शब्द: गोविन्द गिरी प्रेरणा
चित्र: कृष्ण मर्सानी
बिसौँ शताब्दीमा विख्यात बेलायती नाटककार ह्यारोल्ड पिण्टरलाई दोस्रो विशवयुद्धपछिका जटिल र चुनौतीपूर्ण नाटककारका रुपमा लिइन्छ । यौटा सुचीकारका छोराको रुपमा सन् १९३० को अक्टोबर १० मा लण्डनको ह्याक्नेमा उनको जन्म भएको थियो । द्वितीय विश्वयुद्धपछि ब्रिटिस फाँसीवादीहरु भूमिगत भएका थिए र तिनीहरु यहूदी क्लबको छेउमा भेटघाट गर्थे । पिण्टर त्यो ठाउँमा बेला बेलामा गइरहन्थे । पिण्टरको बाल मस्तिष्कमा त्यसको प्रभाव गहिरोसँग पर्यो, जुन पछि उनका विभिन्न नाटकहरुमा विभिन्न किसिमले आएका छन् ।
पिण्टरले रोयल अकाडेमी अफ ड्रामाटिक आर्टमा अभिनयकला अध्ययन गर्दै थिए तर दुई सत्र समाप्त भएपछि उनले त्यो पढाइ त्यागे । उनी १८ वर्षको उमेर भएपछि सैनिक सेनाको लागि आह्वान गरियो तर त्यसलाई स्वीकारेनन् र अदालतको कठघरामा उभिनुपर्यो उनले । दण्डित पनि भए उनी अदालतमा ।
सन् १९५० ताका ‘लण्डन पोयट्री’ मा कविताहरु देखा पर्न थालेपछि ह्यारोल्ड पिण्टरको साहित्य यात्राको थालनी भएको हो । यसका साथसाथै उनी ‘सेण्ट्रल स्कूल अफ स्विच ट्रेनिङ एण्ड ड्रामाइटिक आर्ट’ लण्डनमा पुनः दाखिला भए । सन् १९५१–५२ मा उनीले यौटा नाटक कम्पनीमा सहभागी भएर आयरल्याण्डको भ्रमण गरे, जसलाई उनले आफ्नो संस्मरण ‘म्याक’ (१९६८)मा सविस्तार वर्णन गरेका छन् । त्यसपछि सन् १९५४ देखि १९५७ सम्म उनले डेभिड वारोनको नामले ग्रामीण रङ्गमञ्चहरुमा अभिनय गरे । यसै क्रममा सन् १९५६ मा अभिनेतृ मिमियन मर्चेण्टसँग उनको विवाह भयो । यो विवाह करिब २४ वर्ष टिक्यो र उनीहरूको एक छोरा भयो । सन् १९८० मा उनीहरुबीच पारपाचुके भयो र त्यसै साल पिण्टरले लेखिका लेडी एण्टोनिया फ्रेजरसँग दोस्रो बिहा गरे ।
पिण्टरको पहिलो विवाह सन् १९५६ मा भिभियन मर्चेण्टसँग भएको थियो । उनी नायिका थिइन् र उनीहरुको भेट यौटा टूरको बेला भएको थियो । उनले पिण्टरका धेरै नाटकहरुमा अभिनय गरिन् “द होम कमिङ” लगायतमा ।
पिण्टर र भिभियनबाट छोरा डानियलको जन्म भयो सन् १९५८ मा ।
सन् १९६२ देखि १९६९ सम्म पिण्टर बिबिसी टिभीका प्रस्तोता जोन वेकवेलसँग अफेयर भयो जुन उनको नाटक “बिट्रायल” को प्रेरणा स्रोत बन्यो । र, यसैबीच एक अमेरिकी युवतीसँग पनि उनको प्रेमालाप भयो आफ्नी श्रीमती र वेकलेकको आँखा छलेर ।
सन् १९६९ मा पिण्टर र भिभियनले आन्टोनियो फ्रेजरलाई भेटे । उनीहरुको भेट जुराइदिएको थियो नेसनल ग्यालरीले । सन् १९७५ मा पिण्टर आन्टोनियोसँग गहिरो प्रेममा परे । यो प्रेमलीला पाँच वर्ष चल्यो । अनि २८ अप्रिल १९७५ का दिन उनले घर छाडे र भिभियनसँगको दाम्पत्य जीवनको अन्त भयो ।
