साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

एकाङ्की के हो र कसरी लेखिन्छ ?

सिर्जना पाठशाला भाग २३

१. विषय प्रवेश
साहित्यका श्रव्य र दृश्य भेदमध्येमा दृश्यकाव्यअन्तर्गत नाटक पर्दछ । त्यही नाटकको एक प्रकारको छोटो संरचनालाई एकाङ्की भनिन्छ । एकाङ्की शीर्षकले नै यसले एउटा मात्र अङ्कको अपेक्षा गरेको हुन्छ भन्ने कुरालाई सङ्केत गरेको छ । नाटकमा घटना, परिवेश र पात्रको गतिविधिअनुसार विभिन्न अङ्क र दृश्यहरूको व्यवस्थापन गरिएको हुन्छ । घटना र परिवेशले निकै ठुलो मोड लिएमा अङ्क नै परिवर्तन गरिन्छ भने चरित्रको भूमिका र परिवेशको सानो मोडमा दृश्यको परिवर्तन गरिन्छ । एकाङ्की एउटै घटना, एउटै परिवेशमा लेखिने हुनाले यसमा एउटा मात्र अङ्क हुने गर्दछ । प्रायः एकाङ्कीहरू एउटै अङ्क र एउटै दृश्यमा देखिएका हुन्छन् तर बिच बिचमा साना साना मोडहरू आउन सक्ने अवस्था भएमा अथवा प्रदर्शनका क्रममा पर्दा बन्द गर्नुपर्ने भएमा एकाङ्कीमा पनि दृश्यपरिवर्तन चाहिँ हुन सक्छ । यस लेखमा साहित्यको दृश्य भेदअन्तर्गत पर्ने त्यही लोकप्रिय नाट्य विधाका रूपमा रहेको एकाङ्कीका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. एकाङ्कीको सैद्धान्तिक स्वरूप र परम्परा
‘अङ्क्’ मूल धातुमा ‘अच्’ जोडिएर बनेको ‘अङ्क’ शब्दको अर्थ चिह्न वा सङ्केत भन्ने हुन्छ । त्यही अङ्क मूल शब्दमा केन्द्रित भएर ‘एक+अङ्क+ई’ निर्माण प्रक्रियाबाट ‘एकाङ्की’ शब्द बन्दछ । यसको अर्थ एक अङ्कको अथवा एक अङ्कमा बनेको भन्ने हुन्छ । साहित्यका सन्दर्भमा भने एकाङ्की शब्दले नाट्य विधाको एउटा प्रकारलाई बुझाउने गर्दछ । एउटै अङ्क र एउटै घटनामा आधारित नाट्य रचना भन्ने यसको अर्थ नै साहित्यका सन्दर्भमा उपयोगी बन्न पुगेको छ । पूर्वीय नाट्यशास्त्रहरूमा नाटकका सबै खाले भेदहरूलाई रूपकअन्तर्गत राखेको पाइन्छ । रूपकका भेदका रूपमा चर्चा गरिएका भाण, व्यायोग, उत्सृष्टाङ्क, वीथी आदिको संरचना र विभिन्न उपभेदहरूको संरचना एकाङ्कीकै रूपमा हुनुपर्ने स्पष्ट उल्लेख गरिएको पाइन्छ । लेखनगत प्राचीनतालाई हेर्दाचाहिँ पूर्वीय जगत्मा कालिदास, भवभूति आदि जस्ता नाटककारहरूले बृहत् नाटकको रचना गरे पनि एकाङ्की नामबाट कुनै रचना गरेको देखिँदैन तापनि पूर्वीय जगत्मा खण्ड खण्डका रूपमा प्रस्तुत हुने नाटकीय लघुसंरचनाहरूमा एकाङ्कीको आंशिक स्वरूप भने देख्न पाइन्छ ।

