साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लामो कथाः यात्रा, भाग एक

मूल लेखिकाबारे

बाइ सुमिन

(बाइ सुमिन चिनियाँ साहित्यिकी एक प्रवल कथाकार हुन्। उनले सेनामा चिकित्सकको रूपमा धेरै वर्ष सेवा पुर्याएकी छन् । चिकित्सकदेखि व्यावसायिक लेखक बनेकी बाय सुमिनको लेखनमा पूर्व रूसी सङ्घ अनि आधुनिक रूसी शैलीको स्पष्ट प्रभाव परेको पाइन्छ। आफ्नो कलमलाई यथार्थको मसीमा चोबेर मूलत: सामाजिक विषयमा मानवीय संवेदनालाई प्राथमिकता दिँदै कुनै स्थान विशेषको आर्थिक अवस्थाको वर्णनसहित दर्शनको उचाइसम्म छुन उनी सफल बन्छिन् ।

‘यात्रा’ कथा त्यसैको एउटा सानो उदाहरण हो। उनका अनेकानेक लघुकथा अनि उपन्यासहरू प्रकाशित भएका छन्। जुन विशेषतः फ्रान्सेली अनि अङ्ग्रेजी भाषामा रूपान्तरण गरिएका छन् ।)

अनुवादः मुन्नु गौतम

मुन्नु गौतम

त्यस वर्ष म तिब्बत( विदेश)बाट घरतर्फको पन्ध्र दिने यात्राको निम्ति निस्केकी थिएँ । प्रयोग भइसकेका टायरहरूले भरिएको एउटा ट्रकमा म सवार थिएँ । दश दिनपछि समुद्र तटदेखि पाँच हजार मिटर अग्लो पठारबाट ओह्रालो अप्ठेरो बाटो हुँदै ट्रकले एक फैलिएको समतल तर उबाड़खाबड़ भूभागमा प्रवेश गर्यो। वसन्त ऋतु चल्दै थियो यसैले जमेको भूमि पग्लँदै थियो। भूतलको पानी जमिनमाथि आएकोले ठाउँ-ठाउँमा यसले माटाको ढिस्को उठाएको थियो। त्यसैमाथि ट्रक मातेको मानिसझैँ ढल्कदै हिँड्दै थियो। दिनको यात्रा झण्डै आठ घण्टामा सिद्धिनु पर्ने तर दर्जन घण्टा बितिसक्दा पनि हामी बाटोमा नै धक्का खाइरहेका थियौँ । मलाई यस्तो लाग्दै थियो- मेरो शरीरका सम्पूर्ण हाड़जोर्नीबाट अलग भइरहेका छन् । चालक खैरो वर्णको होचो मानिस थियो। भेड़ाको छालाको पहिरनमा ऊ एक किसिमको सुनौलो पुतलीजस्तो देखिन्थ्यो । डराएको जस्तो भएर ऊ चुपचाप गाड़ी हाँकिरहेको थियो। गाड़ीको स्टेयरिङ यस्तो प्रकारले समातेको थियो मानौँ त्यो स्टेयरिङ नभएर सम्पत्तिले भरिएको बाकस हो। प्रत्येक पल्ट ट्रक हल्लिँदा मेरो सास यसरी रोकिन्थ्यो कि आफ्नै फोक्सोको वायु असन्तुलित भएर गाड़ीको सन्तुलन पनि बिग्रन्छ कि जस्तो लाग्थ्यो । अनि त यसको परिणामस्वरूप गाड़ी पो दुर्घटनामा पर्ला कि भन्ने डर पनि थियो । बादलका टुक्राहरूमाझ चन्द्रमाले मन्द प्रकाश यसरी छर्दै थिई, मानौँ कुनै परित्यक्त स्त्री घुम्टोभित्र सुकसुकाइरहिछ ।

अघिल्तिर कतातिर हो आज राति हामी बास बस्न पुग्ने पर्ने ठाउँ छ। गाड़ीभित्र म निदाउन सकिनँ। जति निदाउन खोज्छु, त्यतिबेला नै चालकले यति जोड़ले गाड़ी गुडाउँछ, मानौँ पल्टाउनै आँट्यो। मेरो टाउको नरम पाउरोटीझैँ हल्लिएर उसको लुइरे काँध कि ढोकाको चिसो ह्याण्डलमा ठोकिन पुग्थ्यो अनि त म ब्यूँझिहाल्थेँ ।
चालकले भन्यो-
‘निदाउने मानिस राक्षस हो । त्यैमाथि स्त्रीको शरीरबाट यस्तो विषालु गन्ध आउँछ कि यसले चालकलाई नै निदाउने बनाउँछ । यदि तपाईंलाई बेइजिङका आफ्ना आमाबालाई ज्यूँदै भेट्ने इच्छा छ भने एक मिनट पनि नझुल्नु होला ।’

मैले ‘हुन्छ’ भनेर मानेँ । त्यसपछि आकाश ताकिरहेका डायनोसोरझैँ भत्केर अचल थन्किएका गाड़ीहरू छेउबाट जब हामी जान्थ्यौँ- उसले भनिहाल्थ्यो-
‘हेर त ! निद्राले के गर्दो रहेछ !’

