कवि अमरजीत कौंकेको परिचय

कवि तथा अनुवादक डा. अमरजीत कौंकेको जन्म सन् १९६४ मा पन्जाबको लुधियानामा भएको हो । उनले एम. ए. (पन्जाबी ) तथा पीएच. डी. उपाधि हासिल गरेका छन् । उनका पन्जाबीमा दायरियां दी कब्र चों, निर्वाण दी तलाश विच, द्वंद कथा, यकीन, शब्द रहणगे कोल, स्मृतियां दी लालटेन, प्यास, काव्य सङ्ग्रह प्रकाशित छन् । हिन्दीमा मुट्ठी भर रौशनी, अँधेरे में आवाज़, अंतहीन दौड़, बन रही है नई दुनिया, काव्य सङ्ग्रह प्रकाशित छन् । उनका हिन्दीका दिग्गज लेखकहरू डा. केदार नाथ सिंह, श्री नरेश मेहता, कुंवर नारायण, अरुण कमल, राजेश जोशी, बिपन चंद्रा, हिमांशु जोशी, मिथिलेश्वेर, पवन करन, मणि मोहनका पुस्तकहरूसहित हिन्दीबाट पन्जाबी तथा पन्जाबीबाट हिन्दीमा ४० पुस्तकहरूको अनुवाद प्रकाशित प्रकाशित छन् ।
उनले पन्जाबी भाषामा सन् २००३ देखि प्रतिमान नामक पत्रिकाको निरन्तर सम्पादन गर्दै आएका छन् । साहित्य अकादमी, दिल्लीबाट साहित्य अकादमी अनुवाद पुरस्कार, प्यास तथा मुठ्ठी भर रौशनी पुस्तकका लागि भाषा विभाग पन्जाबबाट सर्वोत्तम पुस्तक पुरस्कार, गुरु नानक युनिवसर्सिटी अमृतसरबाट साहित्य पुरस्कारसहित अनेक संस्थानहरूबाट सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन् ।
भाषान्तर कविताको एक अङ्कमा कवि अमरजीत कौंकेका केही कविताहरूको नेपाली अनुवाद प्रस्तुत गरिएको छ ।

१. धीर-धीरे

(बिस्तारै बिस्तारै)
अमरजीत कौंके

बिस्तारै बिस्तारै यसै गरी
आकाङ्क्षाहरू समाप्त हुन्छन्
बिस्तारै बिस्तारै यसै गरी
मर्दछ मान्छे

बिस्तारै बिस्तारै यसै गरी
आँखाबाट सपना
सपनाबाट रङहरू
रङहरूबाट समाप्त हुन्छ संसार
श्वेत क्यानभासमा काला चराहरू
मृत देखिन्छन्

बिस्तारै बिस्तारै यसै गरी
रचनाहरू कवितामा खुम्चिन्छन्
कविताहरू पङ्क्तिमा
पङ्क्तिहरू शब्दमा विलुप्त हुन्छन्
र शब्दहरू हराउँछन्

बिस्तारै बिस्तारै यसै गरी
पर्खँदा पर्खँदै
आँखाबाट समाप्त हुन्छ प्रतीक्षा
छटपटाउँदा छटपटाउँदै
ओठहरू थर्थराउन बिर्सन्छन्
स्पर्श गर्न खोज्दाखोज्दै
औँलाहरूको कम्पन हराउँछ

बिस्तारै बिस्तारै यसै गरी
घरले निल्छ मानिसहरूलाई
पर्खालहरू बाध्यता बन्छन्
नाताहरू यदि गोडाका नेल बनिदिए
नाच्न थाल्छन् मानिसहरू
तिनलाई पाउजु बनाएर

बिस्तारै बिस्तारै यसै गरी
व्यवस्थाविरुद्ध सङ्घर्षरत मान्छे
व्यवस्थाकै अहम् भाग बन्न पुग्छ
रङहरूको संसारमा
मट्याइलो रङ बन्न पुग्छ
र हराउँछ एक दिन क्यानभासबाट

बिस्तारै बिस्तारै यसै गरी
सोच्दा सोच्दै
मानिस जड हुन्छ एक दिन
थाहा हुँदैन
कुन बेला कसले
उसको हातबाट कलम
र कसैले कागज
खोसेर लगिसक्छ

