विख्यात रूसी साहित्यकार इभान तुर्गनेभ जब मृत्यु शैय्यामा थिए, उनले नजिकका एक साथीलाई भनेका थिए, ‘मृत्युले मेरो जीवनका सबै सुन्दर चिजहरू लुट्न चाहन्छ । अन्ततः पाउलिनसँग पनि मलाई चुँडेर लैजाने भयो !’
मृत्युको अन्तिम क्षणमा आफ्नो मृत्युको दुःख भन्दा पनि पाउलिनको दुःख सम्झेर तुर्गनेभका आँखा चिसिएका थिए ।
उनको मृत्यु नजिकै रहेको चिकित्सकहरूले बताएपछि पाउलिन अन्तिम दर्शनका लागि तुर्गनेभको कोठामा छिरिन् । तुर्गनेभले पाउलिनलाई अन्तिम पटक टाउको उठाएर हेरे । उनको ओठमा थोरै मुस्कान उघ्रियो र यो सन्तोषको मुस्कान थियो ।
तुर्गनेभको ओठ थर्थरायो र उनले पाउलिनलाई भने, ‘मेरा सबै असल सिर्जनाकी रानी हौ तिमी र तिमीबाटै तिनले अन्तिम रूप पाएका थिए । तिमीलाई भेट्नु मेरो जीवनकै ठूलो उपलब्धि थियो ।’
पाउलिनले तुर्गनेभलाई अँगालोमा कसिन् । यसरी कसिन्, मानौँ उनलाई यति चाँडै र आफूभन्दा पहिला जान दिने मनशायमा छैनन् ।
उनलाई अँगालोबाट निकाल्ने आँट कसैले पनि गरेनन् । गरून् भने कसरी ? चालीस वर्षदेखि तुर्गनेभका लागि पाउलिन र पाउलिनका लागि तुर्गनेभझैँ थिए । दुवै शरीर र छायाँजस्तै थिए । अब तुर्गनेभले शरीर त्याग्दा पाउलिन अब छायाँबिनाकी शरीर हुने थिइन् ।
यसपछि पाउलिन तुर्गनेभको कोठाबाट निस्किइन् र आफ्नो घरतर्फ लागिन् । उनी आफ्नो कोठामा छिरिन् र हप्तौँसम्म त्यहाँबाट निस्किइनन् । कसैसँग भेट गरिनन् । उनका पति लुइस भायर्डटसँग पनि भेट्न मन गरिनन् ।
तुर्गनेभको मृत्युको महिनौँसम्म बिरामी परेपछि जब उनका परिवारजनले उनलाई अस्पताल लगे, उनले आफूलाई सुस्तविष लिन थालेको पत्तो लाग्यो ।
वैवाहिक जीवनका बाबजुद पनि पाउलिन इभान तुर्गनेभको प्रेममा परिन् । उनले आफ्नो पतिको मृत्यु हुञ्जेलसम्म पनि पतिलाई छाडिनन् तर तुर्गनेभलाई पनि उनले त्याग्न सकिनन् । पाउलिन अभिनेत्री थिइन्, गायिका थिइन् । उनले निकै सम्पत्ति जोडिन् तर तुर्गनेभसँग टाढिनु नपरोस् भनेर घर छेउमै बस्ने व्यवस्था मिलाइदिएकी थिइन् ।
हरेकको जीवनमा एउटा उमेरमा पुगेपछि प्रेमले बास गर्छ । यसरी बास गर्छ कि यो अनुभव हर एकका लागि विशिष्ट बन्न पुग्छ । कसैका लागि यो प्रेम तिक्ततापूर्ण हुनसक्छ, कसैका लागि मिठासपूर्ण र जीवनलाई नै सरसपूर्ण बनाउन पुग्छ ।
कसैको प्रेमकथा शुरू हुनुभन्दा पहिले नै सकिन्छ, कसैको प्रेमले उमेरसँगै मृत्युवरण गर्न पुग्छ । तर केही प्रेमकथा भने उमेर र कालको परिधि नाघेर सदियौँसम्म जीवित रहन्छ । यही प्रेमकथाले यस लोकमा प्रेमतत्त्वको अस्तित्वलाई प्राणवान् बनाउने काम गर्छ ।
हामीले सोनी-महिवाल, हीर-राँझा, लैला-मजनूको प्रेमकहानी सुन्दै आएका छौँ । यहाँ माथि प्रस्तुत गरिएको कथाले प्रेमको गहन अनुभूति, अवसादबाट अघि बढ्दै विश्वसाहित्यमा नाम बनाएका इभान तुर्गनेभको अत्यन्त निजी समयलाई अभिव्यक्त गरेको छ ।
तुर्गनेभको प्रसिद्धिका पछाडि लुकेका घाउ, आँशु तथा प्रेम बुझेपछि यही भन्न सकिन्छ कि प्रेमले नै जीवनलाई माझ्ने, चम्काउने गर्छ । प्रेमको जुन टिसले उनलाई छरपष्ट पारेको थियो, त्यसैको स्पर्शले तिनलाई सम्हाले पनि । प्रेम यहाँ प्रेरणा मात्र होइन, पथप्रदर्शन पनि बन्यो । प्रेमको धुरीमा नै तिनको जिन्दगीले आफू हुनुको सार्थक बनायो ।
तुर्गनेभ मात्र होइन, महान् साहित्यकार सबैका प्रेम-प्रशङ्ग बुझ्दा थाहा हुन्छ, तिनको रचनात्मक संसार बन्नु र बिग्रनुमा प्रेम कहाँसम्म जिम्मेवार हुन पुग्छ । यसलाई बुझ्नका लागि तिनको गहिराईलाई मनन् गर्न आवश्यक पर्छ ।