एकाङ्की तत्सम शब्द हो र यसको विधागत चर्चा संस्कृत नाट्यशास्त्र र काव्यशास्त्रहरूमा प्राचीन कालदेखि नै हुँदै आएको भए पनि यसलाई पाश्चात्य साहित्यको देन मान्ने गरिन्छ । प्रयोगात्मक दृष्टिले पूर्वीय जगत्मा नाटकहरूको प्रशस्त रचना भए पनि एकाङ्की नै भनेर रचना भएको कम पाइन्छ त्यसैले यसको प्रयोगात्मक स्वरूपको खोजी बढी पाश्चात्य साहित्यबाट गर्नुपर्ने हुन्छ । अङ्ग्रेजीमा नाटकलाई ‘ड्रामा’ (Drama) भनिन्छ । प्रस्तुति वा अभिनय अर्थ दिने ग्रिक शब्द ‘ड्रामा’को एउटा रूपलाई ‘वान् याक्ट प्ले’ (One Act Play) भनिन्छ । त्यही नै पूर्वीय जगत्मा प्रचलित एकाङ्की हो । यसको अघोषित प्रारूप प्राचीन ग्रिक र ल्याटिन साहित्यमा प्रचलित नाट्य रचनाहरूमा भेटिए पनि तिनको विशेष चर्चा पाइँदैन । पश्चिमी जगत्मा एकाङ्कीको बिउ वा आदिम रूपचाहिँ दसौँ शताब्दीमा फेला परेको देखिन्छ । त्यतिबेला पश्चिममा प्रचलित ‘चमत्कार नाट्य’ र ‘नीतिनाट्य’मा एकाङ्कीको आदिम स्वरूप पाइन्छ । यिनले कुनै इसाइ सन्तको चरित्रकथा वा कुनै उपदेशात्मक नैतिक विषयलाई कथ्यका रूपमा प्रस्तुत गरेको पाइन्छ । यसैको पृष्ठभूमिमा उन्नाइसौँ शताब्दीको अन्त्य र बिसौँ शताब्दीको थालनीमा एकाङ्कीको औपचारिक आगमन भएको पाइन्छ । सुरु सुरुमा लन्डनको प्रसिद्ध नाचघर ‘बेस्ट एन्ड थिएटर’मा विभिन्न कथाकृतिहरूलाई नाट्य रूपान्तरण गरी प्रस्तुत गरिन्थ्यो जसलाई ‘कर्टेन रेजर’ भनिन्थ्यो । यसलाई मूल नाटकका अगाडि प्रस्तुत गरेर दर्शकहरूको ध्यानाकर्षण गरिन्थ्यो र पछि पूर्ण नाटक देखाइन्थ्यो । एक पटक सन् १९०३ मा लन्डनको सोही थिएटरमा डब्लुडब्लु जेकबको कथाकृति ‘दि मङ्किज पा’लाई नाट्य रूपान्तरण गरी ‘कर्टेन रेजर’का रूपमा प्रस्तुत गरियो तर उक्त प्रस्तुतिपछि दर्शनहरू मूल नाटक नै नहेरी फर्कन थाले । यसपछि ‘कर्टेन रेजर’ बन्द गरियो । यसरी पाश्चात्य जगत्मा दर्शकहरूमा लामा नाटकहरूप्रतिको विकर्षण र छोटा नाटकहरूप्रतिको आकर्षण उत्पन्न भएपछि एकाङ्कीको जन्म भएको देखिन्छ । यसका आधारमा हेर्दा पाश्चात्य साहित्यमा नर्बेली नाटककार हेनरिक इब्सन (सन् १८२८—१९०६) का विभिन्न लघुनाटकहरू, अगस्ट स्ट्रिन्डवर्गका ‘पारिआ’ ९एबचष्बज० लगायतका लघुनाटक तथा एकाङ्कीहरूको लोकप्रियताबाट नै पाश्चात्य जगत्मा एकाङ्कीको विकास र विस्तार भएको देखिन्छ ।

एकाङ्कीलाई प्रायः पाश्चात्य जगत्का विद्वान्हरूले विभिन्न रूपमा परिभाषित गरेको पाइन्छ । सिड्नी बक्सले एकाङ्कीले कुनै एक विशिष्ट प्रभाव उत्पन्न गर्नुपर्छ, यसमा एउटै स्थिति हुनुपर्छ र यसको उद्देश्य कुनै एक पात्रको वा पात्रसमूहको कार्यक्रममा केन्द्रित हुनुपर्छ भनी परिभाषित गरेका छन्, पर्सिवल बाइल्डले अमान्य हुने गरी जीवनको वास्तविकतादेखि टाढा नगई निकट हुने र घटनावलीको गति अग्र वा पश्च हुन सक्ने तथा समय पक्ष महत्त्वपूर्ण भएको कृतिलाई एकाङ्की भनिन्छ भनी चिनाएका छन् भने वाटर प्रिचर्ड एटनले आफ्ना प्रकृति र आफ्ना माध्यमको कठोर बन्धनले गर्दा एउटै घटना वा प्रसङ्गमा सीमित रहने रचनालाई एकाङ्की भनिन्छ भनी परिभाषित गरेका छन् । यसरी नै भारतीय विद्वान् डा. नगेन्द्रले चाहिँ एकाङ्कीमा जीवनको क्रमबद्ध विवेचना पाइँदैन तर त्यसमा मानव जीवनको एक पक्ष, एक महत्त्वपूर्ण घटना, एक विशेष परिस्थिति वा एक उद्दीप्त क्षणको चित्र पाइन्छ भनी चिनाउने काम गरेका छन् । नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समले एकाङ्की घोडादौड जस्तो हो जसमा विश्राम हुनु हुँदैन भनी छोटो तर महत्त्वपूर्ण परिभाषा प्रस्तुत गरेका छन् । यी परिभाषाहरूलाई हेर्दा एकाङ्कीमा जीवन र जगत्को एउटा विशिष्ट परिवेशलाई समेट्ने खालको जुनसुकै कथावस्तु हुन सक्ने, त्यसलाई नाटकीय संरचनामा ढालेर प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने र एउटै अङ्कमा भावगत अभीष्ट पूरा गर्नुपर्ने मान्यतामा जोड दिएको देखिन्छ । यसका आधारमा हेर्दा एउटा विशिष्ट क्षणलाई एउटा अङ्कमा समेटेर प्रस्तुत गरिने नाटकीय रचना नै एकाङ्कीको चिनारी हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

