


राजु पिठाकोटेका बुबा स्कुलका डेडमास्टर थिए। राजु ठूलो भएपछि आफूजस्तै स्कुलको शिक्षक होऊन् भन्ने बुबाको चाहना थियो तर उनी पढाइमा निकै कमजोर थिए। पढ्न भनेपछि साह्रै अल्छी गर्ने तर चित्र कोर्न, अक्षर लेख्न, माटाका डल्लाले विभिन्न आकृति बनाउन, बाँसुरी, मादल र सारङ्गी बजाउन भने अत्यन्तै सिपालु र जाँगरिला थिए। चित्र कोर्न पाए भने घण्टौँ बिताउँथे उनी।
गाउँमा छँदा उनी गीत र सङ्गीतका अत्यन्तै सौखिन थिए। आफैँ गीत लेख्ने, गाउने, बजाउने र संगीतका बाजासमेत आफैँ बनाउँथे । गितार, मादल र सारङ्गी भनेपछि उनी हुरुक्क हुने। त्यति मात्र कहाँ हो र? मादल र बाँसुरीको आवाज विभिन्न बिटमा उनी मुखैले बजाउँथे । त्यति मात्र कहाँ हो र ? आफूले लगाउने चप्पलसमेत उनी आफैँले डिजाइन गरेर बनाउँथे।गाउँघरमा उकाली ओराली गर्दा चप्पल चुँडिएर हैरान भएपछि एकदिन आफ्नो डिजाइनमा चप्पल बनाउने सोच पलाएको थियो । त्यसपछि बन्यो, कहिल्यै नचुँडिने चप्पल । भोलिपल्टै काठको नचुँडिने चप्पल बन्यो पनि ।
वास्तवमा पिठाकोटेको जीवनमा कलाकारिताको वीजारोपण स्कुल सकिँदा नसकिँदै भइसकेको थियो।
तेस्रो पटक मुस्किलले एसएलसी पास गरेका पिठाकोटे २०४६ सालमा कलाको अध्ययन गर्न भनी राजधानी काठमाडौँ छिरेका थिए। सानैदेखि कलाकारिता राम्रो भएका पिठाकोटेलाई ललितकला क्याम्पसमा भर्ना हुन उत्ति गाह्रो भएन। आफूले चाहेको विषय लिएर पढ्न पाउँदा उनी दङ्ग थिए तर कमजोर आर्थिक अवस्थाले सुरुमा राजधानीमा खान, बस्न र पढ्न गाह्रो भयो । आर्थिक जोहो गर्न केही समय उनले ज्यामी काम पनि गरे तर स्कुलमा कला पढाउने जागीर पाएपछि भने उनलाई क्रमशः सहज हुन थाल्यो ।
क्याम्पसमा पढ्दै र स्कुल पढाउँदै उनले आईएफ र बिएफएको पढाइ सके।
क्याम्पसको विद्यार्थी छँदा पिठाकोटे आफ्ना विषयमा अब्बल थिए । मूर्तिकला उनको मुख्य विषय भइकन पनि चित्रकलामा उनको राम्रो दख्खल थियो। मुहारचित्र, मानव दैनिकी र प्राकृतिक दृश्यचित्र बनाउन उनको विशेष रुचि थियो। फुर्सद पाउनेबित्तिकै काठमाडौँका ग्रामीण भेगमा उनी पुगिहाल्थे। चित्रकलामा राम्रो भएकै कारणले उनले केही पुरस्कार पनि हात पारे।
सन् २००२ मा उनका विद्यार्थीले “मित्सुविसी चिल्ड्रेन आर्ट फेस्टिभल” प्रतियोगितामा पुरस्कार जितेका थिए। त्यसै वर्ष उनी जापान पुगे । २८ दिन जापान बस्दा उनले धेरै कुरा सिक्ने र देख्ने अवसर पाए। विभिन्न देशबाट सहभागी भएका कलाकार सँगको परिचय र जापानीहरुको कलाप्रतिको सचेतना, प्रतिवद्धता र माया देखेर उनी निकै प्रभावित बने । यही जापान कला सहभागिता उनका लागि महत्त्वपूर्ण कोशेढुंगा बन्यो । यसै बिन्दुबाट उनको अन्तर्राष्ट्रिय करिअर सुरु भएको उनी मान्छन्।
