जेम्स एबोट म्याक्निल ह्विस्लर अमेरिकाका चर्चित चित्रकारमध्ये एक हुन् । उनको एरेन्जमेन्ट इन ग्रे एन्ड ब्ल्याक, नं. वन अर्थात् चित्रकारकी आमा शीर्षकको यो चित्र जेम्सको सबैभन्दा प्रख्यात चित्र हो ।
प्रायः आमा भन्नेबित्तिकै आँखामा प्रेम र गहिरो स्नेह झल्कने गर्छ । आमाको छवि प्रायः हाम्रो हृदयमा पनि त्यस्तै कुँदिएको हुनसक्छ तर चित्रकार जेम्सले भने आफ्नी आमालाई प्रेमिल, स्नेही र करूणाले भरिएकी स्त्रीका रूपमा भन्दा पनि थकित बुढियाका रूपमा यहाँ प्रस्तुत गरेका छन् । जीवनका वास्तविकता र धपेडीले गालेकी एक बुढिया जीवनको उत्तरार्धमा थकित झैँ देखिन्छिन् । आमाको यो स्वरूप चित्रकारहरूले यसअघि कहिल्यै अभिव्यक्त गरेका थिएनन् । यही कारणले पनि यो चित्र उनको सबैभन्दा चर्चित चित्रका रूपमा रह्यो ।
यो चित्रको शीर्षक नै एरेन्जमेन्ट इन ग्रे एन्ड ब्ल्याक र सँगैमा नं. १ लेखिएको छ । अर्थात् यो शृङ्खलामा उनको यो पहिलो चित्र हो । दोस्रो चित्र चाहिँ उनले चर्चित साहित्यकार थोमस कार्लाइलको यस्तै शैलीमा कोरेका थिए ।
जेम्सको यो चित्र कति चर्चित भयो भने अमेरिकाको पेन्सिल भेनियामा मदर्स मेमोरियल यसै चित्रलाई आधार मानी बनाइएको छ । त्यसअघि सन् १९३४ ताका सोही चित्रकलालाई अमेरिकी सरकारले हुलाक टिकटमा ठाउँ दिएको थियो ।
पछि त यही चित्रलाई प्रयोग गरेर युद्धमा आमाका लागि लड्न भनी युवाहरूलाई आह्वान गर्ने पोस्टरसमेत प्रयोग हुन पुग्यो ।
यो चित्रकला सन् १९७२ मा पहिलो पटक लन्डनस्थित रोयल एकेडेमीमा प्रदर्शनीमा राखिएको थियो । हुन त त्यो बेला शुरूमा यो चित्रलाई रोयल एकेडेमीले अस्वीकार गरेको थियो तर पछि यसलाई स्वीकार गरियो । यो चित्रकलाले त्यो बेला त्यति राम्रो प्रतिक्रिया भने पाएको थिएन ।
पछि यो चित्रलाई फ्रान्सेली सरकारले किनेर आफ्नो सङ्कलनमा राखेपछि उनी चर्चित मात्र भएनन्, फ्रान्सले उनलाई सन् १८८९ मा सबैभन्दा ठूलो सम्मान नाइट अफ द लेजिअँ डि अनरसमेत प्रदान गर्यो ।
को हुन् चित्रकार जेम्स म्याक्निल ह्विस्लर ?
अमेरिकामा जन्मी, केही समय रूसमा बाल्यकाल बिताएका उनी सन् १८४२ बाट लन्डनमा बस्न थाले । कलाप्रति हुरूक्क हुने भएकाले त्यो बेलाको कलाको राजधानी भनी चिनिने पेरिस पनि उनको नियमित बस्ने थलो थियो । भेनिस उनको अर्को मन पर्ने सहर थियो ।
उनका बुवा रेलरोड इन्जिनियर थिए तर उनको चाँडै नै देहान्त भएपछि उनी छोरासँग लन्डन सरिन्, जो पहिले नै लन्डनमा चित्रकलाका क्षेत्रमा आफ्नो नाम र दाम कमाउन थालिसकेका थिए ।
उनी बेलायतमा रहँदा उनी प्रायः विवादमा परिरहन्थे । विवादकै कारण उनी पछि मुद्दामामिलामा मात्र फँसेनन्, कंगाल नै भए । पछि उनी कंगालीबाट चाँडै नै उत्रिए । उनी कला कलाका लागि हुनुपर्छ भन्ने मान्यता राख्थे ।
यो चित्रकलामा के हेर्ने ?