नेपाली साहित्यमा एकाङ्की लेखनको इतिहासलाई खोजी गर्ने हो भने परापूर्व कालदेखि नेपाली लोकजीवनमा प्रचलित लोकनाट्य रचनाहरूसम्म पुग्नुपर्ने हुन्छ । नेपाली लोकजीवनमा अनेकौँ गाथा, लोकनृत्य र नाट्यप्रस्तुतिहरूमा एकाङ्कीको प्रारूप फेला पर्दछ । लिखित साहित्यमा आउँदा वि.सं. १८५५ मा शक्तिवल्लभ अर्यालद्वारा आफ्नै संस्कृत नाटकबाट नेपाली भाषामा अनूदित ‘हास्यकदम्ब’लाई नेपाली नाटकको पहिलो कृति मान्ने गरिन्छ । नेपाली एकाङ्कीका सम्बन्धमा भने अझै पछिसम्म पर्खनुपर्ने अवस्था देखिन्छ । वि.सं. १९८९ को अज्ञात लेखकको ‘आत्माभिमान’लाई नेपाली एकाङ्कीको पहिलो स्वरूप मान्ने गरिन्छ । यसपछि क्रमशः देखा परेका भवदेव पन्तको ‘श्रद्धाञ्जली’ (१९९१) र विष्णुचरण श्रेष्ठको ‘स्याउ खोइ ?’ (१९९६) आदि एकाङ्कीहरूले नेपाली एकाङ्की लेखन र प्रकाशनका लागि पृष्ठभूमिको काम गरेका छन् । यसपछि भीमनिधि तिवारीको ‘काशीबास’ (१९९८), पुष्करशमशेर जबराको ‘लक्ष्यहीन’ (१९९९) र बालकृष्ण समको ‘बोक्सी’ (१९९९) जस्ता एकाङ्कीहरूको लेखन र प्रकाशनपछि यसले तीव्र गति लिएको देखिन्छ । यसरी हेर्दा वि.सं. १९८९—१९९७ लाई पृष्ठभूमि काल, १९९८—२००७ प्रथम चरण, २००८—२०२६ द्वितीय चरण र २०२७ पछि तृतीय चरण गरी नेपाली एकाङ्कीको कालक्रमिक सर्वेक्षण गर्न सकिन्छ । यसरी १९८९ देखि हालसम्मको ९० वर्षको छोटो अवधिमा पनि नेपाली एकाङ्कीले अनेकौँ वाद, प्रवृत्ति र शैलीहरू अँगाल्दै आएको ऐतिहासिक तथ्यलाई भुल्न मिल्दैन । हालसम्म आइपुग्दा नेपाली एकाङ्कीमा परम्परागत परिभाषा, संरचना र चिनारीभन्दा भिन्न प्रयोगधर्मी लेखनले पनि प्रशस्त प्रवेश पाएको देखिन्छ । पछिल्लो समयमा विकसित विभिन्न थिएटरहरूको निर्माण र सडकनाटक आदिको लेखन र प्रस्तुतिका क्रममा विभिन्न प्रयोगशील, अमूर्त, विम्बात्मक, साङ्केतिक वा चित्रात्मक शैलीका एकाङ्कीहरूको पनि विकास भएको देखिन्छ ।