बिस्तारै बिस्तारै यसै गरी
एउटा कवि
कविबाट बन्छ कोलको गोरु
र पट्टी बाँधेर आँखामा
गर्न थाल्छ
मुर्दा जिन्दगीको परिक्रमा ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : स्वयं कविद्वारा

२. थाहा छैन

(पता नहीं)
अमरजीत कौंके

थाहा छैन
कति तिर्खा थियो ऊभित्र

जसलाई निकै गर्व थियो
आफ्नो समुद्रमाथि
उसका अगाडि
पानीको एउटा
छिटो बन्न पुग्थेँ

थाहा छैन
कति थियो आगो ऊभित्र

जसलाई निकै गौरव थियो
आफ्नो सूर्यमाथि
उसका अगाडि
एउटा सानो
झिल्कोभर बन्न पुग्थेँ

थाहा छैन
कति थियो प्रेम ऊभित्र

जसलाई सीमातीत घमण्ड थियो
आफ्नो प्रेममाथि
उसका अगाडि
मेरो प्रेम
एउटा त्यान्द्रो मात्र रहन पुग्थ्यो

थाहा छैन
कति सास थियो ऊभित्र

जसलाई चाहिनेभन्दा बढी विश्वास थियो
आफ्नो सासमाथि
ऊ सम्मुख हुनासाथ
म निस्सासिन पुग्थेँ

थाहा छैन
कति मरुस्थल थिए ऊभित्र

जसलाई ठुलो भ्रम थियो
आफ्नो जलसम्पदाको
उसको शरीरमा
एउटा सानो छाँगो जसरी
झर्थेँ र सुकिजान्थेँ

थाहा छैन
कति गहिरा पाताल थिए ऊभित्र

जसलाई भयानक दम्भ थियो महान् पौडीवाज हुनुको
उसका आँखामा हेर्थेँ
र डुब्थेँ
अनन्त गहिराइमा
डुब्दै जान्थेँ ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : स्वयं कविद्वारा

३. उत्तर आधुनिक आलोचक

अमरजीत कौंके

जब मैले
भोकलाई भोक भनेँ
प्रेमलाई प्रेम
उनीहरूलाई नराम्रो लाग्यो

जब मैले
पक्षीलाई भनेँ पक्षी
आकाशलाई आकाश
वृक्षलाई वृक्ष
र शब्दलाई भनेँ शब्द
त्यो पनि मन परेन तिनलाई

तर जब मैले
कविताका नाममा
लेखेँ अकविता
नारीलाई
मात्र भनेँ जनेन्द्रिय
रोटीको टुक्रालाई
लेखेँ चन्द्रमा
कालो रङलाई
लेखेँ गुलाबी
कालो कागलाई
लेखे रङ्गिन

तब भने तिनले-
गजब छ भाइ !
क्या कविता छ !
यस्तो पो कविता !!

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : स्वयं कविद्वारा

४. हराएका रङहरू

(खोये हुए रंग)
अमरजीत कौंके

(होली विशेष)

जानी नजानी हामीबाट
हराएका छन् रङहरू जुन अचानक
हुन सक्छ भने
खोजेर ल्याऔँ ती रङलाई
आऊ यस पटक
फेरि होली रङहरूले खेलौँ ।

केही रङ
रङ खोज्न हिँडे
आएनन् फर्केर
खबर मात्र फर्कियो तिनका घरमा
केही रङ निले हत्यारा ऋतुहरूले
केही रङ छरिए सीमानाहरूमा
खेतहरूमा छटपटाइरहे केही रङ
केही रङका आत्मा
अझै निस्सासिइरहेछन् सुनसान घरहरूमा
केही रङहरूलाई
अझै बोलाइरहेछन् आमाहरू
रङ यी जति पनि हराए
हाम्रा आफ्ना थिए
यी रङबिना
हाम्रा आँगनहरूमा
मृत्युशोक छ
पीडा छ
सन्ताप छ
यी रङहरूबिना
होलीका रङहरूको हैन
घाउहरूको झरी परेको छ

