गुजराती भाषामा कविताकर्ममा लागेकी पारुल खक्खरलाई गुजराती भाषीबाहेक अरुले चिन्दैनथे । तर केही दिन यता एउटा १४ पंक्तिको एउटा कविताका कारण पारुल संसारभर चर्चाको कारक बन्न पुगेकी छन् ।
शववाहिनी गंगा शीर्षकको कविताले उनलाई चर्चामा ल्याएको हो । नल्याओस् पनि किन, कोभिड १९ रोगको दोस्रो लहरका क्रममा नदीमा शव त्यसै बगाइएको देखेर एउटा आहत कवि मनले कोरेको १४ लाइनको कविता रातारात कयौँ भाषामा अनुवाद हुन पुग्यो । लगभग सबै भारतीय भाषामा यसका युट्युब भिडियो बन्यो । यसपछि उनको चर्चा नगरी सुखै भएन ।
रोचक त त्यतिबेला भयो जब गुजराती साहित्य अकादमीको आधिकारिक पत्रिका शब्दसृष्टिको सम्पादकीयमा यस कवितामाथि तिखो आलोचना भयो र यस कविताको प्रचारप्रसारलाई राष्ट्रविरोधी गतिविधि भएको बताइयो । सोही सम्पादकीयले यसलाई साहित्यिक नक्सली तत्त्वलाई बढावा दिन थालिएको दाबीसमेत गरियो ।
रोचक के छ भने पारुलको जीवनकालमा नक्कल त टाढाको कुरा भयो, वामपन्थी विचारधाराको साहित्यकारका रुपमा पनि चिनिन्नन् । यदि उनका कविताहरु खंगाल्ने हो भने उनलाई त दक्षिणपन्थी खेमामा नै देखिनेछ, जतिसुकै वामपन्थी बनाउने प्रयास गरे पनि । उनको विगत र लेखनी नै त्यस्तो छ ।
यो कविताले गुजरात साहित्य अकादमी, सत्ताको दमन रणनीति तथा साहित्यको प्रतिरोधजस्ता कुराहरु स्पष्ट पार्छ ।
पहिलो कुरा त, आलोचकीय दृष्टिले हेर्ने हो भने कविताको मापदण्डमा पारुलको कविता कुनै महान् लाग्दैन तर यो हृदयबाट निस्किएको आवाज हो । यो कविताले निकै सहज ढंगले एउटा ठूलो जमातको आक्रोश र क्षेभलाई व्यक्त गरेको छ र जानी नजानी यसले पूरा व्यवस्थालाई नै औँलो ठड्याएर प्रश्न गरेको छ । धर्म र संस्कृतिका प्रश्न उठाएर सत्तामा पुगेको सत्ता र पूरा व्यवस्थालाई यसले कठघरामा उभ्याएको छ ।
लेखिकाको मूल्यबोधमा गंगा र संस्कृति भनेको एउटा पारम्परिक पवित्रताबोध छ । जुन आम मानिसको बोध पनि हो । यस्तोमा समस्या के हुन्छ भने लेखकले आफ्नो भावना त लेखेर छाडिदिन्छन् तर अन्ततः त्यो उसको निजी धारणा हुँदैन, सर्वकालीक र जनताको बन्न पुग्छ ।
र, जब जनताकहाँ यो पुग्छ, त्यो बेला दुष्यन्तकुमार र अदम गोन्डवीका सारा गजल वाम चेतनाको आन्दोलनकारीले पनि प्रयोग गर्न थाल्छन् र दक्षिणपन्थीले पनि तिनलाई गाउँदै हिँड्छन् । धूमिल र पासजस्ता कविका रचना कस्ता कस्ता मुखबाट दोहोर्याइन्छन्, कसैलाई पनि थाहा हुन्न ।