हाम्रो ट्रक एउटै मस्तूल भएको पुरानो ढाँचाको नौकाझैँ थियो। अन्धकारमय अप्ठेरो बाटोमा दौड़िरहेको।अनेकौँ किलोमिटरको यात्रापछि पनि म राम्रै मूडमा थिएँ । सुदूर कुइरोतिर हेरेर चुपचाप हल न चल भएर उज्यालोको आशामा बसेकी थिएँ । चाहे त्यो उज्यालो मेरो निम्ति एक भ्रम नै होस् कि ब्वाँसोका चम्किला आँखाहरू नै।

गाड़ीको प्रकाशले अन्धकारलाई चिर्दै समतल भूमिमा ट्रक अघि बढ्दा बाटोको दुवै किनार सुन्तले रङमा उज्यालो हुन्थ्यो । एक छिनको निम्ति त यस्तो सपना आउँथ्यो त्यतातिर सुन नै पो लुकाएर राखिएको छ कि!

‘गन्तब्य पुग्न अब कति समय लाग्ला?’ मैले सोधैँ

‘पुगेपछि पुगिन्छ, अधैर्य हुने कुनै काम नै छैन,’ उसले रूखो उत्तर दिएपछि भन्यो यात्रीहरूले यसरी नै दिक्क पार्नाले उसलाई ट्रकमा कसैलाई चढाउन मन पर्दैन ।

अचानक त्यो एकान्त पसारिएको सड़कमा गाड़ीको हेडलाइट छेल्दै माटोको खम्बाजस्तो केही हाम्रो अघिल्तिर उभियो ।

‘मर्न खोज्दैछस् हरामी ‘!

चालक चिच्चायो । त्यो आकृति एक फोहोरी मानवको थियो। उसले टालेको पहेँलो फुस्रे कोट पहिरिएको थियो अनि टालेकै एउटा झोला बोकेको थियो। झोलाको मुख डोरीले बाँधिएको थियो।

‘मैले मर्न चाहेको होइन….बाँच्न चाहन्छु म…मलाई गाड़ीमा ठाउँ दिनुहोस् …म घर पुग्नैपर्छ..’

प्रत्येक वाक्यमाझ लामो अड़किदै उसले त्यसो भन्यो । उसको प्रत्येक वाक्यपछि मलाई लागेथ्यो, उसले बोल्नपर्ने कुरा सिद्धियो तर ऊ भने रोकिँदैन थियो ।

‘हुँदैन’!

चालकले रिसाएर भन्यो, ‘आँखा छैन? गाड़ी भरिएको छ । तिम्रो लागि जग्गा छैन !’

‘मलाई गाड़ीभित्र ठाउँ पर्दैन। म टायरहरू माझ बस्न सक्छु।…त्यहाँ ठाउँ रहेछ,’ उसको लवजमा दक्षिण तिरको बोली झल्कन्थ्यो ।

त्यस मानिसले गाड़ीको निरीक्षण गरेर कुनै ठूलो रहस्य नै उदाङ्गो पार्यो भनेझैँ गरेर चालक झन् रिसायो।

सम्बन्धित पोस्टहरु

‘हुँदै हुँदैन! त्यहाँ चिसोमा कक्रिएर मर्न मन छ?’

अब चालकले गाड़ीको एक्सिलेटर दबाएर उसलाई बाटो छोड़्न विवश बनायो तर त्यो फोहोरी मानिसले आफ्नो शरीरको भार गाड़ीको बत्तीमाथि राखेर भन्यो, ‘मलाई जाड़ोसित पनि डर लाग्दैन। म घर पुग्नै पर्छ।’

चालकले मलाई हेर्दै भन्यो, ‘यो मरुभूमिमा दक्षिणी चिनका यस्ता ज्ञानी युवा धेरै भेट्छु- कसै गरी यिनीहरूसित पिछा छुटाउन सकिन्न ।’

‘ऊ टिठलाग्दो देखिन्छ,’ मैले भनेँ अनि खुम्चिएका आफ्ना खुट्टाहरू तन्काउने अवसर पाएर गाड़ीबाट एकक्षण बाहिरिएँ । त्यो मानिसले मौका देखेर मेरो पाखुरा समात्यो । घुड़ा टेकेर मलाई भन्यो, ‘दया गरी म अनि मेरो परिवारलाई बचाइदिनु होस् !’