यसैबीच आन्टोनियोले सन् १९७७ मै पारपाचुके गरिसकेकी थिइन् । पिण्टरले पनि सन् १९८० मा पारपाचुके गरे । अनि पिण्टर र आन्टोनियोले २७ नोभेम्वर १९८० मा बिहे गरे ।
पिण्टर खेलकूदमा पनि रुचि राख्थे । उनले दौडमा स्कूलमा कीर्तिमान नै कायम राखेका थिए । उनको रुचि क्रिकेटमा पनि उत्तिकै थियो । बेलायतको योर्कसायर क्रिकेट क्लबका समर्थक उनी गाइटिज क्रिकेट क्लबको अध्यक्ष समेत भएका थिए ।
एक अन्तरवार्तामा उनले आफ्नो रुचि परिवार, प्रेम, सेक्स, मदिरापान, लेखन र अध्ययन भनेका थिए ।
पिण्टरले १८ वर्षको उमेरमै सन् १९४८-४९ मा शीतयुध्दको राजनीतिको विरोध गरेका थिए । उनले अमेरिकी नाटककार आर्थर मिलरसँग भ्रमण गरेका थिए लेखकहरुको अन्तर्राष्ट्रिय संस्था पेनको अधिकारीको हैसियतमा । उनले टर्कीसहरुले कुर्दिश भाषामाथि गरेको बलमिच्याईं देखेपछि सन् १९८८ मा लेखिएको “माउण्टेन ल्याङ्गवेज” को लागि प्रेरित गर्ने घटना बन्यो । उनी बेलायतबाट गरिएको क्युबाको लागि ऐक्यबध्दता अभियानका सदस्य थिए, अमेरिकाले क्यूवामाथि लगाएको नाकाबन्दीबिरुध्द । उनले स्लोवोदान मिलोसेविचको पक्षमा पनि आवाज उठाएका थिए ।
उनले खाडी युध्दको विरोध गरे । नाटोले सन् १९९९ मा कोसोभो युध्दको बेला युगोस्लाभियामा गरिएको बम आक्रमणको निन्दा गरेका थिए । उनले बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई “भ्रमित मूर्ख” भनेका थिए भने अमेरिकी राष्ट्रपति जर्ज बुसको प्रशासनलाई नाजी जर्मनीसँग तुलना गरेका थिए ।
पिण्टर प्यालेस्टिनी साहित्य उत्सवका संरक्षक थिए ।
रङ्गमञ्चमा पूर्ण रुपले लाग्नुअघि ह्यारोल्ड पिण्टरले पाले, बिक्रेता, वेटर, भाँडा माझ्नेजस्ता पेशाहरु समेत गरेका थिए । यसैबीच उनी कविताहरु, कथाहरु इत्यादि लेखनमा अभ्यासरत रहे । उनको पहिलो नाटक थियो, ‘द रुम’ । यो नाटकको प्रेरणा स्रोतको कथा यस्तो थियो– सन् १९५६ मा उनी यौटा भोजमा गएका थिए । त्यहाँ दुईजना मानिस आए जसमध्ये यौटा अग्ले ठिटो थियो, अर्कोचाहिं पुड्के थियो, खाली खुट्टा थियो र बकबके थियो, अग्ले चाहिं शान्त स्वभावको । यी दुइको चरित्र र स्वभावले पिण्टरलाई प्रभाव पार्यो र ‘ द रुम’ लेखे ।
‘द रुम’ सन. १९५७ मा मञ्चन गरियो । तर उनको पहिलो पूर्णाङ्की नाटक भने ‘द वर्थ डे पार्टी” थियो जुन उनले १९५८ मा लेखे, १९६८ मा फिल्माङ्कन भयो र लण्डनवासीलाई आश्चर्यचकित तुल्याउने गरी एक हप्ता मात्र चल्यो । पछि यसलाई टेलिभिजनमा प्रस्तुत गरियो । त्यति मात्र होइन रङ्गमञ्चमा पुनर्जीवित तुल्याइयो र पछि सफलता पनि हासिल गर्यो ।