सत्ताको पहिलो प्रयास के हुन्छ भने यस्ता रचना र लेखकलाई सुरुमा नसुनेझैँ गरिन्छ । त्यति गर्दा पनि ती टड्कारो सुनिन थाल्यो भने लेखकलाई बदनाम गर्न थालिन्छ ।
पारुल खक्खरका सन्दर्भमा पनि यही कुरा लागू भएको हो । यतिबेला उनका सन्दर्भमा पनि त्यही गरिँदैछ । उनलाई नक्सली कवि वा साहित्यिक नक्सलको आरोप यसै सन्दर्भमा लगाइएको हो । यतिबेला उनलाई सामान्य आरोप मात्र लगाइएको छ, अब तेस्रो प्रक्रिया चाँडै नै शुरु हुनेछ र त्यो हो, उनलाई कवि भएकामा दण्डित गर्ने क्रम ।
केही वर्षअघि भारतीय लेखकहरुले अभिव्यक्तिमाथि अंकुश लगाइएकोमा पुरस्कार फिर्ता गर्न थालेका थिए । स्वतःस्फुर्त रुपमा पुरस्कार फिर्ता गर्ने कार्य पनि ‘ग्याङ’ भएको आरोप लगाइएको थियो र तिनलाई ‘अवार्ड फिर्ता ग्याङ’को नियोजित ठप्पा लगाइएको थियो । एक जनाले अवार्ड फिर्ता गर्नेबित्तिकै अरुले सोही प्रेरणाले अवार्ड फिर्ता गर्न थाल्नुलाई स्वस्फुर्त नै मान्नुपर्छ तर सरकारी तावेदारी ग्याङले भने फिर्ता ग्याङको षडयन्त्र भन्दै बेइज्जत गर्न थालेका थिए । जबकि सबैलाई थाहा थियो, यस्तो फिर्ता गर्ने प्रेरणाका पछाडि कुनै सांगठनिक संस्था वा समूहको योजनाबद्ध कार्य थिएन ।
कयौँ पटक सत्ताले सिधासिधा कसैलाई दण्डित गर्र्दैन । सत्ताको पक्षमा उभिएकाहरुले सत्ताको पक्षमा माहोल बनाइदिन्छन् । पारुल खक्खरको मामिलामा पनि गुजरात साहित्य अकादमीले सोही काम गरिरहेको छ जबकि पेरुमल मुरुगनको मामिलामा अन्य संगठनहरुले यस्तो काम गरेका थिए ।
तमिल लेखक मुरुगनलाई एउटा उपन्यास लेख्दा यति धेरै प्राडित गरिएको थियो कि उनले आफ्नो मृत्युको घोषणा नै गरेका थिए । उनले अब आइन्दा केही पनि नलेख्ने घोषणा गरेर आफ्नो साहित्यिक सर्जकको आत्महत्याको घोषणा गरेका थिए । तर पछि उनीभित्रको लेखक र उनीसँग उभिएको सशक्त साथीभाइको समर्थन यति शक्तिशाली भएर निस्किए कि उनले पुनः लेख्न थाले ।
कयौँ पटक सत्ताले लेखकलाई सिधासिधा जेल पुर्याउँछ । सन् १९४९ ताका स्वतन्त्र भारतको शुरुवाती वर्षहरुमा मजरुह सुल्तानपुरीले जेल जानु पर्यो किनभने उनले राष्ट्रमण्डलमा भारत हुनुको तीखो विरोध गर्दै लेखेका थिए । बलराज साहनीले एउटा जुलुसमा भाग लिएबापत तीन महिना जेल जानु पर्यो ।
इन्दिरा गान्धीको संकटकालका बेलामा कुलदीप नैय्यरजस्ता पत्रकार र गिरधर राठीजस्ता लेखकले जेलमा समय व्यतित गर्नुपर्यो । सन् १९४२ को आन्दोलनका बेलामा फणीश्वरनाथ रेणुले दुई वर्ष जेल जीवन बिताए । रोचक त के छ भने चालीसको दशकमा लाहोर गएर बसेका महान् सायर साहिर लुधियानवीले केही वर्ष पाकिस्तानमा नै गुपचुप बस्नु पर्यो किनभने त्यहाँको सरकारले उनलाई जेल हाल्न चर्को रुपमा खोजी गरिरहेको थियो । यसपछि उनी भारत फर्किए र जीवनभर भारतकै भए ।