प्रयत्न गरौँ
फेरि हाँस्ने कला सिकाऔँ
यी आला घाउहरूलाई
हुन सक्छ भने
खोजेर ल्याऔँ
ती रङहरूलाई
र यस पटक होली
रङहरूले मनाऔँ ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : स्वयं कविद्वारा

५. कलाइडियोस्कोप

अमरजीत कौंके

उनीहरूले भने-
कलाइडियोस्कोप नै त हो
जिन्दगी
केही
चुराका टुक्राहरू हाल
आँखानजिकै लैजाऊ
र घुमाऊ

म निकै बेरसम्म सोचिरहेँ-
यी रङ्गीचङ्गी
काँचका टुक्राहरूका लागि
म कुनचाहिँ
चुरा बजिरहेका नाडीहरू
खाली गरुँ… ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : स्वयं कविद्वारा

६. लालटिन

(लालटेन)
अमरजीत कौंके

कोमल कुमारी कविताहरूको
एउटा चिहान छ
मेरो छातीभित्र

कविताहरू
जसको देहबाट भर्खर
सङ्गीत उत्पन्न हुन थालेको थियो
र तिनको रङ
कपडामुनि
तन्नेरी हुँदै थिए
तिनको दर्शनढुङ्गा जस्तो अनुहारमा
गुलाबी आभा चम्किन थालेको थियो

त्यसै बेला अतीतले
तिनलाई क्रोधित आँखाले हेर्‍यो
वर्तमानले
कर्के आँखा तर्‍यो
र भविष्यले उचाल्यो आँखीभौँ

डराएर यी सल्किरहेका आँखाबाट
मैले ती कविताहरूलाई
आफ्नो मनको धरतीमा
गहिरो गरी पुरेँ
आफ्नो तर्फबाट तिनलाई
सुताएँ गहिरो निद्रामा
र भनेँ-
यो समय हैन
कविताहरूलाई प्रेम गर्ने

तर प्रतीक्षित रातका
डरलाग्दा अन्धकारमा
अझै पनि मभित्र
उनीहरूको भयानक हाँसो गुन्जिन्छ
मुटु हल्लाउने चित्कार
विलापका स्वरलहरी
मेरो मनका भित्ताहरूमा
ठोक्किएर फर्कन्छन्
र सोध्छन्-
के थियो हाम्रो अपराध ?
सोध्थ्यो आवाजले
अनि काप्थ्यो मनको धरातल
काप्दै र तड्पिँडै
अनि म
लुकेर घरबाट
छिमेकबाट
पूर्वजहरूबाट
हातहरूमा
स्मृतिको लालटिन समातेर
परिक्रमा गर्थेँ सारा चिहानको ।

र कोमल कुमरी
कविताहरूको चिहानमा
आफ्नो रगतको
एउटा एउटा दियो
बाल्ने गर्थेँ ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : स्वयं कविद्वारा

७. धेरै टाढा 

(बहुत दूर)
अमरजीत कौंके

धेरै टाढा
छोडेर आएको छु मैले
खोक्दा खोक्दा जर्जर भएको
त्यो शरीर
आगोको भट्टीमा
फलामसँगै पग्लिरहेको शरीर
फ्याक्ट्रीहरूको निस्सासिँदो वातावरणामा बन्दी
असहाय खेलौना
मैले
धेरै टाढा छोडिआएको छु

टाढा छोडिआएको छु
त्यो पसिनाको गन्ध
एक एक गाँसका लागि
गरिने युद्ध
साना साना इच्छाहरूका लागि
गला रेटिइरहेका कामनाहरू
मनमा लुकेका कैयौँ आशा
ओठहरूले थिचिएका अनेक पीडा
मैले
धेरै टाढा छोडिआएको छु

टाढा छोडिआएको छु
त्यो युद्धको मैदान
जहाँ गरिरहेथ्यौँ हामी
रोटीका लागि लडाइँ
आआफ्नै मोर्चामा

तर एक मुठी अन्न
के भेटैँ मैले
छोडेर
मोर्चामा लडिरहेका सबैलाई
टाढा भागिआएँ म

अझै पनि लडिरहेछन्
ती उसै गरी
अन्तहीन लडाइँ
उदास
निराश
फ्याक्ट्रीहरूमा
बिस्तै बिस्तारै मर्दै
ओसले भरिएका अँध्यारामा नष्ट भइरहेका
मालिकका
घिनलाग्दा गालीहरूबाट डराउँदै
सीमित पैसाबाट
आफ्नो गुजारा चलाउँदै
पल पल मर्दै

