुनेछौँ ।”

“त्यसो भए त बिस्तारै बिस्तारै पृथ्वीकै राजनीतिक परिपाटी हाम्रो जस्तै हुन्छ त ?” प्रधानसेनापतिले प्रश्न गरे।

राजा भन्दै गए, ” हुन्छ नि ! जनताका लागि भनेर चालिएको आजको यो एक कदम यस  करुणापुर राज्यमा मात्र होइन सारा संसारमै  अनादिकालसम्म जनताको सुख, शान्ति  र आनन्दमय यात्राका लागि कोसेढुङ्गा सावित हुनेछ ।”

“हो हो महाराजले ठिक भन्नुभयो” ,तीनै जनाले एकै स्वरमा भने ।

राजाले  जिज्ञासा थपे- “तर विश्वमा यी अचेलका पदहरू दुर्नाम भएका छन् नि, त्यो कसरी हटाउने प्रधानमन्त्रीज्यू ?”

प्रधानमन्त्रीले जबाफ दिँदै भने-
” अबदेखि राजाको पदको नाम आनन्द, रानीको पदको नाम करुणा, मेरो अर्थात् प्रधानमन्त्रीको पदको नाम कल्याण  र प्रधानसेनापतिको पदको नाम प्रेम बनाउनुपर्छ । जसले गर्दा  यी पदहरूमा आउने व्यक्तिलाई आफ्नै नामले जनताका निमित्त नामअनुसारको  काम गर्न घचघच्याइरहोस् ।”

राजाले भने- “ठीक भन्नुभयो प्रधानमन्त्री हजुरले । आउँदो जनघोषणाको दिन यो कुरा पनि  घोषणा गर्दिनुहोस् ।”

“हुन्छ, महाराजज्यू” ,दुवै जना मुसुमसु हाँस्छन्।

मुस्कुराउँदै प्रधानमन्त्रीले भन्छन्, “तर महारानीज्यू र प्रधानसेनापति ज्यूको यस कुरामा राय भन्नुहोस् न ।”

दुवै एकैसाथ- ” यति उत्तम कुरामा हाम्रो पूरै समर्थन छ  प्रधानमन्त्रीज्यू ।”

राजाले फेरि भने – ” यति गरेपछि त शासनतन्त्रको  द्विविधा
टुङ्गिहाल्छ नि ।”

घण्टी बज्छ ।

“आजको समय सकियो । भोलि विहान ११ बजे पुनः सभा चल्छ । सबै जना बिदा हुनुहोस् ।” राजा वा आनन्दले भने ।

त्यसपछि सभा विसर्जन हुन्छ ।
समाप्त

     धरान-१३