गजब भयो । स्टकहोम सिटीको सब वे स्टेसनमा पुग्नासाथ साथीको कल आयो, ‘इमर्जेन्सी परेर मलाई पोर्तुगल जानुपर्ने भयो ।’
मैले भनेँ, ‘ठिकै छ, त्यताबाट फर्केर आऊ अनि भेटौंला ।’
जान लागेको मिटिङ अचानक स्थगित भयो । सिंगै साँझ लम्पसार परेको छ । अब कता जाऊँ ! स्टेसन वरिपरि र्हेदै थिएँः धोती लगाएको, गोरो रङरुपको एकजना मान्छेमा मेरो आँखा पुग्यो । स्वीडेनको मार्च महिना । जाडो छ । फेरि, यो इन्डियाको रेल वे स्टेसन पनि होइन ! न्यूयोर्क अथवा शिकागोमा भएको भए शायद मलाई उति असामान्य लाग्ने थिएन तर यो त स्टकहोम थियो । विश्वका केही मात्र अति शान्त र धेरै न्यून सांस्कृतिक विविधता भएको राजधानी शहरहरु मध्येको एक, स्टकहोम । स्वीडेनको राजधानी ।
सेतो रङको पातलो धोतीभित्र तलसम्म गोडामा टाँसिएको ट्राउजर । त्यसमाथि तनक्क माथि पिँडौलासम्म तानिएको मोजा, कपडाको जुत्ता, ऊनको स्वेटर, ऊनकै टोपी, खादीको पछ्यौरा र काँधमा कपडाको झोला । मलाई त्यो मान्छे भारतको मध्यप्रदेशबाट शिवरात्रिमा पशुपति दर्शन गर्न काठमाडौं पुगेको भक्तजस्तो लाग्यो, जो हिँड्दा हिँड्दै आफ्नो समूहबाट छुटेर यूरोपको सब वेमा आइपुगेको छ । उसलाई घोरिएर हेरिरहनु भन्दा नजिक गएर कुरै गर्नु ठीक होला जस्तो लाग्यो मलाई । म त्यो मान्छेको नजिकै पुगेँ र भने, ‘तिमीले धोती लगाएको एकदम मिलेकोछ । आफैँ लगाएको हो ?’
खुशी र उत्साहित हुँदै उसले जवाफ दियो, ‘हो हो । म त सधैँ आफैँ लगाउँछु धोती ।’
मेरो उत्सुकता झन् बढ्यो ।
मैले फेरि सोधेँ, ‘कसरी सिक्यौ लगाउन ?’
‘मायापुरीमा तीन महिना बसेको थिएँ, कृष्ण मन्दिरमा । त्यहीँ सिकेको ।’
यत्तिकैमा उसको ट्रेन आइपुग्यो ।
‘तिमी कहाँ जाने ?’ उसले सोध्यो ।
मैले उसैलाई सोधेँ, ‘यो ट्रेन कहाँ जान्छ ?’ बोल्दाबोल्दै म पनि ऊसँगै ट्रेनभित्र छिरेँ । ट्रेनमा उसले मलाई मायापुरीदेखि महाभारतसम्मका प्रसङ्गहरु सुनायो । कृष्णको चमत्कारी र मायावी चरित्रको बयान गर्न थाल्यो । उसले मलाई आफ्नो नाम गोपाल बतायोः मायापुरीमा उसको गुरुले दिएको नाम । उसले फेरि सोध्यो, ‘तिमी कहाँ ओर्लिन्छ्यौ ?’
मैले मुसुक्क हाँस्दै भनेँ, ‘जहाँ ओर्ले पनि हुन्छ । शायद ओल्ड टाउनसम्म पुग्छु कि ! चिसो चिसो साँझको बेला, ऐतिहासिक गमलास्तान (ओल्ड टाउन) को १९ औं शताब्दीको कुनै कफी सपमा न्यानो गरी बसेर, तात्तातो कफी पिउन रमाइलो हुन्छ नि, होइन ?’