त्यसपछि भने उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला भ्रमण र मूर्तिकलाका ठूला कार्यशालामा भाग लिने बाक्लै अवसर प्राप्त गरे। सन २०२० सम्म आइपुग्दा उनले जापान, फ्रान्स, जर्मनी, रूस, इजरायल, भारत आदि गरी १० देशमा कला भ्रमण र दर्जनौँ पटक ठूला अन्तर्राष्ट्रिय मूर्तिकलाका कार्यशालामा भाग लिइसकेका छन। त्यस्तैगरी उनले राष्ट्रिय कला कार्यशाला र प्रदर्शनीलगायत स्थानीय रुपमा आयोजना गरिएका थुप्रै महत्त्वपूर्ण मूर्तिकला कार्यशालामा सहभागिता जनाइसकेका छन्।
पछिल्लो पटक उनले इन्टरनेसनल स्नो फेस्टिभल, फ्रान्समा सहभागिता जनाएका थिए। उनका लागि सो मूर्तिकला कार्यशाला विभिन्न दृष्टिकोणले महत्त्वपूर्ण रह्यो। माइनस १२ डिग्री सेल्सियस तापक्रममा जमेको हिउँलाई काटेर “ह्वाइट ड्रप्स” नामक मूर्तिकला सृजना गरेका थिए उनले। नेपाल भ्रमण वर्ष २०२० र त्यसको सान्दर्भिकता प्रस्तुत गर्ने हेतुले उनले सो मूर्ति बनाएका थिए । सहभागी मूर्तिमध्येमा उनको मूर्ति “उत्कृष्ट ६” मा पर्न सफल भएको थियो। यसले उनलाई अन्तर्राष्ट्रिय रुपमा थप चर्चित हुने अवसर दियो। यसबीच उनलाई लगातार अन्तर्राष्ट्रिय कला कार्यशालामा सहभागिता जनाउने निमन्त्रणा आइरहेका छन्। कोभिडको महामारी साम्य भइसकेपछि उनको अन्तर्राष्ट्रिय सहभागिता यसैगरी जारी रहने कुरामा उनी विश्वस्त छन्।
पिठाकोटे जहाँ जान्छन्, नेपाली मौलिकता, पहिचान र परिचयलाई स्थापित गर्ने प्रयास गर्छन् । यसका अलावा शान्ति र वातवरण उनको मूर्तिकलाको अर्को विषयवस्तु हो। यसै विषयवस्तुको माध्यमद्वारा उनले विश्व समुदायलाई शान्तिको कामना र पर्यावरणलाई बचाइरहन आह्वान गर्छन्।
पिठाकोटेका मुर्तिहरु आधुनिक शैलीका छन् । हेर्दा विषयवस्तु सामान्य लागे तापनि ती विम्व र अर्थका हिसाबले उच्चकोटीका हुन्छन् । सामान्य मानवजीवनले अनुभव गर्ने प्रेम, बिछोड, दुःखसुखका विषयदेखि विश्व जनमानसले भोगेका अनुभव नै उनको रोजाइको विषय पर्ने गरेका छन्।
प्रस्तर र काष्ठ उनको मूर्ति कलाको मूल माध्ययम हो। ढुंगा र काठमा आकृति खोप्न अत्यन्त्यै गाह्रो हुने भए तापनि खोपिसकेपछिको प्राप्ति अत्यन्त्यै सुखद् हुने उनको अनुभव छ। महिनौँ लगाएर कुद्नुपर्ने यी माध्यमहरु आफैँमा चुनौतीपूर्ण छन् ।
भूलवश एकपटक खोप्न गल्ती भयो भने पूरै आकृति बिग्रने भएकाले यसमा पूर्व सोच, चिन्तन र एकाग्रतताको ठूलो भूमिका रहन्छ । त्यसैले होला प्रस्तरकला थोरै मूर्तिकारको रोजाइमा पर्ने गरेको छ।
कलामा तीन दशक अनवरत लागेका पिठाकोटेले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान प्राप्त गरेका छन्। सन २०१४ मा राष्ट्रिय ललितकला पुरस्कार, सन् २०१३ मा क्षेत्रीय प्रतिभा पुरस्कार, सन् २०१२ मा भद्रकुमारी ललितकला पुरस्कार आदि उनका महत्त्वपूर्ण उपलब्धि हुन्।
कला सृजनाका अलवा पिठाकोटे कला विकास, प्रवर्द्धन र संरक्षणका लागि विभिन्न संघसंस्थामा आबद्ध छन्। हाल उनी मूर्ति कलाकारहरूको साझा संस्था “आरम्भ” का उपाध्यक्ष हुन् ।
आउनुस्, आज हामी पिठाकोटेका सिर्जनाहरू यहाँ अवलोकन गरौँः












साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