३. एकाङ्की हुनका लागि के के चाहिन्छ ?
नाटकको एउटा भेद भए पनि एकाङ्की आफैँमा पूर्ण संरचना हो । यो संवादात्मक शैलीमा लेखिन्छ तर संवादको विस्तार एकाङ्की होइन र नाटकको एउटा खण्ड पनि एकाङ्की होइन । कतै कतै एउटा अङ्कको संरचनालाई एकाङ्की र धेरैओटा अङ्कमा संरचित नाटकलाई पूर्णाङ्की भनेको पनि पाइन्छ तर यो तर्कपूर्ण देखिन्न । एकाङ्की पनि पूर्णाङ्की नै हो । यो पनि आफैँमा पूर्ण हुन्छ । यत्ति मात्र हो, यसले एउटा विशेष घटना, पात्र र विशेष परिवेशका माध्यमबाट विशेष लक्ष्य प्राप्त गर्ने काम गर्दछ र यसको रचना एउटा मात्र अङ्कमा हुने गर्दछ । त्यसैले एउटा एकाङ्कीकार एकाङ्की लेख्न बस्दा उसका लागि निम्नलिखित कुराहरू अनिवार्य बनेर आउने गर्दछन्—

(क) घटना/कथावस्तु: केका बारेमा एकाङ्की लेख्ने हो ? त्यसको निर्धारण र दृश्याङ्कनका लागि प्राक्कल्पना ।
(ख) पात्र/चरित्र: कथावस्तुलाई लक्ष्यसम्म पु¥याउने जिम्मा ककसलाई दिने हो ? तिनको छनोट ।
(ग) परिवेश: एकाङ्कीका पात्रहरू उभिएको ठाउँ, समय र वातावरण के कस्तो राख्ने हो ? तिनको विश्वसनीय चयन ।
(घ) उद्देश्य/भाव/विचार: यो एकाङ्की किन लेख्न लागिएको हो ? त्यसको आन्तरिक शक्ति वा केन्द्रीय कथ्यको निर्धारण ।
(ङ) संवाद/अभिनय: पात्रका बिचमा विचारविनिमय कसरी गराउने र त्यसलाई पात्रको चरित्रमा र हाउभाउमा रूपान्तरण कसरी गर्ने ? त्यसको निर्धारण ।
(च) द्वन्द्वविधान: लेखकीय अभीष्ट पूरा गर्नका लागि बिचमा आइपर्ने आन्तरिक वा बाह्य विरोधाभासहरूको व्यवस्थापन कसरी गर्ने ? त्यसप्रतिको सचेतता ।
(छ) भाषाशैली: विषयवस्तुलाई बाह्य रूपमा प्रकटीकरण गर्नका लागि कस्तो भाषा र कस्तो शैलीको प्रयोग गर्ने हो ? त्यसको निर्धारण ।

यिनका साथै एकाङ्कीकारले मूल घटनालाई प्रभावकारी, आकर्षक र कुतूहलपूर्ण बनाउनका लागि आवश्यक नयाँ शैली, प्रतीक र विम्बहरूको छनोट पनि एकाङ्कीमा गरेको हुनुपर्छ र संवादको प्रभावकारिता, अभिनयको जीवन्तता र अभीष्टको सहजताका लागि आवश्यक आन्तरिक व्यवस्थापनलाई पनि विशेष ध्यान दिएको हुनुपर्छ । यी कुराहरूका बारेमा एकाङ्कीकार यसरी अझै स्पष्ट हुनु जरुरी छ—

(क) घटना अथवा कथावस्तु
एकाङ्की जेका बारेमा लेखिने हो त्यसलाई ‘घटना अथवा कथावस्तु’ भनिन्छ । अर्थात् एकाङ्कीमा समाविष्ट मूल घटना नै त्यसको घटना हो र एकाङ्कीमा जुन कहानीलाई जोड दिइएको छ त्यो कथावस्तु हो । एकाङ्कीमा आएको कथावस्तु वा घटना कुनै रैखिक ढाँचामा, कुनै वृत्ताकारीय ढाँचामा र कुनै अमूर्त ढाँचामा हुने गर्दछन् । रैखिक ढाँचाको कथावस्तु सुरुदेखि अन्त्यसम्म सरासर अगाडि बढेको हुन्छ, वृत्ताकारीय ढाँचाको कथावस्तु घुमाउरो शैलीमा अगाडि बढेको हुन्छ भने अमूर्त ढाँचाको कथावस्तु संवादात्मक प्रयोगशीलता, दृश्यगत विम्बात्मकता र अभिनयात्मक नवीनताभित्रै हराएको हुन्छ । अमूर्त ढाँचाको कथावस्तु प्रयोग भएका एकाङ्कीलाई प्रयोगशील, प्रयोगधर्मी वा प्रयोगवादी भन्ने गरिन्छ । नेपाली एकाङ्की परम्परालाई हेर्ने हो भने बालकृष्ण समको ‘नालापानीमा’ एकाङ्कीमा कथावस्तुको विकास रैखिक ढाँचामा अगाडि बढेको पाइन्छ, गोविन्दबहादुर मल्ल गोठालेको ‘म कसरी हार्छु ?’ एकाङ्कीमा कथावस्तुको विकास वृत्ताकारीय ढाँचामा अगाडि बढेको पाइन्छ भने अशेष मल्लको ‘तुवाँलोले ढाकेको बस्ती’ एकाङ्कीमा कथावस्तुको विकास प्रयोगात्मक ढाँचामा अगाडि बढेको पाइन्छ । एकाङ्कीमा कथानकको विकास पनि तदनुकूल भएको पाइन्छ र संवादात्मक गतिशीलतासँगै घटनाको कार्यकारण शृङ्खला पनि अगाडि बढेको हुन्छ ।

