द ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बिबिएफसी)ले गराएको शोधले सर्वसाधारणमा अश्लील शब्द उच्चारण र गालीगलौजका शब्दहरु निकै लोकप्रिय रहेको र पहिलेको तुलनामा यो निकै बढेको देखाएको छ ।

फिल्म र टेलिभिजनमा पहिलेको तुलनामा यस्ता शब्दहरुको प्रयोग कम भएको देखिए पनि सामान्य मानिसको जनजीवनमा भने यसको प्रयोग बढेर गएको यस अनुसन्धानले देखाएको हो । खासगरी बालबालिकाले हेर्ने टेलिभिजन तथा सिनेमाका सामग्रीमा गालीगलौजका शब्दहरु हराएर गएको देखिए पनि दैनिक जीवनमा मानिसहरुले त्यस्ता शब्दहरु पहिलेको तुलनामा बढी नै प्रयोग गर्ने गरेको स्वीकारेका छन् ।

एक हजार बेलायतीमाझ गरिएको सर्भेमा एक तिहाई बढीले गालीका शब्दहरु प्रयोग गर्ने स्वीकारेका हुन् । पाँच वर्ष पहिले आफूहरुले ती शब्द उच्चारणमा हिच्किचाउने भए पनि हिजोआज सामान्य रुपमा आफूले प्रयोग गर्न थालेको उनीहरुको स्वीकारोक्ति छ ।

उदेकलाग्दो त यस्ता गालीका शब्दहरु उच्चारण गर्नेमा महिलाहरु अगाडि रहेको (३२ प्रतिशत) देखिएको छ । त्यस्तै पुरुषहरुमध्ये २७ प्रतिशतले आफूले बढी गालीका शब्दहरु प्रयोग गर्न थालेको बताएका छन् ।

सन् १९९६ यता जन्मिएका जेनरेसन जेड पुस्ता गालीगलौजमा बढी उदार देखिएका छन् । जेनरेसन जेडभन्दा पुराा पुस्ता भने गाली गलौजमा त्यति ध्यान नदिने र उनीहरुको प्रतिशत जम्माजम्मी १२ प्रतिशत मात्र रहेको देखिएको छ । जेनरेसन जेड पुस्तामध्ये ४६ प्रतिशतले भने आफूहरुले छाडा शब्द प्रयोग गर्न उदार रहेको प्रतिक्रिया दिएका थिए ।

आफूले प्रयोग गरेका गालीका शब्द आफ्ना सन्तानले प्रयोग नगरुन् वा आफूले प्रयोग गरेका अश्लील शब्द नसुनून् भन्ने अधिकांशले चाहेको पनि देखिएको छ । तीमध्ये निकै कमले पनि केटाकेटीले सुनेर केही फरक नपर्ने, ढिलोचाँडो तिनीहरुले आफूबाहेक अरुबाट पनि यस्ता शब्द सापट लिइहाल्ने भएकाले तिनले सुने पनि चिन्ता नगर्ने गरेको स्वीकारेका छन् ।

पछिल्लो समय टेलिभिजनबाहेक अन्यत्र कन्टेन्ट हेर्ने बानी भएका बालबालिकाका लागि यस्ता शब्द प्रयोग गरिएका कन्टेन्ट हेर्नबाट रोक्नु लगभग असम्भवजस्तै भइरहेको सन्दर्भमा अभिभावकहरु बढीभन्दा बढी चिन्तित हुँदै जान थालेका छन् । तिनीहरुले जुनसुकै माध्यमबाट जेसुकै हेरिरहेको भए पनि छाडा भाषाको पहुँच सहज हुन नहुनेतर्फ अभिभावकहरु सचेत रहन थालेका छन् ।