मूलतः यो चित्र चित्रकार जेम्सकी आमा एना म्याक्निल ह्विस्लरको हो । उनी जब छोरासँग बस्न भनेर बेलायतस्थित चेल्सीमा आइन्, त्यो बेला छोराले बनाएको चित्र हो ।
१. आमै
यहाँ हामी आमाको अनुहार देखिन्छ । यो ठीक त्यसै गरी बनाइएको छ, जसरी एउटा सिक्कामा कुनै राजा या रानीको तस्बिर अङ्कित गरिन्छ । तर जुन बेला यस्तो प्रयोग गरियो, चित्रकलामा यस्तो प्रयोग गरिँदैनथ्यो । जेम्सले आफ्नी विधवा आमालाई कालो रङको लुगामा देखाएका छन् । यस्तो चित्र पहिला फ्रान्स हाल्जले बनाउँथे । हाल्जका उनी ठूलो प्रशंसक थिए ।
२. कुर्सी
जेम्सले आफ्नो चित्रकलामा प्रायः शरीर देखिने गरी अर्थात् पूरै टुप्पीदेखि पैतालासम्म देखाउने गरी बनाउँछन् । यहाँ उनले पनि आफ्नी आमाको पूर्ण शरीर देखिने गरी बनाएका छन् । उमेर र रोगका कारण रूग्ण शरीर उनले यहाँ प्रस्तुत गरेका छन् । आमा उभिएर चित्र कोराउने अवस्थामा थिइनन्, शायद त्यसैले कुर्सीमा बसाएर यो चित्र बनाइएको हुनसक्छ ।
३. हात र रूमाल
यहाँ श्वेत रङको फेरो र रूमाल देखिन्छ । रूमाललाई उनले प्रोपका रूपमा प्रयोग गरेका छन् । अरूबेला उनले पञ्जा, टोप अथवा पङ्खा लगायतका चिजबिज प्रयोग गर्ने गरेका थिए ।
४. भित्तेचित्र
भित्तामा एउटा चित्र देखिन्छ । यो १८५९ ताका बनाइएको ब्ल्याक लायन ह्वार्फ शीर्षकको चित्र हो । उनले थेम्स नदी किनाराको भव्यता देखाउन शृङ्खलाबद्ध १६ चित्र बनाएका थिए । यो चित्र चाहिँ तीमध्ये एक हो । जेम्स नदी किनारमा बस्थे त्यो बेला । त्यसैले उनका चित्रमा नदी र नदीजन्य कुराहरू कहिले पनि छुट्दैनथे ।
५. पृष्ठभूमि
चित्रमा जेम्सले संवेदनशीलताको घोल मिसाउनका लागि र टोनल कन्ट्रास्ट उत्पन्न गर्न पर्दा र भित्ताको रङलाई बिल्कुल भिन्दाभिन्दै रङमा प्रस्तुत गरेका छन् । पर्दा कालो छ भने भित्ता सेतो । त्यस्तै भित्ताको मुनिको भाग पनि कालो रङ देखिन्छ । यसले चित्रमा सुस्त प्रभाव उत्पन्न गरेको मात्र छैन, चित्रले त्रिआयामिक प्रभावसमेत छरेको छ ।
६. गोडा
उनकी आमाको गोडा त जुत्ताले छोपिएको छ तर जुन टुलमा उनले गोडा राखेकी छन्, त्यो पहेँलो रङको छ । विज्ञहरूले यो चित्रको एक्स रे गरेर हेर्दा अलि ठूलो अग्लो टुलमा गोडा राखेको पनि बनाएका थिए भन्ने पत्ता लगाए तर पछि उनले यसलाई पहेँलो सानो पाउदानमा गोडा अड्याए । त्यसो त गोडा मात्र होइन, हातको पोजिसन पनि फरक पारिएको थियो, अन्ततः उनले त्यसलाई पछि परिवर्तन गरी अन्तिम रूप दिएका थिए ।
७. जापानी प्रभाव
भित्तामा कालो पर्दामा केही बुट्टा देखिन्छ । यो बुट्टालाई विश्लेषकहरूले जापानी प्रभाव भनेका छन् । जापानी संस्कृतिले त्यो बेला पश्चिमा मुलुकमा राम्रो प्रभाव पार्न थालेको यो बुट्टाबाट पनि बुझ्न सकिन्छ । जेम्सले जापानी कला र विभिन्न सहायक चिजबिजहरू सङ्कलन गरेका थिए र तिनै चिजबाट प्रेरणा लिने गरेका थिए ।
आउनुस्, चित्रलाई पुनः गहिरिएर अवलोकन गरौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।