‘हाम्रा केटाकेटी त पढ्न भनेपछि मान्दै मान्दैनन्,’ धेरैजसो अभिभावकहरूको गुनासो सुन्ने गरिन्छ । यो गुनासो अन्त्य गर्ने कोरोना भाइरसपछिको बन्दाबन्दीले एउटा सुवर्ण अवसर जुराइदिएको छ । पाठ्यपुस्तक मात्र नभएर अन्य बाल साहित्यको अध्ययन, श्रवण र मञ्चन गर्ने, हेर्ने एउटा बेग्लै अवसर सिर्जना भएको छ ।
कोरोना आतंकको यो अवस्थामा “बिबिलियो थेरापी” एउटा रचनात्मक कला थेरापी हो । यसमा एक व्यक्तिको मानसिक वा मनोवैज्ञानिक विकारहरूको उपचार गर्न पुस्तक प्रयोग गरिन्छ । यो विधिभित्र, कथावाचन गर्ने वा पुस्तकका केही विशिष्ट पाठहरू पढ्नुजस्ता समावेश हुन्छन्। पुस्तक जस्तोसुकै समयको पनि असल मित्र हो र यसले मानिसहरूलाई मानसिक र भावनात्मक रूपमा जोडेर राख्न सहयोग गर्छ भन्ने कुरा प्रमाणित पनि भइसकेको छ । त्यसमा पनि अनिश्चितताको समयमा पुस्तकले अक्सर महत्त्वपूर्ण भूमिका खेल्छ ।
बालसाहित्यका पुस्तकहरूका सन्दर्भमा पनि यो कुरा लागू हुन जान्छ । बालबालिकाहरू पनि वयस्कहरू जस्तै कथाहरू प्रयोग गरेर उनीहरूको संसारको अर्थ बुझ्न खोज्छन् । उनीहरूलाई आफूसँगै समाज र विश्वमा भैरहेको परिवर्तनका बारेमा बुझ्न, बुझाउन र जिज्ञासाहरू समाधान गर्ने यो एउटा राम्रो माध्यम पनि हो । कथाहरू बालबालिकाहरूसँग गाह्रो विषयहरूका बारेमा कुरा गर्न सजिलो र रमाइलो तरिका हो । कथाले बालबालिकाहरूलाई उनीहरूको आफ्नै भावनाहरूबारे सोच्न प्रोत्साहित गर्छ । कथाहरूमा भएका पात्रहरूसँगको सम्बन्धले बालबालिकाहरूलाई वास्तविक जीवनमा घटेका घटनाहरूको सामना गर्न सहयोग पुर्याउँदछ ।
बालबालिकाहरूको कथाहरूमा संकटका असंख्य क्षणहरू हुन्छन्, जहाँ पात्रहरूले नैतिक निर्णय लिन्छन् र उनीहरूले ती निर्णयहरू लिनको कारणहरूबारे विचार गर्छन् । कथाहरूले बालबालिकाको साक्षरता विकास गर्नका साथै कथाहरूमा भएका विषयहरूले सामाजिक मूल्य, मान्यता, विश्वास र दृष्टिकोणहरू व्यक्त गर्छन् जसले बदलामा बालबालिकाहरूलाई वास्तविकतासँग परिचित गराउँछ । साथै, कथाहरूले बालबालिकाको सांस्कृतिक र लैङि्गक भूमिकाको बुझाइमा पनि ठूलो प्रभाव पार्छ ।
इतिहास साक्षी छ, जब संसारमा कुनै संकट आइपर्छ, त्यो समयको सामना गर्नु र त्यसलाई जितेर अघि बढ्ने सबैभन्दा बलियो माध्यम भनेकै समुदाय एकजुट भएर अगाडि बढ्नु हो ।
नेपालको सन्दर्भमा भन्ने हो भने, सन् २०१५ को भूकम्पको समयमा समुदाय एकजुट भएर गरेको संलग्नता नै सबैभन्दा अगाडि आएको थियो । एकअर्का प्रतिको भर पर्ने र समुदायको महत्त्व बुझेर नै हामी हाम्रा बालबालिकाहरूलाई सानैबाट सधैँ समाजमा घुलमिल हुन, आफ्ना विचारहरू आदानप्रदान गर्न तथा अनुभवहरू साटासाट गर्न सिकाउछौँ । त्यही कुरा हामीले भूकम्पको बेलामा पनि सिकायौँ ।
तर अहिले परिस्थिति फरक छ । कोभिड १९ को महामारीले गर्दा नेपालमा पनि देशव्यापि रूपमा बन्दाबन्दीको घोषणा भयो । लकडाउनसँगै सुरक्षाको दृष्टिकोणले घरभित्रै बस्नुपर्ने बाध्यता भयो । उद्योग, कलकारखाना, व्यापार, व्यवसाय इत्यादि सँगसँगै देशभरिका विद्यालयहरू बन्द भए । सामान्य दैनिक दिनचर्यामा अकस्मात आएको परिवर्तनले गर्दा परिवारका सदस्यहरूसँगै बालबालिकाहरू पनि अन्योलमा परेका छन् । अचानक हामीले हाम्रा बालबालिकाहरूलाई आफन्त, साथीहरू र समुदायबाट टाढा बस्नुपर्छ भने सिकाउँदैछौँ ।