तर ह्यारोल्ड पिण्टरको ख्याति सर्वत्र फिंजाउने श्रेय भने उनको दोस्रो पूर्णाङ्की नाटक ‘द केयर टेकर’ (१९६०) लाई जान्छ। यो नाट्यकृति सन् १९६३ मा फिल्माङ्कन भयो । यस नाटकलाई ब्रिटिस आलोचकहरुले अत्यन्त सराहना गरे र लण्डनको ‘इभनिङ स्ट्याण्डर्ड’ पुरस्कार प्राप्त गर्यो सन् १९६० को सर्वश्रेष्ठ नाटकको रुपमा ।
ह्यारोल्ड पिण्टरको अत्यन्त सिर्जनशील समयावधि सन् १९५७ देखि १९६५ रह्यो । यस कालावधिमा उनले आफूलाई अत्यन्त सौभाग्यशाली नाटककार सावित गरे । उनले यति लोकप्रियता हासिल गरे कि उनको रङ्गमञ्चलाई “द पिण्टरस्क्यू” भनेर समेत भनिन थाल्यो । पिण्टरका नाटकहरु प्रायशः कोठाभित्रका चरित्रहरुसँग सम्बन्धित हुन्छन् ।
पिण्टरको अर्को महत्त्वपूर्ण नाटक हो– द डम्ब वेटर । यसमा दुई जना व्यावसायिक हत्याराहरु आफूले अर्डर गरेका खानेकुरा पर्खिरहेका हुन्छन्– यौटा रित्तो घरको भुईँतलामा । त्यहाँ हत्या हुनेवाला छ, तिनीहरु जान्दैनन्– शिकार को हो ? यसैबीच उनीहरु गफ गर्छन्, अखबार पढ्छन्, फूटबल र ब्याकरणको विषयमा तर्क-वितर्क गर्छन्, बिस्कुट खान्छन् इत्यादि ।
पिण्टरका नाटकहरु बेकेटका जस्ता ‘एब्सर्ड’ हुँदैनन् । तर बेकेटको एब्सर्ड नाटकको केही न केही प्रभाव भने उनका नाटकमा देखिन्छ । सन् १९५६ मा पिण्टरले पहिलोपटक बेकेटको ‘गोदोको प्रतीक्षा’ (वेटिङ फर गोदो) लण्डनमा हेरेका थिए तर पिण्टरले आफू र आफ्नो लेखनमा काफ्काको प्रभावलाई स्वीकारेका छन् ।
लेखकको जीवनमा कहिलेकाहीं यस्ता घटना पनि घट्छन् जुन स्वयंमा सुखद् नभएर दुःखद् हुन्छ तर त्यसले सुखद् परिणति भने ल्याइदिन्छ । ह्यारोल्ड पिण्टरको जीवनमा पनि त्यस्तै घटना भयो । उनको नाटक ‘द बर्थ डे पार्टी’ लाई आलोचकहरुले ‘यौटा उत्कृष्ट अर्थहीन’ नाटकको उपाधि दिए । स्वास्नी र काखको बालक समेतको भरणपोषण गर्नुपर्ने उनलार्इ यो नाटकले जमाएर थप्पड हानेको थियो । त्यसपछि उनले रङ्गमञ्चपट्टि पिठ्यूँ फर्काएर कलम मात्र चलाउन थाले बिबिसीका लागि, जसले गर्दा ‘अ स्लाइट एक’ सिर्जना भयो । यो सन् १९५९ मा बिबिसीबाट प्रसारण भयो र पछि रङ्गमञ्चमा पनि गयो ।
उनको सफल नाट्यकृति ‘द केयर टेकर’ कै रचनाकालमा सिर्जना गरिएको अर्को नाटक ‘अ नाइट आउट’ अत्यन्त परम्परागत र सुगम्य नाटक हो । यो सुरुमा रेडियोबाट प्रशारण भयो र पछि टेलिभिजनबाट । यो नाटकमा बेश्यालाई प्रयोग गरिएको छ । बेश्यालाई नै प्रयोग गरिएको उनको अर्को नाटक हो– ‘नाइट स्कुल’ । तर यस नाटकको विषयमा पिण्टरले यस्तो प्रतिक्रिया व्यक्त गरे–“यस्तो रद्दी कुरा मैले कहिल्यै लेखेको थिइनँ ।’
