भारतको कोलकातास्थित पतली गल्लीमा अङ्ग्रेजी भाषाका एक शिक्षक कालिदास हल्दारले फ्रिजमा पुस्तकालय अभियान सञ्चालन गरेका छन् । उनको यो अभियान यतिबेला भारत र विश्वमै भाइरल भइरहेको छ ।

पतली गल्लीको एउटा किराना पसल छेउमा हल्दारले आफ्नी पत्नी कुमकुम समेतको सहयोगमा यो पुस्तकालय सञ्चालनमा ल्याएका हुन् ।

पठन संस्कृति बढाउन र पुस्तकप्रेमी समुदाय बढाउन यो अभियान शुरू गरेको हल्दारको भनाइ छ । उनले छेउकै एक किराना पसलेलाई पुस्तकालयको हेरचाहको जिम्मा लगाएका छन् ।

फ्रिजमा हेर्दा सयभन्दा कम पुस्तक र पत्रिका देखिए पनि भित्र पसलमा थप ९ सय बढी पुस्तकहरू रहेको र फ्रिजमा पुस्तक देख्दा सर्वसाधारणको पढाइप्रति आकर्षण बढ्ला कि भन्ने अपेक्षाका साथ यसरी प्रदर्शनीमा राखेको हल्दारको भनाइ छ ।

यहाँ पुस्तक पढ्न कुनै सदस्यता शुल्क तिर्नु पर्दैन । पुस्तक लगेको एक महिनाभित्र फर्काउनुपर्ने शर्तका साथ पुस्तक दिने गरिन्छ ।

कोलकाताको सत्यजित रे पार्क छेउमा रहेको यस पुस्तकालयमा बाङ्ला र अङ्ग्रेजी भाषाका उपन्यास र साहित्यिक म्यागेजिन रहेका छन् ।

कालिदास अङ्ग्रेजीका स्थानीय शिक्षक हुन् । उनले नजिकैको हाइस्कुलमा पढाउने गरेका छन् ।

‘अचेलका बालबालिकाहरू मोबाइलमा धेरै झुण्डिए,’ कालिदास भन्छन्, ‘तिनलाई बन्द कोठाबाट निकालेर अर्कै संसारको झ्याल खोलिदिनु आवश्यक छ । यसो गर्दा मात्र पठन संस्कृति हस्तान्तरण हुन्छ ।’

उनले यही किराना पसलमा पुस्तकालय खोल्नुको कारण खुलाउँदै भने, ‘तपाईंले अप्ठेरो ठाउँमा पुस्तकालय खोलेर हुँदैन । जहाँ मान्छेहरूको आउजाउ हुन्छ, त्यहाँ खोल्नुपर्छ । यसो हुँदा कहिल्यै किताब नछुने मानिसले पनि आज छिरूँ कि नछिरूँ, आज पढूँ कि नपढूँ भनेर सोच्ने मान्छेले पनि एक पटक किताब उठाओस् । यही कुरा सोचेर नजिकै कलेज र स्कुल तथा भिडभाड, आउजाउ हुने ठाउँ मैले रोजेको हुँ ।’

उनले पुस्तक राख्ने भाँडो चाहिँ पुरानो फ्रिज नै किन रोजे त ?

‘एक त यसले सर्वसाधारणको ध्यानाकर्षण गर्ला भन्ने नै हो, अर्को चाहिँ वर्षभरि खुला ठाउँमा पुस्तकहरू राख्दा घामपानीले नबिग्रियोस्, पानी परेका बेला तुरून्त बन्द गर्न सकियोस् भन्ने उद्देश्यले नै फ्रिजमा किताब राख्ने सोच आएको हो,’ हल्दारले इन्डियन एक्सप्रेस पत्रिकालाई भने ।

हल्दारले यस पुस्तकालयका लागि आफूसँग भएका तीन सयभन्दा बढी अङ्ग्रेजीका किताब यहाँ राखेका छन् भने लगभग ७० हजार रूपैँया बराबरका नयाँ बाङ्ला पुस्तकहरू खरिद गरेका छन् ।