उसले जवाफ दियो, ‘पक्कै पनि तिमी यो शहरका लागि नौलो हुनुपर्छ । किनभने यहाँको जीवनशैली यति व्यस्त छ कि इतिहासको कल्पनामा डुबेर रोमाञ्चित हुने फुर्सद कसैलाई छैन यहाँ ।’
जवाफमा मैले भनेँ, ‘मलाई त यहाँका मान्छेहरु फुर्सदमै आरामले हिँडिराखे जस्तो लाग्छ ।’
‘तिमीलाई त्यस्तो लाग्दैछ किनभने तिमी फुर्सदमा छौ । अब हेर न, आज तिमीलाई फुर्सद छ । मलाई फुर्सद छैन । म फुर्सदमा भएको भए शायद तिमी व्यस्त हुने थियौ । हामी यसरी गफ गरिरहेका हुने थिएनौँ ।’
स्मित मुस्कानका साथ मैले उसलाई भनें, ‘तिमीले कसरी ठ्याक्कै कुरा बुझेको ?’
कुरैकुरामा उसले सुनायो, ‘स्टकहोमको आउटस्कर्टमा इस्कन कृष्ण मन्दिर छ । अर्को साता त्यहाँ विशेष कार्यक्रम हुँदैछ ।’
मैले सोधे, ‘आज त्यहाँ केही कार्यक्रम छैन ?’
उसले भन्यो, ‘त्यहाँ प्रत्येक साँझ आरती हुन्छ ।’
मैले ऊसँग मन्दिरको ठेगाना लिएँ र बाटो सोधेँ । म टे«नबाट ओर्लिएँ ।
त्यसै त शान्त शहर, त्यसमाथि शहरको छेउछाउ । त्यता पुग्नेबित्तिकै अनकन्टार लाग्न थाल्यो मलाई । ओर्लने ठाउँ अलमल होला भनेर मैले बस ड्राइभरलाई ठेगाना देखाएँ । ड्राइभरले ठेगाना हेरेर भन्यो, ‘केहीबेर बाँकी छ । म रोकी दिन्छु । साइन हेर्दै गर ।’
कानमा नुसरत फतेह अलीको गीत लगाएर मस्तले झ्यालतिर फर्केर बसेँ । शान्त चित्तले कुनै तीर्थयात्रामा हिँडिरहेको यात्रीजस्तै महसूस भइरहेको थियो आफैँलाई ।
अचानक बस भित्रका यात्रुहरुतिर ध्यान गयो । बस त खाली खाली भइसकेछ । दुई तीन जना मात्रै बाँकी रहेछन् । गएर ड्राइभरलाई सोधेँ, ‘मेरो स्टप आएको छैन ?’
‘रोकी दिएको थिएँ त मैले । किन नओर्लेको ?’
अब, कसरी सम्झाउँ यो ड्राइभरलाई कि म कुन मुडमा थिएँ । यत्तिकैमा बस रोकियो । मैले ड्र्राइभरलाई सोधेँ, ‘यहाँबाट फर्कने बस पाइन्छ होला नि ?’
उसले भन्यो, ‘आठ मिनेटपछि म नै फर्किन्छु यही बस लिएर । मसँगै फर्किनु ।’
‘ठ्याक्कै आठ मिनेट…?’ उसको अभिब्यक्तिले मलाई चिमोटेको थियो । मैले आँखी भौँ उचाल्दै सोधेँ, ‘ठ्याक्कै आठ मिनेटमा ?’
उसले निकै सामान्य भावमा बतायो, ‘हो, ठ्याक्कै आठ मिनेटमा ।’
उसै पनि स्वीडेनमा बस, ट्रेनको आउने-जाने टाइमिङ मलाई एकदमै रमाइलो लाग्छ । ५:१४ मा आउँछ । दुई मिनेट रोक्छ । ५:१६ मा हिFडिदिन्छ । ७:१८ मा आउँछ । नौ मिनेट रोक्छ । ७:२७ मा हिँडिहाल्छ ।
निश्चित टाइमको तीस सेकेण्ड अगाडिसम्म बसको अत्तोपत्तो हुँदैन । जहाँ तीस सेकेण्ड सिद्धिन लाग्छ, बस कहाँबाट हो, लुसुक्क आइपुग्छ । त्यसैले मलाई थाहा थियो, आठ मिनेटपछि यो ड्राइभरले मलाई एक मिनेट त के, सेकेण्डको लागि पनि पर्खने छैन ।
के रहेछ यो ठाउँ ? म यताउता हेर्दैथिएँ, एउटा गज्जबको दृश्य देखेँ । म आएको रोड त पानीमा गएर पो सिद्धिएको रहेछ ! अनि त्यहाँ एउटा स्टिमर यात्रु पर्खेर बसिरहेको छ, अर्को टापुमा जानलाई । सूर्यास्तको समय । घामको रङ बदलिएको थियो । धमिलो रातो रङ पानीमा मिस्सिएको थियो । बथानका बथान चराहरु पानीबाट जमीनतिर फर्किरहेका थिए । अलि पर, पानीकै छेउमा अर्को एकजना मोटरसाइकलमा आड लगाएर, मैलेजस्तै मनोरम दृष्यको रसपान गरिरहेको रहेछ । घोरिएर हेरेको, एक्लै रहेछ । एक मनले बोल्न जाउँ कि भन्ने पनि लाग्यो । फेरि सोचेँ, एउटासँग कुरा गर्दागर्दै यो अनकन्टारमा आइपुगेकी छु । अर्कोसँग कुरा गरेर अब यो भन्दा अनकण्टारमा कहाँ जाऊँ म ?