(ख) पात्र/चरित्र
घटनालाई वहन गर्नका लागि ‘पात्र वा चरित्र’को आवश्यकता पर्दछ । एकाङ्कीमा पात्रको स्वरूप, प्रवृत्ति वा भूमिका झल्काउने कलाकारिता स्रष्टामा हुनु आवश्यक छ । त्यसैलाई ‘चरित्रचित्रण’ भनिन्छ । एकाङ्कीमा चरित्रको चित्रण स्रष्टाको अभिव्यक्तिबाट भन्दा पनि उसको भूमिकाबाट हुने गर्दछ । एकाङ्कीमा नायक, खलनायक आदिका अतिरिक्त विदूषकको पनि आवश्यकता पर्दछ । एकाङ्कीमा स्त्री, पुरुष, मुख्य, सहायक, गौण, सत्, असत्, मञ्चीय, नेपथ्य, सूच्य आदि विविध पात्रको संयोजन हुन सक्छ । एकाङ्कीमा मानवीय वा मानवेतर जुनसुकै पात्रहरू हुन सक्छन् । प्रयोगशील नाटकहरूमा त क, ख, ग, एक, दुई, तीन अथवा कुनै सङ्केत पात्रहरू पनि राख्ने प्रचलन छ । ती पात्रहरूमध्येमा कुनै एक वा दुई पात्र एकाङ्कीकारको मुखपात्र हुने गर्छ । त्यसले एकाङ्कीले दिन चाहेको मूल सन्देश प्रवाह गरेको हुन्छ । त्यसैले एकाङ्कीको केन्द्रीय कथ्यको सबल सम्प्रेषणमा पात्रको विशेष भूमिका हुने गर्दछ ।

(ग) परिवेश (देश, काल र वातावरण)
एकाङ्कीमा पात्र खेल्नका लागि ‘परिवेश’ चाहिन्छ । परिवेशभित्र देश (स्थान), काल (समय) र वातावरण (पर्यावरण) पर्दछन् । यसको प्रत्यक्ष सम्बन्ध घटना र पात्रसँग हुन्छ तर त्यसको उद्घाटन अभिव्यक्तिबाट हुने गर्दछ । एकाङ्कीमा प्रयोग भएको परिवेशमा विश्वसनीयता अनिवार्य मानिन्छ । परिवेश अनुकूल भएन भने एकाङ्कीकारको ज्ञानमाथि प्रश्न उठ्ने गर्दछ । नाटककार बालकृष्ण समले जुम्लामा आँपको बोटको र पात्रले ऐँसेलुका रुखमा सैसैला खेलेको प्रसङ्गको उल्लेख गर्नाले आलोचना भएको कारण विश्वसनीय र यथार्थ परिवेशको उल्लेख नहुनु नै हो ।

(घ) उद्देश्य/भाव/विचार
एकाङ्की किन लेख्ने भन्ने बारेमा स्रष्टा स्पष्ट हुनु अनिवार्य छ त्यसैले ‘उद्देश्य’ एकाङ्कीका लागि आवश्यक छ । यो एकाङ्कीको अन्तर्वस्तु हो । यसमा एकाङ्कीकारले के उद्देश्य राखेर एकाङ्की लेखेको हो ? यसको केन्द्रीय कथ्य वा भाव के हो र यसमा स्रष्टाको कस्तो विचार अभिव्यक्त भएको छ भन्ने कुरा थाहा पाइन्छ । पूर्वीय नाट्यशास्त्रले अपेक्षा गरेअनुकूल चतुर्वर्गको प्राप्ति वर्तमानका एकाङ्कीहरूको उद्देश्य नहुन सक्छ तापनि समाजअपेक्षित वा युगसापेक्ष एउटा न एउटा उद्देश्यमा केन्द्रित भएर एकाङ्कीको रचना हुने गर्दछ । यही उद्देश्यले एकाङ्कीको वैचारिक धरातलका साथै सन्देश पनि निर्धारण गर्दछ ।