तेलुगू कवि गदर र वरवरा रावको कथा त अझै पनि ताजा नै छ ।
लेखक तथा तिनका रचनाको शिरमा बदनामी, बहिष्कार, जेल र बेइज्जतीको नियति सधैँभरि नांगो तरबारजस्तै झुण्डिरहेकै हुन्छ । यो संसारभर नै चलिआएको कुरा हो । असहमतिको आवाजले सबैलाई दिक्क बनाउँछ नै । सलमान रुस्दीको टाउकोको मूल्य तोकिनु, तसलीमा नसरिनले आफ्नो देश छाडेर भाग्नु नांगा तरबारका उदाहरण हुन् ।
इस्मत चुगतई र मन्टोमाथि मुद्दा हालिन्छ । हबिब तनवीरका नाटकलाई हुलदंगा मच्चाएर रोकिन्छ अनि मकबूल फिदा हुसेनजस्ता चित्रकारलाई देश छाडेर पलाउन हुन बाध्य पारिन्छ ।
दक्षिण अफ्रिकामा कुनै बेला बेन्जामिन मोलोइसजस्ता कविले फाँसी चढ्नु परेको थियो । भारतमा अवतार सिंह पासलार्य आतंकवादीले गोली हानी हत्या गरे । कन्नड लेखक एमएम कलबुर्गीको हत्या होस् या पानसरे, दाभोलकर या गौरी लंकेशजस्ता आत्मा होऊन्, ती अभिव्यक्ति स्वतन्त्रतामाथि भएको आक्रमणको प्रतीक बन्न पुगे ।
रोचक कुरा त के छ भने थरिथरिका आरोप, दबाब, विरोध, उत्पीडन, मृत्यु र देश निकाला हुँदाका बाबजुद संसारभरिका सर्जकको कलम थाकेको चाहिँ छैन । तिनले कुनै न कुनै बहनामा सिर्जना गरिरहेका छन्, तिनले आफूजस्तै विरोधीलाई जोडिरहेका छन्, प्रतिरोध सहिरहेका छन् । र, कहिलेकाहीँ सर्जक प्रतिको समर्थनले तिनलाई जोगाएको पनि छ ।
नेहरु कालमा मुक्तिबोध ‘अंधेरे में’ लेख्छन् र धूमिल ‘पटकथा’, जसले संसद् र सडकका सारा विरुपतालाई नाङ्गै पारिदिन्छन् । नागार्जुनले त नेहरु, इन्दिरा गान्धी, लालबहादुर शास्त्रीदेखि बाल ठाकरेसम्मलाई निशानामा हानेर ठहरै पार्छन् ।
कुरा यहीँ सकिँदैन । संसारभरमै प्रतिरोधको यो आवाज एकआपसमा गुन्गुनाइरहेका छन् र एउटा साझा गीत बनाइरहेका छन् । हाम्रा लागि नाजिम हिकमत पनि हिन्दीका कवि बन्न पुग्छन्, बर्तोल्त ब्रेख्त र पाब्लो नेरुदा पनि हाम्रो भाषामा रच्न थाल्छन् । मराठीका नामदेव ढसाल हुन् या बांग्लाका जीवनानन्द दास, पञ्जाबीका पास पनि र यतिबेला पारुल खक्खर पनि हिन्दीकी कवि बन्न पुगेकी छन् ।
फैज र हबिब जालिब त हिन्दीकै हुन् । यति मात्र होइन, पुराना आवाज पनि हाम्रा आवाज बन्न थालेका छन्, चाहे ती कबीर हुन् या अमिर खुसरो नै किन नहुन् । समकालीन प्रतिरोधको स्वरलाई बुलन्द बनाउन तिनका कविताको सहारा लिन थालिएको छ ।