झ्वाट्ट बसमा आँखा पुग्यो । बिस्तारै घुमाउँदै रैछ । कुदेँ गुट्टुटुटु । यस पटक म ड्राइभरको छेउमै उभ्भिइराखेँ । नुसरतलाई पनि ब्यागमा राखिदिएँ । ड्राइभरले एक ठाउँमा बस रोकेर भन्यो, ‘यहाँबाट जाऊ ।’
उसलाई धन्यवाद दिएर म ओर्लिएँ ।
रोडबाट केही माथितिर उक्लिन मात्रै के लागेको थिएँ, ड्राइभरले कराएर बोलायो । म दौडेर नजिक पुगेँ ।
उसले सोध्यो, ‘कहाँ जान लागेको ?’
मैले भने, ‘इस्कन मन्दिर ।’
‘त्यसोभए किन जंगलतिर गएको ? ऊ तल्लो बाटो जाऊ ।’
‘हस्’ हात हल्लाउँदै म तलतिर लागेँ । कता जंगल, कता बाटो ! म सबैतिर उस्तै देखिरहेकी थिएँ यस अँन्धकारमा । कुनै सङ्केत र चिह्न पनि देख्दिनँ, कसैलाई सोधौँ भने कोही मान्छे पनि देख्दिनँ । खल्तीको फोन पनि कुन बेला मोरिसकेको रहेछ ! तै मलाई थाहा थियो, यहाँ मान्छेको बस्ती वरपरको जंगलमा डरलाग्दा जनावर हुँदैनन् ।
पाँच सात मिनेट हिँडेपछि केही पर बत्ती बलेका घरहरु देखिए । अब भने आइपुगेछु भन्ने लाग्यो । नजिकै पुगेपछि घरको छानामा हरे राम, हरे कृष्ण लेखेको देखेँ । म मन्दिर आइपुगेको झन् निश्चित भयो ।
मन्दिरभित्र पसेर मेरो सबैभन्दा पहिलो काम थियो ट्वाइलेट खोज्ने । ट्वाइलेटभित्र जाँदा मैले कसैलाई देखेकी थिइनँ । बाहिर निस्कँदा एउटा धमिलो सेतो रङको सारी लगाएकी महिला मलाई पर्खेर बसिराखेकी थिइन् । उनले प्रसन्न मुद्रामा मलाई हात जोडेर नमस्ते गरिन् । मैले पनि मुसुक्क हाँसेर नमस्ते गरेँ । उनीसँग भलाकुसारी गर्दै थिएँ, अर्का एकजना सेतो धोती लगाएका पुरुष आइपुगे । उनी मुसुमुसु हाँस्दै हाम्रो कुरा सुन्न थाले ।
केही बेरपछि उनले मलाई सोधे, ‘तिमीलाई भोक लागेको छ ?’
मैले निसङ्कोच जवाफ दिएँ, ‘छ ।’
उनले माथि डाइनिङ हलमा लिएर गए । शुद्ध शाकाहारी भोजन थपीथपी खुवाए । उनले मेरो बारेमा सोध्न थाले । मैले उनको बारेमा सोध्न थालेँ । हामीले एकछिन अनुमान लगाउने खेल पनि खेल्यौँ । उनले मलाई सोधेको प्रश्नको उत्तरको अनुमान उनैले लगाउनुपर्ने, मैले उनलाई सोधेको प्रश्नको उत्तर मैले नै अनुमान लगाउनु पर्ने ! उनी त्यस मन्दिरका पुजारी रहेछन् । क्रोसिया मूलका, उमेर पैतालिस जति, आठ वर्षदेखि यही मन्दिरमा पुजारी भएर बसिरहेका !