‘द ड्वार्फस्’ पिण्टरको आंशिक रुपमा आत्मकथात्मक उपन्यास हो । यसलाई रेडियो नाटकको रुप पनि दिइयो । यसमा पिण्टरले पहिलो पटक आन्तरिक एकालापको प्रयोग गरेका छन् । चरित्रहरुको सिधा विचार प्रक्रियामा ती एकालाप केन्द्रित छन् ।
छ फिट अग्ला, शान्त प्रकृतिका, इमान्दार ह्यारोल्ड पिण्टर बेलायतका अत्यन्त राम्रा पोसाकमा सजिने १० जनामध्ये एक मानिएका थिए । तर पिण्टरलाई उनका नाटकहरुमा राजनैतिक प्रतिबद्धता नभएको भनेर आलोचना गर्नेहरु पनि थिए । वास्तवमा उनीलाई राजनीतिप्रति अरुचि थियो र राजनैतिक वक्तव्यहरु मन पराउँदैनथे । तर उनी अस्तित्व–मानव अस्तित्वप्रति सजग थिए । उनलाई वाल्टर केरले ‘अस्त्विवादी’ मानेका थिए । त्यस्तै जोन रस्सेल टेलरले उनका नाटकहरुलाई ‘आफ्नो समयको विशुध्द काव्य नाटक’ भनेका थिए ।
उनका प्रमुख नाटकहरु हुन्– द रुम (१९५७), द वर्थ डे पार्टी (१९५८), अ स्लाइट एफ (१९५९), द डम्ब वेटर (१९५९), द केयर टेकर (१९६०), नाइट स्कूल (१९६०), द लभर (१९६३), टी पार्टी (१९६५), द होम, कमिङ (१९६५), द वेसमेण्ट (१९६७), साइलेन्स (१९६९), ओल्ड टाइम्स (१९७१), नो म्यान्स ल्याण्ड (१९७५) ।
उनका १९४१ देखि १९७७ सम्मका कविता र गद्य सन् १९७८ मा प्रकाशित भयो ।
आफ्नो सिर्जनाको लामो यात्रामा इभनिङ स्ट्याण्डर्ड अवार्ड (१९६०), इटालिया पाइज (१९६२), न्यूयोर्क फिल्म क्रिटिकस अवाडै (१९६४), हनीटतव्रेड अवार्ड (१९६७), सेक्सपियर प्राइज (१९७०), अष्टियन स्टेट प्राइज (१९७३), पिराण्डेलो प्राइज (१९८०), ब्रिटिका थियटर एसोसियसन अवार्ड १९८३, १९८५), जस्ता पुरस्कार र सम्मानले विभूषित उनले सन् २००५ मा साहित्यतर्फको नोवेल पुरस्कार पाए ।
पिण्टरको २४ डिसेम्वर २००८ का दिन कलेजोको क्यान्सरको कारणले भयो।
उनको अन्त्येष्टि ३१ डिसेम्वर २००८ मा भयो । सो अवसरमा उनैले छनोट गरेका ७ वटा लेखन अंश वाचन गरिएको थियो । जेम्स ज्वायसको “द डेड” को अंश पनि उनले आफ्नो मृत्युउत्सवमा वाचनका लागि छनोट गरेका थिए ।
उनको अन्त्येष्टिमा उनकी श्रीमती आन्टोनियो फ्रेजरले भनिन्, “शुभरात्री प्रिय राजकुमार !”
तर उनको छोरा डानियलले भने अन्त्येष्टिमा भाग लिएनन् । आमासँग पारपाचुके भएपछि उनले आफ्नो नामबाट “पिण्टर” थर नै हटाएका थिए र आमातिरकी हजुरआमाको थर “ब्राड” राखेका थिए ।
उनको सम्मानमा लण्डनको पान्टोन स्ट्रिटमा अवस्थित “कमेडी थिएटर” को नाम ह्यारोल्ड पिण्टर थिएटर नामाकरण गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।