(ङ) संवाद/अभिनय
नाटकीय सिर्जनाहरूको मूल तत्त्व नै संवाद वा अभिनय हो । संवादात्मक घटना विस्तार वा अभिनयात्मक विषय सम्प्रेषणले गर्दा नै नाटक अन्य विधाभन्दा फरक हुने गर्दछ । एकाङ्कीमा पात्रका बिचमा विचारविनिमय हुनु अनिवार्य छ । एउटा पात्रको विचारलाई अर्को पात्रसम्म पु¥याउनका लागि सेतुको काम संवादले गर्दछ । एकाङ्कीमा संवाद हुनै पर्छ र त्यस संवादलाई पात्रले हाउभाउका साथ प्रस्तुत गर्नुपर्छ । एकाङ्कीको लेख्य स्वरूपमा नै कोष्ठकमा (तत्कालीन दृश्य, परिस्थिति, मुखाकृति, हाउभाउ आदि) सङ्केत गरिने हुनाले पाठ्य एकाङ्कीमा पनि संवाद वा अभिनयको झलक स्वतः देखिने गर्दछ । यसले एकाङ्कीलाई साँच्चै दृश्यकाव्यको स्वरूप प्रदान गर्ने हुनाले संवाद वा अभिनय एकाङ्कीका लागि अनिवार्य तत्त्व नै मानिन्छ ।

(च) द्वन्द्वविधान
विषयवस्तुप्रतिको सहमति र विमतिबाट द्वन्द्वको जन्म हुने गर्दछ । कुनै पनि कुरामा देखिने वैचारिक मतभेद नै द्वन्द्व हो । एकाङ्कीमा द्वन्द्वको प्रयोग अनिवार्य मानिन्छ जसको प्रकटीकरण संवादका माध्यमबाट हुने गर्दछ । द्वन्द्व दुई प्रकारको हुन्छ, बाह्य द्वन्द्व र आन्तरिक द्वन्द्व । पात्रको संवादका क्रममा व्यक्त हुने, भनाभनबाट विरोध प्रकट गरिने वा भौतिक रूपमा हुने कुटाकुटबाट अभिव्यक्त हुने द्वन्द्वलाई बाह्य द्वन्द्व भनिन्छ भने भित्रभित्रै विकसित भएको अन्तर्विरोध, अव्यक्त विमति वा मान्छेका मनमा मात्र रहने विरोधपूर्ण विचार आदिलाई आन्तरिक द्वन्द्व भनिन्छ । बाह्य द्वन्द्वमा झगडाको स्वरूप बाहिरै देखिन्छ भने आन्तरिक द्वन्द्वमा वैरभाव बाहिर प्रकट हुँदैन । बाह्य द्वन्द्व दाउराको आगो जस्तो हुन्छ भने आन्तरिक द्वन्द्व भुसको आगो जस्तो हुन्छ । द्वन्द्वविधानले एकाङ्कीलाई कुतूहलपूर्ण र उत्सुकतावद्र्धक बनाउँछ र भावगत अभीष्टका लागि धनात्मक र ऋणात्मक दुवै पक्षको विश्लेषण गर्ने काम गर्दछ ।

(छ) भाषाशैली
एकाङ्कीमा प्रयुक्त विषयवस्तुको सम्प्रेषणका लागि ‘भाषा’ चाहिन्छ भने प्रस्तुतिको कलात्मकताका लागि ‘शैली’को आवश्यकता पर्दछ । एकाङ्कीको भाषाशैली कम चित्रात्मक र बढी संवादात्मक हुनु अनिवार्य मानिन्छ । चित्रात्मक शैलीको प्रयोग परिवेश वर्णनमा हुने गर्छ भने विषयवस्तुको विस्तार संवादात्मक शैलीमा हुन्छ । एकाङ्कीमा पात्रको सक्रिय उपस्थिति र मञ्चीय प्रस्तुति अनिवार्य भएकाले संवादात्मक शैली नै एकाङ्कीका लागि आवश्यक मानिएको हो । एकाङ्कीको भाषाशैली अत्यन्त आकर्षक, कुतूहलपूर्ण र दर्शक वा पाठकमा उत्सुकता जगाउने खालको हुनुपर्छ । एकाङ्कीको प्रस्तुतीकरण घटनाको सरासर वर्णन गर्ने खालको र पात्रको उपस्थिति कथा वाचकको जस्तो हुनु हुँदैन । एकाङ्कीमा घटनाको विकास, चरित्रको निर्माण, परिवेशको उद्घाटन आदिमा दर्शक वा पाठकका मनमा अब के हुन्छ ? अब के हुन्छ ? भन्ने उत्सुकता जागृत भइरहनुपर्छ र समापन अत्यन्त प्रभावकारी र भावक (पाठक र दर्शक दुवै) का मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गरिरहने खालको हुनुपर्छ । प्रयोगधर्मी एकाङ्कीहरूको भाषाशैली परम्परित एकाङ्कीको भन्दा केही फरक खालको हुन्छ र प्रस्तुतीकरण पनि विम्बात्मक वा साङ्केतिक रूपमा हुन सक्छ । जे भए पनि भावकका मनमा अपेक्षित प्रभाव छाड्न सक्नु नै एकाङ्की लेखन र प्रदर्शनको मुख्य लक्ष्य हो ।