ती सबै
अझै पनि लडिरहेछन्
उसै गरी

बरु मै
भागिआएको छु
धेरै टाढा ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : स्वयं कविद्वारा

८. आमा नामको ज्योति

(माँ के नाम का चिराग़)
अमरजीत कौंके

कहिल्यै घर नछोड्ने आमा
निस्किनुभयो ती लामा बाटाहरूमा-
जहाँबाट कहिल्यै फर्केर आउँदैनन् कोही

उहाँ जानुबाहेक
उस्तै छ सबैथोक

उसैगरी सहरमा
दौडिरहेछन् मानिसहरू
कामधन्दामा अल्झेर
चलिरहेछन् कारखाना
व्याकुल भिड कोलोपत्रे सडकमा
सबैथोक उस्तै छ ।

उसैगरी
झरेको छ साँझ सहरमा
परेको छ रात
जगमगाइरहेछ समस्त सहर
उज्यालोमा

निभेको छ
मात्र आमा नामको एउटा ज्योति… ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : सुभाष नीरव

९. चमत्कार

(करामात)
अमरजीत कौंके

आफ्नै तिर्खामा डुबेको
मरुभूमि थिएँ म ।

युगौँदेखि म
रापिँदै आफ्नै रापमा
जल्दै आफ्नै आगोमा
सल्किँदै आफ्नै शरीरमा

बिर्सिसकेको थिएँ मैले
छाया
तिर्खा
आँसु…

यी सबै शब्दले
बिर्सेका थिए मलाई
शब्दका अर्थहरू
मरो कण कणमा
आफ्नो शून्यता
आफ्नो ताप
आफ्नो उदासीमा
रमाउन सिकिसकेको थिएँ

तर तिम्रो हत्केलाबाट
प्रेमका
केही थोपा के झरेका थिए
मेरा कण कणमा
फेरि ब्युँझियो तिर्खा

बाँच्ने तिर्खा
आफ्नो भित्रबाट
केही उमार्ने तिर्खा

तिम्रो प्रेमका
केही थोपाहरूले
यो के चमत्कार गरिदियो
एउटा मरुस्थलमा पनि
बाँच्ने चाहना भरिदियो ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : सुभाष नीरव

१०. म कुन वादमा छु

(मैं किस वाद में हूँ)
अमरजीत कौंके

मैले कविता लेखेँ
र उनीहरू आए
आआफ्ना वाद लिएर
निधारमा टाँस्न

भनेँ मैले-
मैले त कविता लेखेँ
मैले त
मनको धरतीमा बगिरहेको
भावनाहरूको नदी लेखेको हुँ
ले अरू केही लेखेको छैन

हैन- तँ निलो लेख्
हैन- तँ रातो लेख्
हैन- तँ पहेँलो लेख्
हैन- तँ अबिर लेख्

भनेँ मैले-
मलाई त प्रिय छन् हरेक रङ
मेरा सपनामा
मेरा पूर्वज पनि जाग्छन्
मेरा आँखामा
मेरा सन्तानको भविष्य पनि चम्कन्छ
सम्झन्छु म
बिछोड भएका नदीहरू पनि
र पछाडि छुटिगएको बाल्यकाल पनि
कारखानामा बिस्तारै बिस्तारै मरिरहेका
श्रमिकहरू पनि मेरा सपनामा सल्किन्छन्
जोसँग मैले
बिताएँ उमेरका कैयौँ वर्ष

अरू केही होइन म
म ती साथीहरूका
पीडा लेख्छु
ती नदीहरूको
तिर्खा लेख्छु
थाहा छैन मलाई
म कुन वादमा छु
म त कविता लेख्दै छु

म कविता लेख्दै छु
उनीहरू आपसमा जुधिरहेछन्

मेरो निधारमा टाँस्न
आफ्ना आफ्ना वादका
छाप कुँदिरहेछन् ।

मूल पन्जाबीबाट हिन्दीमा रूपान्तर : स्वयं कविद्वारा