मावनतावादी कवि रवीन्द्रनाथ टैगोरको जीवनमा प्रेम नै त्यो आधार थियो, जसले उनको एकांकी जीवनलाई जीवन्तता प्रदान गरिरह्यो । प्रेमको मिलन-विछोडले नै रवीन्द्रलाई कवीन्द्र बनाएको थियो । उनले बालापनमा सखीझैँ भाउजू कादम्बरीको हात पक्डन पुगेका थिए । जवान हुँदा-नहुँदै उनले कादम्बरीलाई प्रेम गर्न थाले । उनकी प्रथम प्रेयसी ! कादम्बरी उनको पहिलो प्रेम मात्र होइन, उनको आत्माको सहचरी पनि थिइन् । २५ वर्षको भर्भराउँदो उमेरमा जब कादम्बरीले आत्महत्या गरिन्, रवीन्द्रको जीवनको आधारभूमि नै हल्लियो । जीवनपर्यन्त उनले कादम्बरीको प्रेम बेग्लाबेग्लै अनुहारमा खोजिरहे । त्यसो त कयौँ अनुहारले उनलाई कादम्बरीको झल्को नदिएको होइन, सोही झल्कोमा उनी कयौँ पटक अल्झिए पनि । आफ्नो जीवनको खालीपन भर्नका लागि उनले पटक पटक विभिन्न अनुहारलाई आह्वान गर्दा कहिले रानू मुखर्जी, कहिले भिक्टोरिया ओकोम्पा, कहिले इन्द्रादेवी चौधरानी, कहिले सहाना देवी त कहिले मैत्रेयी देवीका रूपमा हरेक पटक उनको हात थाम्न आइपुगेका थिए । रवीन्द्रले भनेका पनि छन्, ‘जीवनको यात्रामा निकै धेरै स्नेहिल फेला परे, तिनले मलाई सम्हाले, अँगाले । तिनै ऊर्जा मेरो जीवनमा सिर्जना बनेर पोखियो ।’
प्रेमसँग रवीन्द्रको खेल निरन्तर चलिरह्यो र त्यसैले उनलाई ऊर्जावान् साहित्यकारका रूपमा रूपान्तरित गरिरह्यो । तिनै जीवनानुभवहरूका सञ्चित कोश नै गीताञ्जलीका रूपमा हामी पढ्ने गर्छौं ।
रवीन्द्रनाथ टैगोर मात्र होइन, यस्तै कथा ओनरे द बाल्जाकको पनि छ । बालापनदेखि नै उनी धनी बन्ने सपना देख्थे । त्यही सपनाले उनलाई ठूलो ऋणमा फँसायो पनि । बालापनमा आफ्नी आमाले गरेको तिरस्कारको मोल जीवनभर उनले चुकाइरहे । आमाको प्रेमिल स्नेहको अभावलाई पूरा गर्न उनले कयौँ पटक आफूभन्दा बढी उमेरका महिलाहरूसँग दैहिक सङ्गतमा गुजारे । तर जब उनले काउन्टेस इभालिन हान्सका भेटे, उनको प्रेम-पिपासित हृदयलाई आफ्नो प्रेमले सिँचन गरिन् । जीवनको अन्तिम समयतिर मात्र उनले काउन्टेस इभालिनलाई पत्नी बनाउन सफल भए । बाल्जाकले इभालाई जुन अन्तसका साथ प्रेम गरे, जीवनमा एक पटक भए पनि बिहे गर्न चाहे, इभाले कहिल्यै त्यो रूपको प्रेम गर्न सकिनन् । इभाको कहिले नजिक-कहिले टाढाको रापिलो प्रेमले नै बाल्जाकलाई साहित्य सिर्जनको आगो र न्यानो दिइरह्यो । इभाको प्रेमले नै बाल्जाकलाई फ्रान्समा मात्र होइन, सारा संसारमै बेग्लै पहिचान बनाउन सफल भए ।
उनलाई पैसाको सधैँ अभावका कारण चार वर्षमै एक सय उपन्यास लेख्न बाध्य भएका थिए । दिनमा १६-१६ घण्टा लेख्ने बाल्जाकले द ह्युमन कमेडी नामक यस्तो उम्दा सिर्जना लेखे कि त्यसमा करिब दुई हजार पात्रका बेग्लाबेग्लै मनोभूमिका साथ चित्रण गरेका छन् । बाल्जाक कुनै पनि कृति लेख्न बस्ता भव्य लुगा, गरगहना लगाएर लेख्न बस्थे । उनको कोठा मगमग बास्ना आउँथ्यो । मखमली कुर्सीमा उनी लेख्न रूचाउँथे । आफ्ना पात्र जीवन्त हुन्थे र तिनीहरूसँग उनी बात मार्थे ।
जब हामी यस्ता महान् हस्तीको दुःख, पीडा र लौकिक प्रेमका बारेमा पढ्छौँ, तिनको जीवनले हामीलाई कृतज्ञ बनाउने गर्छ । वास्तवमा तिनका जीवनकथाले हामीलाई हाम्रा पीडा, दुःख र प्रेमप्रति कति स्वीकारको भावले ग्रहण गर्नुपर्छ र त्यसलाई वरदानका रूपमा ग्रहण गर्नुपर्छ भनी सिकाउँछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।