प्रिय मित्र अश्विनीजी, साहित्यपोस्ट शुरुवात गर्नु भएकोमा हार्दिक बधाई छ । साहित्यलाई बजारमा अनुत्पादक वस्तुको रुपमा ग्रहण गरिरहेको र बामे सर्न थालेको केही पुस्तकहरुको व्यवसायिक प्रकाशन पनि सुस्त भइरहेकै बेला तपाईंले साहित्यपोस्ट शुरु गर्नुभयो, त्यो पनि बुध्द जयन्तीको अवसर पारेर । सबै मानिसहरु घरबन्दीमा छन् । घरबन्दीको बेला केही पनि हुन सक्दैन भन्ने हाम्रो मानसिक बन्दी पनि छ । यो सबैलाई छिचोलेर साहित्यपोस्टको शुरुवात साँच्चिकै प्रशंसनीय छ ।

शुरुवात आफैँमा एक नयाँ घटना त हो नै तर शुरुवात भन्दा त्यसपछिको यात्रा महत्त्वपूर्ण हो । तपाईंको यो यात्रा सबै हिसाबले सफल होस् भन्ने शुभकामना छ । शुभकामना नभन्नु भन्दा त भन्नु राम्रै हुन्छ । त्यसैले मैले शुभकामना त भनें । तर शुभकामना भन्ने शब्द एक औपचारिकता पनि हो ।

अहिले समय औपचारिकता र ढोंगमै रमाउने समय पनि हो । मुखैले दिनको चार पटक आइ लभ यु नभन्दा प्रेम गर्‍यो कि गरेन भनेर शंका गर्ने समय । वास्तवमा प्रेम गर्नेले त पटक पटक आइ लभ यु भनिरहन नपर्ने हो । तर आइ लभ यु नभनीकनै सच्चा प्रेमीप्रेमिकालाई पनि अप्ठेरो पर्ने बेलामा मैले पनि शुभकामनाको औपचारिकता निभाएको हुँ । तर मैले यो औपचारिकताकोे समयका मित्रहरुलाई के जानकारी दिन चाहन्छु भने म औपचारिकता निभाउन सक्ने र चाहने मान्छे होइन ।

अहिले समय औपचारिकता र ढोंगमै रमाउने समय पनि हो । मुखैले दिनको चार पटक आइ लभ यु नभन्दा प्रेम गर्‍यो कि गरेन भनेर शंका गर्ने समय । वास्तवमा प्रेम गर्नेले त पटक पटक आइ लभ यु भनिरहन नपर्ने हो ।

प्रेमकै कुरा गर्ने हो भने हाम्रो बेलामा त चुपचाप प्रेम गर्ने हो प्रकट नै नगरीकन । मान्छे देखेरै मात्र प्रेम गर्ने कति थिए । उनीहरुको प्रेमको गन्तव्य के हो र त्यहाँसम्म पुग्यो कि पुगेन त्यो अर्कै कुरा तर मानिसहरु जो प्रेम गर्थे, चुपचाप गर्थे । दुईचार पटक आँखाले वा भनौं हेराइले, व्यवहारले प्रेम प्रकट र साटासाट गर्थे । त्यो प्रेममय हेराई, व्यवहारले दिने सन्देश कस्तो होला ? त्यो अहिले हतारहतार आई लभ यू भन्ने, भन्न बाध्य बनाउने समयले महसूस गर्न सक्छ कि सक्दैन म भन्न सक्दिनँ ।

तर एउटा कुरा म के भन्न सक्छु भने त्यो मौन प्रेमको शुरुवातमा नै सम्मान र समर्पणको अंश धेरै हुन्थ्यो र उनीहरु कमसेकम आफैँलाई भन्थे, अझ भनौँ कल्पना गर्थे कि यिनीलाई म जीवनसाथी बनाउन पाए ! जीवनसाथी बनाउन पाए भनेर सोच्नु भनेको सानो र सजिलो कुरा अवश्य होइन तर दोहोरो समर्पण र सम्मानमा मात्र जीवनसाथी बन्न सक्छन् ।

पहिले त अझ विवाह गरेपछि प्रेम गरिन्थ्यो । हाम्रा आमा–बा, हजूरबा–हजूरआमाहरुले अहिलेको भन्दा अलग अनुभूति, समस्या भोग्नुभयो होला तर उहाँहरु कतिपयले विवाहका लागि आफैँले विवाह गर्ने उम्मेदवारलाई आफैँले हेर्न पाउनु हुने थिएन । विवाहको उम्मेदवार छनोटदेखि विवाहको सबै व्यवस्था अभिभावकले नै गर्नुहुन्थ्यो तर विवाहपश्चात उहाँहरुलाई हाम्रा केही परम्पराले जीवनभर सँगै रहने बाचा गराउँथ्यो । त्यसमा समस्या छैन म भन्दिनँ तर उहाँहरुको एक अपरिचित जीवनसाथीप्रति दोहोरो प्रेम नभएको भए आज हामी यहाँ यस स्थितिमा हुने थिएनौँ ।

अर्को कुरा, त्यतिखेर प्रेम गरिन्थ्यो तर प्रकट गर्न सकिंदैनथ्यो । मानिसहरुलाई प्रेम प्रकट गर्न महिनौं मात्र होइन वर्षौँ पनि लाग्थ्यो त कतिपय प्रेम बेलैमा प्रकट नभएका कारण बीचैमा बिलाउँथ्यो पनि । हेर्थे, भेट्थे, कुराकानी पनि गर्थे, अलि आँट हुनेले अर्कै भाषामा, शब्दमा प्रेम प्रकट गर्थे तर हाकाहाकी आई लभ यू अर्थात् म तपाईंलाई प्रेम गर्छु भनेर स्पष्ट खुल्न भने बडो कठिन हुन्थ्यो । जुन दिन प्रेम प्रकट हुन्थ्यो र खुल्थ्यो त्यो दिन ।

अश्विनीजी, म तपार्ईंको असल कामको प्रशंसक हुँ । मैले औपचारिक रुपमा शुभकामना नभनिहालेता पनि म शुभचिन्तक नै हुँ । तपाईंको असल कामले निरन्तरता पाओस् । हरेक मानिस भिन्न छन् र समान पनि । साहित्यप्रतिको प्रेम हाम्रो समानता हो । बाँकी तपाईंले र मैले आ–आफ्नै ढंगले साहित्यमा लागेकै छौँ । पटक–पटक आई लभ यू भन्न नसकिने हुन सक्छ तर म यो पटक खुलेरै भन्न चाहन्छु, आई लभ यू एण्ड आई एम विथ यू ।

– स्नेह