यत्ति कुरामा स्रष्टाले ध्यान दिने हो भने सुन्दर एकाङ्की सिर्जना हुन सक्छ । एकाङ्कीलाई एउटा सुन्दर र प्रभावकारी शीर्षकले बाँध्ने गरिन्छ । शीर्षक समग्र एकाङ्कीको मियो हो जसका वरिपरि विषयवस्तु घुम्दै गएर एउटा प्रभावकारी निष्कर्षमा पुग्दछ । शीर्षक छोटो र पद वा पदावलीको तहमा हुनु राम्रो मानिन्छ । सकेसम्म शीर्षक वाक्यात्मक तहमा हुनु हुँदैन । एकाङ्कीमा विषयवस्तुको व्यवस्थापन आदि, मध्य र अन्त्य तीनओटा चरणमा हुनु राम्रो मानिन्छ । यसका साथै बीज, विकास, चरमोत्कर्ष, प्रतिचरमोत्कर्ष र उपसंहारको गतिमा कथावस्तुको विकास भएको छ भने त्यस एकाङ्कीलाई राम्रो मान्ने गरिन्छ ।

४. एकाङ्की कसरी लेखिन्छ ?
एकाङ्कीमा जीवन र जगत्को कुनै एउटा विशेष घटना वा अवस्थाको चित्रण हुने गर्दछ । यसमा सामाजिक, ऐतिहासिक वा काल्पनिक जुनसुकै क्षेत्रको विषयलाई नाटकीय स्वरूप प्रदान गर्न सकिन्छ । त्यसैले एकाङ्कीकारले एकाङ्की लेख्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरणः कथावस्तु, पात्र र परिवेशको निर्धारण र दृश्याङ्कन
एकाङ्की केका बारेमा लेख्ने वा त्यसमा कस्तो घटनाको चित्रण गर्ने हो ? एकाङ्कीकार स्पष्ट हुनुपर्छ । एकाङ्की दृश्यमा प्रस्तुत गर्न सकिने जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । त्यसैले एकाङ्कीकारले सबैभन्दा पहिला आफूले चाहेको घटना वा विषयवस्तुको चयन गर्नुपर्छ, त्यस विषयलाई वहन गर्न सक्ने पात्रको छनोट गर्नुपर्छ र घटना एवं चरित्रका लागि अनुकूल हुने गरीको परिवेशको निर्धारण गर्नुपर्छ । यसपछि निर्धारित विषयका लागि आवश्यक कुराहरूलाई बुँदागत रूपमा टिप्नुपर्छ र ती बुँदाहरूलाई आदि, मध्य र अन्त्यका लागि व्यवस्थित रूपमा मिलाएर राख्नुपर्छ । यति भइसकेपछि ती सबै कुरालाई नाट्य स्वरूप प्रदान गर्नुपर्छ । उल्लिखित श्रव्य एवम् पाठ्यसामग्रीलाई दृश्य स्वरूप प्रदान गर्नु नै दृश्याङ्कन हो । यसले कथावस्तु, पात्र र परिवेशलाई नाटकीय स्वरूप प्रदान गर्ने काम गर्दछ ।

दोस्रो चरणः संवादात्मक शैलीमा घटनाको विस्तार र खेस्रा लेखन
यस चरणमा माथि निर्धारित आदि, मध्य र अन्त्य भागको कथावस्तुलाई कोष्ठकको सङ्केत र बाहिरी संवादका माध्यमबाट विस्तार गर्न थाल्नुपर्छ । एकाङ्कीको निर्धारित सिद्धान्त र आवश्यक तत्त्वमा केन्द्रित रहेर मञ्चीय प्रयोग, नेपथ्य प्रयोग र सूच्य ढाँचाको समेत प्रयोग गरी कथावस्तुलाई अगाडि बढाउनुपर्छ । कथानकको विकासका क्रममा द्वन्द्व, उत्सुकता र कुतूहलको समेत सिर्जना गर्दै जानुपर्छ । यसरी निर्धारित विषयवस्तुलाई रोचक बनाउँदै गएर एकाङ्कीको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरणः आवश्यक परिमार्जन र साफी लेखन