मैले उनलाई गोपालको बारेमा सुनाएँ । उनले गोपालको बारेमा मलाई थप रोचक कुरा सुनाए । मन्दिरमा भोज लगाएको समयमा भान्छाकोठामा कसैलाई छिर्न नदिई सबै खाना गोपाल एक्लैले पकाउँदो रहेछ ।
उनले मलाई मन्दिर वरिपरि घुमाए । त्यसपछि हामी मन्दिरमा गयौँ । म मन्दिरमा आउनुको तात्पर्य आरती हेर्नु थियो, धन्न त्यो छुटेन ! शान्त वातावरणमा कृष्ण भजन, कपूरको सुगन्ध, झलमल्ल आरतीका बत्तीहरु र टिनिनिनी घण्टीको आवाज !
केही क्षणका लागि लाग्यो- मेरा सबै इन्द्रियहरु लयबद्ध भएर एकैतालमा एकैसुरमा एकैठाउँमा मिल्न आएका छन् । शायद यस्तै यस्तै केही हुन्छ आनन्द पनि !
आरतीपछि फेरि पुजारीसँग गफ गर्दैथिएँ, उनले अचानक सोधे, ‘तिमी आज यही बस्ने हो ?’
मैले केही आश्चर्य मानेर उनैसँग सोधेँ, ‘किन ? यहाँ बस्ने प्रबन्ध पनि छ र ?’
उनले हँसिलो अनुहार लगाएर सामान्यभावमा भने, ‘यो बाटोबाट जाने अर्को बस अब भोलि बिहान आठ बजे मात्रै आउँछ ।’
‘लौ, अब म कसरी फर्किनु ?’
‘केही छैन । म पुर्याइदिन्छु ।’
‘म बस्ने ठाउँसम्म पुर्याउन त तिमीलाई धेरै टाढा पर्छ । यहाँबाट सबैभन्दा नजीकको बस स्टप वा ट्रेन स्टेसनसम्म पुरयाइदेऊ न । बरु छिट्टै जाउँ । फेरि त्यहाँ पनि छुट्ला र झन् टाढासम्म पुग्नु पर्ला तिमी ।’
कारमा जाँदै गर्दा मैले उनलाई सोधे, ‘तिमी यत्तिका वर्षदेखि यहाँ छौ, परिवार पनि साथमा छैन । म गलत पनि हुनसक्छु तर मलाई जहाँसम्म लाग्छ तिमी हिन्दू पृष्ठभूमिबाट आएका पनि होइनौ, क्रोसियाको मान्छे । यहाँ स्टकहोममा कसरी आइपुग्यौ ?
हुन त, आजको युगमा तिम्रो स्थितिमा असामान्य मान्नु पर्ने केही छैन । क्रोसिया धेरै टाढा पनि छैन । यूरोप नै हो । र, स्टकहोम मरुभूमि पनि होइन । विश्वको अधिकतम आयदर हुने मुलुक मध्येको अग्रपंक्तिमा पर्छ । तर, तिमी जे काम गर्दैछौ, त्यो जो कोहीले पनि पैसा कमाउनको लागि वा कुनै महत्त्वाकांक्षाबाट प्रेरित भएर मात्र गर्न सक्दैन । यो त भक्ति हो । साधना हो ।’
उनले फेरि अनुहारमा उही मुस्कान ल्याएर भने, ‘मलाई एउटा कुरा भन, गाईलाई चन्द्रमामा लग्यो भने पनि त्यसले के खोज्छ ?’
मैले एकैछिन सोचे र भने, ‘घाँस ।’
हामी दुवैजना मज्जाले हाँस्यौ ।
उनीसँग छुट्टिएर ट्रेनमा बसेपछि म सोच्दै थिएँ, यो भन्दा पहिला म कहिले, कति वर्ष पहिले मन्दिर पुगेकी थिएँ होला ? सम्झना पनि छैन । म धार्मिक कर्मलाई दैनिक जीवनमा नियमितरुपले पालना गर्ने मान्छे पनि होइन । आज म न त गाई थिएँ, न घाँस खोज्दै त्यो मन्दिरमा पुगेकी थिएँ ।
तर, कुनै न कुनै दिन त मैले पनि थाहा पाउँला कि म गाई हो कि चरा हो । चितुवा हो कि लाटोकोसेरो हो । अनि थाहा पाउँला मैले पनि, घाँस खोज्ने कि फलपूmल खोज्ने । दिन खोज्ने कि रात खोज्ने ।
आज भने मलाई हराउनुमा नै आनन्द आइरहेको थियो ।
twitter : @shrestharuchi
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।