बालबालिकहरूको लागि यसले धेरै अन्योलपूर्ण स्थितिको सृजना गरेको छ । यो बेलामा घरमा बालबालिकाहरूसँग अन्तर्क्रियात्मक सम्बन्ध कायम राख्ने र उनीहरूलाई यो कठिन समयको बारेमा सही सूचना प्रदान गरेर यो समयको सामना कसरी गर्ने भन्ने बारेमा सिकाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । उनीहरूलाई यो कुरा बुझाउनु जरुरी छ कि यो समय आफन्त, साथीहरू र समुदायबाट शारीरिक दूरी मात्रै हो । अहिलेको समयमा यो दूरी कायम राख्नु भनेकै सही काम गर्नु हो । यसले उनीहरू आफैँ र अरूलाई सुरक्षित राख्न सहयोग पुर्याउनेछ ।
हुन त यो अवस्थामा बालबालिकाहरूको भावना तथा अवस्थाको ख्याल राख्नका लागि बहुआयामिक प्रयासहरु भैरहेका होलान् र छन् पनि । तथापि बालबालिकाहरूलाई मनोरञ्जनात्मक तरिकाले तथा उनीहरूको मनोसामाजिक अवस्थाको ख्याल राख्दै उनीहरूमा सकारात्मकता ल्याउनमा र क्रियाशीलता जगाउनमा बालकथाका पुस्तकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । कथाका पुस्तकहरू पढ्नु र कथाहरू सुन्नु कोरोना भाइरस महामारीको बेलामा लकडाउनमा बस्नको लागि बिबिलियोथेरापी नै भएको छ । यसले बालबालिकालाई आफ्ना अभिभावकसँग सामीप्य बढाउनमा पनि धेरै सहयोग पुर्याएको छ ।
कथा सुन्ने र सुनाउने त हाम्रो प्राचीन संस्कृति पनि हो । यो अन्योलको समयमा, बालबालिकाहरूलाई धेरैभन्दा धेरै कथाहरू चाहिन्छ । खुसीको कुरा त के पनि हो भने, प्रयासहरू रोकिएको छैन ।
हालको प्रविधियुक्त समयमा त झन् पुस्तकहरूसम्म आफ्नो पहुँच पुर्याउन सजिलो पनि छ । एकअर्कासँग भौतिक दूरी कायम गरिएको यो समयमा देश विदेशमा साहित्यकारहरूले विभिन्न प्रविधिहरूको प्रयोग गरेर तपाईं-हाम्रो घरहरूमा बालबालिकाहररूलाई रमाइला कथाहरू सुनाएर मनोरञ्जन गराइरहेका छन् । यस कार्यमा साहित्यकारहरू, शिक्षकहरू, अभिनेताहरू, प्रस्तुतकर्ताहरू, ब्लगरहरू, लेखकहरू र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको ठूलो जमातले आफ्नो संलग्नता देखाउनुभएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने पनि धेरै राम्रा प्रयासहरु भैरहेका छन् । जसको उदाहरणको रूपमा:
• विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र बाल कोषसहित अन्य संगठनहरू मिलेर बालबालिकाहरूका लागि कोभिड १९ बारे एउटा चित्र पुस्तक अनलाइन प्रकाशन गरेका छन् । पुस्तकको शीर्षक You Are My Hero रहेको छ । ११ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित गरी हेलेन पाटकद्वारा लिखित यो चित्र पुस्तक विभिन्न ६ भाषाहरूमा अनुवाद गरिएको छ । हाल यो पुस्तकलाई “तिमी मेरो हिरो हौ” शीर्षकमा नेपालीमा पनि अनुवाद गरिएको छ ।
• सेभ फर स्टोरीज, कथा फर नेपाल, स्टोरी टाइम विथ रुम टु रिड, युनिसेफ नेपाल, एसिया फाउण्डेशन, स्टोरी टाइम नेपाल, बालसाहित्य सर्जक, बालसाहित्य सिर्जना मञ्च नेपाल जस्ता संघसंस्थाले आफ्ना विभिन्न सामजिक सञ्जालमार्फत दिनहुँ कथा वाचनको कार्यक्रम चलाइराखेका छन् ।
• देश बाहिरको कुरा गर्ने हो भने, “वन्स अपन अ बुक विथ पेन्ग्विन,’ ‘हेक्सम बुक फेस्टिभल,’ ‘थोडा रिडिङ करो ना’ जस्ता प्रयासहरू निरन्तर छन् ।
• यसबाहेक व्यक्तिगत रूपमा पनि देश विदेशमा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो फेसबुकमा लाइभ आएर कथावाचन गर्दै हुनुहुन्छ।
• काठमाडौँभित्र र बाहिरका जिल्लाका विभिन्न एफएम तथा टेलिभिजनहरूले हरेक दिन नयाँनयाँ कथाहरू सुनाएर बालबालिकहरूलाई मनोरन्जन प्रदान गर्दै छन् ।