‘तिम्रो परिवार खोई? ‘ मैले सोधेँ । मैले अनुमान गरेकी थिएँ- सङ्घाई, नानजिङ्ग वा दक्षिणको कुनै शहरतिर उसको ठेगाना होला। जस्तो कि उसको बोलीले बुझाउँथ्यो । उसले त त्यही मरूभूमिको भित्री भागतिर औंल्याएर भन्यो, ‘त्यहाँ मेरी स्वास्नीले भर्खरै नानी पाएकी छे तर उसको दूध आएको छैन । मैले फार्मको प्रशासनिक केन्द्रबाट केही अन्न उधारो लिएको छु। यो काम पनि सजिलो थिएन। समयमा घर पुगेर केही आहार बनाउन सकिनँ भने तिनीहरू भोकले मर्लान् । धेरै दिनदेखि यता हामीसित अन्न थिएन।’

एकक्षण शून्यता छायो।

‘मध्यान्हदेखि गाड़ी चढ्ने कोसिस गरेँ तर मलाई कसैले सहायता गरेन।’

आकाशतिर हेरेर उसले अझ भन्यो, ‘ढिलो भइसक्यो ! अब अरू गाड़ी आउला भन्ने आशा छैन। यदि मेरो नानी मर्यो भने मेरी स्वास्नी मर्छे अनि म पनि मर्छु।’

अगाड़िको ऐनाबाट मैले चालकलाई हेरेँ । ऊ भावविहीन सिटमा थियो। म अघिबाटै उसको निम्ति भार बनेकी थिएँ । यसैले त्यो गाड़ी चढ्न खोज्ने मान्छेको पक्षमा बोल्ने आँट पुर्याइनँ। तरै पनि कुनै शैतानले पिरेझैँ सोधिपठाइछु,’ तिम्रो नवजात शिशु छोरा कि छोरी?’

खुशी हुँदै अनुहार चाउरी पारेर उसले भन्यो, ‘छोरी हो, खुबै सुन्दरी कन्या !’

त्यो कन्या शिशुको मायालाग्दो अवस्था सम्झेर एक्कासि मेरो मुखबाट यस्ता शब्दहरु निस्किए, ‘ट्रकमा चढ़ !’

ऊ झोला बोकेर पछिल्तिर लाग्यो। मैले बोलाएँ, ‘गाड़ीभित्र चढ़। सFगै मिलेर बसौFला ।’

तर चालकले रिसाएर भन्यो, ‘गाड़ीमा भीड़ पार्न सकिँदैन। मैले हात खुट्टा चलाउन सकिनँ भने ठीक प्रकारले गाड़ी चल्न सक्दैन । गाड़ी कथंकाल बिग्रियो भने हामी दुई दिनसम्म यही डल्लिने छौँ ।’

टीठ लागेर मैले त्यो मानिसतिर हेरे । उसले सन्तोक मान्दै भन्यो, ‘टायरहरू बीचमा बस्नु ठिकै हुन्छ।’ चालकले अघि त्यति मुख खोलेकोले ऊ राजी नै रहेछ भन्ने बुझियो।

‘धन्यवाद, धेरै धेरै धन्यवाद,’ भन्दै ऊ गाड़ी पछिल्तिर चढ्यो । उसका अन्तिम शब्दहरू टायरहरूबीच हराए।

केही त गर्न सके भन्ने भावले उत्तेजित हुँदै म पनि चढ़े । छड्के दृष्टि लगाएँ चालकलाई। गाड़ीमा अझ एक व्यक्तिको बोझ बढ़ेको सत्यलाई बिर्सदै ऊ त बाटोको खराब अवस्थासित जुझ्न तयार भइसकेछ।

कसैले विलाप गरेझैँ नराम्रोसँग बाहिर चिसो हावा चलिरहेथ्यो।

‘पछिल्तिर चिसो होला नि!’ मैले त्यसो भन्दा चालकले जवाफ दिएन। साटोमा उसले भन्यो, ‘म तपाईंलाई एउटा कथा भन्छु। कथा के र सत्य घटना हो ।’

पहिले त यो मान्छेसित सुनाउन लायक के होला र भनेर मैले त्यति ध्यान दिइनँ। उसको आवाज सुक्खा र धीमा थियो। तर बिस्तारै कथाले मेरो ध्यान तान्यो। मेरो शरीरका रौंहरू ठाड़ा भए।

क्रमशः

लेखक परिचय

बाय सुमिन चीनकी प्रख्यात लेखिका हुनुहुन्छ । सेनामा चिकित्सकको रूपमा धेरै वर्ष सेवा पुर्याउनु भएकी उहाँ व्यावसायिक लेखकका रूपमा समेत परिचित हुनुहुन्छ । सुमिनको लेखनमा पूर्व रूसी सङ्घ अनि आधुनिक रूसी शैलीको स्पष्ट प्रभाव परेको पाइन्छ। आफ्नो कलमलाई यथार्थको मसीमा चोबेर मूलत: सामाजिक विषयमा मानवीय संवेदनालाई प्राथमिकता दिँदै कुनै स्थान विशेषको आर्थिक अवस्थाको वर्णनसहित दर्शनको उचाइसम्म छुन उहाँ सफल हुनुहुन्छ ।

प्रतिक्रिया
Loading...