अर्कोतर्फ सत्ता र त्यससँग जोडिएका मानिस थरिथरिका कुतर्कमा रमाइरहेका छन् । यतिबेला उनीहरुलाई साहित्यिक नक्सलले तर्साइरहेको छ । शायद गुजरातको साहित्य अकादमीलाई थाहा नहोला, ७० को दशकमा बंगालमा चलेको नक्सल आन्दोलनको प्रभावमा निकै धेरै लेखक र कविले आफ्नो रचना सिर्जना गरेका थिए ।
आलोचकधन्वा र मंगलेश डबरालजस्ता कवि नक्सलवादको प्रभावको छायाँमा शुरुवाती समयमा हुर्किएका हुन् । यो अर्कैै बहसको विषय हुनसक्ला, नक्सल या माओवादी आन्दोलनहरुले लेखक कविसँग एउटा रोमान्टिक सम्बन्ध मात्र जोड्यो कि त्यसको आन्तरिक प्रभाव पनि पर्यो ? तिनको सीमाको द्घाटन पनि गर्यो कि गरेन ? तर यसमा कुनै सन्देह नहोला, एक समयको निकै धेरै बागी कविता त्यही नक्सल आन्दोलनबाट निस्किएको थियो ।
तर आज जब साहित्य अकादमीले ‘साहित्यिक नक्सल’जस्ता शब्द प्रयोग गर्छ र यसलाई कुनै व्यक्तिविशेषलाई देशद्रोही बनाउन प्रयोग गर्छ भने त्यसको प्रत्यक्ष खतरा देखिन्छ ।
त्यसो त सरकारले लेखकहरुलाई डर देखाउँदैन मात्र, बरु लोभ पनि देखाउँछ । लोभिएका लेखकले सरकारका पक्षमा प्रदर्शन गर्न थाल्छन् । केही वर्षअघि लेखकहरु मण्डी हाउसमा एउटा विरोध प्रदर्शनको आयोजन गर्दाका बेला त्यही अर्को समूह समर्थनका लागि पुगेको थियो ।
अर्थात् प्रतिरोधको वास्तविक आवाजमा विश्वास गर्ने लेखकहरुसामु दोहोरो खतरा छ । तर इतिहास र वर्तमानले देखाइसकेको छ, खतरामा नै असली लेखन फुल्छ र बढ्दो दुःखका बीच कुनै सामान्य र मूल्यहीन देखिने कवि पारुल खक्खरले सत्ताको आँखा घोच्ने काम पनि गर्न सक्छ ।
सत्ता हल्लाउने गुजराती कविताको हिन्दी अनुवाद
एक साथ सब मुर्दे बोले ‘सब कुछ चंगा-चंगा’
साहेब तुम्हारे रामराज में शव-वाहिनी गंगा
ख़त्म हुए शमशान तुम्हारे, ख़त्म काष्ठ की बोरी
थके हमारे कंधे सारे, आँखें रह गई कोरी
दर-दर जाकर यमदूत खेले मौत का नाच बेढंगा
साहेब तुम्हारे रामराज में शव-वाहिनी गंगा
नित लगातार जलती चिताएँ राहत माँगे पल भर
नित लगातार टूटे चूड़ियाँ कुटती छाति घर घर
देख लपटों को फ़िडल बजाते वाह रे ‘बिल्ला-रंगा’
साहेब तुम्हारे रामराज में शव-वाहिनी गंगा
साहेब तुम्हारे दिव्य वस्त्र, दैदीप्य तुम्हारी ज्योति
काश असलियत लोग समझते, हो तुम पत्थर, ना मोती
हो हिम्मत तो आके बोलो ‘मेरा साहेब नंगा’
साहेब तुम्हारे रामराज में शव-वाहिनी गंगा
-पारुल खक्खर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।