साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

डोनाल्ड ट्रम्पले संस्मरणका लागि प्रकाशक पाएनन्

Chovar Blues Mobile Size
तस्बिरः एलिजा नोभेल्जी/ब्लुमबर्ग

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय अनुभव पुस्तकमा उतार्ने भएका छन् ।

आफ्नो यो पुस्तकले त्यो बेलाका सबै कुरा सार्वजनिक गर्ने र पुस्तकहरुको पनि महापुस्तक बन्ने दाबी ट्रम्पले गरेका छन् ।

उनले पुस्तक लेख्ने चर्चा चल्नेबित्तिकै अमेरिका चर्चित पुस्तक प्रकाशकहरु पेइन्गुइन रेन्डम हाउस, ह्याचेट, म्याकमिलन, सिमोन एन्ड सुस्टर तथा हार्पर कोलिन्सले उनको पुस्तक प्रकाशन नगर्ने घोषणा गरिसकेका छन् ।

ट्रम्पप्रति उनीहरुको दुर्भावनाका कारणले यस्तो घोषणा गरेको नभई उनको पुस्तकमा तथ्यहरूको अभाव हुने भएकाले प्रकाशनपछि विवादमा पर्ने डरका कारण पुस्तक प्रकाशन नगर्ने घोषणा गरेको उनीहरुको भनाइ छ ।

हुन पनि कुनै पनि पुस्तकका लागि उनीहरूले करोडौँ लगानी गर्ने गर्छन् र जब पुस्तक बजारमा आउँछ, सत्यतथ्यको अभावका कारण ती पुस्तक विवादमा आउने मात्र नभई बजारबाट फिर्तासमेत गर्नुपर्ने भएकाले लगानी डुब्ने डरका कारण उनीहरूले ट्रम्पको पुस्तक ननिकाल्ने बताएका हुन् ।

sagarmani mobile size

त्यसो त पूर्ण रुपमा तथ्यमा आधारित पुस्तक फेला पार्न गाह्रो छ । केही पुस्तक समीक्षकहरुले भने ट्रम्पको पुस्तक प्रकाशन गर्न आनाकानी गरिरहेकाहरुले पूर्ण रुपमा सत्य तथ्य भएका पुस्तक देखाउन आग्रहसमेत गर्न थालेका छन् ।

‘तर ट्रम्पले आफ्नो पुस्तकमा चुनाव हारेको छैन भनेर लेखेका छन् भने त्यो पुस्तक प्रकाशन गर्ने कि नगर्ने त ?’ केहीले प्रश्न तेर्स्याउन थालेका छन् ।

सन् १९८७ ताका ट्रम्पले लेखेको पुस्तक ‘द आर्ट अफ द डिल’ ट्रम्पले बाइबलपछि सबैभन्दा बढी रुचाएको भन्दै दाबी गर्दै हिँडेका थिए ।

उनले प्रकाशक फेला पारे भने उनको पुस्तकको हालत के हुन्छ भन्नेमा केहीको चासो बढेर गएको छ । किनभने, उनका ज्वाइँ जेरेड कुस्नरले ट्रम्प प्रशासन अवधिमा आधारित रहेर पुस्तक लेख्ने घोषणा गरेको धेरै भइसकेको छ । सन् २०२२ मा पुस्तक बजारमा आइसक्ने उनको दाबी छ । उनले भने प्रकाशक फेला पारिसकेका छन् । ब्रोडसाइड बुक्सले सो पुस्तक बजारमा ल्याउने छ ।

कुस्नरका प्रकाशक निकै उत्साही देखिएको छ । एक विज्ञप्ति जारी गर्दै ब्रोडसाइडले राष्ट्रपति कार्यालयको बन्द ढोकाभित्र हुने अधिकांश गहन कुराहरु पुस्तकमा अटाएको भन्दै प्रकाशन संस्थाले खुसीसमेत व्यक्त गरेको छ ।

यसैगरी सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेद्वारका रुपमा हेर्न थालिएका ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्सले पनि आफ्नो उपराष्ट्रपतीय कार्यकालको संस्मरण बजारमा ल्याउने तयारीमा छन् । उनको पुस्तकलाई भने सिमोन एन्ड सुस्टरले सन् २०२३ मा बजारमा ल्याउने तयारी गरिरहेको छ ।

त्यसो त माइक पेन्सको पुस्तक सिमोन एन्ड सुस्टरले निकाल्ने जानकारी बाहिर आएपछि कम्पनीमा कार्यरत सयौँ कामदारहरुले प्रतिष्ठित कम्पनीले विवादास्पद कार्यकालका कसैको पनि संस्मरण निकाल्न नहुने भनी हस्ताक्षर अभियान चलाएका थिए तर कम्पनीले भने त्यस्ता हस्ताक्षर अभियानलाई मतलब गरेन र किताब यथासमयमा नै निस्कने दाबी गरेको छ ।

केही समयअघि ट्रम्पले अमेरिकाका दुई सबैभन्दा प्रभावशाली प्रकाशकहरुले आफ्नो पुस्तक प्रकाशनमा रुचि राखेको तर आफूले उनीहरुको प्रस्तावलाई हाललाई चासो नदिएको बताएका थिए । उनले यतिबेला आफू पुस्तक लेखनमा मात्र केन्द्रित भएकाले उनीहरुको प्रस्तावलाई कान नदिएको बताएका छन् । ‘मेरो ध्यान किताब लेखनमा मात्र छ,’ ट्रम्पले भनेका छन्, ‘किताब लेखिसकेपछि मात्र कसलाई दिने वा नदिने निर्णय गरिनेछ ।’

ट्रम्पले आफ्नाबारेमा वा आफ्नो राष्ट्रपतीय कार्यकालका बारेमा हालसम्म ३९ वटा पुस्तक लेखिएका तर ती पुस्तकभन्दा यो विष्फोटक, ठूलो आकारको हुने दाबी उनको छ । यो पुस्तकले प्रकाशकको कायापलट हुने समेत उनले दाबी गरेका छन् ।

७५ वर्षे ट्रम्पले अर्को पटकका लागि राष्ट्रपतीय चुनावमा आफ्नो उम्मेद्वारीका बारेमा सोचिरहेका छन् । तर अहिले नै उनी चुनाव लड्नेबारे निश्चित नभइसकेको र अर्को वर्ष हुने मध्यकालीन निर्वाचनको मूड हेरेर मात्र आफ्नो उम्मेद्वारीका बारेमा सोच्ने उनले बताएका छन् ।

राष्ट्रपतिहरुको संस्मरण अमेरिकामा निकै धेरै पढिने पुस्तकहरुमा पर्छ । खासगरी बाराक र मिसेल ओबामाले किताब लेखेरै साढे ६ करोड डलर कमाएका थिए । यस्तै बिल क्लिन्टनले सन् २००४ मा ‘माई लाइफ’ संस्मरणका लागि डेढ करोड डलर अग्रिम रुपमा लिएका थिए । उनको सो पुस्तक २३ लाख प्रति बिक्री भएको थियो ।

प्रतिक्रिया
Loading...