यस अभियानका बारेमा थाहा पाएपछि केही दानीहरूले पुस्तक दान दिन थालेको र दिनदिनै पुस्तकालयको आकार बढ्न थालेको उनको भनाइ छ ।

केही दिनमा नै यो पुस्तकालयमा पुस्तकहरू थुप्रिनुको कारण चाहिँ उनका विद्यार्थीले वरपर पुस्तक दान अभियान सञ्चालन गरेर पनि हो । उनका छोराले समेत खाजा खर्च जोगाएर पुस्तकालयका लागि रकम दान गरेका थिए । उनकी पत्नी कुमकुमले प्रत्येक पुस्तकलाई वर्गीकरण गर्ने, लेबलिङ गर्नेजस्ता काम गरी सघाएकी थिइन् ।

पुस्तकालयमा पाठकहरू केही बढे पनि छेउको किराना पसलमा बिक्री भने बढेको छैन । पसल सञ्चालक तरपड कान्हार भन्छन्, ‘पुस्तकालयमा आउनेले मेरो पसलमा किन्नै पर्छ भन्ने छैन । किन्ने उद्देश्यका साथ आउनेहरूले किन्छन्, पढ्ने उद्देश्यका साथ आउनेहरूले पढ्छन् । तर अचेल मेरो पसलमा भन्दा पुस्तकालयमा भिड चाहिँ बढेको छ । यो देख्दा मलाई आनन्द नै लागेको छ ।’

कान्हार थप्छन्, ‘म बच्चा छँदा किताबको अनुहार पनि देख्न पाइनँ । जीवन गुजाराका लागि पसल चलाउँछु । जब म अहिलेका बालबालिकाका लागि यत्तिका धेरै सुविधा देख्छु, मलाई खुसी लाग्छ । त्यसैले बढीभन्दा बढी मानिसहरू यहाँ आएर छेउकुना लागी पढेर बसिदिँदा मनमा शान्ति छाउँछ ।’

कान्हार र हल्दार परिवारको यो अभियान शुरू हुँदा केहीले उनीहरूलाई हतोत्साही पनि नबनाएका होइनन् । किताब चोरी हुने, नफर्काइनेजस्ता समस्या हुने र झन्झट बढ्ने भनी छरछिमेकले हतोत्साही गर्न खोजेका थिए । बरू यो पुस्तकालय सञ्चालन भएपछि यहाँका किताब चोरिने भन्दा पनि थपिने क्रम बढेकोमा उनीहरूको आश्चर्य छ ।

पुस्तक लगेपछि केहीले पढ्न ढिला भएको र फर्काउन समय लाग्न सक्ने भन्दै माफी माग्ने गरेको हल्दारको अनुभव छ ।

उनको फ्रिज लाइब्रेरी फेसबुक पेज भाइरल भएपछि हल्दारको फोन नियमित रूपमा बज्न थालेको छ । हरेकले पुस्तकालयलाई कसरी सहयोग गर्न सकिएला भन्दै फोन गर्न थालेकामा हल्दारलाई सन्तोष लागेको छ ।

यो नमुना पुस्तकालय सफल भएपछि कोलकाताका अन्य भागमा पनि यस्तै सफलता दोहोर्याउन सकिएला कि नसकिएला भन्ने परिक्षणमा छन्, हल्दार । सोचेभन्दा बढी पुस्तकको बाढी आयो भने अन्य ठाउँमा पनि यस्तै पुस्तकालय सञ्चालन गर्ने तयारीमा उनले विभिन्न ठाउँको भ्रमणसमेत गरिसकेका छन् ।

‘यो अभियानले एक जना पाठक मात्र लाभान्वित भए भने पनि मेरो जीवन सफल भयो भन्ने ठान्छु,’ हल्दार भन्छन्, ‘पाठकहरूको भिड ओइरिएला भन्ने मेरो अपेक्षा होइन तर जति पनि आउँछन्, तिनले शान्ति र चैनको सास यहाँ फेर्न पाए भने त्यो नै मेरालागि सबैभन्दा ठूलो सफलता हो ।’