यस चरणमा एकाङ्कीकार आफैँले लेखेको एकाङ्कीको खेस्रा रूपलाई निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा एकाङ्कीको परिवेश निर्देश, दृश्यविधान, बाह्य बनोट र आन्तरिक बुनोटमा केही दोषहरू देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो एकाङ्की प्रदर्शन र प्रकाशन गर्न योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका एकाङ्कीकारहरूका लागि हुन् तर सिद्धहस्त स्रष्टाले त एकै पटकमा अथवा एकै बसाइमा एउटा एकाङ्कीको साफी लेखन नै गर्न सक्छ । यति मात्र होइन, यो एकाङ्की लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने नाटकीय कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यसैले नेपाली एकाङ्की लेखनमा पनि अनेकौँ प्रयोगशील स्वरूपहरू देखिने गरेका हुन् । स्रष्टाको त्यही निजी कला वा विशेषतालाई नै मौलिकता भन्ने गरिएको हो ।

५. एकाङ्कीको प्रयोगात्मक सिर्जनाका चरणहरू
चरण १ः विषयवस्तु, घटना वा कथावस्तु (प्लट) को परिकल्पना (यथार्थ वा काल्पनिक) ।
चरण २ः अनुकूल र आकर्षक शीर्षक चयन (पद वा पदावलीका तहमा) ।
चरण ३ः कथावस्तुलाई वहन गर्न सक्ने पात्र र परिवेशको निर्धारण र तिनको दृश्याङ्कन (कथाअनुकूल, मञ्चीय र विश्वसनीय) ।
चरण ४ः एकाङ्की किन लेख्ने भन्ने कुराको निर्धारणसहित प्राक्कल्पना (मस्तिष्कको आन्तरिक संरचनामा) ।
चरण ५ः समग्र घटना वा कथावस्तुलाई समेट्ने गरी बुँदाटिपोट, बुँदाहरूको आदि, मध्य र अन्त्यको व्यवस्थापन र आन्तरिक रूपमा दृश्य विभाजन गर्ने वा नगर्ने ? त्यसको निर्धारण ।
चरण ६ः अभिनयलाई ध्यानमा राखी संवादात्मक शैलीमा कथावस्तुको विस्तार गर्दै गएर खेस्रा लेखन ।
चरण ७ः खेस्रा रूपमा तयार भएको एकाङ्कीको पठन, पुनःपठन, सत्य परीक्षण र संशोधन, त्रुटिविश्लेषण र परिमार्जन गरी अन्तिम रूप प्रदान ।
चरण ८ः पूर्वअभ्यास, मञ्चबाट प्रदर्शन वा कम्प्युटर टाइपिङ, भाषा शुद्धीकरण, भूमिका र कृतज्ञता (स्रष्टाले आवश्यक ठानेमा), आन्तरिक सेटिङ, कभर डिजाइन, छपाइ, बाइन्डिङ र लोकार्पण आदि । (आवश्यकताअनुसार)

६. निष्कर्ष
नाटक विश्वसाहित्यकै अत्यन्त लोकप्रिय र प्रभावकारी विधा हो । एकाङ्की त्यही नाटकको एउटा स्वरूप हो । यसमा घटनालाई दृश्यमा उनेर प्रस्तुत गरिन्छ त्यसैले यसमा घटनाको साधारणीकरण हुने गर्दछ । काल्पनिक घटनालाई यथार्थ जस्तै गरी प्रस्तुत गर्ने र यथार्थ घटनालाई पनि काल्पनिक जस्तै बनाएर प्रस्तुत गर्ने कला एकाङ्कीमा हुने गर्दछ । त्यसैले एकाङ्की पढ्दा वा हेर्दा भावकका मनमा विषयवस्तुको अत्यधिक साधारणीकरण हुन्छ र पाठक वा दर्शकले मूल कथावस्तुलाई पनि आफ्नै जीवन र जगत्सँग जोडेर हेर्न थाल्दछन् । प्रदर्शनमैत्री, अभिनयमैत्री वा दृश्यात्मक सम्प्रेषणका लागि अनुकूल हुनु र दर्शन वा पठनपछि भावकका हृदयमा लामो समयसम्म प्रभाव छाड्न सक्नु एकाङ्कीको शक्ति हो भने अनावश्यक गन्थन, लम्बेतान वर्णन तथा संवाद र अभिनयमा बाधा उत्पन्न भई भावगत अभीष्ट प्राप्ति हुन नसक्नु यसको सीमा हो ।

क्रमशः अर्को हप्ता…

प्रतिक्रिया
Loading...