• कोरोनाले विश्वव्यापी रूपमा पारेको असर र यसले बालबालिकामा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा केन्द्रित रहेर विभिन्न देशमा छरिएर रहेका नेपाली बाल साहित्यकारहरूले भिडियो कन्फ्रेन्समार्फत बाल वाङ्मय तथा अनुसन्धान केन्द्र, नेपालको आयोजनामा बालकथा लेखन कार्यशाला आयोजना पनि गर्यो । सो कार्यशालाबाट आएका कथाहरूलाई कथाकरहरूले युट्युब च्यानलमा कथा वाचन गरेर अपलोड गरेका छन् ।
• थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले युट्युब च्यानल सुरु गरेको छ, जहा बालबलिकाहरूले आफूले र अरूले लेखेका कथाहरू वाचन गर्ने गरेका छन् ।
• त्यसैगरी ‘अर्ली रिडिङ’ले पनि आफ्नो युट्युब च्यानलमार्फत कथाकार स्वयंको आवाजमा कथा वाचन गरेर अप्लोड गरेको छ ।
• अहिलेकै समयलाई लिएर विश्वव्यापी रूपमा थुप्रै अनलाइन चित्र पुस्तकहरू प्रकाशित भए । नेपालको सन्दर्भमा पनि “सबै ठिक हुन्छ” भन्ने चित्र पुस्तक अनलाइन प्रकाशित भएको छ ।
जटिल परिस्थितिको सामना गर्न सबै समुदाय एकजुट भएर लागिपरेको यस अवस्थामा हामीले बालबालिकाहरूका लागि गर्नसक्ने सबैभन्दा उत्तम कार्य भनेको उनीहरूलाई कसरी संलग्न गराउने, सृजनात्मक बराउने र भौतिक दुरी कायम भैरहेको बेला सामाजिक रूपमा कसरी एकअर्कासँग जोडिने भन्ने बारेमा मनोरञ्जनात्मक तरिकाले सामग्रीहरू उपलब्ध गराउनु हो । यस्तो समयमा बालबालिकाहरूले के सिके भन्ने कुराभन्दा पनि हामीले अनुकूल परिस्थिति प्रदान गरेका छौँ कि छैनौँ भन्नेसँग पनि सरोकार राख्दछ ।
कथा र बालबालिकाको सम्बन्ध
- बालबालिकाहरू पनि वयस्कहरू जस्तै कथाहरू प्रयोग गरेर उनीहरूको संसारको अर्थ बुझ्न खोज्छन् ।
- बालबालिकाहरूको कथाहरूमा संकटका असंख्य क्षणहरू हुन्छन्, जहाँ पात्रहरूले नैतिक निर्णय लिन्छन् र उनीहरूले ती निर्णयहरू लिनको कारणहरूबारे विचार गर्छन् ।
- मनोसामाजिक अवस्थाको ख्याल राख्दै बालबालिकाहरुमा सकारात्मकता ल्याउनमा र क्रियाशीलता जगाउनमा बालकथाका पुस्तकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् ।
- कथाहरूमा भएका विषयहरूले सामाजिक मूल्य, मान्यता, विश्वास र दृष्टिकोणहरू व्यक्त गर्छन् जसले बदलामा बालबालिकाहरूलाई वास्तविकतासँग परिचित गराउँछ ।
- कथाहरूले बालबालिकाको सांस्कृतिक र लैङि्गक भूमिकाको बुझाइमा पनि ठूलो प्रभाव पार्छ ।
बालमनोविज्ञान बुझेर बालबालिकाहरूलाई सिकाउनु आफैँमा एउटा जटिल कार्य होला तर वास्तविकता त के पनि हो भने बाल्य अवस्थामा जुन कुरा राम्रोसँग बुझिन्छ त्यो दीर्घायु रहन्छ र भोलिका दिनमा त्यो व्यवहार पनि बन्छ । बाल साहित्यलाई समग्रमा त्यति महत्त्व नदिने हाम्रो समाजमा अहिलेको स्थितिले केही थोरै मात्र भए पनि त्यस प्रतिको धरणा बदलिएको छ भन्ने सोच्न सकिन्छ । पठन संस्कृतिको विकास गर्ने यो राम्रो र सही अवसर हुनसक्छ । जहाँ हामी पठन संस्कृति भएन, बालबालिकाहरूले र केही हदसम्म अभिभावक र शिक्षकहरूले कथाका पुस्तकको महत्त्व बुझ्नुपर्छ जस्ता कुरा गर्छौँ, यो ती कुराहरूलाई बुझ्ने र बुझाउने सही समय हो । यस प्रकारका राम्रा कामको सुरूवात घरघरबाट भएरहकै छ । यो धेरै राम्रो कुरा हो ।
आशा गरौँ, यस कठिन समयमा बालबालिकाहरूका लागि थालिएका सृजनात्मक कार्यहरूमा महामारीपछि पनि सबैको निरन्तर साथ र समर्थन रहनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।